एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
शंकर भण्डारी
हतारमा छन यात्रीहरू
उभिरहेछ किर्तिपुरको माईक्रो
पर्खिरहेछ
केही थान
थप यात्रीहरू
डिब्बाजस्तो माईक्रोभित्र
माईक्रोजस्तो डिब्बाभित्र
ठेलमठेल
खाँदिएकाछन मान्छे
जसरि खादिन्छ गुन्द्रुक डिब्बाभित्र
अल्पसंख्यक सिटधारीहरू
बसिरहेछन मख्ख
मानौ
भर्खर युद्ध जितेर फर्केका योद्धा हुन उनिहरू
बहुमत हरूवाहरू भने
उभिएकाछन
लत्रक्क शिर निहुराएर
`खलासी´
उर्दी गरिरहेछ
हरूवा यात्रीहरूलाई
बुफरमा बज्दैछ गीत
“म झुक्दै नझुक्ने नेपालको छोरो”
अशक्त अारक्षित सीटमा
दुई थान सशक्त युवाहरू
चलाईरहेछन
राजनीतिको दोहोरी
आलोपालो
भट्टाईरहेछन
बजारमा चलेका
पार्टीहरूको नारा
अन्तिम सीटको कुनामा
व्यस्तछन
एकजोडी प्रेमिल ओठ
आँखा छल्दै
साटिरहेछन आपसमा
लिपिस्टिकको केमिकल र
चुरोटको निकोटिन।
Leave a Reply