भर्खरै :

नेतृत्व कसको युवा, महिला वा … ?

नेपालको राजनैतिक डबलीमा बरोबर राजनीतिक नेतृत्वको हेरफेरबारे हो–हल्ला भएको सुनिन्छ । शासक दलहरूमा आ–आफ्नो गुटले जात, क्षेत्र र उमेरबारे चर्चा चलाएर आ–आफ्नो गुटको नेताको प्रचारको अवसरलाई उपयोग गर्छन् । कुनै गुटको युवा नेतालाई नाम लिएर हल्ला गर्नुको अर्थ १०–२० वर्षपछिको निम्ति उत्तराधिकारी तयार गर्न पुँजीवादी लोकमत तयार गर्ने चालबाजी हो । तिनीहरूलाई के थाहा छ भने, हल्ला गर्दैमा युवा नेताले नेतृत्व लिन सक्ने होइन । ठूलो गुट बनाउन धेरै वर्ष काम गर्नुपर्छ, देशी वा विदेशी सहयोगमा ठूलो धनराशी जम्मा गरेर थुप्रै समानान्तर प्रशासन चलाउन सक्ने औकात र कौशल चाहिन्छ, जसरी बी.पी कोइरालाले जीवनभर नेतृत्व गरेर देखाए । त्यसपछि पनि प्रजातन्त्र र गणतन्त्रको लामो अवधिसम्म कोइराला परिवार वा गिरिजाप्रसादले पार्टीलाई आफ्नो कब्जामा राखे ।
राजा–महाराजाहरूले पनि आफ्नो वंशको सत्ता र हैकम कायम गर्न जीवनको अन्तसम्म जेठो छोरा वा भाइहरूकै बीचमा पालैपालो शासन चलाउँथे, स्थिरता नदेखिने भएपछि छोरी र महारानीमार्फत आफ्नो सामन्ती शासन चलाइरहन्थे, महिला स्वतन्त्रता वा महिला मुक्तिको उद्देश्यले होइन ।
नाबालक युवराज ज्ञानेन्द्रलाई गद्दी दिनु राणाशासनको हितको उद्देश्यले गरिएको थियो भने वीरेन्द्रपछि ज्ञानेन्द्रको बुहारी र नातिनीलाई गद्दीमा राख्ने उद्देश्य दिल्लीको थियो, महिला मुक्ति वा महिला स्वतन्त्रताको निम्ति थिएन । युवाको निम्ति भारतमा चालेको नेपालको राजनैतिक बुद्धिचालको गोटी नेपाल र नेपाली जनताको हितमा थिएन बरु भारतीय एकाधिकार पुँजीको हितमा थियो ।
नेपाललाई आवश्यक साइकल, मोटरसाइकल, महँगा कार, जीप, ट्रक, ट्रिपर, डोजर, क्रेनदेखि दैनिक उपभोगका ८० प्रतिशत सामान भारतबाटै आयात हुन्छ, त्यसको निम्ति अब महिला शासक र युवा शासकको आवश्यकता छैन, खालि पुराना नेतृत्वले तलमाथि ग¥यो भने युवा नेतृत्व ल्याउने डेमोकल्सको तरबार झुन्ड्याइएको मात्रै हो । दिल्लीले मधेसी नेतृत्वको तरबार झुण्ड्याएको थियो भने अहिले पुनः एनआरएनको अर्काे डेमोकल्सको तरबार पनि पश्चिमी देशले तयार गरेका होलान् ! नेपालीहरूले पीर मान्नु पर्दैन, जसरी पूर्वी युरोपेली देशहरू तथा इराक, लिबिया र अन्य अरब देशहरूमा गरे ।
उपमेयरहरूमा महिला नै चाहिने र न्यायपालिकाको काम उनैलाई दिने संवैधानिक निर्णय गराउनु, नेपालजस्तो निरक्षर महिला बढी भएको र महिला कानुन व्यवसायी नभएको देशमा योभन्दा ठूलो अस्थिरता र झगडाको बिउ अरू के चाहिन्छ ? संसद्मा अर्कै दलको व्यक्ति उप–सभामुख चाहिने ! जात –जाति र भाषाभाषीहरूमा ठूलो शैक्षिक असमानता भएको समाजमा हरेक सभा र पदमा समावेशी गर्दा गुणस्तर कहाँ पाइन्छ ? स्वीट्जरल्यान्ड, जर्मनी, बेलायत, अमेरिका आदि देश चहारेर बनाइएको नेपालको संविधानमा एक दुइवटामात्रै छिद्रहरू छैनन् । बरु डोकोमा जस्तै छिदै्रछिद्र भएको संविधान निर्माण भएकै हुनाले जनता झन् – झन् गरिब छन् भने गणतान्त्रिक र समाजवादी नेताहरू अरबपति र खरबपति भए, देशका सबै ठूल – ठूला भ्रष्टाचारी र अपराधीहरू सत्तासीनहरूका मित्र भए र त्यसको पहुँच न्याय व्यवस्थासम्म देखियो ।
यस्तो खोटपूर्ण संविधानको निर्माण ज्येष्ठ नेताहरू र संविधानसभाका सदस्यहरूले मात्र गरेका होइनन् बरु अत्यधिक सभासद्हरू युवा र अधवैशे नै थिए । यसकारण प्रश्न महिला र युवाको होइन बरु को कुन वर्गका, कुन सिद्धान्त र विचार तथा कति नैतिकवान र इमानदार छन् भन्ने मुख्य हो । अमेरिकामा मुनरो (सन् १८१७–१८२५), बाबु बुश (सन् १९८९–१९९३) र छोरो बुशले हतियार र पेट्रोलको व्यापारको नाफाको निम्ति युद्धलाई बढावा दिए । सन् १९३३–१९४५ सम्म तीन पटक राष्ट्रपति भएका रुजवेल्ट उम्मेदवार भएपनि आफ्नै उपराष्ट्रपति राष्ट्रपति पदमा पुग्नासाथ टु«ुमानले हिरोसिमा र नागासाकीमा अणुबमले आक्रमण गरे । भारतमा तुलनात्मकरूपले युवा मोदीले नेहरूभन्दा अगाडि बढी दक्षिण एसियामा बडाराष्ट्र हिन्दू साम्राज्य फैलाउने फासीवादी दृष्टिकोण अगाडि सारे । आज नेपालमा युवाहरू मन्त्री छन् । युवा मन्त्रीहरूले नै हिजो नेपालको जलस्रोत विदेशलाई सुम्पे । देशको प्राकृतिक स्रोत र साधनको सन्धि सम्झौतामा सदनको दुईतिहाइ नपर्ने गरी लगानी बोर्डजस्तो सानो संस्थालाई जिम्मा दिने निर्णय बहुमत युवाहरूकै सदनबाट गरिएको थियो । यसकारण प्रश्न युवाको नेतृत्व वा ज्येष्ठ नेताको भन्ने होइन बरु कुन– कुन नेतृत्वले देश र जनताको हित ग¥यो वा अहित ग¥यो भन्नेबारे छलफल गर्नु बढी समिचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *