भर्खरै :

सामाजिक मूल्य मान्यतामा तीज–गीतको प्रभाव

लालबहादुर भुजेल
तीजलाई परापूर्वकालदेखि धूमधामसँग मनाइँदै आएको नितान्त महिलाको पर्व मानिन्छ । यसको मूल्य मान्यता, आत्मीयता, संस्कार परम्परादेखि अन्य रूपमा एकआपसमा जोडिँदै आएको छ । पुरुष र महिला लैङ्गिक हिसाबले एक अर्काका परिपूरक हुन् । जुन, एकविना अर्काको सृष्टि र जीवन–जगतको अस्तित्व असम्भव प्रायः नै छ । हुन त वैज्ञानिक हिसाबले पुरुषले पनि प्रजनन गराउन सक्छ तर यो प्राकृतिक जस्तो सरल, सहज र सुलभता हुँदैन ।
एक सन्ततिमार्फत जन्मने छोरा वा छोरी (सुखद र सौहार्द दाम्पत्य जीवनका) कलेजी टुक्रा हुन् र प्रायजसो छोेराभन्दा छोरीमा दायित्वबोध, कर्मशील, गाम्भीर्यता, आत्मनिर्भरता, घर–व्यवहारप्रतिको रुचि र संवेदनशीलता व्यवहार गर्ने प्रवृत्तिको विकास हुँदै गएको पाइन्छ भने अधिकांशजस्तो बालकमा यी चारित्रिक गुणहरू प्रायःजसो अभावै हुन्छन् । हाम्रो धार्मिक मूल्य–मान्यतानुसार छोरीमान्छे पर घरमा जाने अर्थात् माइतीघर छाडेर कर्मघरमा जानुपर्छ र त्यसपछिमात्र नारीको अर्को अध्यायको सुरुआत हुन्छ । आफ्नो औकात र गच्छेअनुसार जीवनयापन, प्रवृत्ति र फरक परिवेशमा दिएपछि छोरी–चेलीप्रतिको माया–ममता, सद्भाव र जिम्मेवारी माइतीपक्षतिर अभिवृद्धि हुँदै जानु स्वाभाविकै हो ।
तीजपर्वको सामाजिक पाटो
माता–पिताको लागि आफ्ना सन्तान दृष्टिविहीन, अपाङ्ग, अशक्त, धेरै थोरै जति भए पनि माया– मोह उत्तिकै हुन्छ । काखमा हुनेभन्दा बाहिर हुनेलाई झन पीर, चिन्ता बढी खनिन्छ । घरभन्दा टाढा हुनेप्रति घरपरिवारका अन्य सदस्यजनहरूको बढी चासो र खोजीनीति हुन्छ । मेलमिलापको प्रतीकको रूपमा लिइने तीज पर्वको महिमा नै सुख–दुःख साट्ने, पारिवारिक जमघट भई साथी–सङ्गति एवम् दमालीहरूसँगको विछोडमा नियास्रो मेटाउने र मन हलुङ्गो बनाउने यस सामाजिक पर्वले छोरी चेलीलाई अवसर प्रदान गर्छ ।
सूचना, प्रविधि, यातायातको विकाससँगै नारीको दिनचर्या फेरिएर आजको अवस्थामा आइपुगेको छ । पहाडी भू–धरातल भएको नेपालमा विगतका दिनहरू अत्यन्त कष्टकर थिए । सहर–बजारको विस्तार नभइसकेको अवस्थामा माइतीघरबाट कर्मघरतिर जान झन्डै एक दिनको पैदलै हिँड्नुपर्ने वनजङ्गलमा चोरी डकैती र खोला तर्दा बगाउने अवस्था विद्यमान थियो । केही वर्ष पहिलेदेखि दुर्गम नेपालका जिल्लाहरूको सदरमुकाम जोड्ने प्रयास सरकारी सडक यातायातको बजेटबाट बल्लतल्ल थालियो । प्रायः वैवाहिक सम्बन्ध, पहाडबाट पहाडमै रहन–सहन, खेती–किसानी, घर व्यवहारको कारणले हुनेगथ्र्यो भने मध्यम परिवारको छिटफुट र पहुँचवाला कुलीन परिवारको मात्र सहर बजारमा वैवाहिक सम्बन्ध गाँसिएको देखिन्छ ।
पहिले महिलाको सामाजिक पाटो करुणाजनक र कहालीलाग्दो थियो । त्यसबेला जनचेतनाको अभाव, निरक्षरता, पुरातनवादी सोच र संस्कारले गर्दा नवागन्तुक बुहारीले दोस्रो दर्जाको नागरिक हुनुपथ्र्यो । गाम–बेसीको खेतीपाती अहोरात्र र अहोदिन गाईवस्तु, खेती किसानी, घरधन्दा, गोठालो, खेतालो, अर्मपर्म, घाँस–दाउरा, खेतीबाली लगाउने, गोडमेल, थन्क्याउने, फेरि हिउँदमा, पुनः नयाँ खेती लगाउने आदि रोह–अवरोहको दैनिक बोझ बुहारीमै पथ्र्यो । राति घर–धन्दापछि अबेर सुतेर आधारातमै उठेर ढिकी–जाँतो, कुटानी–पिसानी, वस्तुभाउलाई कुँडो पानी र पुनः भात–भान्छाको दिनचर्या नियति नै हुन्थे । घरपरिवारमा सासू–ससुरा, नन्द अमाजूको हरपल यातना र खप्की घरका सबैले खानपिन गरेपछि बासी ढिँडो–रोटी तरकारी पुछपाछ गरेर घरधन्दा गर्नुपथ्र्यो । घरमा श्रीमती, बुहारी र आमाको भूमिका समाल्नु चानचुने कुरा थिएन । नाबालिका हुँदैमा विवाह बन्धनमा बाँधिए पर घर जानु रहर थिएन, बाध्यता थियो । कर्मघरको रुखो र अमानवीय व्यवहारले परकाष्ठा नाघ्दथ्यो । सासूको बुहारीमाथि गरिने दैनिकजसो घरेलु हिंसा र बुहार्तनको खप्कीलाई थोरै भए पनि दिदी–बहिनी, आमालाई बिसाएर मन हल्का पार्न तीज कुरेर बस्थे, अभागी, दुःखी चेलीहरू । धेरैजसो चेली निरक्षर हुन्थे, किनकि अर्काको घर जाने जातलाई स्कूल नपठाई बुझ्ने भएपछि गोठालो–खेतालो र पानी पँधेरोमै अभ्यस्त गराइन्थ्यो । माइतीमा भाउजू बुहारीले पनि रुचाउँदैनथे । घर–व्यवहारको टोकसोले गर्दा मनको बह, उकुस–मुकुस पोख्ने भनेकै चिठी–पत्रको माध्यम र मौखिक खबर थियो र आफू निरक्षर भएकोले परनिर्भर हुनुपथ्र्यो । अरुमार्फत लेखी पठाउने भएकोले दकस हुन्थ्यो किनकि चिठी लेख्ने र वाचन गर्नसक्ने त्यसबेला दुर्लभ हुने हुनाले कठिन बेला थियो । श्रीमान्को प्रेम अभाव, घर–परिवारको रुखो र निगरानीका कारणले अन्याय र अत्याचारविरुद्ध मुख खोल्न मन लागे पनि दबिएर सहेर बस्नुपर्ने बाध्यता थियो । दिदी–बहिनी, सङ्गी–साथीसँग मनमा बह कहन मौका नमिलेर मनभित्रै गुम्स्याएर राख्नुपथ्र्यो ।
तीजको गीतका सकारात्मक पक्ष ः
वर्षदिनको तीजको अवसरमा मनभित्रका गुम्सिएका पीडा अटेसमटेस हुने भएकोले मन हल्का पार्ने उपयुक्त माध्यम नै माइती गाउँलेसँग गीतमार्फत मनको बह व्यक्त गर्नु, नाच्नु र गाउनु हो । परम्परादेखि जन्मघर र कर्मघरका भोगाइ, उत्पीडन, असमानता, भेदभाव, हत्या–हिंसा आदि मनमा लागेका कुराहरू बालसखा, दिदी–बहिनीसँग भेटेर घर–फुकाएर हास्ने–खेल्ने चाड नै यही हो ।
यो पर्व ऐतिहासिक मूल्य–मान्यता निहित समाजको सांस्कृतिक चरित्रको सासू–बुहारीबीचको द्वन्द्वात्मक जुहारी एवं मनमुटावको ज्वलन्त उदाहरण हो । जसमा उन्मुक्तिरत कमजोर पक्षमा बुहारीहरूले हातमा बागडोर लिएर नौला–प्यूला, निमुखा, कर्तव्यपरायण बुहारीहरूलाई हैकमवादी र निरङ्कुशता लाद्न खोज्ने सासूआमाहरूलाई शब्द गोलीहरू बर्साउँछन् । यसरी खुलेर नाच्ने–गाउने गर्नाले मनभित्रका चेलीका कुण्ठा र पीडा केही हद्सम्म न्युनीकरण भई असत्य र उत्पीडनप्रति लड्न सशक्त ऊर्जा मिल्छ । मनोसामाजिक हिसाबले पनि यो चाडको गरिमा र महत्व वृद्धि हुनुमा गाउँले जनजीवनको स्वाद र सस्वादन गर्न सकिन्छ । गीतमार्फत छुताछुल्ल पोखिने असन्तुष्टी र नपुरिने घाउ–चोटहरूलाई विस्तारै मल्हमपट्टि काम पनि गर्नसक्छ । श्रीमान्, श्रीमतीबीचको सम्बन्ध र माया–प्रीतिको गाँठो पनि कसिलो हुनसक्छ भने बुहारी पनि छोरी समान हुन् र सासू आमा पनि आमा समान भएकोले सक्दो सेवा–सुविधा र माया–ममताको खाँचो पर्छ भन्ने सन्देशले सचेतना छर्छ र पुरातनवादी सोचलाई सद्बुद्धि भर्छ र “बा¥ह वर्षमा खोलो पनि फर्कन्छ” भनेझैँ सम्बन्धमा सरलीकरण पनि हुनसक्छ । युवा पलायन, लैङ्गिक विभेद, ज्येष्ठ नागरिकप्रतिको आस्था र सम्मान, बलात्कार, चेलिबेटी बेचबिखनप्रति खबरदारी, देशप्रेम, नारी शिक्षा, महिला आत्मनिर्भरता र सशक्तीकरण जन्मस्थलोप्रतिको कर्तव्यपरायणता आदि विषयमा गाइने गीतहरूले सकारात्मक सन्देश दिन्छन् ।
नकारात्मक पक्ष
विगतका वर्षहरूमा गाइने ‘पोइला जान पाम्’, ‘दाडे बिरालो’, ‘तँलाई लाने र मलाई लाने’, ‘लास्टै चोटि हो’ भन्ने कोमल ओली र पशुपति शर्माका तीजका गीतहरू समाजलाई सकारात्मक सोच प्रदान गर्ने भन्दा पनि नकारात्मक खालका छन् । हिन्दू नारीहरूले मनाउने पवित्र तीज पर्वमा खाइने ‘दर’ र सञ्चालन गरिने तीजको गीत कार्यक्रम एउटा दाजु–भाइ, दिदी–बहिनीबीचको पवित्र प्रेम, आत्मीयता र जन्म–जन्मान्तरसम्म जीवन्त रहने आत्मीयतालाई कुठाराघात पारेको छ । अहिले पार्टी प्यालेसमा आयोजना हुने तीज कार्यक्रम रङ्गीन, तडकभडक र सिनेमा हलमा देखिने सिने–चलचित्रजस्तो उच्छृङ्कल र अश्लील प्रकृतिका देखिन्छन् । जो दिदी–बहिनीसँगै बसेर हेर्न सहज हुँदैन । चेलीका पीडाब्यथा उजागर गर्नुपर्ने पर्व रत्यौलीजस्तो लाग्छ, नैतिकता संस्कार र संस्कृति घरायसी भएजस्तो लाग्छ । यस्ता छाडा गीतहरूले संस्कृतिको जगेर्ना र परम्परागत मूल्य–मान्यतालाई निरन्तरता दिनसक्तैनन् । दर खाने सिलसिलामा दिदीबहिनीहरू रक्सीले उन्मन्त भई बाटोमै लडेको र अपशब्द बोल्दै हिडेको सुपाच्य हुँदैन ।
तीज गीतले खेल्नुपर्ने भूमिका ः
विगतमा अंशमुद्दाले एउटै लाम्टो चुसेर हुर्केका दाजुभाइ–दिदी–बहिनीबीच चिसिएको सम्बन्धलाई सबल र दर्विलो बनाउनुपर्छ । बाटोघाटोमा माइत जानेहरूको राताम्य लस्कर, हतारमा दिदी–बहिनी लिन जाने माइतीको लर्को, गाउँ–घरमा पाक्ने अनदीको चाम्रे (लट्टे), काँक्राको तील हालेको अचार, आलु–तामा, आलु–बोडी, लमजुङे टुसाको तरकारी, दूध, खीर । पिँढीमा थुप्रिएर रातभरि नाचगान गरी खाइने दर । भोलिपल्ट निराहार बसी शिवजीको पूजा–अर्चना र पञ्चमीमा श्रीमान्को दीर्घायुको कामना, अविवाहितलाई योग्य बरको कामना, यही हो तीजको सङ्क्षेप–सार । यही हो तीज पर्वको मौलिकता । तर, हुने खाने महिलाहरूको चुरिफुरि, महँगा गहनागुरिया र लुगाको प्रदर्शन, भड्किलो दर खाने प्रवृत्ति र विकृतिमा तँछाड–मछाड होडबाजी, सोह्र–श्रृङ्गारको सामानहरूको आयातीत प्रवृत्ति । तर, मौलिकतामा आँच आएको देखिन्छ ।
अबको तीज पर्वको गीतले विपन्न महिलाहरूलाई समेट्नुपर्छ, अनियमितता, भ्रष्टाचार, राजनैतिक, झुटो आश्वासनको खोइरो खन्नुपर्छ । समन्याय, समानता, छुवाछूत, चेलिबेटी बेचबिखन, वैदेशिक रोजगार, शिक्षा, स्वास्थ्य, महँगीको विकृति, हत्या–हिंसा, आत्महत्या, बलात्कार, नागरिक सुरक्षा, सीमा बारेमा खरोरूपमा उत्रनुपर्छ । महिलाको सशक्तीकरण आत्मनिर्भरता, रोजगारी, बजार अनुगमन आदि कुरामा अबका तीज गीतले टड्कारो रूपमा उत्रनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *