भर्खरै :

बन्ला त जडीबुटीमा ‘अण्डर पास’ !

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो सुरू नगरे सरकार आफैँले सुरू गर्ने तयारी थालेको छ ।
यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । माइतीघरदेखि सूर्यविनायकसम्म ६ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो । जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरूले गर्छौं नै भनिरहेकोले पहिलो प्राथमिकता उसलाई नै बनाउन दिने हो ।”
जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अन्तिम खाका आउन ढिलाइ हुँदा मात्रै त्यसको विकल्प खोजिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षभित्र काम अघि बढाउने मन्त्रालयको सोचाइ छ ।”
जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने बताइएको छ । अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्शन सञ्चालनमा ल्याएको छ । तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन सुरू गरेको थियो ।
सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *