भर्खरै :

किम भेट्न ट्रम्प पानमुनजोममा

पानमुनजोम, ३० जून । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानको ओसाका सहरमा भएको जी २० शिखर सम्मेलन सकाएर शुक्रबार दक्षिण कोरियाको राजधानी सिओल पुग्नुभयो । त्यहाँ उहाँलाई दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले स्वागत गर्नुभयो ।
संसारले सोचेको थियो–ट्रम्प सिओलबाट वाशिङ्टन फर्किनुहुनेछ । चार महिनाअघि मात्र भियतनामको राजधानी हनोईमा भएको प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उनसँगको दोस्रो शिखर सम्मेलन बिना कुनै सहमति टुङ्गिएकोले ट्रम्पले किमलाई तत्कालै भेटिहाल्ने कुनै छनक थिएन । त्यसमाथि प्रजग कोरियामाथि संरा अमेरिकाले थप केही नाकाबन्दी थोपर्नु र हालसालै मात्र चीनका राष्ट्रपति सी चिनफिङलाई प्योङयाङमा भव्य राजकीय सम्मान दिएका किमलाई ट्रम्पलाई किन भेट्ला र ? संसारलाई यस्तै लागेको थियो ।
तर, अन्तर्राष्ट्रिय राजनीतिक र कूटनीतिक सम्बन्धमा यस्ता घुम्तीहरू बरोबर आइरहन्छन्, जसले संसारलाई चकित मात्र पार्ने होइन बरू इतिहासमा एउटा कोशेढुङ्गा नै थपिदिने गर्दछन् । पाकिस्तानमा बिदा मनाउन गएका संरा अमेरिकी तात्कालीन विदेश सचिव हेनरी केसिङ्गर अचानक पेइचिङमा माओ त्सेतुङ र चाओ एन लाइसँग गफिंदै गरेका समाचार प्रकाशन हुँदा संसार जसरी चकित परेको थियो, आइतबार संरा अमेरिकी राष्ट्रपति ट्रम्प दुई कोरियाबीचको गैरसैनिक पानमुनजोम क्षेत्रमा पुग्दा संसार त्यसरी नै चकित परेको थियो । ट्रम्प पानमुनजोम मात्र पुग्नुभएन, उहाँ दुई कोरियाबीचको सिमाना नाघेर प्रजग कोरियाको भूमिमा पाइला टेक्नुभयो । कोरिया विभाजन पछि प्रजग कोरियाको भूमिमा पाइला टेक्ने ट्रम्प प्रथम राष्ट्रपति बन्नुभयो ।
ट्रम्प अन्तरकोरिया गाउँ पानमुनजोमको उत्तरतिर पाइला टेकेर प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनसँग हात मिलाउनुभयो । त्यसअघि ट्रम्प दक्षिण कोरियातिर र किम उत्तर कोरियाली भूमिमा उभिएर हात मिलाउनुभएको थियो । किम र ट्रम्पको यी सबै गतिविधि नजिकै उभिएर दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन आफ्नो स्वाभाविक हँसमुख अनुहारसहित हेरिरहनुभएको थियो ।
भेटमा किम जङ उनले असल भविष्यको सुरूआत र खराब विगतको अन्त्यको लागि ट्रम्पको असाधारण कटिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले प्रजग कोरियाली भूमिमा पाइला चाल्नुभएको पहिलो संरा अमेरिकी राष्ट्रपति भएको बताउनुभयो ।
दक्षिण कोरियाली भूभागमा रहेको पानमुनजोमस्थित भवनमा दुवै नेताहरूसँगै बसेर ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्नुभएको थियो । दुवै नेताको पश्र्वमा संरा अमेरिकी र प्रजग कोरियाली झण्डा लहरै सजाइएको थियो ।
ट्रम्पले पानमुनजोममा भएको भेटलाई ‘ऐतिहासिक क्षण’को सङ्ज्ञा दिंदै किमसँग आफूले निकै राम्रो सम्बन्ध विकास गरेको बताउनुभयो ।
गैरसैनिक क्षेत्र हुँदै प्रजग कोरियाली भूमिमा पाइला टेक्नु आफ्नो लागि ‘ठूलो सम्मान’ को विषय भएको भन्दै उहाँले आफ्नो निमन्त्रणालाई स्वीकार्नुभएकोमा प्रजग कोरियाली नेताप्रति आभार व्यक्त गर्नुभयो । ट्रम्पले किमलाई पानमुनजोममा भेट्न आमन्त्रण गर्नुभएको थियो ।
यसअघि शनिबार ट्रम्पले ट्वीटर सन्देशमार्फत गैरसैनिक क्षेत्रमा किमलाई आमन्त्रण गर्नुभएको थियो । जापानमा आयोजित पत्रकार भेटघाटमा पनि उहाँले अन्तरकोरियाली सिमानामा किम आए आफूलाई खुशी लाग्ने बताउनुभएको थियो ।
मुनसहित तीन नेताको भेटघाट झण्डै ५० मिनेट चलेको थियो । भेटबारे टिप्पणी गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्ने एउटै व्यवहारिक बाटो भनेको निरन्तरको संवाद भएको बताउनुभयो ।
सन् १९५०–५३ सम्म भएको प्रजग कोरिया–संरा अमेरिका युद्धको अझै पनि शान्ति सन्धि भएको छैन । प्रजग कोरियाले आफूसँग भएको सबै आणविक हतियार नष्ट गर्नुअघि शान्ति सन्धि हुनुपर्ने र सबै नाकाबन्दी अन्त्य गर्नुपर्ने अडान राखेको छ भने संरा अमेरिकाले प्रजग कोरियासँग भएका सबै हतियार नष्ट भए पछि मात्र शान्ति सन्धि गर्ने भन्दै आएको छ । कोरिया प्रायःद्वीपलाई आणविक निशस्त्रीकरण गर्न दक्षिण कोरियामा अझै दसौं हजारको सङ्ख्यामा तैनाथ गरिएका संरा अमेरिकी सेना फिर्ता गर्नुपर्ने अडान प्रजग कोरियाले राख्दै आएको छ ।
आइतबार किम र ट्रम्पबीच भएको भेटले हनोइ सम्मेलन पछि धिमा बनेको किम–ट्रम्प वार्ताले गति पाउने अपेक्षा गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *