भर्खरै :

हार

हार

हार, मेरो हार, मेरो एकान्त एकाकार
मेरा हजारौँ जितभन्दा प्रिय तिमी
संसारका सारा वैभवभन्दा माथि
मेरो मुटुको नगिच छौ ।

हार, मेरो हार, मेरो स्वीकार अनि इन्कार
तिमीबाटै सिञ्चित हुन्छन् ममा ताकत र जाँगर
म अल्झिन्न ती ओइलाई जाने प्रशंसाका पासोहरूमा
भेट्टाइसकेकी छु मैले तिमीभित्रै त्यो एक्लोपन
तिरस्कृत अनि उपेक्षित हुनुको आनन्द अनुपम ।

हार, मेरो हार, मेरो चम्किलो ढाल र तरबार,
तिम्रा आँखाहरू पढ्दा मैले बुझेकी छु –
राजगद्दी दासताको पर्याय हो
बुझिनु खस्किनु पनि हो
र प्राप्ति पूर्णतामा पुग्नु मात्र हो
जो पाकेको फलझैँ खस्दछ फ्यात्त भुइँमा
र बन्दछ कसैको आहार ।

हार, मेरो हार, मेरो साहसी यार
हर बार तिमी नै सुन्न सक्छौ मेरा गीत, मौनता र पुकार
तिमीबाहेक सुनाउने छैन कसैले मलाई
उन्मुक्त उडानको उत्साह
न त सुनाउनेछ कसैले उर्लिरहेको भावनाको सागर
अनि मभित्र जलिरहेको मौन डढेलोलाई देख्ने
तिमी नै हौ मेरो उकाली, ओराली
र मनको देउरालीको आरोही ।
हार, मेरो हार, हे मेरो शाश्वत साहस
हाँस्ने छौँ सँगै हामी यो विनाशकारी आँधीहुरीको सामुन्ने
र खन्ने छौँ सँगै चिहान तिनका लागि
जो मरिसकेका छन् हामीभित्र
अनि उभिने छौँ अटल सङ्कल्पका साथ यसै ब्रह्माण्ड सामुन्ने
तब पो हामी अजेय हुने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *