भर्खरै :

जातिवाद र नार्सिसिज्म (आत्मरति) ः संरा अमेरिकाका पाप

डोनाल्ड इर्ल कोलिन्स
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कर्मप्रति पश्चाताप नगर्ने जातिवादी र अहितकर नार्सिसिस्ट हुन् । उनले मुसलमानविरोधी, जातीय घृणा गर्ने र महिलालाई होच्याउने नीति अँगालेका छन् । उनीभित्रको कट्टरता त सन् १९८९ को मे महिनामा भएको एउटा घटनाबाटै पुष्टि भइसकेको थियो । न्यु योर्क राज्यको सेन्ट्रल पार्कमा शारीरिक व्यायाम गरिरहेका एक महिलालाई कुटपिट र बलात्कार गरेको गलत आरोप लगाइएका पाँच जना अफ्रिकी अमेरिकी र ल्याटिनो किशोरहरूलाई कडा कारबाहीको माग गर्दै ट्रम्पले न्यु योर्क डेली न्युज पत्रिकामा पूरा पृष्ठको विज्ञापन प्रकाशन गरेका थिए ।
राष्ट्रपति बनेपछि उनले आफ्ना ट्वीट र सार्वजनिक मन्तव्यहरूमार्फत घृणाले भरिएका अभिव्यक्ति दिइरहे । उनका त्यस्ता अभिव्यक्तिले गोरा अहङ्कारवादीहरू बढी हौसिए । आफ्नो जातिवादी विश्वासअनुसारको व्यवहार सार्वजनिकरूपमा देखाउन उनीहरूको सङ्कोच कम हुँदै गयो । राष्ट्रवादको अनियन्त्रित पुनरोदयले जातिवादी हमलाका विभिन्न गतिविधिलाई प्रोत्साहन दिएको छ । अमेरिकी काङ्ग्रेस सदस्य इलहाम ओमारप्रति लक्षित गरी ट्रम्पले दिएको ‘फिर्ता पठाऊ’ नारादेखि पछिल्लो समय अमेरिकाका विभिन्न सहर जस्तै ः इल पासो, टेक्सास र डेटन, ओहायोमा भएको गोली काण्डमा यस्तै जातीय हमलाको भावना अभिव्यक्त भएको छ । ट्रम्पका समर्थकहरूलाई उनीहरूका जातिवादी अभिव्यक्ति र ट्रम्पको आत्मरतिको प्रशंसाबाट अलग बनाउन संरा अमेरिकाका धेरैले उनीहरूप्रति सद्भावपूर्ण भावना कायम राखेका छन् । कसै कसैले ट्रम्पको शैलीलाई अमेरिकी राजनीतिक इतिहासमा नयाँ प्रवृत्ति वा एउटा अपवादको रूपमा पनि प्रस्तुत गरेका छन् । सत्य के हो भने अमेरिकी समाज सधैँ जातिवादी र आत्मरति अनुरागी रह्यो ।
अमेरिकाका गोरा जनताबीच अमेरिकी जातिवादको मनोवैज्ञानिक प्रभावबारे सबभन्दा गम्भीर अध्ययन सम्भवतः अफ्रिकी अमेरिकी समाजशास्त्री एवं इतिहासकार बेभ डु बोइसले आफ्नो परिचयात्मक कृति ‘ब्ल्याक रिकन्स्ट्रक्सन’ मा गरेका छन् । उक्त कृतिमा उनले संरा अमेरिकाका दक्षिणतिर रहेका दास मालिकहरूको व्यवहार र उनीहरूको मनोविज्ञानमा दासताले पारेको क्षयीकृत प्रभावबारे अध्ययन गरेका छन् । उनले निष्कर्षमा लेखेका छन्ः
“अधिकांश दासमालिकहरूको अहम् बिनाकारण त्यत्तिकै हलक्क बढेको हुन्छ । उनीहरू रिसालु, झगडालु, आक्रामक हुन्छन् । उनीहरू आदेश उल्लङ्घन गर्छन् । उनीहरू आफैं कानुन बनाउँछन् । उनीहरू चर्को चर्को स्वरमा आदेश दिन्छन् । उनीहरू आफूलाई विशिष्ट ठान्छन् । उनीहरूमा आत्मदुर्बलताको भावना हुन्छ । उनीहरू छिट्टै रिसाउँछन् र तुरुन्तै अपमान महसुस गर्छन् …”
१५० वर्षअघि दासप्रथा उन्मूलन भयो । तर, जातिवादी र मनोवैज्ञानिक प्रभाव भने अझै बाँकी छ । अझै हराइसकेको छैन । वास्तवमा डु बोइसले लेखेका धेरै कुरा आधुनिक मनोविज्ञानले नार्सिसिस्टहरूको व्यक्तित्व असन्तुलनको अवधारणासँग मेल खान्छ ।
मानसिक असन्तुलन पत्ता लगाउने तथ्याड्ढमूलक जानकारी पुस्तिकामा लेखिएको छः
१) आफूलाई अति महत्व दिनु ।
२) असीमित सफलता, नियन्त्रण, प्रतिभा, सौन्दर्य वा आदर्श प्रेमप्रतिको अतिरञ्जनापूर्ण चाहना राख्नु ।
३) आफू अरुभन्दा विशेष र अपवाद भएको सोच्नु र आफूजस्तै कोही विशेष वा महत्वपूर्ण व्यक्ति र संस्थाले मात्र आफ्नो भावना बुझ्न सक्ने सोच्नु ।
४) असीमित प्रशंसाको भोको हुनु ।
५) आफूलाई कुनै पनि कुराको हकदार सम्झनु ।
६) व्यक्तिसँगको व्यवहार गर्दा होच्याउने व्यवहार गर्नु ।
७) अरुको भावना बुझ्न सक्ने समभाव नहुनु ।
८) अरुप्रति असन्तुष्टि वा अरु आफूप्रति असन्तुष्ट भएको मान्यता राख्नु ।
९) अहमपूर्ण र घमण्डी व्यवहार वा मनोभावनाको प्रदर्शन
एक जना जातिवादी नार्सिसिस्टमा व्यक्तित्व असन्तुलन हुनुपर्छ भन्ने छैन । मनोवैज्ञानिक जिन ट्वेनजी र डब्ल्यु किथ क्याम्पबेलले ‘द नार्सिसिज्म इपिडेमिक’ मा धेरै नार्सिसिस्ट अधिकांश सामाजिक मानकमा ‘राम्रै व्यवहार’ गरिरहेको देखिन सक्छ भनी लेखेका छन् । समाजमा जातिवाद र नार्सिसिज्म भनेको मानवीय अवस्थाको दोष हो, कुनै असन्तुलन होइन ।
अमेरिकी जातिवाद र नार्सिसिज्म एकै ठाउँमा तब आउँछ जब अरुबाट सकेसम्म बढी फाइदा उठाउने चाहना हुन्छ र महानता अनि धनको चाहना पूरा हुन्छ । जातिवाद र नार्सिसिज्म दुई फरक फरक तर अन्तरसम्बन्धित विषय हुन् । तर, यो मानसिक बिरामी भने होइन ।
यी दुई विषय (जातिवाद र नार्सिसिज्म) को अमेरिकी जरा भने प्रस्ट छ । पहिलोपटक अमेरिकामा उपनिवेश गरिएको समयदेखि नै यसको सम्बन्ध छ । सन् १६०७ मा स्थापना भएको जेम्सटाउन कोलोनीको इतिहास हेर्नुहोस् । चार शताब्दीसम्म यसको कथा संरा अमेरिकामा एक जना मिहिनेती अङ्ग्रेज जोन स्मिथको ज्यान ‘असल’ आदिवासी अमेरिकी पोकाहोन्टस (उसको वास्तविक नाम एमोनुट वा माताओका थियो) ले उनका ‘खराब’ आदिवासी अमेरिकी बुबा पोहातनले मार्न खोज्दा जोगाएको थियो ।
तर, खासमा यस्तो केही भएकै थिएन । स्मीथले यो कथा माताओकाको निधनपछि सन् १६२४ मा आफैँले बनाएका थिए । जेम्सटाउनको वास्तविक कथाले संरा अमेरिका उपनिवेशकालको सुरुआतका जातिवाद र नार्सिसिज्मका धेरै उदाहरण प्रस्तुत गर्दछ ।
आत्मप्रशंसाको बाढी नै उराले पनि वास्तविकता के हो भने सन् १६०७, १६०८ र १६०९ को जाडो याममा उपनिवेशवादीहरू मताओकाको जातिको सहयोगकै कारणमात्र बाँच्न सम्भव भएको थियो । सुन र चाँदी खोज्न हिँडेका अङ्ग्रेजहरूलाई खेतमा खनजोत गर्ने वा माछा मार्नेसम्म ज्ञान थिएन । उनीहरूले कब्जा जमाएका क्षेत्रमा खानाको खेप पुग्नुअघि नै उनीहरू सबै भोक र रोगले मर्ने अवस्थामा पुगेका थिए ।
मताओका कुनै सुन्दर रोमाञ्चकारी प्रेमकथाकी नायिका होइनन् । सन् १६१२ मा उनलाई उपनिवेशवादीहरूले १६ वर्षको उमेरमा अपहरण गरेका थिए । उनलाई दुई वर्षसम्म कैद बनाइएको थियो । सन् १६१४ मा उनलाई अर्का अङ्ग्रेज जोन रोल्फले विवाह गरे । अनि १६१६ मा बेलायत लिएर गए । बेलायत जाने क्रममा बाटैमा उनले छोरा जन्माइन् । मताओकाको निधन १६१७ मा भयो । उनी आफ्नो जन्म थलो जेम्सटाउन र आफ्ना मानिसबीच कहिल्यै फर्किनन् ।
मताओकाको निधन भएको आधा शताब्दीपछि जेम्सटाउन कोलोनीले नगदे बालीको रूपमा सुर्ती उत्पादन गर्नथाल्यो । अनि थप जग्गा जमिन कब्जा गर्ने हेतु पामुन्केहरूविरुद्ध युद्ध छेडे । सुर्ती खेतीका लागि ल्याइएका मानिसहरू सबै निश्चित अवधिको लागि भनी ल्याइएका तालिमे कामदारहरू थिए । अनि उत्तर अमेरिका ल्याइएका पहिलो खेपका अफ्रिकी दासहरू पनि थिए । सन् १६१९ को अगस्टमा जेम्सटाउन कोलोनीमा पहिलो खेप अफ्रिकी दासहरूलाई अपहरण गरी त्यहाँ ल्याइएको थियो ।
अमेरिकाको लागि त्यो समय प्रारम्भिक अवधि थियो । तथापि संरा अमेरिकी जातिवाद र नार्सिसिज्मका सबै तत्व त्यत्तिबेला पनि विद्यमान थिएः आफूलाई हकदार ठान्ने, आफू विशिष्ट रहेको भावना, अरुमाथि दुव्र्यवहार, सम्भावनाको कमी र शक्तिप्रतिको आसक्ति ।
त्यस्तो भावना आज पनि उत्तिकै बलियो छ । सुरुआतका उपनिवेशवादीहरूका उत्तराधिकारीहरू अझै पनि मिथकहरूमै मग्न छन् । आफूलाई अब्बल ठान्ने, धन, महानता र साम्राज्यको भोक पाल्ने काममा अझै पनि उनीहरू तल्लीन छन् । उनीहरू अझै पनि ‘अरु’ बनाइएकाहरूमाथि शोषण गर्न उद्यत्त छन् । अनि अरुका पीडाप्रति असहिष्णु छन् । कुनै पनि सानोभन्दा सानो बहाना भेटिने बित्तिकै उनीहरू जथाभावी जनतामाथि विध्वंसमा उत्रन्छन् र अरु संस्कृति मेटाउन लागिपर्दछन् ।
अमेरिकी जातिवाद र नार्सिसिज्म सरकारको नीतिकै आन्तर्यमा बसेको छ । संरा अमेरिका र मेक्सिकोको सिमानामा शरण खोज्दै आएकाहरूको लागि कैदी शिविर बनाउने, कमजोर जनताको लागि बनाइएको सामाजिक कल्याण कार्यक्रम कटौती गर्ने, प्रहरी निर्ममता कायम राख्ने, काला र अन्य रङ्गका जनतामाथि अपराधीको आरोप लगाउने, आदिवासी अमेरिकीहरूलाई आफ्नै थलोबाट लखेट्ने र मुसलमानहरूलाई आफ्नो देशमा पस्न नदिने अमेरिकी सरकारी नीतिको आन्तर्यमा यही कुरा निहीत छ ।
ट्रम्प र उनका समर्थकहरूले अमेरिकी जातिवाद र नार्सिसिज्मलाई आफ्नो बाटो बनाए । राजनीतिक ढाँचाभित्र लाखौं अमेरिकीहरूले त्यस्ता व्यवहार प्रदर्शन गरेका छन् । त्यसकारण संरा अमेरिकाको आफ्नै पापको लागि जातिवाद र नार्सिसिज्म सबभन्दा मूलतत्व बनेका छन् ।
लेखक वाशिङ्टन डीसीस्थित अमेरिकी विश्वविद्यालयको इतिहासका लेक्चरर हुन् ।
स्रोतः अल जजिरा
नेपाली अनुवादः सजिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *