भर्खरै :

गणतन्त्रवादीहरू नयाँ राजा होइनन्

– सुविज्ञा थापा
यतिखेर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमार्फत कुन राजनीतिक व्यवस्था ठीक भनी वादविवाद चलिरहेको छ । एउटा गतिशील समाजमा राजनीतिक प्रणालीबारे छलफल हुनु अस्वाभाविक त होइन तर ती छलफल राजनीतिक प्रणालीको गुण दोष केलाएर भन्दा दुईचारजना व्यक्तिको चरित्र र क्रियाकलापमाथि केन्द्रित भएर भइरहेका छन् । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बनिसकेको भनिए पनि गणतन्त्रवादी दावी गर्ने राजनीतिक दलका नेताहरूको व्यवहार गणतन्त्रवादी हुन नसक्दा अहिले व्यवस्थाप्रति नै अविश्वासको स्थिति उत्पन्न भएको हो । गणतन्त्रको प्रतिनिधित्व गर्ने राष्ट्रपति, उपराष्ट्रपति, कार्यकारिणी अधिकार प्राप्त प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार ठाँटबाँट, कार्यशैली र व्यतर जनताको माझबाट निर्वाचित जनप्रतिनिधिको जस्तो नभई पुराना राजा–रजौटाहरूकै जस्तो र राजा–रजौटाको भन्दा सामन्तवादी देखिएपछि गणतन्त्रको विरोध गर्नेहरूले मौका पाउनु अस्वाभाविक होइन ।
शासन सत्तामा रहेका र नरहेका अधिकांश पार्टीमा पार्टी नेतृत्व वा प्रभावशाली नेताहरूले आफू अरू नेता र कार्यकर्ताहरूको विश्वास र समर्थनले यो ठाउँमा आइपुगेको हुँ भनी मनन गर्नुभन्दा आफूले नैसर्गिकरूपमा प्राप्त गरेको ठानिरहेका छन् । पार्टीभित्र आन्तरिक प्रजातन्त्र नितान्त कमजोर भएको छ । पार्टीका निर्णयहरूमा तर्क र औचित्त्न्दा नातावाद, क्रिपावाद र गुट वा स्वार्थ समूह हावी भएको देखिन्छ । त्यसप्रति इमानदार नेता कार्यकर्ताहरूको असन्तुष्टि र विरोध कतिपय पार्टीहरूमा खुलमखुला व्यक्त भइरहेका छन् भने कतिपय पार्टीमा सुषुप्त अवस्थामा छ । आफूलाई गणतन्त्रवादी दावी गरेर नथाक्ने तर पार्टी नेतृत्वमा आफ्नै परिवारका सदस्य, आफन्त र चाकडीबाजलाई ल्याउनुपर्ने सोचले प्रजातन्त्र र गणतन्त्रको होइन व्यवहारमा सामन्तवादको पक्षपोषण भइरहेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले स्वदेश र विदेश भ्रमण तथा उपचारको नाममा हिजोका राजा, राजपरिवार र पञ्चहरूले भन्दा बढी राज्यकोष दुरूपयोग गर्दा गणतन्त्रवादी राजनीतिक दलहरूका कार्यकर्ताहरूसित विरोधीहरूको तर्कको खण्डन गर्न सकिरहेका छैनन् । गणतन्त्रवादी नेताहरूले आफू नयाँ राजा होइनन् भनी हेक्का राख्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *