भर्खरै :

रोपाइँमा कृषि मलको अभाव

असार–साउन नेपालका अधिकांश क्षेत्रमा रोपाइँ हुने महिना हो । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान न्यून हुँदै गए पनि अझै ग्रामीण क्षेत्रका अधिकांश जनताको मूल आर्थिक स्रोत कृषि नै हो । तर, रोपाइँको याम सुरु भए पनि सरकारले अझै किसानलाई आवश्यक मल उपलब्ध गराउन सकेको छैन । यो वर्ष पनि मलको अभावले किसानलाई चिन्तित बनाएको छ ।
रोपाइँको समयमा कृषि मलको अभाव हुनु कुनै नयाँ घटना होइन । नेपालले दसकौंदेखि लगातार झेल्दै आएको समस्या हो मलको अभाव । सरकारमात्र होइन, राजनीतिक व्यवस्था पनि बदलियो । तथापि किसानको यो समस्या भने अझै ज्यूँका त्यूँ छ । कृषिप्रधान देश हुनुको नाताले नेपालमै कृषि मल कारखाना स्थापनाको विषयमा आवाज धेरै अघि उठेको थियो । तर, आजसम्मका कुनै पनि सरकार यो विषयमा गम्भीर भएनन् ।
शासक दलहरू देशमै मल कारखाना स्थापना गर्ने विषयमा उदासीन बन्नुको कारण विदेशबाट मल ल्याउँदा शासक दलले पाउने कमिसन हो । देशभित्रै मल कारखाना स्थापना गर्दा मल खरिदको कमिसन खान नपाउने भएकै कारण मल कारखाना स्थापनाको आवाज उठेको दसकौं बितिसक्दा पनि तदारुकता देखाइएको छैन ।
भारतबाट नेपालमा आउने मल नक्कली र म्याद नाघेको हुँदा नेपालको कृषि उत्पादन घटेको र माटोको गुणस्तर कम भएको समाचार नयाँ होइन । नेपालमा आउने गुणस्तरीय मल भारतमा प्रयोग गरी भारतबाट म्याद बिग्रेको मल नेपालमा पठाउने गरेकोमा राज्य स्वयम् मौन हुनुको कारण कमिसनकै चक्र हो । राज्यले सहुलियतमा दिएको कृषि मललाई तराईका जिल्लाका प्लाई उद्योगमा दुरुपयोग गरिएको छ । भारतबाट नक्कली मल ल्याउने र गुणस्तरीय मल भारत खपत गर्ने, सहुलियत दरको कृषि मल प्लाई उद्योगमा दुरुपयोग गर्ने काम शासक दलकै संरक्षणमा तिनकै ‘कार्यकर्ता’ बाट भइरहेको छ ।
कृषि नै नेपालको भविष्य हो । कृषि उत्पादनमा आत्मनिर्भर बनेको दिन नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ । त्यसकारण कृषि क्षेत्रको प्रवद्र्धनको लागि राज्यले विशेष ध्यान दिन जरुरी छ । अधिकांश किसानहरू कृषि उत्पादनप्रति राज्यको उदासीन व्यवहारका कारण निराश छन् । रातदिन मिहिनेत गरी कमाएको बालीले उचित बजार नपाउँदा र राज्यबाट कुनै प्रकारको प्रोत्साहन नहुँदा किसान परिवारका युवाहरू कृषि पेशाबाट विमुख बनिरहेका छा् । कृषिमा आधुनिकीकरण गरी कृषिमा नयाँ पुस्तालाई आकर्षण गर्नु त परको कुरा, कृषि कर्ममा नै भविष्य खोजिरहेका मिहिनेती किसानलाई समयमै गुणस्तरीय कृषि मलसमेत उपलब्ध गराउन सरकार असफल छ ।
नेपालमै कृषि मल कारखाना स्थापना जरुरी छ । नेपाली किसानलाई सस्तोमा कृषि मल समयमै उपलब्ध गराउन सके कृषि क्षेत्रमा फड्को मार्ने बाटो खुल्नेछ । नक्कली मल ल्याउने तस्करलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्छ । सहुलियत दरमा उपलब्ध गराइने मल कृषिमै उपयोग गराउन किसानकै हातसम्म पुग्ने सुनिश्चित गर्नु राज्यको दायित्व हो । चुनावी घोषणापत्रमा किसानका मुद्दालाई उच्च प्राथमिकता दिने शासक दलहरू चुनाव सके पछि ‘खोला त¥यो लौरो बिर्सियो’ गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *