भर्खरै :

तातिरहेको पृथ्वी र रुख बिरुवा

  • भाद्र ११, २०८३
  • जेसिका म्याकेन्जी
  • विचार
तातिरहेको पृथ्वी र रुख बिरुवा

एक नयाँ अध्ययनले वनजङ्गलबारे पुरानो मान्यता भत्काएको छ । पुरानो ‘जलवायु मोडल’ मा खोट भेटिएको छ । तातिरहेको पृथ्वीमा वनजङ्गलले धेरै कार्बन सोस्न नसक्ने देखिएको छ । यसअघि वनजङ्गलले धेरै कार्बन सोस्न सक्छ भन्ने मान्यता थियो । नयाँ अध्ययनबाट एउटा तथ्य बाहिर आएको छ, पृथ्वीको तापक्रम अनुमान गरेभन्दा पनि बढ्ने देखिन्छ ।
यो अध्ययन कर्नवेल विश्वविद्यालयका अध्येताहरूले गरेका हुन् ।
वैज्ञानिक र नीतिनिर्माताहरूले ‘जलवायु मोडल’ बनाएर अध्ययन गर्दै आएका छन् । यो मोडलबाट केही दशक वा शताब्दीपछि जलवायु प्रणालीमा के हुन्छ भनी पूर्वानुमान गर्न सघाउ पुग्छ । यो मोडल पृथ्वी प्रणाली सञ्चालन गर्ने विज्ञानका अनेक आधारभूत नियममा आधारित हुन्छ । यसमा भौतिकशास्त्र, तरल पदार्थको गति विज्ञान, रसायनशास्त्र र जीव विज्ञानको गणना हुन्छ ।
तर, कम्प्युटरले गर्ने सबै गणनामा जस्तै ‘जलवायु मोडल’ मा पनि खोट हुन्छ । त्यसमा जस्तो डेटा दिइन्छ, त्यसैअनुसार नतिजा निस्किन्छ । कर्नवेल विश्वविद्यालयका अध्येताहरूले भनेअनुसार धेरै ‘पृथ्वी प्रणाली मोडल’ मा समस्या छन् । वनजङ्गलले भविष्यमा उत्सर्जित कार्बनको ३० प्रतिशत हिस्सा सोस्ने बताइएको थियो । त्यसरी पूर्वानुमान गर्ने मोडलहरूमा गल्ती देखिएको छ ।
ब्रेनडन क्लार्क उक्त अनुसन्धानका एक अगुवा थिए । उनले भने, “अहिलेसम्म मानव जातिले उत्सर्जन गर्ने कार्बन डाइअक्साइडको एकतिहाइ हिस्सा जमिनले सोस्छ । तर, तापक्रम बढ्दै जाँदा सबथोक सुक्खा र तातो हुँदै जानेछ । त्यसैले स्थिति उस्तै रहनेछैन । भविष्यमा जमिनको कार्बन डाइअक्साइड सोस्ने क्षमता बदलिनेछ । त्यो नै सबैभन्दा ठुलो अनिश्चय हो ।”
उक्त अध्ययनले ‘जलवायु मोडल’ मा भएको कमजोर बिन्दु पत्ता लगाएको छ । वायुमण्डलमा हुने कार्बन उत्सर्जनको ठुलो हिस्सा वनजङ्गलले सोस्छ भन्ने उक्त ‘मोडल’ को अनुमान गलत साबित भएको छ । तापमान बढ्दै जाँदा वातावरणमा भएको कार्बन सोस्ने रुखबिरुवाको क्षमतामा ¥हास आउँछ । खासमा रुखबिरुवाले वातावरणबाट कार्बन सोसेर भण्डारण गरी आफ्नो आयतन बढाउँछन् । तर, तापमान बढ्दै जाँदा त्यसमा कमी आउँछ । यसको अर्थ जलवायु परिवर्तनले ल्याउने जोखिमलाई वर्तमान ‘जलवायु मोडल’ हरूले समेट्न सक्दैनन् ।
आजसम्म धेरै मोडल यही सिद्धान्तमा आधारित थिए । वनजङ्गलको आकार जति बढ्यो उति नै फोटोसिन्थेसिसबाट तिनले वरपर भएको कार्बन पनि सोस्छन् र हावामा जति बढी कार्बन डाइअक्साइड भयो उति बढी बोटबिरुवा बढ्छन् भन्ने थियो पहिले । तथाकथित जलवायुका ठेकेदारहरूले भन्ने गर्थे, “कार्बन डाइअक्साइड रुखबिरुवाको खाना हो ।” यस्ता ठेकेदारहरूले जलवायु परिवर्तनको मूलकारण मानव उत्सर्जन हो भन्ने बुझाइमा विमति राख्थे । यो विचारको पैरवी गर्ने अलग्गै सङ्गठन समेत छ । त्यसको नाम हो, ‘CO2 Coalition’ (कार्बन डाइअक्साइड गठबन्धन) । सुरुमा यो संस्थाको नेतृत्व अमेरिकी पेट्रोलियम संस्थानका प्रबन्ध निर्देशक विलियम ओकिफेले गरेका थिए । यसको दाबी थियो, वातावरणमा कार्बन डाइअक्साइडको घनत्व बढ्दा बोटबिरुवा र वनजङ्गल पनि उत्तिकै तीव्र रूपमा बढ्छन्, कृषि उत्पादन पनि बढ्छ । डोनाल्ड ट्रम्पको ऊर्जा मन्त्रालयले तयार पारेको जलवायु प्रतिवेदनमा पनि यही दाबी गरिएको थियो । संसारका धेरै जलवायु वैज्ञानिकहरूले यो दाबीको खण्डन गर्दै आएका छन् ।
कार्बन डाइअक्साइडको मात्रा बढेको खण्डमा बोटबिरुवाले पाउने लाभका आफ्नै सीमा रहेको विभिन्न वैज्ञानिक अध्ययनले देखाएको छ । खासगरी तातो र सुक्खा इलाकामा यस्तो लाभ कम रहनेछ । जलवायु परिवर्तनका कारण मकै, गहुँ र जौको उब्जनीमा कमी आएको अध्ययनहरूले देखाएको छ । तातो पृथ्वीमा प्रकृतिले कति कार्बन डाइअक्साइड सोस्न सक्ला भन्ने प्रश्न चिन्ताजनक पनि छ । जस्तो उत्तर अमेरिकामा पाइने देवदार रुखहरूले कार्बन डाइअक्साइडलाई काठमा बदलेको पाइएको छैन । किनभने, त्यसो गर्नका लागि तिनलाई पर्याप्त पानी पनि चाहिन्छ । स्वीजरल्यान्डमा पनि यही हाल छ । त्यहाँ सेतो फर, बिच र स्प्रुसका रुखहरूले तीव्रगतिमा कार्बन नसोसेको भेटियो । यसको अर्थ रुखबिरुवाहरूले लामो समयसम्म कम कार्बन सोस्ने देखिन्छ ।
हामीलाई सानोमा विद्यालयमा सिकाइन्थ्यो, काटेको मुढोमा हुने गोला धर्सा हेरेर कुन वर्षमा बढी पानी परेको थियो र कुन वर्ष सुक्खा थियो भनी अनुमान लगाउन सकिन्छ । तर, रुख कति बढ्छ वा रुखले कति कार्बन सोस्न सक्छ भन्ने कुरा पानीमा मात्र निर्भर हुन्न । आद्रताले पनि ठुलो भूमिका खेल्छ । हावा तातो र सुक्खा हुँदा रुखले आफ्ना स्टोमाटाहरू बन्द गर्छ, जसले गर्दा पानी खेर जान्न । (रुखले कार्बन डाइअक्साइड लिने र अक्सिजन फाल्ने मसिना प्वाललाई स्टोमाटा भनिन्छ ।) यसले गर्दा फोटोसिन्थेसिसमार्फत एउटा रुखले सोस्ने कार्बन डाइअक्साइड सीमित हुन्छ । बिरुवाको कोषमा पर्याप्त पानी नभएपछि त्यसले वरपरको कार्बन डाइअक्साइड सोस्न सक्दैन र यही गतिमा बढ्न सक्दैन ।
क्लर्क भन्छन्, अबका ‘जलवायु मोडल’ का लागि यो सूचना अति नै महत्वपूर्ण छ । राष्ट्रसङ्घको ‘जलवायु परिवर्तनका लागि अन्तर सरकारी समूह’ (आइपीसीसी) ले यी मोडलको प्रयोग गर्दै आएको छ । यसअघि वैज्ञानिकहरूले वातावरणमा कति कार्बन डाइअक्साइड उपलब्ध होला भनी अनुमान गरेर अङ्क राख्थे; मोडलले सोहीअनुसार ‘पृथ्वी प्रणाली’ मा कस्तो हेरफेर आउँछ भनी बताउँथ्यो ।
जलवायु वैज्ञानिक जेक हाउजफादरले यस्ता ‘कार्बनमा आधारित’ अनुमानले प्रकृतिमा हुने कार्बनको चक्रलाई बेवास्ता गरेको बताउँछन् । पृथ्वी तात्दै जाँदा जमिन र समुद्रको कार्बन सोस्ने क्षमतामा परिवर्तन आउँछ भन्ने तथ्यलाई ती अनुमानले बेवास्ता गर्छन् । हाउजफादर भन्छन्, “कार्बन चक्रको अनिश्चय अझ ठुलो हुन सक्छ । यसले गर्दा तापमान वृद्धिले भविष्यमा ल्याउन सक्ने जोखिमलाई हामीले कम आक्न सक्छौँ ।” सन् २०२० मा हाउजफादर र रिचर्ड बेट्सले एउटा विश्लेषण गरेका थिए । सो विश्लेषणअनुसार यो ‘अनिश्चय’ भनेको राष्ट्रसङ्घीय समूहले अनुमान गर्नेभन्दा २५ प्रतिशत बढी तापमान वृद्धि हुन सक्छ ।
अब बन्ने नयाँ मोडल अझ संवेदनशील हुनेछ । यो मोडलमा वैज्ञानिकहरूले वार्षिक रूपमा हुने कार्बन उत्सर्जनको तथ्याङ्क राख्नेछन् । त्यसपछि मोडलले जमिन र समुद्रले सोस्ने कार्बनलाई कटाएर वातावरणमा कति कार्बन उत्सर्जन हुनेछ भनी हिसाब निकाल्नेछ । यस्ता नयाँ मोडलले मात्र कार्बन चक्रमा हुने अनिश्चयलाई पक्रन सक्नेछन् । तथापि, यी मोडलले समेत पृथ्वी तात्दै जाँदा रुखबिरुवा र वनजङ्गलको कार्बन भण्डार क्षमतालाई बढी आँक्न सक्ने हुन सक्छ ।
क्लार्कको भनाइअनुसार पछिल्लो अध्ययन आफैमा अपुरो छ । उनले एक वर्षअघि मात्र यो अध्ययन थालेका थिए । रुखले कति कार्बन सोस्न सक्छ भन्ने अध्ययन स्वीजरल्यान्डबाट सुरु गरिएको थियो । उनका तथ्याङ्कहरू त्यहीका हुन् । तर, त्यस यता उत्तर अमेरिकाका वनजङ्गलबारे पनि सोही प्रकृतिका अध्ययन भएका छन् । अध्येताहरूले उष्ण इलाकाका वनजङ्गलमा पनि यस्तै अध्ययन गर्दै छन् ।
जलवायु परिवर्तनसँग अनुकूलित हुनका लागि ‘जलवायु मोडल’ सटिक हुन जरुरी छ, क्लार्क भन्छन् । यिनै ‘मोडल’ प्रयोग गरेर जलवायु परिवर्तनका प्रभावहरूबारे आकलन गरिन्छ । विश्वका विभिन्न सरकारले उत्सर्जनसम्बन्धी नीतिनियम र लक्ष्य तय गर्न यिनै ‘मोडल’ को सहारा लिँदै आएका छन् । ती सरकारले जमिनमा हुने वनजङ्गलजस्ता कार्बन सोस्ने चीजबीजले कति कार्बन डाइअक्साइड सोस्न सक्ने भनी अनुमान गर्दा गल्ती गरे लक्ष्य हासिल नहुन सक्छ । यसरी उत्सर्जन घटाएर शून्यमा झार्ने कार्यक्रम फेल खान सक्छ ।
क्लार्क भन्छन्, “त्यही भएर धेरै मोडलहरूले ठिक्कै त छ नि भन्छन् र हामीले वायुमण्डलमा कार्बन डाइअक्साइड फाल्दै जान्छौँ । कार्बन डाइअक्साइड रुखबिरुवाको खाना हो भन्दै झन् बढी कार्बन उत्सर्जन गर्छौँ । धेरै कारणहरू केलाएर हेर्दा, यो श्वैरकल्पना मात्र हो भन्ने स्पष्ट हुन्छ ।”
(स्रोत : एमआर अनलाइन । गणेश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *