भर्खरै :

खेलकुद छाड्दै मोबाइलमा रमाउँदै बालबालिका

खेलकुद छाड्दै मोबाइलमा रमाउँदै बालबालिका

– कृष्टिना कोजु, प्रशिक्षार्थी
भक्तपुर, ११ भदौ । विद्यालयबाट घर फर्किएपछि बालबालिकाहरू साथीहरूसँग बाहिर खेल्न जाने गर्थे । कोही फूटबल खेल्थे, कोही साइकल चलाउँथे, कोही लुकामारी खेल्थे, कोही दौडिन्थे त कोही घर आँगनमै विभिन्न खेल खेल्थे । अहिले भने त्यो दृश्य धेरै ठाउँमा बदलिएको छ । खेल्ने समयमा मोबाइल फोनमै बिताउन थालेका बालबालिका घरभित्रै बसेर भिडियो हेर्ने, मोबाइल गेम खेल्ने र सामाजिक सञ्जालमा समय बिताउने गरेका छन् ।
आज मोबाइल फोन बालबालिकाका लागि नयाँ कुरा होइन । पढाइका लागि जानकारी खोज्न, अनलाइन कक्षा बस्न, शैक्षिक सामग्री हेर्न मोबाइल उपयोगी साधन बनेको छ । तर, आवश्यकताभन्दा बढी समय मोबाइलमा बिताउन थालेपछि बालबालिकाको दैनिक जीवनमा असर देखिन थालेका छन् ।
कोरोना महामारीपछि बालबालिकाको मोबाइल प्रयोगमा पनि ठुलो परिवर्तन आएको देखिन्छ । महामारीको समयमा विद्यालय बन्द हुँदा पढाइका लागि अनलाइन कक्षा सञ्चालन हुन थाले । त्यसका लागि मोबाइल, कम्प्युटरको प्रयोग आवश्यक भयो । सुरुमा पढाइका लागि प्रयोग गरिएको मोबाइलपछि बिस्तारै मनोरञ्जनको माध्यम र साधन पनि बन्न पुग्यो । अनलाइन कक्षापछि भिडियो हेर्ने, मोबाइल गेम खेल्ने तथा अन्य डिजिटल सामग्रीमा समय बिताउने बानी धेरै बालबालिकामा बढ्न थाल्यो ।
बालबालिकामा मोबाइलप्रति आशक्ति बढ्दो छ । मोबाइल पाएपछि उनीहरू सबै कुरा भुल्छन् । एउटै कोठाभित्र, एउटै पलङ्मा वा एउटै सोफामा बसेर घण्टौँ बिताइदिन्छन् । यसरी मोबाइल खेल्न पाएपछि न भोक लागेको थाहा पाउँछन् न तिर्खा लागेको पनि थाहा पाउँछन् । एकै ठाउँमा खुम्चिएर बसेपछि उनीहरूको सम्पूर्ण ध्यान स्क्रिनमा हुन्छ । आफ्नो आसपासमा के भइरहेको छ भन्ने कुरा थाहा पाउँदैनन् ।
कतिपय अभिभावकलाई लाग्छ, बालबालिकालाई मोबाइल दिएपछि झै–झगडा गर्दैनन् । फोहोर खेल्दैनन् । घरको सरसामान बिगार्दैनन् । कचकच गर्दैनन् । खानेकुरा माग्दैनन् । एकै ठाउँ बसिरहन्छन् । कतिपय अभिभावकलाई के पनि लाग्छ भने, आफ्ना बालबालिकाले मोबाइलमा धेरै कुरा चलाउन सिके । आफूले समेत नजानेका कुरा बच्चाले सिके । जबकि बालबालिकामा मोबाइलप्रतिको यो आशक्ति आफैमा खुसीको कुरा होइन । बरु यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा अवरोध पु¥याइरहेको छ ।
मोबाइलमा गेम (खेल) खेल्ने कुरा नयाँ पुस्ताका लागि दैनिकी जस्तो भएको छ । मोबाइलमा गेमको लतले गर्दा कतिपय बालबालिका सामाजिक रूपमा घुलमिल हुन सकेका छैनन् । बढी गेम खेल्दा शारीरिक रूपमा समस्या आउनुका साथै पैसा गुमाएका समाचारहरू पनि आइरहन्छन् । मोबाइल खराब छैन । सही तरिकाले प्रयोग गर्दा बालबालिकाले धेरै कुरा सिक्न सक्छन् । शैक्षिक भिडियो, डिजिटल पुस्तक, नयाँ भाषा सिक्ने सामग्रीले सिकाइमा मद्दत पु¥याउँछ । समस्या मोबाइलको प्रयोगमा होइन, मोबाइलले खेल्ने, पढ्ने, परिवारसँग कुरा गर्ने र अन्य गतिविधिहरूबिच सन्तुलन आवश्यक छ । विद्यालय र समाजले मोबाइलबाट टाढा राख्न मद्दत गर्न सक्छन् । विद्यालयमा खेलकुद कार्यक्रम चलाउँदा, विद्यार्थीहरूलाई खेलमा भाग लिन लगाउँदा, खेलमैदान राम्रो बनाउँदा बालबालिका बाहिरी गतिविधिमा आकर्षित हुन्छन् । घर बाहिर सुरक्षित खेल्ने ठाउँ कम हुँदा बालबालिका घरभित्रै बस्न सक्छन् । त्यसैले, समुदायले बालबालिकाका लागि सुरक्षित खेल्ने स्थान बनाउने र विकास गर्ने काम गर्नुपर्छ । सन्तुलित प्रयोग आवश्यक छ । बालबालिकालाई ‘मोबाइल नचलाउ’ भन्ने मात्र होइन, मोबाइलको सही प्रयोग सिकाउनु राम्रो हुन्छ । अभिभावकले बच्चासँग मिलेर दिनचर्या गर्न, पढाइ, खेल, परिवार मनोरञ्जन आदि सबैको लागि समय छुट्याइन्छ । मोबाइल प्रयोग गर्दा उमेर अनुसार सामग्री हेर्नु, लामो समय स्क्रिनमा नबस्नु, बिचमा बाहिरी गतिविधि गर्ने बानी बसाल्न सहयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *