तीन मुक्तक
- मंसिर १२, २०८३
लघु कथा
गाउँमा एउटा किसान परिवार थियो । त्यसका घरमूली एक इमानदार किसान कार्यकर्ता थिए । उनी किसानको, देशको हक हितको लागि काम गर्थे । उनी समाजवादमा मात्र बहुसङ्ख्यक किसान, मजदुरको हित हुने विश्वास गर्थे । उनी हँसिया हथौडा अङ्कित रातो झण्डा बोकी सधैँ जुलुस, सङ्घर्षमा सहभागी हुन्थे । पुलिसले पक्रे पनि लट्ठीले कुटे पनि नारा लगाउँदै रातो झण्डालाई उनी झुक्न दिँदैनथे । उनी प्रहरी हिरासतमा जतिसुकै अमानवीय यातना दिए पनि झुक्दैनथे । त्यसैले, उनी सबै किसान मजदुरका प्रिय थिए । घर परिवारले साथ नदिए पनि सहयोग नगरे पनि किसान र देशको हितमा, सेवामा एक्लै भए पनि उनी लागिरहन्थे । यही राम्रो उद्देश्य, आदर्शका कारण उनको अनुहार सधैँ उज्यालो थियो ।
श्रीमती, तीन जना छोरा भएका उनको केही जग्गा जमिन थियो । तीन जना छोराहरूको व्यापार व्यवसाय राम्रो थियो । त्यही बुबाकै कारण उनीहरूले पनि इमानदारका साथ मेहनत गरी धन सम्पति जोडे । तर, उनीहरूमा विस्तारै धनसम्पतिको घमण्ड बढ्न थाल्यो । उनीहरूले टोलका अग्रजहरू कसैलाई गनेनन् । उनीहरूलाई बुबा त्यसरी किसान कार्यकर्ता भनी हिँडेको, सङ्घर्षमा लागेको मन पर्दैनथे । उनीहरू आफ्नो बुबा त्यो सङ्घर्षमा नलागेको या त्यो बाटो त्यागेको हेर्न चाहन्थे । अब हामी करोडपति, अरबपति भइसक्यौँ, त्यसरी अकोको नोकरजस्तो किन लाग्नुपर्यो भन्थे । उनी जीवनभर सङ्घर्षमा लाग्दालाग्दै उमेर र रोगका कारण बिरामी भएर अन्तिम अवस्थामा पुगे । बाँच्ने आस नभएपछि टोलका दाजुभाइको हारगुहार र सहयोगले बुबालाई आर्यघाट पु¥याए ।
आर्यघाटमा हेर्न आएका छरछिमेकी, आफन्तले काका, बाजे, नारायण नारायण !! भनुस् भने । कसैले वैकुण्ठ बास होस् भने । अलिअलि सास चलिरहेको थियो । सकिनसकी बल गरेर बोल्न खोज्थे । कसैले उहाँको अन्तिम इच्छा होला, छोराहरूलाई सोध्नु भने । जेठो छोराले सोधे, बुबा, हजुरको नाति नातिनाको विवाह, व्रतबन्ध बाजागाजासहितको पञ्चवलि दिएर सबैलाई पार्टी प्यालेसमा धुमधामसँग भोज खुवाएर इज्जत राख्ने भन्नुभएको हो ? बुबाले सकिनसकी बल गरेर मधुरो स्वरमा भने ‘छोरा समाजवाद ¤’ माइलो छोराले सोघेँ, ‘बुबा, त्यसो भए गाउँकै मन्दिर चौतारीसँगैको ठुलो चौरमा ठुलो कोटी होम, भजन कीर्तन गरेर गाउँले सबैलाई निमन्त्रणा दिएर प्रसाद बाँडेर धर्म राख्ने भन्नुभएको हो ? माइलो छोरालाई पनि समाजवाद ! भने । कान्छो छोराले पनि सोधे, ‘बुबा, मन्दिरमा घण्टा वा अन्य सामग्री चढाएर कीर्ति राख्ने, त्यसको अवसरमा कालो बोका बाजागाजासहित बलि दिएर आफन्तलाई भोज खुवाएर इज्जत राख्ने भन्नुभएको हो ? बुबाले अलि बल गरेर भने, ‘अहँ छोरा, समाजवाद ¤ सबै एक आपसमा आश्चर्य मान्दै मुखामुख भए । बुबाको अन्तिम इच्छा समाजवाद भएको थाहा पाएपछि तीनै जना छोराले एकै स्वरमा भने, बुबा, हामी हजुरको इच्छा पूरा गर्न लाग्छौँ भनेपछि एक पल मुस्कुराएर बुबाले प्राण त्याग गरे । किसान कार्यकर्ता, गाउँका जनताले ससम्मानका साथ उनको दाह संस्कार गरे ।
Leave a Reply