भर्खरै :

नेमकिपाको छैटौँ महाधिवेशनका दस्तावेजहरू ः एक चर्चा

समा
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन नजिकिँदै गर्दा छैटौँ महाधिवेशन (विसं २०७०) का दस्तावेजहरूबारे चर्चा र छलफल गर्नु सामयिक नै होला । माक्र्सवाद – लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा आत्मसात् गर्दै अगाडि बढिरहेको नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भका रूपमा चिनिन्छ । नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन गर्दै संशोधनवादी र अराजकतावादी विचारविरुद्ध निरन्तर सङ्घर्ष ग¥यो । राष्ट्रिय राजनीतिमात्र होइन अन्तर्राष्ट्रिय राजनीतिको सही र सटिक विश्लेषण गरी सत्य र न्यायको पक्षमा नेमकिपा उभिँदै आइरहेको एक अन्तर्राष्ट्रवादी पार्टी हो । पार्टीका दस्तावेजहरूमा नेपालको राजनीतिक इतिहासमात्र होइन अन्तर्राष्ट्रिय राजनीतिक डबलीको महत्वपूर्ण इतिहाससमेत संकलित छन् । हरेक राजनीतिक दस्तावेजहरूले विगतसँगसँगै भविष्यको बाटोसमेत कोर्ने हुँदा छैटौँ महाधिवेशनका दस्तावेजहरू केलाउनु सान्दर्भिक हुनेछ ।
छैटौँ महाधिवेशनबाट पारित प्रतिवेदनमा तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो विश्लेषण छ । सन् १६४९ को बेलायती क्रान्तिदेखि सन् १९१७ को रुसी अक्टोबर क्रान्ति अर्थात् पुँजीवादी क्रान्तिदेखि समाजवादी क्रान्तिसम्मको चर्चा यसमा छ । पुँजीवादी अर्थव्यवस्थामा हरेक १०–१० वर्षमा एक महाआर्थिक सङ्कट या मन्दी निम्तिनसक्ने हुँदा यसको विकल्प समाजवादी अर्थव्यवस्था नै हो । अन्तर्राष्ट्रिय वृत्तमा रुसको समाजवादी व्यवस्थाले आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिकलगायतका क्षेत्रमा द्रुतविकास गरेको थियो । सन् २०२१ भित्र समाजवादी चीन सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने र सन् २०५० सम्ममा चीनले संरा अमेरिका र युरोपको संयुक्त कुल गार्हस्थ उत्पादनलाई उछिन्ने विश्लेषण अमेरिकी आर्थिक स्नायुकेन्द्र वालस्ट्रीटकै हो । चीनको सफलताले पुनः एकपटक पुष्टि हुनेछ कि ‘पुँजीवादी व्यवस्था आर्थिकरूपले मात्र ¥हासोन्मुख साबित भएको होइन, राजनीतिकरूपले पनि पश्चिमी राजनीतिक बन्दोबस्त असफल साबित हुनेछ ।’ प्रजातन्त्र र मानव अधिकारको वकालन गर्ने देश संरा अमेरिकाले साना र विकासशील देशहरूमाथि गर्ने दमनको राजनीति र मानवताविरोधी गतिविधिविरुद्ध नेमकिपा निरन्तर लडिरहेको छ । पश्चिमी पुँजीवादी व्यवस्था या प्रणालीको असफलताबारे मिहिन व्याख्या दस्तावेजभित्र छ । यसमा प्रस्ट भाषामा लेखिएको छ–“पुँजीवादी व्यवस्था आर्थिक सङ्कटको मृत्युशैय्यामा छटपटिँदै छ । जस्तोसुकै उपचार र सघन सेवा दिए पनि पुँजीवादलाई केही काल बचाउने काम मात्र हुनेछ । त्यसको काललाई टारेर टार्न सक्ने होइन ।”
देशको तत्कालीन परिस्थिति र नेपालका राजनीतिक दलहरूबारे गहन चर्चा दस्तावेजमा छ । पुँजीवादी पार्टीहरूको शासनले जनताको जीवनमा तात्विक परिवर्तन नभएको र देशको अर्थतन्त्रको नाजुक स्थितिमा शासक दलहरू जिम्मेवार रहेको प्रस्ट विश्लेषण गरिएको छ । भारतीय एकाधिकार पुँजीको पक्षपाती काङ्ग्रेसले भारतसँग गरेका असमान सन्धिहरू, विदेशीसामु झुक्ने प्रवृत्ति र सार्वजनिक कारखाना निजीकरणतर्फ लगेको हिजोको परिस्थिति केलाइएको छ । आफूलाई कम्युनिस्ट भन्ने एमालेलाई का. रोहितले २०४८ सालमै भाइकाङ्ग्रेसको संज्ञा दिनुभएको स्मरण हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवादी दिशातर्फ लाने एमालेले हिजो पनि जनतालाई झुक्याउन कम्युनिस्टको खोल ओढ्यो, समाजवादको गीत गायो र आज पनि त्यस्तै गर्दैछ । ‘जबज’ जस्तो संशोधनवादी विचारलाई समाजवादमा जाने बाटो बताउने एमालेविरुद्ध नेमकिपा विचारको लडाइँ लड्दैछ । आफूलाई कम्युनिस्ट बताउने माओवादी व्यवहारले अराजकतावादी र त्रोत्स्कीवादी प्रमाणित भयो । पद र सत्ताकै निम्ति एक भएका एमाले र माओवादी पद र सत्ताकै लागि छुट्टिन पनि सक्ने सम्भावना इतिहासको अध्ययनले देखाउँछ । सिद्धान्तमा चिप्लेका यिनीहरूलाई जनताको अद्दालतमा उभ्याउन नेमकिपा सक्रिय रहँदै आएको प्रस्ट छ ।
छैटौँ महाधिवेशनले नेमकिपाको अल्पकालीन उद्देश्य अर्थात् पार्टी कार्यक्रमको रूपमा ‘जनताको प्रजातन्त्र’ लाई व्याख्या गरेको थियो । मजदुर र किसानको नेतृत्वमा प्रगतिशील बुद्धिजीवी समुदायले शिक्षा, विज्ञान र प्रविधि, सांस्कृतिक क्षेत्र तथा अर्थतन्त्रको विकासमा योगदान गर्नेछ । राष्ट्रिय पुँजीपति वर्गले विदेशी पुँजीको स्थान लिई औद्योगिक प्रगतिमा योगदान गर्दैछ । प्रतिगामी तथा विदेशी पुँजीको थिचोमिचोबाट नयाँ समाज र देशलाई जोगाउनेछ । जनताको प्रजातन्त्र समाजवादी क्रान्तिको पहिलो खुड्किलो हो । नेपाली जनताको सङ्घर्षका विविध रूपहरूमार्फत जनताको प्रजातन्त्रको विजय हुनेछ भनी दस्तावेजमा उल्लेख छ । जनताको प्रजातन्त्रमा राजनीतिक संरचना, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय अवस्था, लैङ्गिक विषय, युवा, महिला, ज्येष्ठ नागरिक र बालबालिकाको अवस्था, मानवअधिकार, सङ्घीय संरचना या प्रणाली, स्वास्थ्य उपचार र शिक्षाबारे सटिक व्याख्या अध्यक्ष रोहितले गर्नुभएको छ । पुस्तक ‘जनताको प्रजातन्त्र’ पनि प्रकाशित छ । सातौँ महाधिवेशनबाट जनताको प्रजातन्त्रबारे थप व्याख्या हुने नै छ ।
समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने दीर्घकालीन उद्देश्य प्राप्तिको निम्ति नेमकिपाले सङ्घर्ष गर्दै जानेछ । समाजको निम्ति आफूलाई समर्पित गर्ने युग सुहाउँदो नयाँ मानिस पनि जन्माउने छ । यो स्पष्ट अडान दस्तावेजले उजागर गर्दछ ।
प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश र जनताको सेवा गर्ने लेनिनवादी नीति नेमकिपाले लिएको छ । जात, धर्म, सम्प्रदायको नाममा राजनीति गर्ने पुँजीवादी पार्टीहरूसँग सङ्घर्ष गर्दै समाजवादी क्रान्तिको लागि सहयोग पु¥याउने उद्देश्यसहित नेमकिपा पञ्चायती व्यवस्थादेखि आजसम्म निर्वाचनलाई जनताको हितमा उपयोग गर्दैछ । शासक र पुँजीवादी पार्टीहरू पैसाको छेलोखेलो गर्दै, असम्भव सपना बाँड्दै निर्वाचनमा भाग लिन्छन् भने नेमकिपा चुनावलाई जनताको राजनीतिक चेतनास्तर उकास्ने मञ्चको रूपमा उपयोग गर्छ ।
वैदेशिक हस्तक्षेप र थिचोमिचोविरुद्ध नेमकिपा इस्पातझैँ उभिँदै आएको छ । भारतीय विस्तारवाद र एकाधिकार पुँजीविरुद्ध लड्न नेमकिपाले अघि सारेको राजनीतिक कार्यक्रम ‘जनताको प्रजातन्त्र’ बारे थप छलफल आवश्यक छ । अमेरिकी साम्राज्यवाद र युरोपेली सङ्घले थोपरेको ऋणको पासोमा देश भासिँदै छ । नेमकिपा जनतालाई निरन्तर सचेत पार्दैछ ।
नेमकिपाले सुरु गरेको समाजवादी गणतन्त्र प्रचार अभियानले निरन्तरता पाउँदैछ । समाजवाद शब्दको अपव्याख्या र जनता झुक्याउने नाराको रूपमा शासक दलले प्रयोग गरिरहेको यो समयमा समाजवादको प्रचार अपरिहार्य विषय नै हो । छैटौँ महाधिवेशनले पारित गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव सङ्कलित यस दस्तावेज अत्यन्त पठनीय छ ।
नेमकिपाको वैचारिक र सैद्धान्तिक आधारशीला अवगत गराउने यस दस्तावेजबारे सातौँ महाधिवेशनको पूर्वसन्ध्यामा थप चर्चा र विश्लेषणको अपेक्षा हुनु स्वाभाविक छ । यस दस्तावेज नेपाल र अन्तर्राष्ट्रिय राजनीतिप्रति रुची राख्ने जोकोहीका लागि उपयोगीसिद्ध हुनेछ । कामदार वर्गको वास्तविक मुक्तिको निम्ति अझ सयौँ वर्ष सङ्घर्ष गर्ने प्रतिबद्धतासहितको यस दस्तावेजको प्रकाशकप्रति साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *