भर्खरै :

सभ्य र सहज तरिकाले तीज पर्व मनाऔँ

लक्ष्मी पोखरेल
सहरदेखि गाउँको चारैतिर तीजका रौनक छाएको छ । भाकाहरू घन्किरहेका छन् भने टोल, छिमेकमा महिला दिदीबहिनीहरू रातो पहिरनमा झुम्मिरहेका देखिन्छन् । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ ।
तीज
त्यसैले हिन्दू धर्मावलम्बीहरूले पार्वती र भगवान् शिवको बन्धन गाँसिएको दिनको रूपमा तीजलाई लिने गरेको पाइन्छ । साथै तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमयरूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व सामान्य हर्षोल्लासका निमित्त मनाइने चाडमात्र नभएर यसको आफ्नै सामाजिक, सास्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ । यसैले त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन् । सामाजिक सद्भाव, मेलमिलाप एवं समाजका विविध विसङ्गति र सामाजिक अधिकारलाई उजागर गर्ने विभिन्न प्रकारका पर्वजस्तै तीजको पनि आफ्नै महत्व रहिआएको छ ।
पहिलेको तीज
तीज नेपाली महिलाहरूको महत्वपूर्ण चाड हो । यसलाई हर्षोल्लासका साथ मनाउन पाउनु हिन्दू महिलाको अधिकारभित्रको कुरा हो । तर केही समय यता आएर तीज मनाउने तरिकामा फरकपन आउन थालेको छ । महिना अगाडिदेखि तीज मनाउन थालिएको छ ।
मलाई बालापनको र गाउँमा बस्दाको सम्झना छ । म सानो छँदाको याद झलझलती सम्झना आउँछ । मेरी आमा, सानीआमा, हजुरआमा, ठूलीआमा पराइको घरबाट माइती आएकी दिदी, बहिनी, फुपूलगायत छिमेकका सम्पूर्ण महिलाहरू एकै ठाउँमा जम्मा भएर घरको आँगनमा तीजका भाकाहरू गाइन्छन् । कोही गीत गाउनुहुन्थ्यो त कोही मादल बजाउनुहुन्थ्यो । कोही छमछमी नाच्नुहुन्थ्यो त कोही थप्पडी बजाउनुहुन्थ्यो । व्रत बसेर गाउँका चोक चौतारीमा जम्मा भएर सासू, आमाजू र नन्दका कुरा गर्थे । त्यतिबेला गाउने तीज गीतहरूका शब्द निकै भावपूर्ण र मर्मस्पर्सी हुन्थ्यो ।
माइतीघर, व्रत, पूजा, पँधेरो, चौतारी, मन्दिर र घर आँगनीहरूमा मनाइने पर्वमा डम्फु, मादल र थपडीमा गाइने तीजका भाकाहरू आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको महत्व रहिआएको छ ।
माइत जान नपाएका दिदी बहिनीहरूले तीजको अवसर पारेर गीतमार्फत आफ्ना पीर, व्यथा पोख्नुहुन्थ्यो भने माइती आउनुभएकी दिदी बहिनीहरू पराइको घरमा आफूले पाएको दुःख, पीडाका भाका गीतमार्फत गाउनुहुन्थ्यो । हो, यस्तै पीडा पोखेर मन शान्त पार्नुका साथै महिलाहरूले आफूप्रतिको शोषण, दमन र अन्यायका विरुद्ध आवाज उठाउन तीजलाई लिइन्थ्यो ।
अहिलेको तीज
तीज पर्व पनि परिवर्तन हुँदै आएको छ । तीजको मूलभूत यथार्थ, मूल्य र मान्यतामा परिवर्तन हुँदै छ ।
संस्कृतिको नाममा मनाइने तीज भड्किलो तरीकाले मनाउन थालिएको छ । हिन्दू नारीहरूको चाड भनेर संस्कृतिको लागि मनाइने चाड दिनानुदिन विकृतितिर गइरहेको छ । पश्चिमी मुलुकको नक्कल गरेर नेपाली हिन्दू नारीहरूको सांस्कृतिक पर्वमाथि नै नकारात्मक छाप देखिन थालिएको छ । पश्चिमा मुलुकको अनुकरणले गर्दा नेपालको संस्कृतिमाथि नै औंला उठ्न थालिसकेको छ ।
हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदै छ । तीजको रमझममा पश्चिमेली शैली मिसिँदै दर खाने प्रचलन पाँचतारे होटलका खाना र बोतलमा सरेको देखिन्छ । पार्टी प्यालेस, डिस्को बार र रेष्टुराजस्ता महँगा ठाउँमा तीज मनाउन थालेपछि खर्च पनि धेरै हुन थालेको छ । तीज आउन महिनाअघि महिलाहरूलाई दर खान भ्याइनभ्याई छ । हुनेखाने महिलालाई महिनाभर नै तीज लाग्छ ।
आडम्बर र देखावटीपनले हाम्रो संस्कृति विस्तारै लोपोन्मुख हुँदै छ । धर्म र संस्कृति प्रदर्शन होइन, नितान्त दर्शन हो । गरगहना, कपडा, भड्किलो खानपान, लामो समयसम्मको नाचगान आदि अनुत्पादक कार्यहरूले तीजजस्ता चाडबाडहरू भड्किला हँुदै आइरहेका छन् । पहिलेजस्तो मौलिक लोक भाकासमेत हराउन थालेका छन् । फलस्वरूप तीज धेरै उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको छ ।
हरेक नयाँ युगले नयाँ मान्यताहरूको जन्म दिँदै र हुर्काउँदै जान्छ भनेजस्तै पँुजीवादी समाजमा पँुजीवादी संस्कार र नाफासँग तीजलाई जोडिएको छ । आधुनिकता र स्वतन्त्रताको परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियतामा तीजजस्तो पवित्र चाडलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको शिकार बनाइँदै छ । समाजमा छाडापन बढ्दै गएको आभास हुन थालेको छ । समाजमा उच्छृङ्खलता ल्याउन प्रोत्साहन मिल्ने तीज गीतको रचना र गाइने प्रचलन बढ्दै गएको छ ।
पोइल जान पाम, डिस्कोमा तीज, छोटो लुगा आदि हँुदै अगाडि बढेको तीज गीतको आधुनिक यात्राले यसपालिको तीजमा दरको साटो रक्सी खाइन्छ, यसपालिको तीजमा दरसँगै ह्विस्की खाइन्छ, यसपालिको तीजमा फलफूल होइन भोड्का खाइन्छ, देखियो जामा फाटेरसम्मको भड्किलो र उच्छृङ्खलता तथा उत्तेजक भाव र भिडियो प्रस्तुत हुँदै आएको छ । यसले गर्दा समाजमा उच्छृङ्खल गतिविधि बढ्दो मात्रामा देखिन थालिएको छ ।
साँच्चै, यस्ता खालका गीतसङ्गीतले नेपाली समाज र नेपालका पर्वहरूलाई कतातर्फ लैजाँदै छ ? के नेपाली चाडपर्व र संस्कृतिको जगेर्ना गर्ने काम कलाकारको होइन ? यदि, होइन भने कलाकारलाई कलाकार भनी सम्मान तथा इज्जत दिनुको अर्थ के ? कलाकार भनेका समाजका इज्जत प्राप्त व्यक्ति हुन् । कलाकार समाजका त्यस्ता प्रतिनिधि पात्र हुन् जसले आम मानिसलाई सकारात्मक सन्देश दिनसक्नुपर्छ । समाजमा फैलिएका विकृति विसङ्गतिलाई रोक्न कदम चाल्न सक्नुपर्छ, विकृति फैलाउने होइन ।
अझ, कलाकारको दायित्व त देशको कला संस्कृति जोगाउन महत्वपूर्ण भूमिका हुनुपर्ने हो । तर, तिनै कलाकार संस्कृति र चाड पर्वमा संस्कृति जोगाउनुभन्दा विकृति फैलाउन लागे भने के होला ? पक्कै पनि समाजले नै खबरदारी गर्नुपर्ने हुन्छ ।
समाज परिवर्तनशील छ । समाज बदलिएको भन्दैमा गीत सङ्गीतमा छाडा प्रवृत्ति गराउने कलाकारलाई समाजले नै बहिष्कार गर्नुपर्छ । परिवर्तनको नाममा हाम्रो रीतिथिति, संस्कार, संस्कृति बिर्सनेप्रति हामी सचेत बन्न आवश्यक छ । समयसँगै परिवर्तन भएको तीजले हामीलाई कुरुतितर्फ लम्काएको छ । यो कुरालाई समयमै महसुस गर्न ढिलो भयो भने तीज, तीज रहँदैन । नारीभित्रको आवाजलाई बाहिर निकाल्न साहस दिलाउने यो चाडले नारीलाई अगाडि बढाउन उत्तिकै सहयोग गरेको छ । तसर्थ तीजबाट राम्रा कुराहरू ग्रहण गरेर आफूलाई आफ्नो जिम्मेवारी नबिर्सिकन अगाडि बढ्नुपर्छ ।
यदि तीज नारी मुक्ति, नारी स्वतन्त्रता र नारी अधिकारको लागि नभएर नारीका कुण्ठा, हिनताबोध बढाउनतिर अग्रसर त भइरहेका छन् ? वास्तवमै यो चाड सहीरूपमा मनाइँदै छ त ? हामीले सोच्नेबेला आएको छ । नत्र यसले समाजमा धेरै विकृति र विसङ्गति भित्याउन सक्ने छ ।
तीज सहरिया र उच्च आर्थिक प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन । यसले हाम्रो समाज र नारीमा विभाजन, हिनताबोध ल्याउनु हुँदैन । जसले गर्दा कुनै नारीलाई हरेक हप्ता नयाँ पहिरन र गहना किन्न बाध्य नपरोस्, सक्नेले नयाँ पहिरन र गहना प्रदर्शन गर्न सम्भव होला, तर गरिब नारीहरूलाई के यो सम्भव हुन्छ त ? हुनेखानेहरू तडकभडकमा विश्वास गर्छन् । निम्न वर्गका महिलाको लागि यस्ता चाडपर्व एउटा जटिल समस्या बन्दै गइरहेको छ । यिनै विकृतिहरूको कारण जन्मेका समाजमा दण्डहिनता, भ्रष्टाचार, अपराध, बलात्कार र चोरी डकैती नै आजको नेपाली समाजमा चुनौतीकै रूपमा अगाडि आएका छन् ।
हाम्रोजस्तो पँुजीवादी समाज र आजको विकृत पुँजीवादको डिजाइनअनुसार तीज पनि सुनका गहना र महँगो सारीका अतृप्त उपभोक्ताहरू उत्पादन गर्ने पर्व बनेको छ । पुँजीवाद हावी भइरहेको छ । यसतर्फ हामी सबैले सोच्ने बेला आएको छ । हामीले हाम्रो संस्कारलाई कायमै राखौँ, संस्कृतिको नाममा तीजलाई भड्किलो र उत्ताउलो पर्वको रूपमा सिर्जना नगरौँ । सभ्य र सहज तीज मनाउँदै भड्किलो तीजबाट हुने दुर्घटनाबाट आफू पनि बचौँ र अरुलाई पनि सचेत गराऔँ । सबैमा हरितालिका तिजले खुसी उमङ्ग र सक्रियता प्रदान गरोस् २०७६ को शुभकामना । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *