भर्खरै :

सकसमा चेपाङ विद्यार्थीको सरकारी छात्रावास

–राजकुमार श्रेष्ठ
चितवन, २२ असार । चितवनको कालिका नगरपालिका– ९, शक्तिखोरस्थित प्रजा (चेपाङ) छात्रावासका विद्यार्थीहरू छात्रावासले आवश्यक सेवा सुविधा उपलब्ध नगराउँदा पीडित हुनु परेको छ । छात्रावासले विगतमा उपलब्ध गराउँदै आएका सेवा सुविधा नपाउँदा विद्यार्थीहरू दुःखी छन् । छात्रावासका विद्यार्थीहरू नजिकैको चतुर्मुखी माविमा अध्ययन गर्छन् ।
शिक्षाबाट वञ्चित हुनुपरेका विपन्न तथा निम्न आयस्तरका चेपाङ विद्यार्थीलाई शिक्षित बनाउन राज्यको तर्फबाट २०५७ मा चितवनको शक्तिखोरमा प्रजा छात्रावास स्थापना भएको हो । ४० जनाको कोटा रहेको छात्रावासमा हाल २६ जना विद्यार्थीहरू अध्ययनरत छन् । कक्षा ६ देखि १० सम्म छात्रावासले विद्यार्थीलाई सेवा दिंदै आइरहेको छ । एसईईपश्चात् प्रत्येक वर्ष खाली कोटामा छात्रावासले विद्यार्थी थप्ने गथ्र्यो । यो शैक्षिक सत्रमा भने १५ जना विद्यार्थीको कोटा माग गरे पनि अहिलेसम्म एकजना विद्यार्थी पनि आएको छैन । छात्रावासको अवस्थाको कारण विद्यार्थी नआएको छात्रावासका विद्यार्थीहरू बताउँछन् ।
विगतमा छात्रावासले आवश्यक शैक्षिक सामग्रीदेखि लिएर पोशाक, सरसफाइ सरसामानसम्म उपलब्ध गराउँदै आएको थियो । तर, आज यी सेवा सुविधाहरू छात्रावासले कटौती गरेको छ । व्यवस्थापन समितिले पनि चासो देखाइरहेको छैन । छात्रावासप्रतिको चासो र सेवा सुविधा कटौती हुँदै जाँदा विपन्न र विकट क्षेत्रका गरिब चेपाङ विद्यार्थीहरूको भविष्यमाथि चिन्ता बढेको छ ।
छात्रावासबाट अध्ययन गरेर निस्केका चेपाङ विद्यार्थीहरू विभिन्न क्षेत्रमा सेवारत छन् । विगतमा गरिब चेपाङ विद्यार्थीहरूको लागि छात्रवासको भूमिका सम्झनायोग्य हुँदा हुँदै आज आएर यसले विश्वास र भरोसा गुमाउँदै आएको छ । व्यवस्थापन समितिको कार्यशैली भरपर्दो नहुँदा छात्रावासमा यस्तो समस्या आएको हो ।
शैक्षिकसत्रको प्रथम त्रैमासिक परीक्षा सुरु हुन लाग्दा पनि छात्रावासले शैक्षिक सामग्री उपलब्ध गराएको छैन । छात्रावासको दोस्रो तलाबाट पास हुने शौचालयको पाइप फुटेको छ । होस्टल दुर्र्गन्धित छ । “समस्याबारे व्यवस्थापन समितिलाई गुनासो सुनायो भनेपछि कुनै चिन्ता र चासो नै देखाउँदैन”, कक्षा दशमा अध्ययनरत राजेश चेपाङले भने । छात्रावासमा बिजुली गएको समयमा अन्धकार हुन्छ । सोलावर जडान भए पनि वर्षौँदेखि सोलावर बिग्रेको छ ।
झरी वर्षा हुँदा खाना पकाउन समस्या हुन्छ । छात्रावासमा खाना पकाउने दाउरा समयमै उपलब्ध नहुँदा हप्तौँ दिनसम्म खानपानको लागि समस्या भएको भान्से दिलबहादुर चेपाङ बताउनुहुन्छ ।
“छात्रावास भन्नुमात्रै हो, कुनै व्यवस्था छैन”, उहाँ भन्नुहुन्छ । आफू पनि मासिक तलब ३५ सयमा काम गर्नुपर्दाको छुट्टै पीडा रहेको उहाँको कुरा थियो ।
वर्षौँदेखि छात्रावासमा मर्मत सम्भार भएको छैन । कोठामा पङ्खा छ तर चल्दैन । शौचालय र स्नानघरमा पानी आउँदैन । स्वच्छ खानेपानी समस्या छ । होस्टलमा कक्षा ६ देखिका स–साना उमेरका विद्यार्थीहरू छन् । पानी बोकेरै बाथरुम प्रयोग गर्नुपर्दछ । छात्रावासमा विजुली चोरेर पानीको मोटर चलाएकोे थियो । विद्युत् प्राधिकरणले बन्द गरेदेखि मोटर बन्द छ । नजिकै स्कूलबाट जडान गरेर बत्ती बालेको छ । सरसफाइको लागि दोस्रो तलासम्म पानी ओसार्नुपर्दा साना छात्रालाई समस्या भएको कक्षा ९ मा अध्ययनरत शनिसा चेपाङ बाताउँछिन् ।
छात्रावासको अवस्था लथालिङ्ग छ । बिहान बेलुका दुई छाक खाना खान पनि सकस छ । बिहान ९ बजे खानापछि बेलुका नभई विद्यार्थीले खान पाउँदैन । दिनको एक समय भए पनि खाजाको व्यवस्था गर्नुपर्ने विद्यार्थीको माग छ । होस्टलमा बाध्यताबस पढ्न आएका विद्यार्थीलाई भोकै रहेर पढ्नुपर्ने अर्को बाध्यता रहेको छ । विद्यार्थीहरू आफ्नो भागको खाना बाँकी राखेर खाजा खानुपर्ने बाध्यता होस्टलमा छ ।
पौष्टिक आहारको कुनै बन्दोबस्त छैन । “केही संस्थाहरूले २० रुपैयाँ पर्ने पातलो कापी, कलम, झोला पत्रकार भेला गरेर बाँड्छन्”, कक्षा ९ का विगबहादुर चेपाङ सुनाउँछन् । व्यवस्थापन समिति नै भरपर्दो नभएको होस्टलका विद्यार्थीहरूको गुनासो छ ।
अहिले होस्टेलमा चितवनका कोराक, सिद्धी, काउले, गर्दास, दारेचोकलगायतका विद्यार्थीहरू अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *