भर्खरै :

हुवावेविरुद्ध ट्रम्प सरकारको आत्मघाती नीति

सुनिल दुवाल
चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धको सिलसिलामा डोनाल्ड ट्रम्पले चालेका कदमहरूमध्ये सबैभन्दा मुर्खतापूर्ण चाल हुवावेसँग सञ्चारका सामग्रीहरू किनबेच गर्न नपाउने भनी लगाइएको प्रतिबन्धलाई लिइएको छ । यो भन्नुको मुख्य कारण यो प्रतिबन्धले गर्दा अमेरिकाले गुमाउने आम्दानी र बजार सँगसँगै विश्व व्यापार प्रणालीमा पर्ने नकारात्मक प्रभाव हो । फुलेको कपाल र चाउरिएको गालाले मात्र मान्छेलाई परिपक्व बनाउँदैन, उसले गर्ने व्यवहार र चाल्ने कदमहरूले ऊ के हो भन्ने चिनाउँछ । चीनविरुद्धको व्यापार युद्धले चीनलाई अप्ठ्यारोमा पार्ने सोच लिएका ट्रम्पका कदमहरूले स्वयम् अमेरिकामात्र नभई सम्पूर्ण विश्व अर्थतन्त्रलाई नै नराम्रो असर पु¥याएको छ । हुवावे अहिलेको सबैभन्दा ठूलो सञ्चार प्रविधिका सामग्रीहरूको उत्पादक हो भने दोस्रो सबैभन्दा बढी मोबाइल बेच्ने कम्पनी हो । यो चीनको सबैभन्दा महत्वपूर्ण कम्पनीमध्येको एक हो । यसका संस्थापक रन चन फई चिनियाँ जनमुक्ति सेनाका इन्जिनियर थिए । त्यसैगरी गएको डिसेम्बरमा क्यानाडाले पक्राउ गरेका मेङ वान्चाउ उनकी छोरी हुन् । हामीले सो पक्राउ गरेको समयलाई याद ग¥यौँ भने स्पष्टसँग बुझ्न सक्छौँ कि उनीमाथि लगाएका आरोपहरू राजनैतिक नै हो । उनी १ डिसेम्बर २०१८ का दिन पक्राउ परेका थिए । उक्त समयमा डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिङ फिङ ब्युनसआयर्समा सँगै बसेर डिनर गरिरहेका थिए । योसँगै हालै संरा अमेरिकाले हुवावेलगायतका चिनियाँ कम्पनीहरूसँग कुनै किसिमको कारोबार नगर्न र प्रविधिहरूको आदानप्रदान गर्न नपाउने भनी २० मई २०१९ मा उर्दी जारी गरेको छ । अमेरिकी कम्पनीहरूलाई हुवावेका सामानहरू र प्रविधिहरू हटाउन ९० दिनको समय दिइएको छ ।
२१ मई २०१९ का दिन हुवावेका संस्थापक रन चन फईले भन्नुभयो, “हुवावे एउटा व्यापारिक कम्पनी हो जो आफ्ना सामानहरू प्रयोग गर्ने वा नगर्नेबारे फैसला लिने अधिकार आफ्ना उपभोक्ताहरूलाई नै दिन्छ र यसमा अमेरिकाले कुनै किसिमको राजनैतिक प्रतिशोध लिन मिल्दैन ।” त्यसैगरी हुवावेले संरा अमेरिकाले लगाएका प्रतिबन्धहरू र आरोपहरूको विरुद्ध कानुनी उपचारका कदमहरू पनि चालिसकेका छन् । ९० दिनको समयसीमाको विषयमा उहाँले भन्नुभयो, “हुवावे आफूले गर्ने कार्यहरू कसरी राम्रोसँग गर्ने बुझ्छ र अमेरिकी सरकारले गर्ने कार्यहरूलाई हामीले नियन्त्रण गर्न नसक्ने भएकोले आफ्ना उत्पादनहरूका लागि चाहिने चिप्सलगायतका महत्वपूर्ण पार्टपुर्जाहरू आफै बनाउँछौँ ।” यसको कारण अमेरिकी प्रतिबन्ध तथा गुगललगायतका कम्पनीहरूले गरेको असहयोगका कारण त्यति धेरै असर नपर्ने जानकारी गराइयो । सन् २०१९ को पहिलो तीन महिनामा हुवावेको आम्दानीमा ३९ प्रतिशतले प्रगति भएकोमा गत अप्रिलमा २५ प्रतिशतमात्र भयो । पहिले नै आम्दानीमा हुने प्रगतिमा कमी आउने तर प्रगति ऋणात्मक नहुने प्रक्षेपण गरिएको हुँदा यसले कम्पनीको प्रगतिमा कुनै असर नपर्ने साथसाथै संसारभरिबाट हुवावेप्रतिको विश्वास अझै बढेको पनि उहाँले जानकारी गराउनुभयो ।
यो सालको पहिलो तीन महिनाको स्थिति हेर्ने हो भने संसारभरि ७ करोड १६ लाख वटा मोबाइल फोनको बिक्री गरेर सामसुङ पहिलो स्थानमा छ तर यसको मोबाइल फोनको व्यापारमा २०.५ प्रतिशतबाट १९.२ प्रतिशतको गिरावट भएको छ भने हुवावे ५ करोड ८४ लाख वटा मोबाइल बिक्री गरी दोस्रो स्थानमा रहेको छ । पहिलेको भन्दा ४४.५ प्रतिशतले बिक्रीमा वृद्धि गरेर सबैभन्दा बढी प्रगति गर्ने मोबाइल कम्पनी हुन सफल भएको छ । विश्व मोबाइल बजारको कुल बिक्रीमध्ये यसले १०.५ प्रतिशतबाट १५.७ प्रतिशतको हिस्सा ओगट्न सफल भएको छ । तेस्रो स्थानमा भने अमेरिकी कम्पनी एप्पल रहेको छ । यसले ४ करोड ४५ लाख वटा मोबाइल बिक्री गर्दा २.७ प्रतिशतले घटेर ११.९ प्रतिशतको मात्र हिस्सा ओगटेको छ । त्यसपछि दुई चिनियाँ कम्पनीहरू क्रमशः ओप्पो र भिभो चौथो र पाँचौँ स्थानमा रहेका छन् । हुवावेले सबैभन्दा बढी प्रगति युरोपमा गरेको छ । युरोपमा हुवावेले ६९ प्रतिशतले मोबाइलको व्यापारमा वृद्धि गरेको छ ।
दूरसञ्चार प्रविधिको क्षेत्रमा पनि हुवावे विश्वको प्रथम स्थानमा रहेको उत्पादक हो । यसको पेटेन्ट एप्पल कम्पनीको भन्दा ७ गुणाले बढी छ । यो तथ्याङ्क अघिल्लो वर्षको ठीक उल्टो हो । सञ्चार प्रविधि उद्योगको नियमअनुसार जब पेटेन्टको कारोबार हुन्छ जसको बढी पेटेन्ट अधिकार हुन्छ त्यसले अर्कोलाई पेटेन्ट शुल्क लगाउँछ । यही नियमबमोजिम हुवावेले एप्पल कम्पनीमाथि पेटेन्ट शुल्क लिने अधिकार राख्दछ । हालैको गुगलले हुवावेमाथि एन्ड्रोइड प्रविधिको प्रयोगमा लगाएको प्रतिबन्धले तत्काल हुवावेको मोबाइलको व्यापारमा केही ¥हास आउने देखिन्छ तर विज्ञहरूका अनुसार मध्यकालीन र दीर्घकालीनरूपमा हुवावेले अझ बढी प्रगति गर्नेछन् । यस्तो तर्क राख्नुको कारण हुवावेले अनुसन्धान र विकासमा गरेको खर्च हो । त्यसैगरी हुवावेसँग संरा अमेरिकाले गरेको व्यापार युद्धविरुद्ध लड्न यथेस्त स्रोत–साधनहरू छन् । हुवावेमा काम गर्ने करिब १ लाख ५० हजार कर्मचारीहरूमध्ये ५० प्रतिशतभन्दा बढी अनुसन्धान र विकासको कार्यमै छन् भने अरबौँ डलर बराबरको लगानी अनुसन्धान र विकासकै लागि छुट्याइएको छ । यस अर्थमा छोटो समयमा नै हुवावेले एन्ड्रोइडको सत्तामा आफ्नै अपरेटिङ सिस्टम बनाउनुका साथै चिप्सलगायतका अरु पार्टपुर्जा आफैले उत्पादन गर्ने सामथ्र्य राख्दछ ।
संरा अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाउनुको कारण मोबाइल फोनको व्यापारजस्तो देखिए पनि प्रमुख कारण भने हुवावेले विकास गरेको फाईभ जी प्रविधि नै हो । अमेरिकालगायतका केही पश्चिमा देशहरू हुवावेको विरुद्ध लागेका छन् । फाईभजी वायरलेस प्रविधिको नयाँ पुस्ता हो । यो प्रविधिले इन्टरनेटको गतिलाई अहिलेको फोर जीभन्दा कैयौँ गुणाले बढाएको छ । यसको विकासले कम्प्युटरको प्रविधिमा लगायत कार, टी.भी.मात्र नभई सडक बत्ती, राइसकुकर, रोबोटलगायतका हामीले प्रयोग गर्ने धेरैभन्दा धेरै सामग्रीहरूलाई इन्टरनेटमा जोडेर स्वचालितरूपमा एकले अर्कासँग कार्यहरू गर्न सक्छन् । जसरी अहिले कम्प्युटर र मोबाइल फोनमार्फत हामी एक अर्कासँग जोडिएका छौँ, त्यसरी नै वस्तुहरू इन्टरनेट सञ्जालमा जोडिएर स्वस्फुर्तरूपमा कार्यहरू गर्दछन् । यो प्रविधि इन्टरनेट अफ थिङ्स (आई. ओ. टी.) र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स्) को प्रयोग गरेर विकास हुन्छ र यसको मेरुदण्ड भने तीव्रगतिको इन्टरनेट नै हो, जुन फाईभजीमा मात्र सम्भव छ । यस अर्थमा २१ आँै शताब्दीको प्रविधि र व्यापार जसको हातमा फाईभजी प्रविधि छ, त्यसकै हुने निश्चितप्रायः छ । हालसम्मको सञ्चार प्रविधिको विकासलाई हेर्ने हो भने हुवावे यो प्रविधिमा अरुभन्दा धेरै अगाडि बढिसकेको छ । अहिलेको हुवावेको गति लिनको लागि अमेरिकालगायत युरोपका धेरै कम्पनीहरूलाई कम्तीमा २÷३ वर्ष लाग्नेछ । विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सञ्चार प्रविधिमा हुवावेले गरेको प्रगतिका कारण नै अहिले अमेरिकालगायतका देशहरू आत्तिएका छन् । ट्रम्पले भनेका छन्, “फाईभजी यस्तो दौड हो जुन अमेरिकाले जित्नैपर्छ ।” यो भनाइबाट पनि हामी बुझ्नसक्छौँ किन संरा अमेरिका हुवावेलाई हटाउन चाहन्छ । केही वर्षपहिले जब अमेरिकाले फोर जी प्रविधिको विकास गरेको थियो, उसले सञ्चारको बजारमा आफ्नो आधिपत्य नै स्थापना गरेको थियो । जसै हुवावेले फाईभजीको विकास ग¥यो, अमेरिकी सञ्चारका व्यापारीहरू, राजनैतिक नेतृत्व र सैनिक अधिकारीहरूले अमेरिकी सरकारलाई यदि फाईभजी प्रविधिमा चीनले नेतृत्व लियो भने व्यापारलगायतका अरु धेरै क्षेत्रहरूमा चीनले भनेबमोजिम चल्नुपर्नेछ भनी चेतावनी दिए । यही नै कारण हो जसले गर्दा अमेरिकाले भए–नभएका कारणहरू देखाएर, पुष्टी गर्न नसकेका आरोपहरू लगाउनुका साथै उसको सुरक्षामा खतरा पु¥याएको र तथ्याङ्क चोरीको आरोप लगाएर हुवावेलाई रोक्न उद्यत छ ।
चीनको यो प्रविधिमा गरेको विकासलाई व्यवधान पु¥याउने यो कदमले उल्टै अमेरिकालाई असर पार्ने धेरै सम्भावना छ । विशेषगरी धेरैवटा अमेरिकी कम्पनीहरूको व्यापारमा यसले ठूलो असर पार्नेछ । ब्लुम्बर्गको रिपोर्टअनुसार अमेरिकाको वितरण प्रणालीमा चीनलाई अलग्याउने नीतिका कारण अमेरिकी कम्पनीहरूको शेयरमा लामो समयसम्म गिरावट आउने सम्भावना छ । कम्प्युटर चिप्सहरू बनाउने क्वालकम
(QUALCOM) माइक्रोन (MICRON), एनभिडिया (NVIDIA), एएमडी (AMD), ब्रोडकम (BROADCOM), जिलिन्क्स
(XILINX) र ब्लु चिप्स तथा गुगल र माइक्रोसफ्टजस्ता कम्पनीहरूलाई ठूलो क्षति पुग्नेछ ।
त्यसैगरी पश्चिमी देशहरूको नोकिया र एरिक्सनजस्ता कम्पनीहरूले उत्पादन गर्ने फाईभजी प्रविधिमा प्रयोग हुने उपकरणहरूको पार्टपुर्जाका लागि हुवावेमै निर्भर छन् । त्यतिमात्र होइन संरा अमेरिकाको १२०० भन्दा बढी कम्पनीहरूले हुवावेलाई आफ्ना उत्पादनहरू बिक्री गर्दछन् । हुवावेको प्रतिबन्धसँगै स्कान्डिनेभियाली कम्पनीहरू नोकिया र एरिक्सनले आफ्नो १५ प्रतिशत व्यापार गुमाउनेछन् किनभने चीनको चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमजस्ता चिनियाँ दूरसञ्चार संस्थानहरूले हुवावे, जेडटीईजस्ता स्वदेशी कम्पनीहरूसँग नै सम्झौताहरू गर्ने छन् जसको कारण विदेशी कम्पनीहरूले चीनको बजार गुमाउनुपर्नेछ । सबैभन्दा बढी घाटा भने अमेरिकाको एप्पल कम्पनीलाई नै हुनेछ । चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धसँगै सो कम्पनीले चीनबाट मात्र भइरहेको व्यापारका कारण उसको कुल व्यापारको २५ देखि ३० प्रतिशत आम्दानी घट्नेछ । त्यसैगरी क्वालकमले ५ वर्षमा ५६ अर्ब डलर बराबरको व्यापार गुमाउनेछ किनभने सो कम्पनीको ६० प्रतिशत व्यापार चीनसँग नै हुन्छ । सन् २०१८ मा मात्रै हुवावेले ११ अर्ब डलर बराबरको सामान अमेरिकी कम्पनीहरूबाट खरिद गरिएको थियो ।
अमेरिकाको यो कदमको असर सबैभन्दा बढी अमेरिकाका ग्रामिण क्षेत्रमा दूरसञ्चारमा कार्य गर्ने कम्पनीहरूलाई पर्नेछ । यी कम्पनीहरूले हुवावेका सामानहरू सस्तो र गुणस्तरीय भएका कारण प्रयोग गर्दै आएकोमा ट्रम्पको पछिल्लो निर्णयसँगै सबै फेर्नुपर्ने भए धेरै महँगो पर्नेछ । अमेरिकाको २५ प्रतिशत ग्रामीण क्षेत्रका दूरसञ्चार सेवा प्रदायकहरूले हुवावेकै सामानहरू प्रयोग गर्दछन् र यी सबै फेर्नुपर्दा यी साना कम्पनीहरूले ८० लाखदेखि १ करोड डलरसम्म खर्च गर्नुपर्नेछ जसको कारण धेरैजसो कम्पनीहरू टाटपल्टिनेछ । यस्ता कम्पनीहरूका सञ्चालकहरूले भनेका छन्, “यदि हुवावेका कारण राष्ट्रिय सुरक्षालाई खतरा छ भने यो कम्पनीसँग किन ९० दिनको समय दिएर सम्झौता गर्ने वातावरण बनाएको ? देशको सुरक्षाकै प्रश्न हो भने तत्काल प्रमाणहरू देखाएर हुवावेलाई हटाउनुपर्छ । होइन भने अहिले सरकारले भनेका कुराहरू सबै झूटा हुन्, यसले हामी सबैलाई घाटा गर्छ ।”
हुवावेका तीनजना अध्यक्षमध्येका एक सु छिचुनले सेन्चेनमा सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “अमेरिकाले नियतवस, योजनाबद्ध तरिकाले भू–राजनैतिक दाउपेचहरू गरिरहेको छ ।” उनले गत फेब्रुअरी १३ मा भनेका छन्, “यो फाईभजीको विवाद साँच्चै नै अमेरिकाले अरु देशको गोपनीयताको रक्षा गर्न नै उठाइरहेको छ वा हुवावेका उपकरणहरू प्रयोग भए अमेरिकाले ती देशहरूको तथ्याङ्क सङ्कलन गर्न बाधा पुग्ने भएर ? यो कुरा उहाँले अमेरिकी राज्य सचिव माइक पोम्पेले हङ्गेरी, स्लोभाकिया र पोल्याण्डलाई हुवावेका सामानहरू प्रयोग गरे ती देशहरूलाई दिई आएको सहायता रोक्ने चेतावनी दिएपछि भनेका हुन् ।
यदि चीनले विश्व व्यापार सङ्गठनका नियमहरूलाई उल्लङ्घन गरेको र अमेरिकालाई नै खान आएको भए वा हुवावेले साँच्चिकै अमेरिकाको सुरक्षामा खतरा पैदा गरेको हो भने अमेरिकासँग यसको प्रतिरोध गर्ने पूर्ण अधिकार छ तर चीनसँगसँगै हुवावेविरुद्ध लगाएका सबैजसो आरोपहरू निराधार र गलत साबित भएका छन् । यस अर्थमा अमेरिकाका सबै आरोपहरू चीनलाई तर्साएको जस्तो गरेर राष्ट्रियताको नाममा ट्रम्प प्रशासनले गरेका अवाञ्छनीय गतिविधिहरूमा अमेरिकी जनताको समर्थन लिन गरेको तिक्डममात्र हो । अमेरिकाले बुझ्नैपर्ने कुरा के हो भने, चीनलाई कुनै पनि तरिकाबाट घुँडा टेकाउने प्रयास असम्भव प्राय छ । अमेरिका र उसका पिछलग्गू देशहरूले आर्थिक युद्धमात्र नभई हतियारकै युद्धबाट पनि चीनलाई हराउन सकिँदैन भन्ने स्पष्ट देखिन्छ र कुनै किसिमको युद्धको चाहना चीनको पनि नरहेको स्पष्ट देख्नसक्छौँ । पहिलेका शक्ति राष्ट्रहरूको सङ्घर्षभन्दा अहिलेको अवस्था बिल्कुलै फरक छ । अहिले चीन र अमेरिका आर्थिक हिसाबले एकअर्कामा धेरै हिसाबले निर्भर छन् र दुवै आणविक हतियार सम्पन्न देशहरू हुन् । त्यसैले व्यापार युद्ध होस् वा हतियारको युद्ध दुवै देशसँगै विश्वलाई नै ठूलो क्षति नपु¥याई युद्धको अन्त्य सम्भव छैन । यस अर्थमा ट्रम्पले आफ्नोमात्र स्वार्थपूर्ति गर्ने व्यापार युद्धलगायतका विभिन्न आरोप–प्रत्यारोपलाई रोक्न अति आवश्यक छ नत्रभने यसले चीनलाई भन्दा अमेरिकालाई नै क्षति पु¥याउनुका साथै सम्पूर्ण विश्वलाई नै हानी गर्नेछ ।
(लेखक ख्वप कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *