– वासुदेव पोडेल
नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती । तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ । पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थेनियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ । तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थेनियम झाँगिएको पाइन्छ ।
पछिल्ला अध्ययनअनुसार नेपालका कास्कीसहित ५६ जिल्लामा यो प्रजाति झागिँदै गएको वनस्पति क्षेत्रमा अनुसन्धानरत राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रुपाखेतीले जानकारी दिनुभयो । गाउँघरमा पाइने तितेपातीलगायतका रैथाने वनस्पतिहरू यतिखेर मिचाहा प्रजातिको मारमा सङ्कटमा पर्दै गएका छन् ।
विषाक्त पार्थेनियमको विस्तारसँगै यसले आर्थिक क्षतिका साथै मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पार्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “पार्थेनियमको विस्तारले कृषिजन्य जमीन तथा अन्य उपयोगी वनस्पतिलाई प्रत्यक्ष असर पार्न थालेको छ,” उहाँले भन्नुभयो, “यसको परागकण विषाक्त हुने भएका कारण यसले श्वासप्रश्वासमा असर पारी फोक्सोको क्यान्सरसमेत निम्त्याउन सक्छ ।” यो झार घाम लागेका बेलामा छोएमा शरीरमा डाबर आउने तथा चिलाउने समस्या हुने उहाँले जानकारी दिनुभयो ।
घरपालुवा पशु चौपाया चर्ने क्रममा मुख वा शरीरमा छोइएमा छोइएको भाग बाक्लो बन्दै जाने लगायतका समस्या पनि यसका कारण निम्तिन थालेको छ । दक्षिण अमेरिकाबाट नेपालमा भित्रिएको यो प्रजाति विसं २०२४ मा पहिलो पटक नुवाकोटको त्रिशूलीमा जापानी वनस्पतिशास्त्रीले फेला पारेका थिए । घाम लागेको बेलामा यसका परागले स्वासप्रश्वास एवं छालामा असर पार्ने भएकोले किसानले घाम नलागेको बेलामा पञ्जा लगाएर उखेली ओसिलो ठाउँमा यसलाई जलाउनुपर्ने सम्बन्धित विज्ञको सुझाव छ ।
देख्दा तितेपातीजस्तै देखिए पनि त्यसको ठिक विपरीत यो विषाक्त हुने भएकोले यससँग जोगिनुपर्ने देखिन्छ । रुपाखेतीका अनुसार नेपालमा हाल २७ जातका बाह्य मिचाहा प्रजाति रहेका छन् । पछिल्ला वर्षमा पार्थेनियम, माइकेनिया र जलकुम्भी जस्ता मिचाहा प्रजाति गम्भीर समस्याका रूपमा देखिएका छन् ।
नेपालमा देशैभरि पार्थेनियम फैलने क्रम वर्षेनी तीव्ररूपमा बढेको संरक्षण विकास फउण्डेशनका संयोजक डा विके शर्माले बताउनुभयो । “अध्ययनअनुसार नेपालका विकट ग्रामीण भेगमा समेत गाडी पुगेसँगै ती ठाउँमा पार्थेनियम पुगेको देखिन्छ”, उहाँले भन्नुभयो । गाडीको टायरमा टाँसिएर यसको बीउ विभिन्न जिल्लामा पुगेको र जसका कारण अन्य रैथाने प्रजाति क्रमशः विस्थापित बन्दै गएको उहाँले बताउनुभयो ।
Leave a Reply