भर्खरै :

हरियो चुरा, पोते र मेहेन्दीको भूत ः काँतर मानसिकता

लालबहादुर भुजेल
जेठ–असारदेखि खेत रोप्न पसेर साउने सङ्क्रान्तिमा लुतो फालेपछि खेती– किसानीमा केही राहतको महसुस हुन्छ । खेत रोपाइँमा एकोहोरो अभ्यस्तताले गर्दा दिनहुँजसो माटोमा लडिबुडी गर्दा लाग्नसक्ने चर्मरोगलाई निदान गरी स्वस्थ रहन यो चाडले सचेतना छर्छ र कार्यबोझले थकित शरीरलाई आत्मनिर्भरतातर्फ आशा–भरोसा भर्छ । वर्षामा घर आँगनको छेउछाउमा उम्रेर सुशोभित पार्ने रातो तिउरे फूलको पातमा रातो मकरकाँची, रातोपाते आदि घरेलु औषधीय वस्तु कुटेर मिसाइन्छ र सुत्नेबेलामा हात खुट्टाको कापामा पर्ने गरी लगाएर महिला–पुरुष सुत्ने चलन धेरै पुरानो हो । हात–खुट्टाको औँला पैताला र हत्केलामा हिलोले खाएको अचूक औषधि नै थियो त्यतिबेला ।
हामी नेपालीहरू चाडबाड मनाउने सिलसिलामा आफ्नो औकातभन्दा बढी नै माहिर देखिन्छौँ । हरियो, पहेँलो, रातो चुरा पोते, मेहेन्दीमा सजिएर सोमबारका व्रत बसेर महादेवको पूजा–पाठ दर्शन गरेमा कैलाशपति खुसी हुनुहुन्छ, श्रीमान् हुनेको आयु बढ्छ, माया–प्रीति प्रगाढ हुन्छ, आकर्षणमा वृद्धि भई दिगो दाम्पत्य जीवनको आदि कल्पना गरिन्छ । त्यस्तै अविवाहितलाई खोजे रोजेजस्तो वर मिल्छ भन्ने किंवदन्ती पाल्न थालिएको छ । हरियोलाई वातावरण र प्रेमको, पहेँलोलाई पवित्रताको र रातोलाई सौभाग्यको प्रतीक मान्ने गरिन्छ । सुनेकै भरमा कतिपयले हरियो चुरा पहिरएपछि फुटाउनु वा चुकाउनु हुन्न भन्ने गर्छन् ।
असारको पन्ध्र काट्न थालेपछि महिलाहरूलाई हरियो वस्त्र, चुरा, पोते, मेहेन्दीको भूत चढ्न थालेको छ । रेमिट्यान्सको उन्मादले बालबच्चा लिएर सहरबजारमा सुख सयल गर्न पसेको दिदी–बहिनीहरूको त रोकतोक नै भएन । हुँदाहुँदा हरियो साउने संस्कृतिले सहरबाट गाउँघरतिर गाँजिरहेको छ । विवाहितमात्र नभएर स्कूल कलेज पढ्ने बालिका, किशोरी, कार्यालयमा कार्यरत युवतीहरू पनि चुरा, पोते, मेहेन्दीमा आफ्नो शान, फेसन प्रदर्शन गर्न होडबाजी गरिरहेका हुन्छन् । के वृद्ध, के अधवैंसे साउन लागेलगत्तै हिन्दू नारीहरू कस्मेटिक पसलहरू वा मठ–मन्दिरहरूमा भिडभाडमा हुन्छन् ।
केही वर्ष पहिलेसम्म हरियो, पहेँलो चुरा–पोते महिला वर्गको श्रृङ्गार प्राथमिकतामा पर्दैनथ्यो । सधवा हिन्दू महिलाले उपेक्षाको दृष्टिले हेर्थे । तर, व्यापारिक रणनीति मुताविक नेपाली महिलाहरूको भित्री चाहना, भावनालाई मध्यनजर गरेर महिलाले हरियो वस्त्र, चुरा–पोतेमा सजिएर महादेवको पूजापाठ गर्दा महादेव आल्हादित हुने र घरपट्टिको महादेवको दीघार्यु भई सुख–शान्ति समृद्धि भई सुखमय पारिवारिक जीवन हुने भन्ने र भ्रामक समाचारले विदेशी उत्पादनकर्ता व्यापारीहरूको खाँडो जाग्यो ।
महिलाहरूको हक, अधिकार, समानताको डुड्डी हाँक्ने महिला अधिकारकर्मी दिदी–बहिनी, आमाहरू नै हरियो पहिरन, हरियो श्रृङ्गार सामग्रीहरूको बल्छीमा नराम्ररी परे । यसले महिला साक्षरता स्तरमा उल्लेखनीय वृद्धि भएको छ । जनचेतना अभिवृद्धि महिला सशक्तीकरणमा सुधारोन्मुख देख्न सकिन्छ । रोजगारीको हिसाबले पनि सरकारी, गैरसरकारी, संस्थान, वित्तीय संस्थाहरू, सेना, प्रहरी आदि निकायहरूमा पनि महिला पहुँच विगतभन्दा सन्तोषजनक देख्न सकिन्छ । आज कार्यालयहरूमा कार्यालय सहायकदेखि नेपाल सरकारको सचिव, सांसद, मन्त्री, सभामुख, प्रधानन्यायाधीश, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, पाइलट, डाक्टर, इन्जिनियर, शिक्षक, प्रिन्सिपल, प्राध्यापक, विदेशस्थित राजदूत, यू.एस.ए.आई.डी, यू.एन. कार्यालय, पत्रकार, लेखक, प्राज्ञ आदिमा महिलाहरूको सहभागिता विगत केही दसकभन्दा बढी देखिन्छ । राष्ट्रको सर्वोच्च, राष्ट्रपतिजस्तो सम्माननीय पदमा महिला नै आसिन हुनुहुन्छ ।
दिन, उमेर, बैँसमा राम्रो लाउन, मीठो खान रहर हुनु स्वाभाविकै हो । केही दसक अगाडिसम्म विदेशमा नेपालबाट धान, मकै, चिया, जूट, काठ निर्यात गर्ने गरेकोमा आज, अरबौं रुपैयाँको धान, आलु प्याज, फलफूल, मासु, लताकपडा, इन्धन आदि आयात गरी व्यापार घाटामा नपुरिने भडखालो परेको छ । राज्यको विभिन्न अङ्गमा महिला उपस्थिति भई सुधार हुँदै गएको आजको परिस्थितिमा आजको नेपाली नारीजगत अन्धविश्वास र धर्मान्ध छन् जस्तो मलाई लाग्दैन । धेरै सजग, सचेत र राम्रो–नराम्रो पहिचान गर्नसक्ने कसीमा आफूलाई स्थापित गरिसकेका छन् भन्नुमा अत्युक्ति नहोला ।
टीभी, मोबाइल, पत्रपत्रिका आदि सञ्चामाध्यमहरूको पहुँच हुँदैमा विज्ञापनजन्य कुरालाई स्वीकार र अनुसरण गर्नैपर्छ भन्ने बाध्यता छैन । कतिपय फोहोर हातले बनाएका रसायनयुक्त चटपटे र पानीपुरीमा कलिला किशोरी बहिनीहरूले स्कूल, कलेजको पोशाकमै अधैर्यसाथ झुम्मिएर मज्जा लिएको देखिन्छ । भक्तपुरस्थित अर्बुद रोगको अस्पतालमा ‘केमो’ लिने बिरामीहरूमा यिनै कच्चा उमेरका पनि देखिन्छन् । केही वर्षअगाडि चेलिबेटी बेचबिखन कार्यमा सक्रिय महिला अभियन्ताहरू नै भारतस्थित कोठीमा पुगेर शिकार हुनु परेको दर्दनाक समाचार प्रकाशमा आएको थियो । अधिकांश श्रृङ्गार सामग्री विदेशबाटै आयात गरिन्छ । जस्तैः भारत, चीन, जापान, चेकोस्लोभाकिया आदि । जति बढी मेहेन्दीको गाढा रङ्ग हत्केलामा राख्यो त्यति श्रीमान्को माया, स्नेह पाइन्छ भनी मेहेन्दी लगाउने प्रचलन भारतले नै सिकाएको हो । ‘शतप्रतिशत प्राकृतिक हेन्ना कोने ’ भनेर उत्पादकले भने पनि मेहेन्दीको प्रयोगले हातमा एलर्जी हुने, चिलाउने, फोका उठेर छालाको डाक्टर वा अस्पताल धाउनुपर्ने समस्या नौला छैनन् ।
विज्ञापन गरिएको ‘लक्स’ साबुनले नुहाउँदैमा ऐश्वर्या राई बनिदैन । ‘लाइफ ब्वाइ’ साबुनको प्रयोगले विभिन्न खालका किटाणु मरिहाल्छन् भन्नु गलत र भ्रामक कुरा हुन् । हरिया चुरा, पोतेमा झुल्किएर निराहार व्रत बस्नाले श्रीमानसँगको माया–प्रेमको गाँठो झन् कसिलो र दरिलो पार्छ भन्नु काँतर मानसिकताको पराकाष्ठा हो ।
सञ्चारमाध्यमको दायित्वः
‘सबै टल्कने वस्तु सुन हँुदैन’ भनेझैँ स्वदेशी घर–करेसामा उम्रेर शोभा दिने बहुपयोगी तिउर फूललाई विस्थापित र तिरस्कृत गरेर नारीमाथि आर्थिक, धार्मिक, सांस्कृितकरूपमा छद्मभेषी तरिकाले महिलालाई नालायक र पट्मूर्ख सावित गरिएको छ । त्यसलाई राज्यको तेस्रो आँखाले राष्ट्रिय संस्कृति जगेर्ना गरी घरेलु आयुर्वेदिक विधिको संरक्षण प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।
त्यस्ता धर्म–संस्कृतिको नाममा देशलाई तन्दुनम पार्नेे बाह्य चुनौतीहरूलाई सूक्ष्मरूपमा विश्लेषण, अध्ययन, अनुसन्धान गरी पहरेदारको भूमिका निर्वाह गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *