अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
भैरव रिसाल
चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि नेपालको विदेश नीतिमा एउटा तरङ्ग आएको छ । यस्ता तरङ्ग आउनुलाई सकारात्मकरूपमा लिन्छु म । नत्र कतिपय महत्वपूर्ण घटनामा तरङ्ग आउँदैनन् त्यस्ता घटनाको दीर्घजीवन रहँदैन । तर जहाँसम्म वाङ यीको नेपाल यात्राको सन्दर्भ छ त्यसको परिवेशले विश्वव्यापी रूप लियो । नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अमेरिकी सरकारको इन्डोप्यासिफिक रणनीतिबारे यसो के मुख खोलेका मात्र थिए अमेरिकी सरकार अघि बढ्यो र प्रश्न ग¥यो के नेपालको परराष्ट्र नीति फेरिएको हो ? प्रचण्डले वाङसँग गरेको वार्ताको समाचारको आधारमा वासिङटनले अमेरिकी हिन्द–प्रशान्त रणनीति उपर नेपालको रणनीति परिवर्तन भएकै हो ? भन्ने स्पष्टीकरण खोज्यो । अब नेपालको परराष्ट्र मन्त्रालयसमेत तानियो । यो मुद्दा विशाल पोखरीमा एउटा ढुङ्गा हान्दा त्यसबाट निस्कने तरङ्ग त्यो पोखरीको छेउमा पुगेर मात्र टुङ्गिनेजस्तै भयो । मलाई लाग्छ, नेपाल एकपल्ट फेरि विश्व राजनीतिक एवम् कूटनीतिक रङ्गमञ्चमा चर्चित भयो । नेपालका परराष्ट्रमन्त्री बोले । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्टोलाले इन्डोप्यासिफिक नीति पूर्ववत छ त्यसमा कुनै विचलन वा परिवर्तन आएको छैन भन्ने स्पष्टीकरण दिए । नेपाल एकपल्ट फेरि विश्व मानचित्रमा सगबगायो । यो नराम्रो होइन ।
अर्कै शङ्का उब्जने !
स्वयम् प्रचण्डले बारम्बार स्पष्ट गर्नुप¥यो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले इन्डोप्यासिफिक नीतिको नामोच्चारण समेत नगरी मौन भाषामा उत्तर दिए । छिमेकी दुई मुलुक चीन र भारतसँग नेपालको सुध्रिएको मात्र होइन चीन र भारतको पनि आपसी सम्बन्ध राम्रो बनेकोले नेपाललाई थप राहत भएको छ । त्यस्तै सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले सरकारको धारणा पूर्ववत छ, हिन्द–प्यासिफिक रणनीतिमा भनी स्पष्ट पारे । अब अमेरिकी सरकारलाई स्पष्ट भयो होला नेपाल सरकारको नीतिमा फरक आएको छैन भनेर । सरकारी प्रवक्ता सञ्चारमन्त्री त अरू एक पाइला अघि सरी विवादित बनाउन लागिएको यो मुद्दामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेपछि पुनः उचाल्नु उपयुक्त छैन । राष्ट्रियता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर नीति–निर्माण र तिनको कार्यान्वयन गर्दै आएको सरकारमाथि विभिन्न बहानामा योजनाबद्ध आक्रमणको प्रयास भइरहेको बेला यो त्यसकै एक अङ्ग हो कि ? भन्ने शङ्का यसले जन्माउँछ भन्नेसम्म पनि अघि बढे । त्यसको तात्पर्य अरू सूक्ष्मरूपले केलाउनुपर्ने सङ्केत गर्छ । विवादित बनाउन खोजिएको इन्डोप्यासिफिक मामलामा एकपल्ट आधिकारिक धारणा सार्वजनिक गरिसकेपछि पुनः किन उचाल्नु ? यो रणनीति वस्तुतः रणनीति होइन । यो भित्र अर्कै कुरा अन्तर्निहित छ कि भन्ने शङ्का उब्जन्छ ।
किन दबाब नेपाललाई
संरा अमेरिका किन उनाचो हुन्छ बेला बेला ? यो उसको ठूला राष्ट्र अहङ्कारवाद होला, अमेरिकी राजदूतावास आफ्नो तोकिएको काममा मात्र केन्द्रित भए पुगी गो नि ? त्यताबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वाङ यी भेटका बेला भएको कुराकानीमा अमेरिकी इन्डोप्यासिफिक सैन्य गठबन्धनबारे कुरा उठेछ । त्यसलाई तिलको पहाड बनाई नेपालको दृष्टिकोणबारे स्पष्टीकरण मागेछ । त्यसरी स्पष्टीकरण माग्नु नेपालको आन्तरिक मामलामा हस्तक्षेप नै हो वास्तवमा । स्पष्ट छ, नेपाल अमेरिकी नेतृत्वको इन्डोप्यासिफिक गठबन्धनमा सामेल हुनुहुँदैन र सामेल हुँदैन पनि । जहाँसम्म चीनको बेल्ट एण्ड रोड परियोजना हो यो कुनै पनि सैनिक गठबन्धन होइन । तसर्थ बेल्ट एण्ड रोड अग्रसरतामा सामेल हुनु अमेरिकी हिन्द–प्यासिफिक सैनिक गठबन्धनसँग तुलना गर्न नै मिल्दैन । वास्तवमा अमेरिकी सरकार पचास–साठी अर्ब रूपैयाँ सहयोग दिएको आधारमा नेपालमाथि अनुचित दबाब दिन कहाँ मिल्छ ? तिब्बतबाट भाग्दै नेपाल आएका तिब्बतीहरूलाई तिब्बत फर्काउन हुँदैन भन्छ र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरूद्धको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्नुपर्ने भन्छ । तर यस्ता कुनै पनि शर्त स्वीकार गर्नुहुँदैन । यो दीर्घरोगको पूर्वरूप हो ।
तर मैत्री विस्तार हुँदै
चीनको दक्षिण चीन सागरमा संरा अमेरिकाको एउटा सैनिक पानीजहाज किन प्रवेश गराएको ? अमेरिकी सातौँ जलसैनिक डफ्फाको कमान्डर पानीजहाज चीनको भौगोलिक सार्वभौमसत्तालाई चुनौती दिँदै चीनको उक्त क्षेत्रमा किन पसेको ? सो पानीजहाज सल्लाह गरेर २÷४ मिनेट आउजाउ वा प्रवेश गर्नु एउटा कुरा हो । तर विनासूचना र जानकारी प्रवेश गर्नु त ठाडो हस्तक्षेप किँवा निःशस्त्र अतिक्रमण भएन र ? चीनले उक्त क्षेत्रमाथि आफ्नो स्वामित्व हो भनी दावी गर्दै आएको छ । नभन्दै चीनले दक्षिण सागरलाई आफ्नो क्षेत्र भएको स्पष्ट पार्दै प्रमाणको रूपमा अनेकन ऐतिहासिक तथ्य–तथ्याङ्क प्रस्तुत गर्दै आएको छ । तर संरा अमेरिका भने चीनलाई घेर्ने नीतिअन्तर्गत उक्त क्षेत्रलाई किचलोको क्षेत्र बनाउन मरिहत्ते गर्दै छ । वास्तवमा अमेरिका युद्ध पिपासु हो । संसारमा युद्ध भएन भने शस्त्रास्त्र र युद्ध उद्योगहरू बन्द भई अमेरिकी नाफाको मुख सुक्नेछ र प्याकप्याकी पर्नेछ अमेरिकी युद्ध उद्योग । अमेरिकालाई पूरै थाहा छ सो क्षेत्रमा हुने द्वन्द्वले पूर्व एसियामा ठूलो क्षति पुग्नेछ । त्यसो भएमा ती क्षेत्रका मुलुकहरूलाई चीनको पक्षमा जान नदिन सहज हुन्छ भन्ने अमेरिकी प्रक्षेपण छ । परन्तु परिस्थिति यसको विपरीत अघि बढिरहेको छ । ती देशको चीनसँग मैत्री सम्बन्ध विस्तार हुँदै छ ।
कस्तो होला दोस्रो झर्दा
संरा अमेरिका नेपालमा चिनियाँ राष्ट्रपति सि जिन पिङको भ्रमण भयो भने नेपाल–चीन सद्भाव एवम् मैत्री अरू सुदृढ एवम् निकटतम हुँदै जाने कुरातर्फ पनि सचेत भइरहेको हुनुपर्छ । चिनियाँ विदेशमन्त्री वाङको भ्रमण पूर्ण सफल हुन चिनियाँ राष्ट्रपति सिको नेपाल यात्रा हुनुपर्छ । त्यो चिरप्रतिक्षित यात्रा सफल भएमा मात्र नेपाल–चीन सम्बन्ध, मित्रता एवम् आर्थिक सहयात्राका ठूलठूला ढोका खुल्नेछ वा यो क्षेत्रका आर्थिक क्रियाकलापहरू प्रारम्भ र विकास हुन थाल्ने छन् जसले समृद्धि र सुखको परिकल्पना साकार हुने वातावरण निर्माण हुनेछ जसले यो क्षेत्रमा नै समृद्धिको उज्यालो फैलिने ठूलो सम्भावना देखापर्छ । विश्वको पहिलो आर्थिक शक्ति राष्ट्रबाट दोस्रोमा ओर्लनुपर्ने अवस्था नजिकिँदै छ संरा अमेरिकालाई । यो कुरा भन्न र लेख्न सजिलो छ तर भोग्न त्यति सहज एवम् पाच्य हुँदैन । यो अवस्थाको अर्थतन्त्रले के के तान्छ, कता कता हान्छ, त्यसको समग्र प्रक्षेपण नै गरिएको छैन । पहिलो आर्थिक शक्ति राष्ट्रबाट दोस्रोमा झर्दा कति कमजोर मान्छेलाई साँच्चै हृदयघात नै हुनसक्छ । यता चीन पहिलो आर्थिक शक्ति राष्ट्रमा उचालियो भने चीनमा अर्कै उत्साहको ऊर्जा फैलिने छ । कैयाँै अमेरिकीले त पत्यारै गर्दैनन् होला
४८ वर्षमै यस्तो अन्तराल
यसैले आजको संरा अमेरिका छटपटीमा छ । आफ्नो राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलाबेलाको टेम्परेचर र टेम्परामेन्ट नजिकै बसेर हेर्नेहरू र अझ त्यो व्यहोर्नेहरूको हालत कस्तो होला यसो अनुमान गरौँ त ? संरा अमेरिका आज पनि बाटोमा लाग्यो भने विकल्प होलान् अवश्य नै । तर पुँजीवाद अहँवादमा रूपान्तरित हुँदै गएपछि कसको पो के लाग्दोरहेछ ? चीनसँगको ऋणमा डुबेको छ आजको अमेरिका । चीनसँगको सम्बन्ध नहुँदाको संरा अमेरिकाको फूर्ति र उकासिँदो अमेरिका कति दर्बिलो र सफल थियो होला अघिल्लो पुस्ताले देखेको मात्र होइन भोगेकै छ । त्यस्तो स्थितिमा पनि विदेशमन्त्री हेनरी किसिञ्जरको विश्वलाई विनासूचना चीन भ्रमण कस्तो आकर्षक र उत्तेजक थियो त्यो म थाहा पाउँछु । पाकिस्तान भ्रमणका बेला घण्टौँसम्म विनाजानकारी र विनासूचना किसिञ्जर अलप हुनुले एउटा रोचक तरङ्ग सिर्जना गरेको थियो । राजनीतिक चिन्तक एवम् समसामयिक राजनीतिक विश्लेषकहरूका लागि यो मुद्दा पनि चुनौतीपूर्ण थियो । संसारको कुण्डली कुनै कुनै यस्तो आकर्षक हुन्छ जुन कसैले पनि परिकल्पना गरेको हुँदैन । हेनरी किसिञ्जरले चीनको यात्रा गर्छन् भन्ने कुनै कल्पनाकारले कल्पनासम्म पनि गरेको थिएन । तर अकस्मात् चीनको पेकिङ पुगेको खबर छ्यापछ्याप्ती भयो । सन् १९७१ जून ९ तारेखमा पेकिङ उत्रे आजभन्दा ४८ वर्षमात्र अघि । त्यसपछि अमेरिकी राष्ट्रपति रिचार्ड एम. निक्सनले पहिलोपल्ट चीन भ्रमण गरे । निक्सन अमेरिकाका ३७ औँ राष्ट्रपति थिए र चीन भ्रमण गर्ने पहिलो राष्ट्रपति । यी ४८ वर्षमा नै यस्तो भो आजको विश्व ।
आक्रमणबाट प्रतिरक्षात्मकतिर
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनतर्फ आज मजदुर र किसानहरूको मात्र होइन मुलुककै काम गरिखाने समस्त सचेत वर्गको गम्भीर ध्यानाकर्षण भएको छ । आज देशमा कम्युनिस्टको नाम व्यापारको लोकप्रिय विज्ञापनजस्तो भएको छ । हाम्रो नेपालका कम्युनिस्ट नाम गरेका दलहरूका कम्युनिस्ट दर्शन, सिद्धान्त, नीति, रणनीतिमा कम्युनिस्टको सामान्य गन्धसमेत पाइँदैन । विश्वव्यापीरूपमा आज कम्युनिस्ट शक्ति आक्रामक हैसियतमा छैन बरू प्रतिरक्षात्मक रूपमा पो छ त ! का. स्तालिनको नेतृत्वको बेलाको सोभियत सङ्घको कम्युनिस्ट पार्टी, का. माओको नेतृत्वको कम्युनिस्ट पार्टी, का. किम इल सुङको नेतृत्वको प्रजग कोरियाको मजदुर पार्टी, त्यस्तै का. फिडेल क्यास्ट्रोको नेतृत्वको क्युवाको पार्टीजस्ता जल्दाबल्दा कम्युनिस्ट पार्टीहरूको नेतृत्व कति बलवान थियो । विश्वभरका सामन्त, अनुदार पुँजीवादमात्र होइन उदार पुँजीवाद पनि आक्रमण गर्ने आँट गर्दैनथ्यो । तर साम्राज्यवादी, पुँजीवादी, उग्रपुँजीवादी, उदार पुँजीवादी शक्तिहरू एकजुट भए र कम्युनिस्ट नाम नै यति लोकप्रिय भएको देखि पहिले भइरहेका कम्युनिष्ट पार्टीहरूभित्र घुसे । फलस्वरूप कम्युनिस्ट पार्टीहरूमा विचलन आउन थाल्यो । नयाँ पुस्तामा कम्युनिस्ट दर्शन, आचरण, संस्कार र व्यवहार गर्न सकिएन यद् वा त्यस दिशातिर ध्यान गएन । परिणामस्वरूप विश्व कम्युनिस्ट आन्दोलन आक्रामक हुनसकेन । आक्रामक हुन नसक्नुको परिणाम प्रतिरक्षात्मक हुने नै भो ।
हुनुपर्छ नेतृत्व गम्भीर र सतर्क
नेपाल मजदुर किसान पार्टी आजको यो कठोर सत्यता सातौँ महाधिवेशनमा जुटेको छ । कम्युनिस्ट सिद्धान्तलाई फेरि एकपल्ट पूर्ण शक्तिमा पु¥याउनु छ । आज नेपालमा नेमकिपा एउटा यस्तो शक्तिको ज्योति भएर देखापरिरहेको छ जसबाट सम्पूर्ण नक्कली कम्युनिस्टहरू मानसिक रूपमा थरथरी काम्छन् । आक्रमण गरेर नेमकिपालाई हल्लाउन पनि सकिँदैन भनी पार्टीभित्र पसेर अनेकन प्रलोभनमा पारेर हाम्रा मान्छे नेमकिपाका कार्यकर्ताहरूलाई अपहरण गर्ने क्रम चलिरहेछ निकै अघिदेखि । कम्युनिस्ट नामका कम्युनिस्टको तातो भुङ्ग्रो पनि नभएका सिद्धान्तहीन आत्मालोचना गर्दै नगर्ने अझ आलोचना पनि खेप्न नसक्ने अवस्थामा पुगेका छन्, कैयाँै कामरेडहरू । यो सातौँ महाधिवेशन आजको विश्व राजनीतिक प्रवृत्तिको साङ्गोपाङ्ग अध्ययन र विश्लेषण गरी एउटा माक्र्सवादी निष्कर्षमा नपुगी भएको छैन । महाधिवेशन भनेको गम्भीरमात्र होइन, बाह्यरूपमा विकट, कठिन एवम् कठोर भए पनि सशक्त तर व्यवहारमा उतार्न सक्ने निर्णयमा पुग्न सक्नुपर्छ । तर्क तर्कका लागि होइन विश्व कम्युनिस्ट आन्दोलनलाई फेरि एकपल्ट रक्षात्मक अवस्थाबाट सफल एवम् सशक्त आक्रामक सबल शक्तिको रूपमा स्थापित गराउने उपायहरू पत्ता लगाउन सक्नुपर्छ । महाधिवेशनहरू बाह्य देखापर्ने रमिता र झिलिमिलीमा हराउला ! नेतृत्वले यस दिशातर्फ गम्भीर ध्यान दिनुपर्ला । महाधिवेशनको सार तत्व यही हुनुपर्छ । वाद्यवादन, सिङ्गारपटारमा अल्मलिने खतरा छ । नेतृत्व यो मामलामा सतर्क र चनाखो हुनुपर्छ ।
Leave a Reply