भर्खरै :

व्यापार युद्ध संरा. अमेरिकालाई घातक

भक्तपुर, २४ जेठ । नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागले शुक्रबार विशेष समारोहबीच चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे विचार गोष्ठीको आयोजना ग¥यो ।
विचार गोष्ठीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशी र विदेशी शक्तिको अगाडि नझुक्ने सार्वभौम देश चीनले अमेरिकासँगको व्यापार युद्धमा सिद्धान्त र अडान नछोड्ने विचार व्यक्त गर्नुभयो ।
चीन र अमेरिकाबीचको व्यापार युद्धले सबै देशका जनतालाई असर पार्ने हुँदा अध्यक्ष रोहितले वार्तामार्फत समस्या सुल्झाउन चीनले आग्रह गरिरहेको बताउनुभयो ।
संरा अमेरिकाले सिद्धान्त र नियमको उल्लङ्घन गरेकै कारण व्यापार युद्ध निम्तिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “युद्धले अमेरिका र चीनमा मात्र होइन, संसारकै मालसामानको भाउ बढ्नेछ । त्यसको बढी घाटा अमेरिकालाई नै हुनेछ ।”
‘जीत–जीतको नीति’मा असहमति जनाएर संरा अमेरिका विश्वमै बदनाम भइरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले अमेरिका स्वतन्त्र व्यापारको पक्षमा छैन, ऊ हातहतियार उत्पादन गरेर युद्ध निम्त्याउने पक्षमा छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् विदेश सम्बन्ध विभाग प्रमुख प्रेम सुवालले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै संसारकै मानव जातिको विकासमा चीनले गरिरहेको सहकार्य सराहनीय रहेको बताउनुभयो ।
ठूलो सम्पत्तिका मालिक अमेरिकी राष्ट्रपति ट्रम्प र व्यक्तिगत सम्पत्तिको लोभ नगर्ने किसान, मजदुर तथा व्यापक जनता असल मित्र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वैचारिक द्वन्द्व स्वााविक भएको उल्लेख गर्दै सचिव सुवालले ट्रम्प संसारकै सबभन्दा बढी झूट बोल्ने व्यक्ति हुन् भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले व्यापार युद्धले कसैको हित नहुने चर्चा गर्दै हातहतियारको भरमा अरू स्वाधीन मुलुकमाथि हस्तक्षेप र प्रभुत्व जमाउने काम निन्दनीय छ भन्नुभयो ।
चीन विश्वका मुलुकसँग जोडेर हातेमालो गरी गरीबी, भोकमरी अन्त्य गरी समृद्ध देश बनाउन नयाँ सभ्यताको थालनी गर्न लागिरहेको बेला अमेरिकाले प्राकृतिक स्रोत र साधनमा रजाइँ गरेर संसारमा आधिपत्य कायम राख्ने जाल रचिरहेको बताउनुभयो ।
विश्व बजारमा हातहतियार बेचेर एकहत्ति कायम गर्न व्यापार युद्ध गरिरहेको उल्लेख गर्दै सांसद गोसाईले व्यापार युद्ध स्वयम् अमेरिकाको लागि आत्मघाती निर्णय हुनेछ भन्नुभयो ।
नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सृजना सैंजूले विश्वका मुलुकहरूबीच समझदारी बनाएर विकासमा योगदान गरिरहेको चीनलाई ऋणको पासो थाप्न लागेको भनी आरोप लगाउनु हास्यास्पद छ भन्नुभयो ।
“अफ्रिकी देशहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने एक भरपर्दो, असल सहयोगी देश चीन कहिल्यै औपनिवेशिक बन्ने छैन, चीन आर्थिक सङ्कटविरूद्ध लड्ने देश हो ।” सांसद सैंजूले भन्नुभयो ।
सांसद सैंजूले चीनको विरोध गरेर अमेरिकाले पतनको यात्रा गरिरहेको चर्चा गर्दै अरू देशको भाग्य निर्माण गर्न गरिरहेको सहयोगलाई ऋणको पासो थापेको भन्नु अमेरिकाको अपरिपक्वताको परिचय हो भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले शक्तिशाली राष्ट्र अमेरिकाले चीनले आफूलाई विकासमा उछिन्ने डरले नै व्यापार युद्ध गरेको पश्चिमी बुद्धिजीवीहरूको मत रहेको विचार व्यक्त गर्नुभयो ।
“चीन व्यापार युद्ध चाहँदैन, तर व्यापार युद्धदेखि डराउँदैन, आवश्यक भएको खण्डमा चीन व्यापार युद्ध गर्न पनि तयार रहेको चीनको मनस्थिति रहेको छ”, उहाँले भन्नुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेंले अमेरिकाले चीनलाई सुनियोजितढ·ले षड्यन्त्र गरेर चीनको बद्नाम गर्न खोजिरहेको बताउनुभयो ।
चीनको अरू देशमाथि हैकम जमाउने, संस्कृतिमाथि लाद्ने र हस्तक्षेप गर्ने कुनै मनसाय नरहेको उल्लेख गर्दै शिक्षक बिजुक्छेँले भन्नुभयो, “अरूको मामिलामा हस्तक्षेप नगर्ने चीन कसरी उपनिवेशवादी देश बन्छ ?”
नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश श्रेष्ठले चीनलाई उपनिवेशवादी देशको रुपमा कहिले पनि लिन नमिल्ने तर्क राख्दै चीनको विदेश नीति पञ्चशीलको सिद्धान्तमा आधारित छ भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका सहसचिव सुजन माकले अमेरिकाले चिनियाँ सामानमाथि अचानक कर बढाएपछि चीनले पनि प्रतिकारस्वरूप कर बढाएको चर्चा गर्दै युद्धबाट कुनै देशको हित नहुने बरू संसारका मुलुक प्रताडित हुने चीनको मान्यता रहेको बताउनुभयो ।
अमेरिका र चीन व्यापार समझदारीलाई सहयोग पु¥याउन प्रवर्तन कार्यालय स्थापना गर्ने सहमति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अमेरिकाले चिनियाँ दूरसञ्चार प्रदायक कम्पनीमाथि प्रतिबन्ध गर्ने घोषणा ग¥यो ।”
नेपाल प्राध्यापक समाजका सदस्य सुनिल दुवालले व्यापार युद्ध र हतियार युद्धले विश्वलाई नै क्षति हुने हुँदा व्यापार युद्ध कुनै हालतमा गर्न नहुने विचार राख्दै अमेरिकाले चीनलाई घुँडा टेकाउने षड्यन्त्र गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *