भर्खरै :

किर्तिपुरे माईक्रो र मेरो देश

शंकर भण्डारी
हतारमा छन यात्रीहरू
उभिरहेछ किर्तिपुरको माईक्रो
पर्खिरहेछ
केही थान
थप यात्रीहरू
डिब्बाजस्तो माईक्रोभित्र
माईक्रोजस्तो डिब्बाभित्र
ठेलमठेल
खाँदिएकाछन मान्छे
जसरि खादिन्छ गुन्द्रुक डिब्बाभित्र
अल्पसंख्यक सिटधारीहरू
बसिरहेछन मख्ख
मानौ
भर्खर युद्ध जितेर फर्केका योद्धा हुन उनिहरू
बहुमत हरूवाहरू भने
उभिएकाछन
लत्रक्क शिर निहुराएर
`खलासी´
उर्दी गरिरहेछ
हरूवा यात्रीहरूलाई
बुफरमा बज्दैछ गीत
“म झुक्दै नझुक्ने नेपालको छोरो”
अशक्त अारक्षित सीटमा
दुई थान सशक्त युवाहरू
चलाईरहेछन
राजनीतिको दोहोरी
आलोपालो
भट्टाईरहेछन
बजारमा चलेका
पार्टीहरूको नारा
अन्तिम सीटको कुनामा
व्यस्तछन
एकजोडी प्रेमिल ओठ
आँखा छल्दै
साटिरहेछन आपसमा
लिपिस्टिकको केमिकल र
चुरोटको निकोटिन।

हिड्नुभन्दा धेरै
आराम गर्ने
मेरो देशजस्तै
थुनिएकोछ किर्तिपुरे माईक्रो जाममा
बजिरहेछ हर्न एकतमास
मानौ
युगौ पहिले
निदाएको
मेरो देशको `कुम्भकर्ण´
व्युझाउदैछन यतिखेर
हातको घडिमा
मोबाईलको स्क्रिनमा
कुदिरहेछ समय उसैगरि
रोकिएको छैन कतै जाममा
मन
आत्तिएको छ
तन
पाट्टिएको छ यात्रीको
स्टेरिङसमाईरहेको चालक
बेफिक्री
व्यस्त छ मोबाइलमा
सुनाईरहेछ सायद
आफ्नो पुरूषार्थश्रीमतीलाई
जसरि
बजेट भाषणमा
सुनाउछन शासकहरू
आफ्नो पराक्रम
यस्तो लाग्छ
किर्तिपुरे माईक्रोजस्तै
देश पनि
थुनिएको छ
सिंहदरवारमा
बालुवाटारमा
संसद भवनमा
योजना आयोगमा
परराष्ट्रमा
निकै लामो
ट्राफिक जाममा
नित्य
यसरी नै गुड्छ
किर्तिपुरे माईक्रो
धुलो उडाउदै
विश्वविद्यालयको छातिमा
जसरि कुद्छन
सरकारी योजना र कार्यक्रम
हाम्रै सपनाको चिहानमाथी बाट
यस्तैछ
मेरो देश
यस्तै छ
किर्तिपुरे माईक्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *