भर्खरै :

महोत्तरीमा रोपाइँको चटारो

– गोपालप्रसाद बराल
साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी सुक्दै गएपछि खेत खनजोत र रोपाइँ सुरु भएको हो ।
जिल्लाका उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्ति पर्वसँगै सघन रोपाइँ सुरु भएको छ । असारको चौथो साताको प्रारम्भसम्म खेतको माटो गालेर पानी नपर्दा यहाँको रोपाइँ पछि परेको हो । असार निगल्दो अविरल परेको पानीको डुबान कम भएर खेत खनजोत गर्न सकिने भएपछि बल्ल रोपाइँ सुरु गरिएको भङ्गाहा–५ राजपुरका किसान लक्ष्मण महतोले बताउनुभयो ।
“जेठ मध्यताका राखेको धुले बीउ ब्याडमै खडेरीले खायो, असार मध्यताका परेको पानीमा राखेको बीउ भर्खर तयार भएकोले पछिल्लो वर्षापछि बल्ल धान रोप्न थालेका हौँ”, महतोले भन्नुभयो । यद्यपि अहिले राम्ररी बीउ रोप्न सकिए २२ दिनपछि खरुवन (कलम, अहिले रोपेको गाँजिएपछि त्यही उखेलेर रोप्ने) बाट बाँकी खेत रोपिने महतोको आश छ ।
जिल्लाको उत्तरी क्षेत्रमा भिरालो जग्गा भएकोले डुबानको पानी चाँडै बगेर नगरपालिका क्षेत्रमा जाँदा अहिले सघन रोपाइँ भएको देखिँदै छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा अझै खेतका ग¥हा नदेखिने गरी पानी डम्म नै भएकोले रोपाइँको अहिले सुरसार नै नभएको रामगोपालपुर नगरपालिका–७ का किसान इब्राहिम राइनले बताउनुभयो ।
जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा बाँकी ६ नगरपालिका र पाँच गाउँपालिका क्षेत्रमा बीउ जोगिएको होला भन्ने किसानले सोचेका छैनन् । “सुरुमा खडेरीले बीउ खायो, अहिले केही नदेखिने गरी खेतमा डम्म पानी भरिएको छ, बीउ गली सकेको होला !” एकडारा गाउँपालिकाको भटौलिया गाउँका किसान जानकीशरण मण्डलले दिक्दारिँदै भन्नुभयो । आकाशे पानीको भरमा खेती गर्नुपर्दा कहिल्यै ठीक समयमा खेती लगाउन नपाइएको मण्डलको गुनासो छ । मण्डलले भन्नुभयो, “नदी त बस्ती नै पिच्छे छन् नि.. ! तर, सिँचाइका लागि नभएर बर्खामा घरखेत बगाउन ।”
जिल्लाको कुल खेतीयोग्य जग्गा ६७ हजार ८५३ हेक्टरमध्ये ५० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको कृषि ज्ञान केन्द्र मलङ्गवा, सर्लाहीले जनाएको छ । यसपालि भने बीउ रोपाइँ सकिएको हुनपर्ने असार मसान्तसम्म सिञ्चित क्षेत्र (नहर र कुलोको पानी लाग्ने) मा मात्र १० प्रतिशत रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र सर्लाहीको महोत्तरीस्थित सम्पर्क कार्यालयका अन्नबाली प्राविधिक रामकैलाश साहले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म नहर र कुलोको पानी लाग्ने सिञ्चित क्षेत्र ४ हजार ७९५ हेक्टरमात्र छ । बाँकी अन्य जग्गा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने भएकोले किसानले ठीक समयमा खेती लगाउन नपाएका कृषि ज्ञान केन्द्रका कृषि विज्ञ पनि स्वीकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *