भर्खरै :

नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा

काठमाडाँै, २९ वैशाख । नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दीमात्र नभई नेपालमा बोलिने विभिन्न भाषामा कविता वाचन गर्दा प्रज्ञा भवनको देवकोटा कक्ष साहित्यमय बनेको थियो ।
साहित्यकार रमेश शुभेच्छुले नेपालीमा, हंशावर्ती कुर्मीले अवधिमा, विजेता चौधरीले मैथिलीमा, गोपाल अश्कले हिन्दीमा र लक्की चौधरीले थारु भाषामा कविता वाचन गर्नुभयो । यस्तै भारतका साहित्यकार अमिता दुवे, कुशुम वर्मा, शिव पुजन शुक्ल र कसेन्द्रकुमार पुष्पले पनि कविता वाचन गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ साहित्यकार वैरागी काइँलाले दुवै देशका साहित्यकारको भेटघाटले एकअर्काको साहित्य र भाषाका बारेमा जानकारी लिन पाइएको बताउनुभयो । उहाँले साहित्यमार्फत देशमा बोलिने सबैखाले मातृभाषाको संरक्षण र संवद्र्धन सकिने बताउनुभयो । उहाँले प्रतिष्ठानले भाषा र साहित्यको विकासका लागि आवश्यक कदम चालिरहेको बताउनुभयो । “अवधि भाषाको विकासका लागि शब्द कोष र व्याकरण तयार पारेका छौँ”, उहाँले भन्नुभयो ।
पूर्वउपकुलपति काइँलाले देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकारले आफ्नो प्रदेशमा बोलिने मातृभाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भारतको साहित्यले नेपालमा स्थान पाए पनि नेपालको साहित्यले भारतमा स्थान नपाएको प्रति चिन्ता व्यक्त गर्नुभयो । नेपाली साहित्यलाई हिन्दीमा अनुवादका लागि सहयोग गर्न कार्यक्रममा सहभागी भारतीय राजदूतावासका उपप्रमुख मिसन अभय शर्मालाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले छिमेकी राष्ट्रसँग मिलेर साहित्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । अवधि भाषा नेपाल र भारतमा बढी बोलिने भाषा भएकाले यो भाषाको विकासका लागि प्रज्ञा प्रतिष्ठानले अवधि साहित्य परिषद्सँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपाल र भारत दुई देश भए पनि भाषा, धर्म संस्कृति एकै खालको भएको बताउनुभयो ।
पूर्व हिन्दी विभागाध्यक्ष तथा भाषाविद् सूर्यप्रसाद दीक्षितले हिन्दी साहित्य र नेपाली साहित्य एकआपसमा अन्तरसम्बन्धित रहेकाले दुई देशको साहित्यमा सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
अवध भारतीय संस्थानका अध्यक्ष डा. रामबहादुर मिश्रले नेपाल भारतको सदियौँदेखिको सम्बन्धलाई जीवन्त दिन साहित्यले टेवा पु¥याउने बताउनुभयो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका अनुवाद विभाग प्रमुख डा. उषा ठाकुर, प्राध्यापक डा. योगेन्द्रप्रसाद यादव, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव सनद रेग्मी, प्रवासी संसार न्यूदिल्लीका सम्पादक डा. राकेश पाण्डेलगायतले मन्तव्य राख्दै नेपाल–भारत साहित्यका विषयमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *