भर्खरै :

उच्च शिक्षा र अपेक्षा

सरोजराज गोसाई
(बासु माविका कक्षा १२ उत्तीर्ण विद्यार्थीसँग भलाकुसारी गर्दा उठेका विचार)
अङ्कभन्दा योग्यता
साइकल गुडिरहेसम्म लड्दैन, जीवन रहेसम्म सिकाइ निरन्तर जारी रहन्छ । सिकाइ कहिल्यै सकिन्न । प्रयोग गर्न छोडेपछि धारिलो हतियारमा पनि खिया लाग्छ । हिँड्दा छेउ लाग्छ, बस्दा लेउ लाग्छ । खोलामा बग्दै गरेको ढुङ्गामा लेउ लाग्दैन । व्यवहारमा लागू गर्न नै सिक्ने हो, व्यवहारमा लागू भएन भने सिकाइ भएन । ट्राफिकको नियम सिक्नुको अर्थ पालन गर्नु हो, सफा नगर्नेले सफाइबारेको लिखित परीक्षा पास गर्नुको औचित्य छैन ।
समाजमा विज्ञान र प्रविधिले ठूलो परिवर्तन ल्याएको छ । आजको सिकाइले भोलिको समाजको सेवा गर्नुपर्ने हुन्छ । सबभन्दा चुनौतीको पक्ष यही हो । दस वर्ष अगाडिको कति ज्ञान तथा सीप अहिले उपयोगविहीन भएका छन् । आज पाइने काम (जब) भोलि पाइने सुनिश्चित छैन । नयाँ युगका चुनौति यही हो । अमेरिकाबाट प्रकाशित हुने‘द इकोनोमिस्ट’ पत्रिकाले सन् २०१७ मा लर्निङ्ग एण्ड केयरिङ्ग नामक प्रतिवेदन सार्वजनिक गरेको थियो । पत्रिकामा लेखिएको छ‘हाल अमेरिकामा सन् २०१३ मा रहेका पेशा र काम (जब) मध्ये ४७ प्रतिशतले भविष्यमा निरन्तरता पाउने सम्भावना अत्यन्त न्यून छ ।’ यसको अर्थ अबको युगका विद्यार्थीले कुनै एक विधामा मात्र ज्ञान, सीप या दक्षता हासिल गरेर नपुग्ने देखिन्छ । व्यक्तिमा एकभन्दा बढी सीप चाहिने देखिन्छ । यसलाई‘हाइब्रिड जब’ भनिएको छ । समयको परिवर्तनसँग भएका विकास वा परिवर्तनमा आफूलाई निरन्तर‘एड्जस्ट’ वा अध्यावधिक गरिरहनुपर्ने हुन्छ । एउटामात्र सीप सिकेर अब आउने समाजमा काम पाउन मुश्किल हुनेछ । आफ्नो सीपमा भएका विकाससँग सामञ्जस्य भएर आफू पनि विकसित हुनुपर्ने चुनौती युवा पुस्तामा छ । हिजो अनालग टेलिभिजन बनाउन सिक्नेले आज काम डिजिटल टीभी बनाउने सीप सिक्नुपर्ने हुन्छ । निरन्तर सिकाइ भएन भने अबको युगमा समायोजित हुन सकिंदैन । पढ्नु भनेको सिक्नु हो । कसैको प्रमाणपत्रमा अङ्क जति लेखिए पनि उनको ज्ञानको परीक्षामा सदा श्रेष्ठ हुनु जरुरी छ । विश्वविद्यालयका प्रमाणपत्रमा भरोसा गर्नुभन्दा मानिसको योग्यता वा दक्षतालाई प्राथमिकता दिने दिनको सुरुवात भइसकेको छ ।
शिक्षाले सङ्घर्ष सिकाओस्
युग माइक्रो चिप्स वा त्योभन्दा सानो वस्तुमा केन्द्रित हुन थालेको छ । अझ भनौँ यो कन्भर्जेन्ट युग हो ।‘अल इन वन’ वा‘ज्याक अफ अल मास्टर अफ नन’ खालको । मोबाइल फोनको विकासले मानिसका धेरै समस्या समाधान गरेको छ । रेडियो, टीभी, म्युजिक प्लेयर, घडी, क्यामेरा, क्यालेन्डर, पुस्तक, इन्साइक्लोपेडिया, चेक बुक, नोट बुक आदि विभिन्न साधनको एकीकृत रूप नै मोवाइल फोन भएको छ । यी सबै साधन वा विषयको अलिअलि ज्ञान त आवश्यक छ नै, तर ती सबै विषयमा अलगअलग गहिरो ज्ञानको दायरा पनि छ है भन्ने कुरा बिर्सन हुन्न । कुनै साधनको सही उपयोग गर्न सकिए मानिसको जीवन अझ सरल हुन्छ । तर मोबाइल फोनले मानिसलाई असामाजिक, स्वार्थी, व्यक्तिवादी बनाइरहेकोबारे चिन्ता बढ्न थालेको छ ।
युवाहरू सामाजिक सञ्जालमा लीप्त छन् । सामाजिक सञ्जालहरू असामाजिक मानव बनाउँदै छन् भन्ने विश्लेषण पनि सुनिन थालिएको छ । सञ्चार विश्लेषकहरू संवादमा आँखा र शरीरका हाउभाउले ८० प्रतिशत भूमिका खेल्ने बताउँछन् । अहिले प्रत्यक्ष सम्पर्कविनाका सञ्चारमा ८० प्रतिशतको पाटोको अभाव हुन्छ र यसले गर्दा प्रभावकारी संवाद हुनसक्दैन । कहिलेकाहीँ कुनै संवादको अर्थ गलत बुझिन्छ र भ्रम सृजना हुन्छ । भ्रमले गलत निर्णय हुँदै गलत नतिजासम्म पु¥याउँछ । युवा पुस्ता यस्तै कारणले डिप्रेसनको शिकार हुन्छन्, अन्ततः आत्महत्याको स्थिति उत्पन्न हुन्छ । विजय मल्लले भनेझैं,‘कोही किन बर्बाद होस्’, शिक्षालय र शिक्षार्थीले ध्यान दिनु आवश्यक छ ।
शिक्षाले स्वतन्त्रता देओस् 
शिक्षाले ज्ञानको ढोका खोल्छ । ज्ञानलाई तेस्रो नेत्र पनि भनिन्छ । तेस्रो नेत्रले मानिसलाई विवेकी बनाउँछ । ज्ञानले न्याय र अन्याय छुट्याउन जान्ने बनाउँछ । मानिस स्वभावतः स्वतन्त्रता चाहने प्राणी हो, ऊ कसैको दासता स्वीकार गर्दैन । स्वाधीनता मानिसको विशेषता हो । बन्धनमा रहेको गोरु मालिकको आदेश–निर्देशमा हिँड्छ । मानिस बन्धनमा बाँधिन सक्छ, तर ऊसँग मुक्तिबारे सोच्ने क्षमता हुन्छ । शिक्षाले मानिसलाई कुनै पनि अन्याय र अत्याचारविरुद्ध लड्ने साहस, उत्साह र शैली सिकाउनुपर्छ । व्यक्तिमाथिको अत्याचारमात्र होइन, समाज र देशमाथिको अत्याचारको विरुद्ध लड्ने भावना शिक्षाले दिनुपर्छ । यसरी नै मानव समाजको विकास भएको हो, यसरी नै समाजले अग्रगति लिने छ । शिक्षाले मानिसलाई सङ्घर्षलाई आफ्नो जीवनको अभिन्न अङ्गको रूपमा लिन सिकाउनुपर्छ । जीवनलाई सङ्घर्षको सृङ्खला हो भन्ने नबुझ्दा युवामा निराशा एवम् हतासा आएको देखिन्छ । आत्महत्याको दर बर्सेनि बढ्दो छ । आत्महत्याको दर अघिल्लो वर्षभन्दा यस वर्ष ८ प्रतिशतले बढेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । अन्याय, शोषण, दुःख, पीडा त यो समाज बन्दोबस्तकै विशेषता हो । पैसाप्रधान समाजमा पैसाको निम्ति अनेक कुकृत्य हुनसक्छन् । पैसाको निम्ति एकले अर्कोलाई निषेध गर्ने काम पनि हुनसक्छ । यसलाई समाज व्यवस्थाकै परिणति मानी त्यो समाजको आमूल परिवर्तनको निम्ति लड्ने साहस भएमा मानिस आशावादी हुन्छन्, निराश भएर आत्महत्याको बाटो रोज्दैनन् । शिक्षाले समाजको विकृति हटाउन काम गर्नसक्नुपर्छ ।
विषय र कलेज छनोट
कक्षा १२ परीक्षामा उत्तीर्ण विद्यार्थीहरू उच्च शिक्षाको निम्ति विषय र कलेज छनोटमा दौडधुप गर्दै छन् । लक्ष्य वा गन्तव्य निर्धारण नभई हिँड्ने बाटो छुटिन्न भनेझैँ सबभन्दा पहिले विषय नै छनोट हुनु आवश्यक छ । विषय छनोट गर्दा सा¥है गम्भीर हुनु आवश्यक छ । आफ्नो शैक्षिक योग्यता, क्षमता र इच्छा, अभिभावकको आर्थिक क्षमता र आगामी दिनको निम्ति समाज र देशको निम्ति हुने आवश्यकताको संश्लेषण गरी विषय छनोट गर्नु सबभन्दा राम्रो हो ।
धेरैजसो विद्यार्थी विषय छनोटको सन्दर्भमा जता अरू साथीहरू लागे आफू पनि त्यतै लाग्ने गरेका प्रशस्त भेटिन्छन् । त्यस्ता विद्यार्थीले कालान्तरमा धोकाको अनुभव गरिरहेका हुन्छन् ।
कुनै पनि विषयको आ–आफ्नो महत्व छ । कुनै विषय अध्ययन गरे पनि त्यसको गहिराइमा पुग्न सकिए त्यसको उपयोगिता बढ्ता हुन्छ । सतही वा छिपछिमे ज्ञानले कुनै विषयको सही विश्लेषण गर्नसक्दैन । त्यसैले विशेषज्ञ नै बन्ने हिसाबमा अध्ययन गर्नुपर्नेमा जोड दिनु आवश्यक छ । युग विशेषीकरणतर्फ केन्द्रित छ, आवश्यकता पनि त्यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *