भर्खरै :

भारतमा गरिबहरूको अवस्था ः एक विश्लेषण

साना अलि (इन्डिया स्पेन्ड डटकम)
झण्डै आधा अर्थात् ४७.९ प्रतिशत पाँच या पाँचभन्दा बढी केटाकेटी भएका परिवार आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाबाट वञ्चित भएको देखिएका छन् । मे ११, २०१९ का दिन सार्वजनिक भएको भारतीय मानव विकास सर्भेका अनुसार गरिब तर केटाकेटी नभएका परिवारको अवस्था भने केही सुध्रिएको छ ।
भारतमा विश्वका २४ प्रतिशत गरिबहरू बसोबास गर्छन् । विश्व बैङ्कका अनुसार भारत कूलगार्हस्थ उत्पादनका आधारमा विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । भारतका १ प्रतिशत धनीहरूले देशको ५८ प्रतिशत सम्पति कब्जा गरिबसेका छन् । जुन विश्वको तथ्याङ्कभन्दा बढी हो । विश्वका १ प्रतिशत धनीहरूले यस ग्रहको ५० प्रतिशत धनसम्पत्ति कब्जा गरेका छन् । भारतमा अति नै धेरै आर्थिक असमानता रहेको प्रस्ट हुन्छ ।
गरिबीले भारतका धेरै गरिब परिवारको जीवनमा निकै नकारात्मक असर पारेको छ । अझ त्यस्ता परिवारमा वयस्कहरूभन्दा पनि बालबालिका धेरै प्रकारका नैसर्गिक हक अधिकारहरू वञ्चित हुने गरेका छन् । तर, यस तथ्यलाई प्रायः बेवास्ता गर्ने गरिन्छ । सन् २०११ र २०१२ को बीचमा १,५०३ गाउँ र ९७१ सहरी वस्तीका १,४२,५५६ घर परिवारमा गरिएको बहु विषय सर्भेको नतिजामा उक्त तथ्य छर्लङ्ग भएको हो ।
संयुक्त राष्ट्र सङ्घको विश्व जनसङ्ख्या पूर्वानुमान २०१९ का अनुसार भारतमा २०५० सम्ममा २७ करोड ३० लाख मानिस थपिने अनुमान छ र सन् २०२७ सम्ममा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको चीनलाई भारतले उछिन्ने छ । यो जनसङ्ख्या पूर्वानुमान र भारतको मानव विकास प्रतिवेदनले आगामी दिनमा भारतका गरिब जनसङ्ख्यामाथि अझै गम्भीर नकारात्मक असर पर्ने स्पष्ट हुन्छ ।
तथ्याङ्क सङ्कलन गरिएको समयमा ग्रामीण र सहरी घरपरिवारका बीचमा भिन्नताको ठूलो खाडल भएको देखिएको छ । सहरका गरिब घर परिवारका बालबालिकाभन्दा ग्रामीण क्षेत्रका बालबालिका २.१ गुणा बढी आधारभूत सुविधाबाट वञ्चित भएको पाइएका छन् । सहरी क्षेत्रका गरिब बालबालिकाहरूको सार्वजनिक शिक्षा र स्वास्थ्य संस्थाहरूमा पहुँच तुलनात्मक रूपमा राम्रो भएको देखिएको छ ।
केटाकेटी भएका गरिब घरपरिवारहरूमध्ये पनि जसको आम्दानीको स्रोत दैनिक ज्याला मजदुरी रहेको छ, तिनीहरू अरु आम्दानीको नियमित स्रोत गरेकाहरूभन्दा बढी गरिब रहेको देखिएको छ । सर्भेका अनुसार गरिबहरूमध्ये पनि खेतीपाती वा अरु व्यापार व्यवसाय गरिरहेकाहरू भन्दा ज्याला मजदुरी गर्ने परिवारका केटाकेटी १.२ गुणा बढी जोखिममा रहेका छन् ।
त्यसैगरी विभिन्न जाति र सामाजिक–धार्मिक समूहको बीचमा पनि असमानता देखिएको छ । ग्रामीण जनजातिहरूका ५७.४ प्रतिशत घरपरिवार र बालबालिका निम्नतम आधारभूत आवश्यकताबाट वञ्चित छन् भने अरु विकसित जातिमा त्यस्तो स्थितिमा रहेकाहरूको जनसङ्ख्या २४.१ प्रतिशतमात्र रहेको देखियो । सिमान्त समुदायका र ज्यला मजदुरी नै आम्दानीको मुख्य स्रोतको रूपमा रहेका घरपरिवार सबै किसिमले गरिबी र अभावको दुष्चक्रमा पर्ने गरेका छन् ।
गरिबी दरको एक तुलना
भारतको ग्रामीण र सहरी क्षेत्रमा ४२, ५५६ घर परिवार समेटेर गरिएको उक्त सर्भेमा गरिब घर परिवार हो भनी निक्र्योल गर्न ६ वटा सूचकहरू उपयोग गरिएको थियो–आवास विहीनता अर्थात् ५ वा ५ भन्दा बढी मानिस एउटै कोठामा वा फुस र माटोले बनाएको घरमा बसिरहेका, टवाइलेट नभएको घरमा बसिरहेका वा सरसफाइको कमी, खानेपानीमाथि प्रत्यक्ष पहुँच नभएको र रेडियो, टिभी वा समाचार पत्रका रूपमा सूचनाको स्रोत नभएका परिवार । गरिबीका अरु सूचकहरूमा पाँच वर्षको उमेरभित्रमा पूर्ण खोप नदिइएको र पाँच वर्षसम्म पनि बालबालिकालाई विद्यालय नपठाइएकोलाई पनि बनाइएको थियो ।
उक्त अध्ययनले केटाकेटी भएका २२ प्रतिशत घरपरिवार गरिबीमा रहेको देखियो भने केटाकेटी नभएका परिवारमध्ये ८ प्रतिशतमात्र गरिबीमा रहेको पाइयो । ग्रामीण क्षेत्रमा केटाकेटी भएको परिवारमध्ये २५ प्रतिशत गरिबीमा रहेका र केटाकेटी नभएका परिवारमध्ये १० प्रतिशत गरिबीमा रहेका पाइयो भने सहरी क्षेत्रमा तुलनात्मक रूपमा कम अर्थात् केटाकेटी नभएका घरपरिवारमध्ये ४ प्रतिशतमात्र गरिबीमा रहेको पाइयो ।
महिला साक्षरताको प्रभाव
महिला साक्षरताले घर–परिवार र सदस्यहरूको समग्र जीवन, हुर्काइको दर शिक्षा आदिमा सकारात्मक प्रभाव परेको देखियो भने तिनीहरूको आवास, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, सूचना तथा आर्थिक स्तरमा तुलनात्मक रूपमा बढी पहुँच देखिएको छ ।
साक्षर महिला भएका घर परिवारभन्दा महिला साक्षर नभएका घर–परिवार आवास, सरसफाइ, शिक्षा, खानेपानी आदि क्षेत्रमा १.६ गुणा कम पहुँच रहेको देखिएको छ । त्यसैगरी अध्ययनका अनुसार निम्न माध्यमिक तहको शिक्षा हासिल गरेको महिला भएका घरपरिवारभन्दा माध्यमिक शिक्षा पूरा गरेका महिला भएका घरपरिवारको अवस्था सुध्रिएको देखिएको छ । यसले बढी शिक्षित महिलाको कारण घर–परिवारमा बढी आधारभूत आवश्यकतासम्मको पहुँच हुने देखाएको छ । एक आमाको शिक्षा परिवारको अन्य धनसम्पतिभन्दा बढी महत्वपूर्ण भएको समचार इन्डिया स्पेन्ड डटकमले जून १५ मा प्रकाशित गरेको थियो । त्यस्तै अशिक्षित पुरुषको नेतृत्वमा रहेको घर–परिवारभन्दा अशिक्षित महिलाको नेतृत्वमा रहेको घर–परिवार १.१ गुणाले आधारभूत आवश्यकतामा पहुँच कम भएको देखिएको छ ।
परम्परागत पारिवारिक ढाँचा परिवर्तन भएसँगै एक असाक्षर महिलाले परिवारको मुखियाको भूमिका निर्वाह गर्न बाध्य भइन् । जुन महिलाहरूका श्रीमान् राम्रो काम र अवसरका लागि सहरहरूमा बसेका छन् वा मृत्यु भइसकेका छन् ।” भारत मानव विकास सर्भेका एक सोधकर्ता सुनिलकुमार मिश्राले भन्नुभयो ।
“यस्तो स्थितिमा त्यस्ता घरपरिवार अझ बढी सेवा सुविधाबाट वञ्चित भएका छन् । संयुक्त परिवारमा केटाकेटीहरू सेवाबाट वञ्चित हुने दर अलिकम छ ।”
समुदाय र जाति
भारतमा वञ्चितीकरणको अवस्था जात र धर्मसँग पनि जोडिएको छ । केटाकेटी भएका मुस्लिम घर–परिवारमा अरु समुदायमा भन्दा वञ्चितीकरण दोब्बर देखिएको छ । मानव विकास सर्भे प्रतिवेदनअनुसार अति सिमान्तीकृत अल्पसङ्ख्यक जातिका बालबालिकाहरू अरु सामान्य पिछडिएका र दलित जातिका बालबालिकाभन्दा १.५ गुणाले वञ्चितीकरणमा परेका छन् ।
अत्यन्त कम साक्षरता दर र ज्याल मजदुरीमा संलग्न सिमान्तीकृत सूचीकृत जातिका परिवारहरू अत्यन्त जोखिमपूर्ण स्थितिमा रहेका छन् । त्यस्ता गरिब परिवारका अधिकांश बालबालिका बालश्रममा लगाइएका छन् । त्यस्ता परिवारमध्ये ४९.८ प्रतिशत तथा बालबालिका नभएका ३४.३ प्रतिशत परिवार स्वच्छ खानेपानीबाट वञ्चित छन् । यस्तो वञ्चितीकरणमध्ये प्रदेश, उडिसा, विहार, झारखण्ड, राजस्थान र छत्तिसगढजस्ता राज्यमा अरु राज्यमा भन्दा १.२ गुणा बढी छ ।
सम्भव समाधान
सामाजिक कल्कयाण योजनाले समेटेका घर–परिवार र बालबालिका अरु गरिब घर–परिवारका बालबालिकाभन्दा सरकारी सुविधा प्राप्तिमा अगाडि छन् ।
विहारमा लागू गरिएको बालिका साइकल कार्यक्रमले विद्यालयमा र माध्यमिक विद्यालय भर्नामा लैङ्गिक भिन्नता घटाएको छ । १४–१५ वर्ष उमेरका बालिकाहरूले कक्षा ९–१० उत्तीर्ण गर्ने दर ३० प्रतिशतले वृद्धि भएको छ ।
सामाजिक कल्याण कार्यक्रमहरूले चर्पी, स्वच्छ पानी, न्यापकिनहरूको प्रयोग र पहुँचमा वृद्धि गरेको छ । दिवा खाजा कार्यक्रमले विद्यालय भर्ना दर तथा विद्यालयको सफलता एकातिर बढेको छ भने अर्कोतिर बालबालिकाले पाउनुपर्ने क्यालोरी र प्रोटिनको उपलब्धता वृद्धि भएको छ ।
भारतको मानव विकास सर्भेको महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार सुनिश्चितता योजना लागू भएका गरिब समुदायमा बालश्रम अत्यन्त कममात्र भएको देखाएको छ । उक्त योजना लागू भएका समुदायमा भन्दा लागू नभएका समुदायमा बालश्रम बालकका हकमा १३.४ प्रतिशत र बालिकाका हकमा ८.२ प्रतिशतले बढी रहेको पत्ता लगाइएको छ ।
विभिन्न बचत समूहहरू, सहकारी संस्थाहरू र साना तथा घरेलु उद्योग विकास भएका समुदायमा पनि बालश्रम हट्नुका साथै बालबालिका र समुदायको नै आधारभूत आवश्यकतामा पहुँच वृद्धि भएको देखिएको छ । यस्ता कार्यक्रमको माध्यमबाट स्थानीय नेतृत्व तयार भएका समुदायमा सरसफाइ स्वास्थ्य, शिक्षा, सूचनाको पहुँच वृद्धि हुनुका साथै बालबालिकालाई वञ्चितीकरण गर्ने विसङ्गति घटेको देखिएको छ ।
अनुवादः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *