भर्खरै :

गुठी विधेयकका केही प्रावधान

धारा ४५. दक्षिणा तथा उपहार ः
(१) कसैले व्यक्तिगतरूपमा मठाधीशलाई दिएको दान–दक्षिणा, उपहारजस्ता चल अचल सम्पत्तिको छुट्टाछुट्टै अभिलेख राख्नुपर्नेछ र त्यस्तो सम्पत्तिमध्ये मठाधीशले नगदी वा जिन्सी प्रकृतिको सम्पत्ति मठको उद्देश्य प्राप्ति गर्न तथा प्रचार प्रसारको काममा खर्च गर्नसक्नेछ ।
(२) उपदफा (१) बमोजिम खर्च गरी बाँकी रहेको सम्पत्ति मठाधीशको शेषपछि मठको हुनेछ र निजको हकवालाले दाबी गर्न पाउने छैन ।
(३) उपदफा (१) बमोजिमको जग्गा जमीनजस्ता अचल सम्पत्ति सम्बन्धित मालपोत कार्यालयले मठको नाममा दर्ता गरिदिनुपर्नेछ ।
धारा ५३. गुठी तैनाथी जग्गामा बनाएको घर ः
(१) यो ऐन प्रारम्भ हुनुअघि गुठी तैनाथी जग्गामा कसैले आफ्नै पुँजी तथा श्रम लगाई घर बनाई बसोबास गरेको रहेछ भने प्राधिकरणले तोकेको समयभित्र सोको विवरणसहित त्यस्तो जग्गा गुठी रैतानी नम्बरीमा परिणत गर्न प्राधिकरणले तोकेको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
२) उपदफा (१) बमोजिम पेश हुन आएको विवरणसहितको निवेदनउपर छानबिन गर्दा मनासिव देखिएमा प्राधिकरणले त्यस्तो घर र सो घरले चर्चेको जग्गा तोकिएको क्षेत्रफलमा नबढ्ने गरी गुठी रैतानीमा परिणत गर्नसक्नेछ ।
३) प्राधिकरणले उपदफा (२) बमोजिम गुठी रैतानी नम्बरीमा परिणत गर्दा निवेदकसँग जग्गाको हकमा रजिष्ट्रेशन प्रयोजनको लागि प्रचलित कानुनबमोजिम निर्धारित न्यूनतम मूल्य लिनुपर्नेछ ।
धारा ५६. मोहियानी हक र रैतानीसम्बन्धी व्यवस्था ः
(१) उपदफा (२) को अवस्थामा बाहेक गुठी जग्गामा मोहियानी हक लाग्ने छैन ।
(२) साविक गुठी संस्थान र मोहीबीच दोहोरो लिखित कबुलियत भई संवत् २०५३ पुस २४ गते अगावै अविछिन्नरूपमा गुठी जग्गामा भोगचलन गर्दै आइरहेको किसान वा निजको कानुनबमोजिमको हकवालाले त्यसको प्रमाण संलग्न गरी सो जग्गा रहेको स्थानीय तहको सिफारिससहित मोहियानी हक कायम गरी पाउन गुठी संस्थान ऐन, २०३३ बमोजिम सम्बन्धित भूमिसुधार कार्यालयमा निवेदन दिएको रहेछ भने निवेदकलाई त्यस्तो गुठी अधीनस्थ जग्गामा प्रचलित कानुनको अधीनमा रही मोहियानी हक प्राप्त हुनेछ ।
(४) गुठी अधीनस्थ जग्गाको मोहीले त्यस्तो जग्गा कसैलाई कमाउन वा कुनै शर्तमा उपयोग गर्न दिएको रहेछ भने त्यसरी कमाउने वा उपयोग गर्ने व्यक्तिलाई मोहियानी हक प्राप्त हुने छैन ।
(५) मोही लागेको गुठी अधीनस्थ जग्गामा कानुनबमोजिम प्राप्त मोहियानी हक निजको शेषपछि प्रचलित कानुनबमोजिम हकवालालाई प्राप्त हुनेछ ।
(६) मोही लागेको गुठी अधीनस्थ जग्गा मोही र गुठीलाई आधा आधा हुने गरी प्रचलित कानुनबमोजिम बाँडफाँड हुनेछ ।
(७) उपदफा (६) बमोजिम बाँडफाँड गर्दा प्रचलित कानुनबमोजिम मोहीको भागमा पर्न आउने आधा जग्गा मोहीको नाममा रैतानी परिणत जनाई र गुठीको भागको आधा जग्गा गुठी तैनाथी जग्गाको लगतमा दर्ता गर्ने गरी बाँडफाँड गर्नुपर्नेछ ।
(८) उपदफा (७) बमोजिम बाँडफाँड गर्दा गुठीको भागमा परेको आधा जग्गासमेत सम्बन्धित मोहीले गुठी रैतानी नम्बरी जग्गामा परिणत गराउन चाहेमा सो जग्गाको रजिष्टे«शन प्रयोजनका लागि प्रचलित कानुनबमोजिम निर्धारण गरिएको न्यूनतम मूल्य बराबरको रकमको पच्चीस प्रतिशत नगदै वा सो बराबरको बैङ्ग जमानत दाखिला गरी प्राधिकरणमा निवेदन दिनसक्नेछ । त्यसरी निवेदन परेको पैंतीस दिनभित्र प्राधिकरणले त्यस्तो रकम लिई सो जग्गा निवेदकको नाममा गुठी रैतानी जग्गामा परिणत गरिदिनेछ ।
(९) उपदफा (६), (७) र (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि मोही लागेको गुठी अधिनस्थ जग्गाको मोहीले उपदफा (५) बमोजिम मोही र गुठीको नाममा जग्गा बाँडफाँड नहुँदै पनि गुठीको भागमा पर्ने आधा जग्गासमेत आफ्नो नाममा गुठी रैतानी जग्गामा परिणत गराउन चाहे उपदफा (७) बमोजिमको रकम दाखिला गरी निवेदन दिनसक्ने छ । त्यसरी निवेदन परेकोमा सो रकम लिई त्यस्तो जग्गामा मोहीले पाउने आधा भाग र गुठीको नाममा कायम हुने आधा भागसमेत एकैपटक प्राधिकरणले मोहीको नाममा गुठी रैतानी जग्गामा परिणत गरिदिनुपर्नेछ ।
धारा ६०. गुठी रैतान नम्बरी जग्गामा परिणत गर्न नसकिने ः
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै धार्मिकस्थल, धार्मिकस्थलले चर्चेको जग्गा, बाग–बगैँचा, सार्वजनिक पोखरी, मठ–मन्दिर, पाटी, पौवा, सत्तल वा पर्व पूजा, जात्रा आदि सञ्चालन हुने स्थलको रूपमा रहेको सार्वजनिक गुठी र निजी गुठीको जग्गा वा प्राधिकरणले खुलारूपमा राख्न आवश्यक ठानेको कुनै धार्मिकस्थलको तोकिएबमोजिमको जग्गा गुठी रैतान नम्बरी जग्गामा परिणत गर्न सकिने छैन ।
(२) उपदफा (१) बमोजिमका जग्गा कुनै व्यहोराले गुठी रैतान नम्बरी जग्गामा दर्ता गर्ने गराउनेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) उपदफा (१) विपरीतको दर्ता सम्बन्धित अधिकारीले बदर गरी त्यस्तो जग्गा गुठी तैनाथी जग्गाको लगतमा दर्ता गर्नेछ । त्यस्तो जग्गामा घरसमेत बनेको रहेछ भने त्यस्तो घरलाई समेत धार्मिकस्थलको सम्पत्ति कायम गरिनेछ ।
(४) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुनबमोजम अधिकार पाई घर बनाई बसोबास गरी आएको मोहीले यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र त्यस्तो जग्गाको लागि दफा ५६ को उपदफा (७) बमोजिमको मूल्य बुझाई निवेदन दिएमा निजको नाममा गुठी रैतान नम्बरी जग्गामा परिणत हुनसक्ने छ ।
धारा ६४. निजी गुठी सार्वजनिक गुठीमा दर्ता गराउन सक्ने ः
(१) कुनै निजी गुठीका दुईतिहाइ गुठीयारले त्यस्तो गुठी सार्वजनिक गुठीको रूपमा दर्ता गराउन चाहेमा प्राधिकरण वा प्रदेश गुठी समितिसमक्ष निवेदन दिनसक्ने छन् ।
(२) उपदफा (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा प्राधिकरणले आवश्यक छानबिन गरी त्यस्तो निजी गुठी सार्वजनिक गुठीमा दर्ता गरी यस ऐनबमोजिम सञ्चालन र बन्दोबस्त गर्नु, गराउनुसक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन प्रारम्भ हुुँदाका बखत कसैले आफ्नो निजी सम्पत्ति लगानी गरी कुनै सार्वजनिक स्थानको मठ मन्दिर र धार्मिकस्थलको नाममा स्थापना गरी सञ्चालन गर्दै आएका निजी गुठी यस ऐन प्रारम्भ भएपछि स्वतः सार्वजनिक गुठीमा परिणत गरी प्राधिकरण वा प्रदेश गुठी व्यवस्थापन समितिले सार्वजनिक गुठीको रूपमा दर्ता गर्नसक्ने छ ।
स्रोतः गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *