भर्खरै :

पक्षपाती सरकार, सौतेलो व्यवहार

–पार्वती चौधरी
कैलाली–कञ्चनपुरमा हावाहुरीका कारण मानवीय र ठूलो धनजनको क्षति भएको घटनाप्रति बेवास्ता गरेर सरकारले सौतेलो व्यवहार गरेको आरोप सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले नै लगाएका छन् । प्रतिनिधिसभाको मङ्गलबारको बैठकको शून्य समयमा नेकपाका झपट रावलले हावाहुरीका कारण २ जनाको मृत्यु, १ सय ७ जनाको घाइते र हजारौँ घरबारविहीन हुँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका हुन् । सांसद रावलले लगाएको आरोप असत्य पनि होइन र देशको सन्दर्भमा नौलो पनि होइन ।
सरकार चलाएर बसेको भनेका प्रधानमन्त्री र मन्त्रीहरूले आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमात्र होइन, सारा देश नै आफ्नो कार्य क्षेत्र र जिम्मेवारी हो भनी नसम्झँदा प्रधानमन्त्री र मन्त्रीको गृह जिल्ला र निर्वाचन क्षेत्र बन्न नसकेका जिल्लाले राष्ट्रिय बजेट नपाएका र त्यहाँका समस्यामा सरकारको ध्यान नपुगेका कैयौँ उदाहरण छन् । सञ्चारमाध्यम र विदेशीले नभनेसम्म विपत्तिमा जनताको उद्धार गर्नु र व्यवस्थापन गर्नु कर्तव्य हो भनी सम्झने मुख्यमन्त्री, गृहमन्त्री र प्रधानमन्त्री नहुँदा पीडित जनता पीडामै रहनुपर्ने र संवेदनशील सांसद स्तब्ध हुनुपर्ने अवस्था आएको हो । प्रधानमन्त्री र मन्त्रीहरूका जिल्लामा बजेट बढी पार्ने र अन्य जिल्ला र गाउँको वास्तै नगर्ने प्रवृत्ति पञ्चायती प्रवृत्ति हो । देशमा बहुदलीय प्रजातन्त्र, लोकतान्त्रिक गाणतन्त्र र समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र आइसकेको भनिएको छ तर फेरिएका शासकहरूमा पञ्चायती प्रवृत्ति नै हावी छ । नामले प्रजातन्त्रवादी, प्रगतिशील र ‘कम्युनिष्ट’ नै भनिए पनि व्यवहार सामन्तवादी नै छ ।
त्यसैले सरकार र ‘राष्ट्रिय’ पार्टीहरूले कैलाली–कञ्चनपुरमा हावाहुरी देखेनन्, त्यसले भएको धनजनको क्षति देखेन । त्यहाँको लागि कुनै राहतको घोषणा पनि जरुरी भएन । प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीको हेलिकप्टर दौडाहा त परकै विषय भयो । सांसद रावलले संसदमा स्तब्ध भएर वा सञ्चारमाध्यमसामु आँसु झारेरमात्र पुग्दैन, सरकार र सत्तासीन पार्टीको गलत प्रवृत्तिविरुद्ध बोल्ने आँट गर्नुपर्छ, देशका अन्य भागको विपत्तिमा बेवास्ता हुँदा पनि त्यसबारे बोल्नसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *