भर्खरै :

एक सङ्घर्षशील राजनैतिक कार्यकर्ता जयराम बासुकला

जोआज राजनैतिक पार्टीका नेता तथा कार्यकर्तालाई जनताले विगतमा भन्दा बढी आलोचनात्मक दृष्टिले हेर्ने गरेको पाइन्छ । भ्रष्ट, विश्वासघाती, जनद्रोही नेता तथा कार्यकर्ताहरूको विरोधमा जनताले निर्भिकताका साथ बोल्न थालेका छन् । यसले जनताको चेतना स्तर, आलोचनात्मक दृष्टिकोणमा विस्तारै विकास हुँदैछ भन्ने इङ्गित गर्छ । भ्रष्ट, जनविरोधी, देशद्रोहीहरूको आलोचना या विरोध गर्नेले सच्चा, इमानदार र निःस्वार्थी जनसेवी नेता तथा कार्यकर्ताहरूको पहिचान गरेर तिनीहरूको समर्थन गर्नुपर्ने र साथ दिनुपर्ने चर्चा पनि आजकल भइरहेको छ । सबैलाई एकै कोटिमा राखेर विरोधमात्रै गर्नु पनि बुद्धिमानी होइन, त्यसले कसैको हित गर्दैन । यस अर्थमा जनताका वास्तविक सेवकहरूलाई चिन्ने र चिनाउने कार्यमा कति पनि विलम्ब र कञ्जुस्याइँ गर्न नहुने देखिन्छ ।
सम्पूर्णखाले निजी स्वार्थ त्यागेर समाज अनि देश नै बदल्ने सोचका साथ लागिपरेका नेता तथा कार्यकर्ता यतिखेर अत्यन्तै कम सङ्ख्यामा मात्र भेटिन्छन् । तिनीहरू आँखाको नानी जतिकै प्रिय र अनमोल निधि हुन् । त्यस्तैखाले एक राजनैतिक कार्यकर्ता एवम् समाजसेवी व्यक्तित्वको नाम हो – जयराम बासुकला । जयराम बासुकला अर्थात् नेपाल मजदुर किसान पार्टीका एक इमानदार, बफादार, मेहनती कार्यकर्ता र अत्यन्तै लोकप्रिय प्रधानपञ्च, गाविस अध्यक्ष र विभिन्न विद्यालयको स्थापना गर्दै हिँड्ने शिक्षा प्रचारक अनि विकास निर्माण कार्यमा जुटिरहने, डटिरहने समाजसेवी !
कार्यकर्ता बासुकलाको जन्म वि.सं. २००९ असार ३ गते भक्तपुर जिल्ला, ताथली गाविसको सौडोलमा भएको हो । उहाँले प्रा.वि. तहको शिक्षा गाउँकै गणेश प्रा.वि. (हाल मा.वि.) बाट हासिल गर्नुभयो भने शारदा मा.वि. यालाछेँबाट वि.सं. २०३१ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो । महेन्द्र रत्न क्याम्पस, ताहाचलबाट उहाँले आइ.एड.सम्मको शिक्षा हासिल गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बुद्धिकुमार गोसाई र हरिभक्त लवजूको माध्यमबाट बासुकला २०२३–२४ सालतिर पार्टी सङ्गठनको सम्पर्कमा आउनुभयो । पार्टीका कामरेडहरूसँगै वि.सं. २०२५ मा उहाँ पनि देवी राष्ट्रिय प्राथमिक विद्यालय (हाल मा.वि.) स्थापना गर्ने चुनौतीपूर्ण कार्यमा जुट्नुभयो । “त्यतिखेर गाउँमा शिक्षाको प्रचार भइसकेको थिएन । त्यस्तो अवस्थामा गाउँमा विद्यालय खोल्न कम सङ्घर्ष गर्नुपरेन । त्यसमाथि पनि भूत डाँडा पन्छाएर विद्यालयको निमित्त छाप्रो बनाउनुपर्ने !” विद्यालय स्थापना गर्दाको अनुभव सुनाउँदै उहाँले बताउनुभयो । त्यसो त विद्यालय स्थापना गर्नेजस्तो पवित्र कार्यमा सम्मिलित हुँदा उहाँ भर्खरको १६ वर्षे ठिटो हुनुहुन्थ्यो । विद्यालय स्थापना सँगसँगै उहाँ स्वयम्सेवक शिक्षक बन्नुभयो । पाँच वर्षसम्म उहाँले विनापारिश्रमिक अध्यापन गर्नुभयो । वि.सं. २०३१ सालबाट मात्र उहाँले मासिक रु. १०० ।– प्राप्त गर्नुभयो ।
“विद्यालय सञ्चालन अनुमति लिन नसक्दा स्थानीय बूढापाकाहरूले विद्यालयको भवन (छाप्रो) लाई जोगीहरू बस्ने कुटीको रूपमा परिणत गर्न सल्लाह दिएका थिए । उहाँहरूलाई हामीले ‘पहाड पन्छाउने मूर्ख बूढो’ चिनियाँ कथा सुनाएर सम्झायौँ ।” विगतको स्मरण गर्दै उहाँले भन्नुभयो । त्यस्तो विद्यालय आज भक्तपुर जिल्लाको पूर्वी भेगको एउटा प्रतिष्ठित विद्यालयको रूपमा चिनिन्छ । त्यसैगरी उहाँले फैढोका प्रा.वि., डाँडापाटी प्रा.वि., दक्षिणकाली प्रा.वि. स्थापना गर्न पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो ।
पार्टीको नीति निर्देशानुसार उहाँ राजनैतिक गतिविधि, सङ्गठन बिस्तार कार्यमा पनि सक्रिय हुनुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र पार्टीको एक जिम्मेवार सदस्यको नाताले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, सुस्तामाथि भारतीय हस्तक्षेपविरुद्धको सङ्घर्ष, भियतनाममाथि अमेरिकी आक्रमणविरुद्धको सङ्घर्ष, भूमि करविरुद्धको सङ्घर्ष, विभिन्न समयमा भएका विद्यार्थी आन्दोलन आदिमा उहाँ सक्रियतापूर्वक लाग्नुभयो । जनमतसङ्ग्रहमा बहुदलको प्रचार प्रसारमा सक्रिय हुनुभयो ।
प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नेमकिपाको नीतिअनुरुप १४ वर्षे शिक्षण पेशा छोडेर उहाँ वि.सं. २०३९ को स्थानीय निर्वाचनमा होमिनुभयो र ताथली गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित हुनुभयो । उहाँको विजय सँगसँगै ताथलीको मुहार पनि फेरिन थाल्यो । उहाँले शिक्षा, बिजुली, बाटोघाटो, खानेपानी सिँचाइजस्ता विकासका पूर्वाधार गाउँका कुना काप्चासम्म पु¥याउन दौडधुप गर्नभुयो, सङ्र्घष गर्नुभयो र उहाँ सफल पनि हुनुभयो । लामो समयदेखिको सङ्घर्षपछि टेलिफोन लाइन पु¥याउन प्रारम्भिक चरणको कार्य अहिले भइरहेको पनि उहाँले बताउनुभयो । उहाँको लगनशीलता, निश्चलता, नरम स्वभाव, सङ्घर्षशील भावनाकै कारण उहाँ २०४३, २०४८ र २०५४ मा पनि लगातार गाविस अध्यक्ष (पञ्चायती व्यवस्थामा प्रधानपञ्च) पदमा निर्वाचित हुनुभयो । गाउँलाई अहिलेको अवस्थामा पु¥याउन ठूलो सङ्घर्ष गर्नुपरेको कुरा उहाँ स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “खुकुरी, चेन, बञ्चरोको भरमा हामीलाई तर्साएर विकास निर्माण रोक्न खोज्ने तत्वहरूको अगाडि झुकेनौँ । यति विकास गर्नलाई हाम्रा कैयौँ साथीहरूले ज्यानको परवाह नगरी रगत पसिना बगाउनुभयो । विकास निर्माण कार्य रोक्न विपक्षीहरूले जातीय नारासमेत दिए ।” तपाईँ जातीय नाराबाट अगाडि बढ्नुभएको हो कि भन्ने जिज्ञासामा उहाँले प्रस्ट पार्नुभयो, “हामीले कुनै पनि कुरोको विश्लेषण जातीय होइन वर्गीय कोणबाट गर्छौँ । जात मुख्य होइन, वर्ग मुख्य हो । तल्लो वर्गको हित हुने कामबाहेक हामी गर्दैनौँ ।”
२०५२ मा जिविसको इलाका सदस्यमा समेत निर्वाचित हुनुभएका बासुकलाले गाविसको आफ्नो कार्यकालको उल्लेखनीय पक्षबारे प्रस्ट्याउनु हुँदै भन्नुभयो, “जनश्रमदान जुटाउन सफल भयौँ । कुनै पनि काम गर्दा जनता एकजुट भएर लागे । भूमिगत सुरुङ्ग नहर निर्माण गर्न त हाम्रा साथीहरूले महिनौँसम्म श्रमदान गरे । आर्थिक अनियमिमताका कुनै पनि घटना घटेन । विपक्षीहरूको समेत मन जित्न हामी सफल भयौँ ।”
साँच्चै स्वच्छ व्यक्तित्वका धनी हुनुहुन्छ जयराम बासुकला । वर्गीय शत्रुहरूको निमित उहाँको यी गतिविधि पचिरहेको थिएन । त्यसैकारण उहाँ पनि २०४५ को भक्तपुर काण्डमा मुछिनुभयो र १५ महिनासम्म कठोर जेल जीवन बिताउनुभयो ।
पार्टीको निर्देशनानुसार २०५४ मा सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा उहाँले उम्मेदवारी दिनुभयो ।
एकजना राजनैतिक कार्यकर्ता जनताका दैनिक समस्यामा पनि सहयोगी बन्न सक्नुपर्ने अनुभव बासुकलाको छ । हो, उहाँ घरायसी, खेत खलिहानका समस्या, टोलका समस्या सुल्झाउन जहिले पनि लागिरहनुहुन्थ्यो । जनताका समस्यालाई लिएर सम्बन्धित निकायहरूमा गइरहनुहुने बासुकलासित भेटवार्ताको निमित समय मिलाउन खोजिरहँदा उहाँ गाउँमा व्यापक जनताको जनजीवनलाई नै असर पार्ने गरी राख्न खोजिएको डम्पिङ्ग साइटको बारे छलफल गर्दै हुनुहुन्थ्यो । विभिन्न समस्या आइपर्दा वा कार्यक्रम गर्नुपर्दा जनताको घरदैलोमा गएर सम्झाउन, बुझाउन उहाँ कति पनि पछि हट्नुहुन्नथ्यो । विद्यालय, बाटोघाटो आदिको निम्ति द्यौसी खेल्दै गाउँका दैलो–दैलोमा गएको स्मरण ताथलीवासीलाई अझै ताजा छ । साथै किसानहरूलाई दाससरह व्यवहार गर्ने, काम गराई ज्याला नदिने स्थानीय पञ्चे सामन्तहरूलाई गाउँबाट लखेटेको, खानेपानीको मुहान दिन नचाहनेहरूलाई काभ्रेको नालासम्म धपाएको पनि हिजैजस्तो लाग्छ धेरैलाई ।
विभिन्न विद्यालय तथा कलेजको सञ्चालक समिति, व्यवस्थापन समितिमा बसेर शैक्षिक गतिविधिमा सक्रिय हुनुका साथै पार्टीका विभिन्न समितिमा रहेर राजनैतिक गतिविधिमा सक्रिय हुनुका साथै पार्टीका विभिन्न समितिमा रहेर राजनैतिक गतिविधिमा सक्रिय भइरहनुभएका बासुकला पुरानो पुस्ताले नयाँ पिँढीलाई सचेत पार्दै लानुपर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “विकास निर्माणसँगै विचार वर्गीय भावना दिन नसके अगाडि बढ्न कठिन हुँदोरहेछ ।”
एक प्रसङ्गमा पार्टी अध्यक्ष रोहितले जयराम बासुकलाबारे भन्नुभयो, “हामीसँगै केन्द्रीय कारागारमा छँदा जयरामलाई भेट्न आउनेहरूको ताँती देख्दा सबै छक्क पर्थे । साँचो अर्थमा जनताको सेवा गर्नेलाई जनताले कहिल्यै नबिर्सने रहेछ ।”
प्रस्तुति ः सुरेन
(जयरामसँगको कुराकानीमा आधारित)
साभार ः प्रतिध्वनि, बुलेटिन नं – २, २०६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *