भर्खरै :

संरा अमेरिकाले सम्झन नचाहेको अर्काे एउटा ‘११ सेप्टेम्बर’

चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ताकब्जा
फिडेल क्यास्ट्रो
(सन् १९७३ सेप्टेम्बर ११ मा चिलीका जननिर्वाचित राष्ट्रपति साल्भाडोर एलेन्डेको सरकारविरुद्ध संरा अमेरिकी साम्राज्यवादद्वारा निर्देशित चिली सेनाले विद्रोह ग¥यो । चुनाव जितेर सरकारमा पुगेको पपुलर युनिटी पार्टीमाथि सेनाले चर्को दमन ग¥यो । एलेन्डे स्वयम् फासीवादी सेनाविरुद्ध लड्दा–लड्दै राष्ट्रपति भवनमा मारिए । सेप्टेम्बर १३ मा अगस्टो पिनोचेको नेतृत्वमा नयाँ सरकार गठन भयो । सैनिक सरकारले तत्कालै संसद्लगायत सबै प्रजातान्त्रिक निकायहरू विघटन ग¥यो । पिनोचेले चुनाव गर्ने प्रावधान खारेज गरे, विरोध प्रदर्शन र हड्ताल गर्न पाउने प्रजातान्त्रिक अधिकार बर्खास्त गरे । साथै पुस्तक, पत्रपत्रिका र विद्यालयको पाठ्यपुस्तकमाथि कडा सेन्सर थोपरियो ।
संरा अमेरिकाका परराष्ट्र मामिला अधिकारी हेनरी किसिङ्गरले सेप्टेम्बर ११ अघि चिलीमा एलेन्डे सरकारको सन्दर्भमा भनेका थिए, “मलाई थाहा छैन, आफ्नै जनताको गैरजिम्मेवारीका कारण कुनै देश कम्युनिस्ट बन्दै गरेको हामी किन टुलुटुलु हेरिरहेका छौँ ?” उनको यो अभिव्यक्तिसँगै सैनिक विद्रोह अघि र पछि संरा अमेरिकी साम्राज्यवादले गरेका गतिविधिबाट त्यो विद्रोहपछाडि साम्राज्यवादी संलग्नता खुला आकाशसरि देखिन्छ ।
त्यसो त आज चिली पिनोचेको झन्डै तीस वर्षको शासनबाट मुक्त भइसकेको छ । तर चिली अझै पनि फासीवादी शासनबाट मुक्त भइसकेको छैन । चिलीका मजदुर, किसान र विद्यार्थीहरू अझै फासीवादी सरकारविरुद्ध लडिरहेका छन् । संसारले आज चिलीमा बढिरहेको क्रान्तिकारी उभार हेरिरहेको छ, केही सिकिरहेको छ । तर, सेप्टेम्बर ११ को त्यो पाशविक दमनको समय आज पनि धेरै चिलीका जनताको दिमागमा त्रासद विगतको रूपमा ताजा छ । चिलीमा एलेन्डे सरकारको अन्त्यलाई विश्व कम्युनिस्ट आन्दोलनमा शान्तिपूर्ण अथवा चुनावी प्रतिस्पर्धाबाट क्रान्ति अन्ततः असम्भव हुने प्रमाणको रूपमा छलफल हुने गरेको छ । नेपालकै वामपन्थी आन्दोलनमा बेला–मौकामा चिली र इन्डोनेसियाको इतिहास चर्चामा आउने गर्दछ । यो सैद्धान्तिक बहसमा अझ टेवा पु¥याउन चिलीमा सेप्टेम्बर ११ को सत्ता कब्जापश्चात् २८ सेप्टेम्बरका दिन क्युवाको राजधानी हवानामा तत्कालीन क्युवाली राष्ट्रपति एवं क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोले दिनुभएको मन्तव्यको अङ्ग्रेजीबाट नेपालीमा भाषान्तर प्रस्तुत छ । लेफ्ट वल्र्ड र ओसिन प्रकाशनको सहकार्यमा प्रकाशित ‘चिलीःअर्को सेप्टेम्बर ११’ (Chile:The other September 11) पुस्तकबाट यो आलेख भाषान्तरण गरिएको हो । पुस्तकको सम्पादन पिलर अगुइलिरा (Pilar Aguilera) र रिकार्डो फ्रेडेस (Ricardo Fredes) ले गरेका छन् ।)
दश महिना पनि भएको छैन, सन् १९७२ को डिसेम्बर १३ का दिन यही खुलामञ्चमा हाम्रा (क्युवाली) जनताले राष्ट्रपति एलेन्डेसँग अन्तिम पटक भेटेका थिए । उनका ओजपूर्ण शब्द सुन्न र उनी अनि चिलीमा चालू क्रान्तिकारी प्रक्रियाप्रति हाम्रो विश्वास, सद्भाव र समर्थन व्यक्त गर्न लाखौँ क्युवाली जनताले उनलाई यहाँ भेटेका थिए । त्यो दिन चिलीको क्रान्तिमा सम्पूर्ण सहयोग गर्ने हाम्रो प्रतिबद्धता उनीसमक्ष व्यक्त गरेका थियौँ । चिलीका जनतालाई पठाउन सकियोस् भनेर आफ्नै छाक काट्ने हाम्रो निर्णयले राष्ट्रपति एलेन्डेको मन गहिरो गरी स्पर्श गरेको हामीले आभास गरेका थियौँ ।
केही दिनका लागि भ्रमणमा रहँदा राष्ट्रपति एलेन्डे कति खुसी भएका थिए, हामी अझै सम्झन्छौँ, उनले आफ्नै मित्रहरू, आफ्ना असल दाजुभाइ–दिदीबहिनी र आफ्नै परिवारको माझ भएको आभास गरेका थिए । … हो, हामी यही खुलामञ्चमा विश्वस्त भएका थियौं, कुनै पनि सङ्कटको घडीमा उनले एकजना क्रान्तिकारीको व्यवहार गर्नेछन् । अनि यही खुलामञ्चमा उनले हामीलाई भनेका थिए, “चिलीका जनताले प्रतिक्रान्तिकारी हिंसाको जवाफ क्रान्तिकारी हिंसाले दिनेछ ।”
राष्ट्रपति एलेन्डे र चिलीको क्रान्तिकारी प्रक्रियाले विश्वभर ठूलो अभिरुचि र ऐक्यबद्धताको सञ्चार गरेको थियो । इतिहासमै पहिलोपटक चिलीमा एउटा नयाँ अनुभवको विकास भयो ः शान्तिपूर्ण, कानुनी बाटोबाट क्रान्ति गर्ने प्रयत्न । उनको प्रयत्नप्रति अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मात्र होइन, विश्वभरका भिन्न–भिन्न राजनीतिक दृष्टिकोणबाट समेत समर्थन र ऐक्यबद्धता प्राप्त थियो ।
हामीले हाम्रो क्रान्ति त्योभन्दा फरक तरिका (सशस्त्र सङ्घर्ष) बाट गरेको तथ्य हुँदाहुँदै हाम्रो पार्टी र जनता अनि विश्वभरका अन्य क्रान्तिकारी जनताले उनलाई समर्थन गरे । उनीप्रति हाम्रो समर्थनका कारण हामीलाई कति पनि पश्चाताप छैन किनभने साम्राज्यवाद र शासक वर्गका स्रोत–साधन, सबै प्रतिकुल परिस्थितिबीच पनि हामीले चिलीमा निर्वाचन जित्नसक्ने सम्भावना देखेका थियौँ । सन् १९७० को निर्वाचनमा चिलीका वामपन्थीहरूलाई जिताउन हामीले उनीहरूका प्रयत्नमा सहयोग र समर्थन गरेको कुरा सार्वजनिकरूपमा भन्न हामीलाई कुनै अप्ठ्यारो छैन ।
नभन्दै निर्वाचनमा वामपन्थीहरूलाई विजय प्राप्त भयो । वामपन्थी पपुलर युनिटी दल आफ्ना सामाजिक एवं राजनीतिक कार्यक्रमसहित निर्वाचन जित्न सफल भयो । निःसन्देह त्यसको अर्थ क्रान्तिको विजय थिएन, त्यसको अर्थ शान्तिपूर्ण, कानुनी तरिकाबाट शक्तिको अत्यन्त महत्वपूर्ण ठाउँमा पहुँचमात्र थियो ।
तथापि एलेन्डेले सामना गरेका समस्याहरू उति सहज भने थिएनन् । सुरुबाटै षड्यन्त्रका तानाबाना बुनिसकिएको थियो । निर्वाचनपछि उनलाई राष्ट्रपतिमा पदबहाली गर्नबाट वञ्चित गर्ने प्रयास भएको थियो । साम्राज्यवाद र उसका मतियारहरू संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) एवं बहुराष्ट्रिय कम्पनीहरूले साल्भाडोर एलेन्डेलाई चिलीको राष्ट्रपति बन्नबाट रोक्न षड्यन्त्र गरेका थिए । त्यही षड्यन्त्रका क्रममा उनीहरूले चिली सेनाका सेनापतिको हत्या गरे । जनमतले निर्णय गरेअनुसार साल्भाडोर एलेण्डेलाई राष्ट्रपति पदमा बहाली गर्नु सट्टा आक्रामक एवं प्रष्ट प्रतिक्रियावादी खेमाका पूर्व राष्ट्रपति फ्रिई (Frei) ले राष्ट्रपति पदबाट हट्न आनाकानी गरिरहे ।
साम्राज्यवादी षड्यन्त्र र प्रयासबीच पनि अन्ततः पपुलर युनिटीको नाममा साल्भाडोर एलेण्डेले पदभार ग्रहण गरे ।
उनीसामु के–कस्ता समस्या आइपरे ? पुँजीवादी राज्य संयन्त्र ज्युँका त्युँ थियो । सेना आफूलाई अराजनीतिक संस्था भन्दै क्रान्तिकारी प्रक्रियामा निस्क्रिय प्रायः रह्यो । पुँजीवादी व्यवस्थापिकाका बहुमत सदस्यहरू शासक वर्गको तालमै नाच्थे । न्यायप्रणाली पूर्णरूपमा प्रतिक्रियावादीहरूको पक्ष लिन्थ्यो । चिलीको अर्थतन्त्र पनि पूर्णरूपमा टाट पल्टिसकेको थियो र चिली सरकारको ऋण ४ अर्ब अमेरिकी डलर थियो । त्यस्तो पृष्ठभूमिमा एलेन्डेले सरकारको लगाम हातमा लिएका थिए ।
यति धेरै ऋण साम्राज्यवादी नीति र संरा अमेरिकी योजनाको दुष्परिणाम थियो । चिलीमा चालू सामाजिक आन्दोलन अवरुद्ध गर्न र प्रतिरोध गर्न साम्राज्यवाद त्यहाँ क्रिश्चियन प्रजातान्त्रिक सरकारको नमुना बनाउन प्रयत्नरत थियो ।
फ्रिई राष्ट्रपति छँदा संरा अमेरिकाले चिलीलाई ठूलो धनराशी ऋण प्रदान ग¥यो । तर त्यो ऋणको लक्ष्य चिलीको विकास गर्नु थिएन, क्रिश्चियन प्रजातान्त्रिक सरकारको लागि प्रगति र समृद्धिको मानक मानिएका कार, टेलिभिजन, रेफ्रिजेरेटरजस्ता सबै प्रकारका अन्य सौखिनदार उपभोग्य सामग्रीका लागि थियो त्यो ऋण ।
राष्ट्रपति एलेन्डेको अघि ऋणमा चुर्लुम्म डुबेको देश थियो, त्यो देश जहाँ साम्राज्यवादले आफ्ना परम्परा एवं उपभोग्य बानी व्यवहारको जग बसालिसकेको थियो । त्यो देश जहाँ पत्र–पत्रिका, टेलिभिजन र रेडियोजस्ता आमसञ्चारका माध्यमहरू कुलीनतन्त्रको मुठीमा कैद थियो । त्यतिबेला तामाको मूल्य प्रतिपाउण्ड (१ पाउण्डमा ०.४५४ किलोग्राम अर्थात् ४५४ ग्राम हुन्छ) ७५ पैसाबाट ४८ पैसामा झरेको थियो ।
त्यस अतिरिक्त जनता बृहत्स्तरको बेरोजगारीजस्ता समस्या समाधानको माग गरिरहेका थिए, जसको समाधानका अतिरिक्त अरू कुनै विकल्प थिएन । जनताले आवश्यक ठानेका माग पूरा गर्नैपर्ने अवस्था तर ती आवश्यकता पूर्ति गर्न पपुलर युनिटी सरकारसामु बाटामा ठूलठूला आर्थिक अवरोधहरू आइपरेका थिए । जब भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याइयो, कृषि क्षेत्रका बुर्जुवा वर्गले तत्काल कृषि उत्पादनमा निषेध सुरु गरे । वितरण केन्द्र, सरसामान पसल र भण्डारहरूका मालिक पुँजीपति वर्गले पपुलर युनिटी सरकारलाई समस्यामा पार्न बजारमा कृत्रिम अभाव सृजना गरिदिए ।
चिलीका लाखौँ–लाख जनताको रगत–पसिना एक गरी बनाइएका तामाखानीहरू राष्ट्रियकरण गर्ने निर्णय गरेलगत्तै चिली सरकारलाई सबै अन्तर्राष्ट्रिय सङ्गठनहरूले दिंदै आएको ऋण सहायता साम्राज्यवादले बन्द गरिदियो अनि चिलीको अर्थतन्त्रमा गतिरोध सृजना गर्ने प्रयत्नतिर लाग्यो ।
साम्राज्यवाद, प्रतिक्रियावादी वर्ग र प्रतिक्रियावादी सञ्चारमाध्यमसँगको जटिल सम्बन्धलाई आगोमा घ्यू थप्ने काम नेसनल पार्टी र क्रिश्चियन डेमोक्रेटिक पार्टीजस्ता पुँजीवादी राजनीतिक पार्टीहरूले गरे । राष्ट्रपति एलेन्डेले गर्न खोजेका सबै काममा उनीहरूले अवरोध सृजना गरिदिए । व्यवहारतः एलेन्डेलाई शासन गर्न लगभग असम्भव बनाइदिए । उनीहरूले सरकारलाई कुनै पनि काम गर्न नदिने उद्देश्यले सरकारको हात–खुट्टा बाँध्ने काम गरे ।
पपुलर युनिटी पार्टीको सरकारले ती तीन वर्षमा आफ्ना नीति तथा कार्यक्रम लागू गर्न खोज्यो तर वास्तवमा ती वर्षहरू सङ्घर्ष, जटिलता र दुःखको कालखण्ड बने । तीन वर्षमा एकपछि अर्को हत्याहरू भए, एकपछि अर्को षड्यन्त्रहरू गरिए । मालिक, व्यापारी र क्युवामा भएका जस्ता पेशाकर्मीहरूसमेत शासक वर्गको पक्षमा थिए र सरकारका गतिविधिमा अवरोध पु¥याइरहेका थिए । उनीहरूले बारम्बार हड्ताल र काम बन्द गरेर देशलाई पूर्णतः गत्यारोधमा पु¥याएका थिए । उनीहरूले पपुलर युनिटी सरकारलाई सत्ताच्युत गर्न पटक–पटक सेनालाई उचालिरहेका थिए ।
यस्ता अनेकन प्रतिकूलताबीच राष्ट्रपति एलेन्डेले आफ्नो कामलाई चालू राखे । उनले चिलीका जनताको लागि धेरै काम गरे र गर्ने प्रयत्न गरिरहे । यी तीन वर्षमा चिलीका जनता, त्यसमा पनि विशेषतः मजदुर र किसानहरूले आफ्नो देशका राष्ट्रपति कुनै कुलीन, ठूला जमिनदार र पुँजीपति वर्गका प्रतिनिधि नभई गरीब र श्रमजीवी वर्गकै प्रतिनिधि भएको हृदयङ्गम गरे । उनीहरूले आफ्नो राष्ट्रपतिलाई जस्तै प्रतिकूलताबीच निरन्तर सङ्घर्ष गरिरहेका जनताका असल प्रतिनिधिको रूपमा बुझेका थिए ।
राष्ट्रपति एलेन्डेलाई प्रतिकूल समयको आभास थियो र सम्भावित खतराको पूर्वानुमान थियो । उनले फासीवादको जन्म हुँदै गरेको प्रत्यक्ष अनुभव गर्दै थिए । साम्राज्यवादले नै ती शक्तिलाई जन्माएको र प्रोत्साहन गरिरहेको थियो । त्यस अवस्थामा एलेन्डेले गर्नुपर्ने काम भन्नु नै उनीहरूको सामना थियो । उनी आफ्नो ज्यान दाउमा लगाएर पनि क्रान्तिकारी प्रक्रिया जोगाउन प्रतिबद्ध थिए र उनीसँग लड्ने भावना प्रचुर थियो ।
क्युवाली प्रतिनिधिमण्डलको बिदाइमा सन् १९७१ डिसेम्बर ४ को साँझ सान्टियागो सहरको रङ्गशालामा उनले प्रस्ट र जोशपूर्ण पाराले भनेका कुरा हामी अझ पनि सम्झन्छौँ ।
‘…. पूर्ण सौम्यताका साथ म भद्रपूर्वक तपाईँहरूलाई भन्दै छु– म कोही एपोस्टल (क्राइस्टका निकटवर्ती शिष्य) वा कोही मसिहा होइन । मसँग सहिदको जस्तो उँचो भावना छैन । म जनताद्वारा निर्दिष्ट जिम्मेवारी पूरा गर्न उद्यत एकजना सामाजिक योद्धा हुँ । इतिहासको घडीको सुइ उल्टो घुमाउने दुष्प्रयास गर्नेहरू र बहुमत जनताको चाहना लत्याउनेहरूले बुभूmन्, म सहिदजस्तो उँचो भावनाबाट ओतप्रोत नभए तापनि म कदापि झुक्नेछैन । उनीहरूले बुझून्– जनताको आदेश सफलीभूत बनाएपछि मात्र म ला मोनाडा (चिलीको राष्ट्रपति भवन) छोड्नेछु ।
उनीहरूले यो कुरा सुन्नैपर्छ, यो कुरा महसुस गर्नैपर्छ र मथिङ्गलभित्र घुसाउनैपर्छः म यो चिली क्रान्तिको रक्षा गर्नेछु र जनताको सरकारको रक्षा गर्नेछु किनभने जनताले मलाई यही आदेश दिएका छन् । मसँग अर्को कुनै दोस्रो विकल्प छैन । मलाई गोलीले छियाछिया बनाएपछि मात्र उनीहरूले मलाई जनताका कार्यक्रम कार्यान्वयनबाट रोक्न सक्नेछन् ।
यो मात्र भाषण थिएन । यसमा एकजना स्वाभिमानी मानिसको इच्छाशक्ति र प्रतिबद्धता प्रतिबिम्बित छ ।
साल्भाडोर एलेन्डेले निकै नाटकीय र प्रभावशालीढङ्गले आफ्ना वाचा पूरा गरे ।
फासीवादीहरूले सेप्टेम्बर ११ मा घटेका घटनाहरू सकभर जनताबीच सार्वजनिक नहोस् भनी भरमग्दुर प्रयास गरे । त्यो बिहान राष्ट्रपतिसँगै रहेका व्यक्तिहरूमध्ये केही बाँचेका व्यक्तिहरूका कुरा सुनेर हामीले सेप्टेम्बर ११ मा राष्ट्रपति एलेन्डेलाई के भएको थियो, ठम्याउन सक्ने भएका छौँ । त्यो दिन राष्ट्रपति एलेन्डेसँगै रहेका एलेण्डे पुत्रीले हामीलाई आफूले देखे–भोगेका सबै घटनाक्रम सुनाई सकिन् । उनले एलेन्डेभित्रको मानवीय आयामबारे प्रस्ट पारिसकिन् । एलेन्डे निःशस्त्र कामरेडहरू र त्यहाँ विनाअर्थ मारिन सक्ने व्यक्तिहरूबारे निकै चिन्तित बनेका रहेछन् किनभने भावी सङ्घर्ष चालू राख्न कार्यकर्ता र नेताहरूको आवश्यकताबारे उनलाई राम्रो हेक्का थियो । कति सही थिए उनी !
त्यो दिन कदाचित कामरेड बिट्रिज एलेण्डे (राष्ट्रपति एलेन्डेकी छोरी) पनि ला मोनाडा दरबारमा मारिएकी भए आज यहाँ उपस्थित दशौँ लाख जनता र संसारभरकै जनताले एलेन्डेका अन्तिम क्षणको सक्रियता, चासो र चिन्ताबारे थाहा पाउने थिएनन् । विशेषतः क्रान्तिकारी शक्तिसँग एकताको मानसिकता, एकताको निम्ति उनको आह्वान र आफ्नो न्यायपूर्ण विचारको रक्षाको लागि अन्तिम दमसम्म अथकरूपमा सङ्घर्ष गर्ने उनको भावनाबारे संसारलाई पत्तो हुने थिएन । आज हामीलाई राष्ट्रपति एलेन्डेको मनसाय के रह्यो र त्यो दिन उनको भावना कस्तो रह्यो, थाहा छ ।
सेप्टेम्बर ११, बिहान ६ः२० बजे । टोमस मोरो राष्ट्रपति निवासको फोनको घण्टी बज्छ । फोनमा राष्ट्रपतिलाई सैनिक विद्रोह हुन लागेको जानकारी गराइन्छ । तत्कालै राष्ट्रपतिले आफ्ना निजी अङ्गरक्षकहरूलाई सतर्क रहन आदेश दिन्छन् । अनि आफू राष्ट्रपति रहेको पपुलर युनिटी पार्टीको सरकार रक्षा गर्न ला मोनाडा दरबार जाने दृढ निर्णय गर्छन् । उनीसँग २३ जना अङ्गरक्षक हुन्छन्, २३ वटा स्वचालित राइफल, २ वटा ३० क्यालिबरका मेसिन गन र तीन वटा लामा अग्नि प्रक्षेपक हतियार हुन्छन् । उनीहरू चारवटा कार र एउटा पिकअपमा बसेर राष्ट्रपति भवन पुग्छन्– बिहान ७ः३० बजे ।
आफ्नो स्वचालित राइफल बोकेर आफ्ना अङ्गरक्षकहरूसँग राष्ट्रपति ला मोनाडाको मुख्य द्वारभित्र प्रवेश गर्छन् । त्यतिञ्जेल राष्ट्रपति भवन अरू बेलाजस्तै अर्धसैनिक सुरक्षाकर्मीहरूले नै पहरा दिइएको हुन्छ ।
भित्रपसे लगत्तै उनले आफ्ना विश्वासिला व्यक्तिहरूको बैठक बोलाई स्थिति ज्यादै गम्भीर भएको जानकारी दिन्छन् । बैठकमा उनले फासीवादी विद्रोहविरुद्ध चिलीको संवैधानिक, लोकप्रिय सरकार रक्षार्थ अन्तिम समयसम्म लड्ने निर्णय सुनाउँछन् । उनी हातहतियार के–कति छन्, निरीक्षण गर्छन् र राष्ट्रपति भवन रक्षा गर्ने पहिलो आदेश जारी गर्छन् ।
अनुसन्धान विभागका सातजना व्यक्ति रक्षा दललाई सहायता गर्न त्यहाँ आइपुग्छन् । त्यतिञ्जेल भवन रक्षामा खटाइएका अर्धसैनिक सुरक्षाकर्मी आ–आफ्नै स्थानमा तैनाथ हुन्छन् र कोही–कोही राष्ट्रपति भवन रक्षाको लागि तम्तयार रहन्छन् । राष्ट्रपतिका अङ्गरक्षकहरूको एउटा सानो समूह भवनको मुख्यद्वारमा तैनाथ रहन्छन् । धोखेबाजीको सम्भावनालाई ध्यानमा राखी उनीहरूलाई कोही पनि सैनिक अधिकारीलाई प्रवेश निषेध गर्ने आदेश दिइन्छ ।
त्यसबीचको एक घण्टामा राष्ट्रपति एलेन्डेले रेडियोमार्फत चिलीका जनतालाई तीनपटक सम्बोधन गर्छन् । आफ्ना रेडियो सम्बोधनमा उनले प्रतिरोध गर्ने इच्छा व्यक्त गर्छन् ।
बिहान ८ः१५ पछि फासीवादी सेनाले राष्ट्रपति भवनको टेलिफोन इन्टरकम प्रणालीको प्रयोग गरेर राष्ट्रपतिलाई आत्मसमर्पण गर्न र कार्यालय छोड्न आग्रह गर्छन् । उनलाई आफ्ना परिवार र मित्रजनसँगै देश छोड्न एउटा विमानको व्यवस्था गर्ने प्रस्ताव गरिन्छ । जवाफमा एलेन्डे भन्छन्, “गद्दार सैनिक अधिकारी भएकाले स्वाभिमानी मानिस कस्ता हुन्छन् भन्ने विषयमा तिमीहरूलाई अनुमान छैन ।” उनले अल्टिमेटमको ठाडो अस्वीकार गर्छन् ।
राष्ट्रपति भवन पुगेका सुरक्षा निकाय (अर्धसैनिक बल) का केही उच्चपदस्थ अधिकारीहरूसँग राष्ट्रपति आफ्नो कार्यकक्षमा सङ्क्षिप्त बैठक गर्छन् । उनीहरूले कायरतापूर्वक सरकारको रक्षा गर्न अस्वीकार गर्छन् । राष्ट्रपति उनीहरूलाई अपमानपूर्वक पदबाट बर्खास्त गर्छन् र तत्काल राष्ट्रपति भवन छोड्न आदेश जारी गर्छन् । सुरक्षा अधिकारीहरूसँगको यो बैठक चल्दै गर्दा त्यहाँ तीनजना सैनिक अधिकारीहरू आइपुग्छन् । राष्ट्रपतिले उनीहरूलाई यो समय सैनिक आभूषणमा आएका कसैलाई पनि विश्वास गर्न नसकिने र ला मोनाडाबाट बाहिरिन आग्रह गर्छन् ।
ती सैनिक अधिकारी र अर्धसैनिक बलका उच्चपदस्थ अधिकारीहरू राष्ट्रपति भवन बाहिरिएको केही मिनेटमै राष्ट्रपति भवन रक्षामा खटिएका अर्धसैनिक सुरक्षाकर्मीहरूको टुकडीका नेता लेफ्टिनेन्ट आफ्नो मुख्यालयको आदेशबमोजिम एकजना सिपाहीँलाई पठाएर सबै सुरक्षाकर्मी फिर्ता हुन निर्देशन दिन्छन् । उनीहरू तत्कालै आफूसँग भएका हातहतियारसहित ला मोनाडा छोड्छन् । त्यतिञ्जेल भवनको अगाडि प्रतिरक्षात्मक अवस्थामा राखिएका अर्धसैनिक बलका सशस्त्र ट्रकहरू पनि फिर्ता हुन्छन् ।
सबै सिपाहीँहरूलाई फिर्ता हुन आदेश प्रसार गर्ने सिपाहीसंहित १० जनाको अर्धसैनिक जवानहरूमाथिको आदेश शिरोपर गर्दै आफू भवनको मुख्य सिंढी ओर्लदै गर्दा र भवन परिसरबाट बाहिरिँदै गर्दा आफ्ना राइफल राष्ट्रपतितिर सोझ्याउँछन् । राष्ट्रपतिका निजी अङ्गरक्षकले जवाफी गोली प्रहार गर्छन्, सैनिक विद्रोह गर्ने सेनाविरुद्ध त्यो पहिलो गोली प्रहार हुन्छ ।
यी सबै घटनाहरू हुँदै गर्दा केही मन्त्री, सचिव, सल्लाहकार, राष्ट्रपतिका सुपुत्रीहरू बिट्रिश र इसाबेलसँगै पपुलर युनिटीका अरु केही सदस्यहरू त्यो संवेदनशील घडीमा राष्ट्रपतिलाई सहयोग गर्न राष्ट्रपति भवन आइपुग्छन् ।
झन्डै ९ः१५ बजेतिर राष्ट्रपति भवनमा बाहिरबाट पहिलो गोली प्रहार हुन्छ । दुई सत्न्दा बढी पैदल फासीवादी सिपाहीँहरू प्लाजा डि ला कन्स्टिटुसिओन (Plaza de la Constitucion– चिलीको संसद भवन) को दुवैतिरबाट टिटिमोस र मोरान्डे बजार हुँदै राष्ट्रपति भवनतर्फ अघि बढ्छन् । उनीहरू राष्ट्रपति भवनमा गोली वर्षाउँदै अघि बढ्छन् । भवनको रक्षामा खटिएको जनशक्ति जम्मा ४० भन्दा बढी हुँदैनन् ।
फासीवादीहरूले पैदल सिपाहीँहरूसँगै सशस्त्र ट्याङ्कहरू ल्याउँछन् । एउटा ट्याङ्क मोनेडा बजारबाट अघि बढ्छ, अर्को टिटिमोसबाट अघि बढाइन्छ, अर्को ट्याङ्क मोरान्डेको कुना हुँदै अलामेडाबाट अगाडि बढ्छ, अर्को एउटा ट्याङ्क संसद भवनतिरबाट राष्ट्रपति भवनतिर बढाइन्छ । त्यही बेला राष्ट्रपतिको आफ्नै कार्यकक्षबाट मूलद्वारमा अवस्थित ट्याङ्कमाथि अग्नि प्रक्षेपकले प्रहार गर्छ र त्यो ट्याङ्क पूर्णतः ध्वस्त हुन्छ । अरू दुईवटा ट्याङ्कले राष्ट्रपतिको कार्यकक्षमै निशाना बनाएर हमला गर्छ । अर्को एउटा सशस्त्र ट्रकले राष्ट्रपतिको निजी सचिवको कार्यालयमा हमला गर्छ र जवाफमा अङ्गरक्षकहरूले आफ्ना मेसिन गनबाट जवाफ दिन्छन् । संसद भवनतिर तैनाथ थुप्रै प्रक्षेपक हतियारले पनि राष्ट्रपति भवनमा हमला गर्छन् । राष्ट्रपति आफ्ना सहयोद्धाहरूलाई उत्साहित गर्दै र नेतृत्व गर्दै विभिन्न प्रतिरोधात्मक हमला गर्दै हुन्छन् । एक घण्टाभन्दा लामो समयसम्म भीषण सङ्घर्ष चालू रहन्छ तर फासीवादीहरू एक इन्च पनि अघि बढ्न सक्दैनन् ।
१०ः४५ बजे टोइस्का कक्षमा राष्ट्रपतिले आफूलाई सहायता गर्न आएका मन्त्री, सचिव र सल्लाहकारहरूलाई भेट्छन् । उनीहरूलाई उनले भविष्यको सङ्घर्षका निम्ति नेता–कार्यकर्ताको आवश्यकता रहने भएकाले निःशस्त्र व्यक्तिहरू सबै जनाले सकेसम्म चाँडो ला मोनाडा भवन छोड्नुपर्ने बताउँछन् । हतियार भएकाले मात्र प्रतिरोध चालू राख्नुपर्ने उनको भनाइ हुन्छ । तर, कोही पनि निःशस्त्र व्यक्ति त्यो मान्न तयार हुँदैनन् । राष्ट्रपतिका छोरीहरू र त्यहाँ उपस्थित कोही पनि महिला त्यहाँबाट बाहिरिन मञ्जुर हुँदैनन् ।
लडाइँ भीषण तरिकाले अगाडि बढ्छ । भवनको इन्टरकम प्रणालीबाट फासीवादीहरूले आक्रोशपूर्वक नयाँ चेतावनी जारी गर्छन् । प्रतिरोध तत्काल नरोके हवाई सेना परिचालन गर्ने उनीहरू धम्की दिन्छन् ।
११ः४५ बजे राष्ट्रपतिले आफ्ना छोरीहरू र त्यहाँ उपस्थित नौजना अरू महिलाहरूलाई भेट्छन् र ला मोनाडा छोड्न दृढ आदेश जारी गर्छन् । आफ्नो प्रतिरक्षा नै गर्न नसक्ने अवस्थामा त्यहाँ मर्नु अर्थहीन हुने उनको भनाइ हुन्छ । तत्कालै उनले महिलाहरूलाई बाहिर पठाउन विपक्षीसँग युद्धविरामको आग्रह गर्छन् । फासीवादीहरू युद्धविरामको लागि तयार हुँदैनन् बरु त्यही मौका छोपेर उनीहरू भवन परिसरबाट पछाडि हट्छन् । हवाइ हमला गर्न उनीहरूले यस्तो चाल चालेका हुन्छन् । भीषण हानाहानबीच महिलाहरूलाई बाहिर पठाइन्छ ।
मध्यान्ह १२ः०० बजेबाट राष्ट्रपति भवनमा हवाई हमला सुरु हुन्छ । पहिलो रकेट छाना छेड्दै भवनको मध्य भागमा पर्ने ग्रीष्म चोकमा विस्फोट हुन्छ । एकपछि अर्को रकेट हमला हुन्छन्, पूरै भवन धुवाँ र विषालु ग्याँसले ढाकिएको हुन्छ । राष्ट्रपतिले सबै ग्याँस मास्क निकाल्न भन्छन् र जम्मा कति हतियार बाँकी छ, लेखाजोखा गर्छन् अनि सबै लडाकुहरूलाई हवाई हमलाको प्रतिकार गर्न उत्साहित बनाउँछन् ।
तीन घण्टाको लडाइँपश्चात् राष्ट्रपतिको अङ्गरक्षकका स्वचालित राइफलमा गोली सकिंदै जान्छ । त्यसकारण राष्ट्रपति भवन रक्षार्थ खटिएका अर्धसैनिक बलका गठ्ठाघरको ढोका फोड्ने आदेश दिन्छन् । त्यहाँ हतियारको भण्डारण गरिएको हुन्छ । हतियारबारे खबर आउन बिलम्ब भएपछि अधैर्य भएर उनी स्वयम् ग्रीष्म चोक नाघेर गठ्ठाघर पुग्छन् । त्यहाँ उनले प्रत्याक्रमणमा हाते ग्रिनेड पनि प्रयोग गर्न आदेश दिन्छन् । गठ्ठाघरको ढोकामा एउटा प्वाल बनाएर चारवटा ३० क्यालिबरको मेसिन गन, थुप्रै सिक राइफल, धेरै गोली–गठ्ठा, ग्याँस मास्क र हेलमेट बाहिर ल्याइन्छ । राष्ट्रपतिले यी सबै सामग्री अग्रमोर्चामा लान आदेश दिन्छन् र अर्धसैनिक सुरक्षाकर्मीहरू बस्दै आएका कोठा–कोठामा पुगेर सिक राइफललगायत त्यहाँ भेटिएका हतियारहरू बोकेर आउँछन् ।
प्रतिरोधका लागि आफ्ना कुममा अनेकन हतियार बोक्दै राष्ट्रपति भन्छन्, “यसरी हामी इतिहासको पहिलो पाना कोर्दै छौँ । मेरा जनता र अमेरिकी महादेशका जनताले बाँकी इतिहास लेख्नेछन् ।”
गठ्ठाघरबाट राष्ट्रपति हातहतियार बोकेर आउँदै गर्दा अर्को हवाई हमला हुन्छ । विस्फोटले राष्ट्रपति बस्दै गरेको कोठाका सिसा चकनाचुर बनाउँछ र सिसाको टुक्राले उनलाई चोट लाग्छ । उनलाई लागेको यो पहिलो चोट हुन्छ । उनको घाउमा मल्हमपट्टी लगाउँदै गर्दा उनले हतियार ल्याउने काम चालू राख्न आदेश दिन्छन् । उनी आफ्ना कामरेडहरूको अवस्थाप्रति निरन्तर चिन्तित हुन्छन् ।
केही मिनेटपछि फासीवादीहरूले फेरि हमला आरम्भ गर्छन् । उनीहरू विमानका साथै बन्दुक, ट्याङ्क र गोली—गठ्ठाको भरपूर प्रयोग गर्छन् । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका आवाज, धुवाँ, गोली चलेको आवाज, विषालु ग्याँसले राष्ट्रपति भवन बाक्लै ढाकिएको थियो । राष्ट्रपतिले भुइँ तल्लामा आगो सल्कनबाट रोक्न सबै पानीका पाइप खोल्न आदेश दिए तापनि भवनको बाँयातिरबाट आगो सल्किन्छ र राष्ट्रपतिका सहयोगीका कोठा र लाल बैठकमा आगो फैलिन्छ । यति हुँदा पनि राष्ट्रपति कति पनि विचलित हुँदैनन्, त्यो सबभन्दा गम्भीर समय थियो । उनी सबै सम्भव उपाय लगाएर भीषण हमलाको प्रतिकार गर्न आदेश दिइरहन्छन् ।
त्यही बेला आगो दन्किरहेको भवन हुँदै आगोको सामना गर्दै घस्रिंदै प्लाजा दि ला कन्स्टिटुसिओनस्थित आफ्नो कार्यालयमा पुग्छन्, अग्नि प्रक्षेपक निकाल्छन् र राष्ट्रपति भवनमा हमला गर्दै गरेको मोरान्डे बजारको ट्याङ्कमा निशाना बनाएर हमला गर्छन् । त्यो ट्याङ्क ठाउँको ठाउँ ध्वस्त हुन्छ । त्यसको केही बेरपछि अर्का लडाकूले अर्को एउटा ट्याङ्क ध्वस्त बनाउँछन् ।
फासीवादीहरू ला मोनाडा भवनको द्वारमा हमला तीव्र पार्दै मोरान्डे सडकभरि थप नयाँ बख्तरबन्द गाडी, सिपाहीँ र ट्याङ्कहरू थप्छन् । राष्ट्रपति भवनमा दन्किएको आगो अझ फैलिन्छ । मोरान्डे सडक हुँदै राष्ट्रपति भवनभित्र पस्ने फासीवादीहरूको प्रयत्न विफल तुल्याउन राष्ट्रपतिसहित अरू केही लडाकुहरू भुइँ तल्लामा पुग्छन् र आफ्नो लक्ष्यमा उनीहरू सफल हुन्छन् ।
त्यसपछि फासीवादीहरूले त्यो खण्डमा गोलाबारी रोक्दै वार्ताका लागि दुईजना प्रतिनिधि पठाउन चिच्याउँछन् । राष्ट्रपतिले सरकारका महासचिव फ्लोर्स र गृहमन्त्रालयका उपसचिव डानियल मिर्गारालाई पठाउँछन् । उनीहरू मोरान्डे सडकतिरको ढोका हुँदै बाहिर जान्छन् र त्यहीं राखिएको सैनिक जीपमा पुग्छन् । त्यतिबेला झन्डै १ः०० बजिसकेको हुन्छ ।
फ्लोर्स र मिर्गाराले जीपमा एकजना उच्चपदस्थ अधिकारीसँग कुराकानी गर्छन् । राष्ट्रपति भवनतर्फ फर्कने क्रममा ढोका नजिक पुग्दा–नपुग्दै उनीहरूमाथि जीपबाट गोली प्रहार हुन्छ । फ्लोर्सलाई दायाँ खुट्टामा गोली लाग्छ र डानियल मिर्गाराको पिँठ्युमा धेरै पटक गोली प्रहार हुन्छ । राष्ट्रपति भवनबाट लडिरहेका लडाकुहरूले प्रतिकारमा गोली चलाउँदै गर्दा उनीहरूलाई भवनभित्र तानेर ल्याइन्छ ।
फासीवादीहरूले फेरि पनि आत्मसमर्पणको माग गर्न वार्ता बोलाएको हुन्छ । उनीहरू राष्ट्रपति र उनका सबै सहयोगीहरूलाई आफूले चाहेको ठाउँमा जान विमानको बन्दोबस्तको प्रस्ताव गर्छन् । राष्ट्रपतिले फेरि पनि अन्तिम दमसम्म लड्ने आफ्नो निर्णय दोहो¥याउँछन् । भुइँतलाबाट उनीहरू मोरान्डे सडकबाट भइरहेको हमलाको प्रतिरोध गरिरहन्छन् । भवनको मुख्य द्वार पूर्णरूपमा ध्वस्त भइसकेको हुन्छ ।
झन्डै १ः३० बजे राष्ट्रपति दोस्रो तला उक्लन्छन् । त्यतिञ्जेल धेरै प्रतिरोधी लडाकुहरू कि त वम हमला र विस्फोटनमा परेर, नभए आगोले जलेर मरिसकेका हुन्छन् । पत्रकार अगस्टो ओलिभारिसले आफ्नो वीरताबाट सबैलाई आश्चर्यचकित बनाएका हुन्छन् । गम्भीररूपमा घाइते भइसकेपछि उनलाई भवनको उपचार कक्षमा लगी शल्यक्रिया गरिन्छ । सबै जनाले उनी त्यहीँ पल्टिरहेको हुनुपर्छ भनी सोचेको हुन्छ तर उनी त हतियार बोकेर राष्ट्रपतिसँगै लड्न दोस्रो तलामा पुगिसक्छन् । त्यहाँका लडाकुहरूको वीरताको बखान अन्त्यहीन छ ।
१ः३० बजेपछि फासीवादीहरूले भवनको भुइँ तल्ला कब्जामा लिन्छन् । प्रतिरोध हमला दोस्रो तल्लामा केन्द्रित हुन्छ, सङ्घर्ष चालू रहन्छ । फासिवादीहरू मुख्य सिँढीबाट माथि उक्लन खोज्छन् । झन्डै २ः०० बजेसम्ममा उनीहरू दोस्रो तलाको एक छेउ कब्जा गर्न सफल हुन्छन् । राष्ट्रपति र उनका सहयोद्धाहरूले आफूलाई लाल बैठक कक्षको कुनामा केन्द्रित गरेका हुन्छन् । फासीवादीहरू भित्र पसेको दिशातिर अघि बढ्ने क्रममा राष्ट्रपतिको पेटमा गोली लाग्छ । उनको पीडामाथि थप पीडा थपिन्छ तर उनी लड्न छोड्दै नन् । एउटा कुर्सीको आड लिएर उनी लडाइँ जारी राख्छन् । फासिवादीहरू केही दूरीमात्र पर हुन्छन् । त्यही बेला दोस्रो गोली उनको छातीमा लाग्छ । उनी भुइँमा पछारिन पुग्छन् । उनी लगभग मृत अवस्थामा पुगिसकेका हुन्छन् । गोलीले उनलाई छिया–छिया बनाएको हुन्छ ।
राष्ट्रपति ढलेको देखेपछि उनका अङ्गरक्षकहरूले सशक्त प्रतिकार हमला गर्छन् र फासीवादीहरूलाई मुख्य सिँढीसम्म धकेल्छन् । प्रतिरोधको यो क्रमबीच आत्मसम्मानको एउटा आश्चर्यलाग्दो घटना हुन्छ ः उनीहरूले राष्ट्रपतिलाई उनको कार्यालय पुु¥याउँछन् र राष्ट्रपतिको आसनमा बसाउँछन्, राष्ट्रपतिको आभूषण लगाइदिन्छन् र उनको शरीरलाई चिलीको झन्डा ओढाइदिन्छन् ।
आफ्ना राष्ट्रपतिको निधनपश्चात् पनि ती अमर प्रतिरोधी लडाकूहरूले अरू थप दुई घण्टासम्म आततायी फासीवादी हमलाको प्रतिरोध चालू राख्छन् । साँझ ४ः०० बजेतिर मात्र घण्टौँदेखि जलिरहेको राष्ट्रपति भवनमा अन्तिम प्रतिरोध समाप्त हुन्छ ।
अहिले भनिएका घटनाक्रम सुनेर धेरै जना चकित पर्नेछन् । हो, यो साँच्चै चकित पार्ने खालको छ । पपुलर युनिटी सरकारविरुद्ध फासीवादी उच्चपदस्थ अधिकारीहरूले चार टुकडी सिपाही परिचालन गरे तर हात–हतियार, गोली–गठ्ठा, ट्याङ्क, विमान र फासीवादी सिपाहीँको हमलाविरुद्ध मात्र ४० जना मानिस घण्टौं–घण्टासम्म लडिरहे । इतिहासमा यस्तो वीरताको गाथा भेटाउन मुस्किल छ ।
जनताको हितको रक्षामा मर्न पनि पछि नपर्ने, आफ्ना वचन पूरा गर्ने राष्ट्रपति साहसी र दृढमात्र थिएनन् बरु उनी त्यो गम्भीर घडीमा आफ्नो उचाइ अविश्वसनीय तहमा पु¥याउन सफल भए । उनको दृढता, विलक्षणता, नेतृत्व र वीरता अमूल्य छ । यो गोलाद्र्धमा यस्तो नाटकीय घटनामा सहभागी हुने अरू कोही राष्ट्रपति आजसम्म छैनन् । निःशस्त्र विचारलाई प्रायःनिर्मम शक्तिले दबाउने गर्दछ । अब भन्न सकिन्छ, यसअघि कहिले पनि बोलेका र लेखेका शब्दबाहेक कुनै पनि हतियार नभएका एकजना विचारको व्यक्तिविरुद्ध आततायी शक्ति यसरी उत्रेको थिएन ।
सबै फासीवादी सेनाको भन्दा साल्भाडोर एलेन्डेले धेरै गुणा बढी आत्मसम्मान, स्वाभिमान, साहस र वीरता प्रदर्शन गरे । उनको अतुलनीय सङ्घर्षले पिनोचेलाई होचो बनाइदिएको छ र उनले पाएका सबै कुराले सदाको निम्ति निरर्थक बनाइदिएको छ ।
फासीवादीहरूले राष्ट्रपति एलेन्डेका असामान्य सङ्घर्षलाई चिली र संसारभरका जनताबाट ओझेल पार्न खोजे । उनीहरूले एलेन्डेको आत्महत्यालाई नै घटनाको ‘वास्तविक’ संस्करण बनाउन खोजे । कथंकदाचित गम्भीररूपमा घाइते एलेन्डेले शत्रुको बन्दी हुनबाट जोगिन आफैलाई गोली ठोकेको भए तापनि यसले उनको छविमा कुनै असर पार्ने छैन । त्यो त झन् विलक्षण साहसको परिचय हुने थियो ।
राष्ट्रपति एलेन्डेको निधनपश्चात् उनीहरूले उनीमाथि अत्यन्त तलोस्तरको नीच ढङ्गले हमला गरे । तर, फासीवादीहरूबाट हामीले त्योभन्दा बढी के नै अपेक्षा गर्नसक्छौँ र ? उनीहरूले हामीले उनलाई दिएको एउटा राइफललाई नै ठूलो विषयको रूपमा अतिरञ्जित प्रचारबाजीमा ल्याए । त्यही राइफलले एलेन्डे त्यो दिन अन्तिम क्षणसम्म लडेका थिए । तर, तथ्यले आज पुस्टि गरेको छ, पपुलर युनिटी सरकारलाई रक्षा गर्न राष्ट्रपति एलेन्डेलाई दिनु त्यो राइफलभन्दा अरू कुनै राम्रो उपहार हुनसक्दैनथ्यो !
राष्ट्रपति एलेन्डेलाई राइफल दिन हामीले गरेको विचार सही प्रमाणित भएको छ । आजसम्म कोही पनि वीर, संवैधानिक र वैध राष्ट्रपतिले राइफल प्रयोग गरेका थिएनन् ! कुनै पनि राइफलले त्यसरी गरिब जनताको पक्षमा लडेको थिएन, चिलीका मजदुर–किसानको पक्षमा प्रयोग गरिएको थिएन । यदि सबै मजदुर र हरेक किसानसँग हात–हातमा राइफल हुँदो हो त कुनै फासीवादी विद्रोह हुनसक्ने थिएन !
चिलीको घटनाबाट सबै क्रान्तिकारीहरूले सिक्नुपर्ने पाठ यही हो ।
केही दिनअघि उनीहरूले गत जुलाईको अन्त्यतिर हामीले राष्ट्रपति एलेन्डेलाई पठाएको चिठी प्रकाशित गरे । तर, घिनलाग्दा फासीवादीहरूले चिट्ठीका धेरै खण्ड लुकाए । चिट्ठीको पूर्ण पाठ यस्तो छः
हवाना, जुलाई २९,१९७३
प्रिय साल्भाडोर,
असंलग्न राष्ट्रहरूको सम्मेलनसँग सम्बन्धित विषयमा छलफल गर्न कार्लोस र मानुएल पिनियरो तपाईँलाई भेट्न आउँदै छन् । उनीहरूको मुख्य लक्ष्य तपाईँसँग स्थितिबारे जानकारी लिनु हो र सधैंझैँ त्यहाँको प्रक्रियामा अवरोध गर्ने वा चुनौती दिने जटिलता र खतराको सामना गर्न सहकार्यको हाम्रो चाहना व्यक्त गर्नु हो ।
उनीहरू छोटो अवधिका लागि त्यहाँ बस्नेछन् किनभने यहाँ उनीहरूका धेरै काम बाँकी छन् । उनीहरूका काम केही समयलाई रोकेर भए पनि हामीले उनीहरूलाई त्यहाँ पठाउने निर्णय ग¥यौँ ।
जलसेनाको सेनापतिको निर्मम हत्या र ट्रक मालिकहरूको नयाँ हड्तालजस्ता गम्भीर घटनाक्रमबीच यतिखेर तपाईं क्रिश्चियन डेमोक्रेटहरूसँगको संवेदनशील विषयमा व्यस्त हुनुभएको हामीलाई ज्ञात छ । सङ्घर्ष ज्यादै घम्साघम्सी भएको म अन्दाज गर्छु । कथंकदाचित लडाइँ सुरु भइहाले शक्ति सन्तुलनमा सुधार गर्न तपाईँलाई केही समयको आवश्यकता रहेको पनि म अनुमान गर्नसक्छु । जस्तै परिस्थितिमा कुनै पनि ऐतिहासिक दायित्वलाई पन्छाएर सम्भव भएसम्म नागरिक विद्वेषविना क्रान्तिकारी प्रक्रिया अगाडि बढाउने तपाईँको चाहना हो । यी प्रशंसनीय लक्ष्यहरू हुन् । तर, अर्को पक्षले आफ्ना उपद्राहा र गैरजिम्मेवार नीतिलाई निरन्तरता दिइरहेका छन् । उनीहरूले पपुलर युनिटी र क्रान्तिबाट त्यस्तो मूल्यको माग गरिरहेका छन्, जो असुल गर्न पपुलर युनिटी र क्रान्तिको निम्ति असम्भव छ । यो स्वाभाविक हो । मुख्यतः चिलीका कामदार जनताका विलक्षण सामथ्र्य र जस्तै प्रतिकूल समयमा पनि यो वर्गले तपाईँलाई प्रदान गरेको दृढ समर्थन नभुल्नुहोला । क्रान्ति खतरामा परेको बेला जब तपाईँ आह्वान गर्नुहुन्छ, त्यसको प्रतिक्रियामा यो वर्गले विद्रोहीलाई रोक्न सक्छ, तटस्थ जनताको समर्थन जित्न सक्छ, आवश्यक परेको बखत यो वर्ग सबै–सबै उठेर चिलीको भाग्य निर्धारण गर्नसक्दछ । शत्रुले बुझ्नुपर्छ– चिलीका कामदार जनता सजग छन् र जस्तै कारबाही गर्न पनि तम्तयार छन् । अरू परिस्थिति प्रतिकूल भए पनि यो वर्गको शक्ति र लड्ने क्षमताले सान्टियागोमा भुइँचालो ल्याउन सक्दछ ।
आफ्नो जीवन दाउमा लगाएर भए पनि क्रान्तिकारी प्रक्रियाको दृढतापूर्वक र सम्मानका साथ रक्षा गर्ने तपाईको प्रतिबद्धताले चिलीका सबै महिला–पुरुषलाई तपाईंको पछाडि गोलबद्ध पार्नेछ । सबैलाई थाहा छ, तपाईँ आफ्नो प्रतिबद्धताप्रति दृढ निश्चयी हुनुहुन्छ । तपाईँको जन्मभूमिमा मडारिरहेको यो ऐतिहासिक घडीमा तपाईँको साहस, धैर्य, निस्पृहता र त्योभन्दा पनि तपार्इँको दृढ, प्रतिबद्ध र वीरतापूर्ण नेतृत्व यो परिस्थितिमा अत्यावश्यक छ ।
कार्लोस र मानुएलले तपार्ईँप्रति क्युवाली मित्रहरू कति कटिबद्ध छन्, बताउने नै छन् ।
म हाम्रा जनताको सद्भाव र असीमित आत्मविश्वास पुनः व्यक्त गर्दछु ।
चिलीको आन्तरिक मामिलामा क्युवाली हस्तक्षेपको प्रमाणको रूपमा यो चिठीलाई प्रस्तुत गर्ने सबै प्रयत्नहरू मूर्खतापूर्ण र हास्यास्पद छन् । यो चिठी साम्राज्यवाद, प्रतिक्रियावाद र फासीवादबाट सताइएका एकजना राष्ट्रपतिलाई हाम्रा जनताले पठाएको ऐक्यबद्धता, मित्रता र उत्साहको सन्देशमात्र थियो ।
कुनै पनि विषयलाई त्यसरी नै हेर्ने हो भने विश्वभरका बीसौं राजनेता, सार्वजनिक व्यक्ति र धेरै–धेरै सङ्घ–संस्थाहरूले गरेको फासीवादी विद्रोहको भत्र्सना, नरसंहार र अरू अपराधको विरोध पनि चिलीको आन्तरिक मामिलामा हस्तक्षेपमा गनिनेछ ।
क्रान्तिकारी आन्दोलन र मानव जातिलाई प्रभावित गर्ने साम्राज्यवादविरोधी सङ्घर्षका समस्याहरूले संसारभरका क्रान्तिकारी एवं प्रगतिशील जनतालाई प्रभावित बनाउँछ र त्यो उनीहरूको चासोको विषय पनि हो !
भियतनामलाई दिएझैँ हामी चिलीलाई हाम्रो चिनीमात्र दिनेछैर्नाैँ, हामी चिलीका लागि हाम्रो रगत दिन चाहन्छौँ !
चिलीको स्वाधीनता आन्दोलनको क्रममा यो गोलाद्र्धका अन्य भू–भागका जनताले चिलीमा चिठी पठाउनेमा मात्र आफ्नो भूमिकालाई सीमित राखेका थिएनन्, चिलीमा गएर चिलीका जनतासँग मिलेर स्वाधीनताको निम्ति लडेका थिए ।
सेप्टेम्बर ११ को दिन फासीवादीहरूले राष्ट्रपति भवनमा हमला गरे र राष्ट्रपति एलेन्डेको निवासमा निर्ममतापूर्वक वमबारी गरे । राष्ट्रपति निवासमा त्यतिबेला एलेन्डेका परिवारजन थिए । सौभाग्यवश उनकी श्रीमती पनि त्यही मारिएकी थिइनन् । एलेन्डेको निधन भएको २४ घण्टाभन्दा बढी समयसम्म चिलीका जनतालाई त्यस विषयमा केही भनिएको थिएन । एलेन्डेका आफन्तहरूले हामीलाई त्यो समय बिताउनुपरेको विषम परिस्थितिबारे अनुभव साटिसकेका छन् । एलेन्डेको अन्तिम संस्कार पनि कडा गोपनियतामा गरियो । कसरी हो, फासीवादीहरूले उनकी श्रीमती र एक जना बहिनी भेटाए । उनीहरूलाई सान्टियागोको सैनिक विमानस्थल लगियो । त्यहाँ उनीहरूलाई एउटा सैनिक मालवाहक विमानमा राखेर भाल्पाराइसो पु¥याइयो । जताततै असामान्य ढङ्गले सेनाको भीडभाडबीच उनीहरूलाई समाधिस्थलमा लगियो । शव बाकस एउटा सैनिक कपडाले छोपिएको थियो । त्यो बाकस कहिल्यै खोलिएन । उनीहरूले आफन्तलाई एलेन्डेको पार्थिव शरीर हेर्नसम्म दिएनन्, किन ? उनीहरू के लुकाउन खोज्दै थिए ? उनीहरू आफूलाई प्रस्तुत गर्न पनि डराइरहेका थिए । उनीहरू एलेन्डेको शरीरमा १० भन्दा बढी गोली लागेको र मरिसकेपछि पनि उनलाई गोली हान्न नछोडिएको तथ्य लुकाउन खोज्दै थिए ।
तपाईँहरूलाई थाहा छ, फासीवादीहरूले हाम्रो क्युवाली राजदूतावासमा समेत गोलाबारी गरेका थिए । झन्डै मध्याह्नतिर फासिवादीहरूले हाम्रो दूतावासमा पहिलो हमला गरे । उनीहरूले दोस्रो हमला मध्यरातमा गरे । दुवै हमलाको कडा प्रतिकार भयो । हामी यसमा गौरव गर्छौं ! उनीहरूलाई ल्याटिन अमेरिकी क्रान्तिकारी प्रक्रियाप्रति क्युवाली क्रान्तिको वफादारिता र ऐक्यबद्धताबारे राम्ररी थाहा हुनुपर्छ र त्यसबाट उनीहरू डराएको हुनुपर्छ ।
ती हमलापश्चात् फासीवादीहरूले हाम्रा कूटनीतिक प्रतिनिधिहरूलाई तर्साउन खोजे । उनीहरूले ट्याङ्क, गोला र विमान प्रयोग गर्ने धम्की दिए । तर, हाम्रा कूटनीतिक प्रतिनिधिहरूले सैनिक अधिकारी र तिनका आउरेबाउरेहरूलाई जवाफमा भने, “हामी दूतावासको रक्षा एकजना व्यक्ति बाँकी रहेसम्म गछौँ, यो क्युवाली भू–भाग हो ।” फासीवादीहरूलाई हाम्रो दूतावासमा भएका सबै क्युवालीलाई मारेरमात्र त्यो लक्ष्य पुरा हुने हेक्का थियो । सेप्टेम्बर १२ को बिहान पनि उनीहरूले आकलझुकल हमला गरिरहे तर कुनै पनि हमला सफल भएनन् । कूटनीतिक सम्बन्ध विच्छेद भएपछि हाम्रा प्रतिनिधिहरू फिर्ता भए … ।
अहिले देखिएभन्दा ती घटनाहरू धेरै महत्वपूर्ण हुनेछन् किनभने फासीवादीहरू आतङ्क थोपर्न हिंसा र शक्ति प्रयोग गरिरहेका छन् । त्यसको एउटैमात्र समाधान भनेको फासीवादीहरूबाट नडराउनु हो ।
राष्ट्रपति एलेन्डेको उदाहरणीय व्यवहारले चिलीमा फासीवादको नैतिक पतन भएको छ । उनीहरूले एलेन्डेलाई न्यूनाङ्कन गरे । एलेन्डे विमान लिएर भाग्नेमा उनीहरू ढुक्क थिए । त्यो दिन फासीवादीहरूले महत्वपूर्ण पाठ सिकेको हुनुपर्दछ । ती पाठले उनीहरूले फेरि–फेरि पनि सामना गर्नुपर्ने प्रतिरोधतर्फ सङ्केत गरिरहेको छ । जनता थप शोषित भएर बस्न नचाहेको अवस्थामा के हुन्छ ? जनता त्रसित भएर बस्न नचाहँदा के हुन्छ ? र जब महिला–पुरुष स्वयम् मर्न अघि सर्छन् तब के हुन्छ ? उनीहरूले पाठ सिकेको हुनुपर्छ ।
चिलीका सैनिक अधिकारी मूलतः नाजी ढङ्गका भू–राजनीति, महत्वपूर्ण क्षेत्र र भौगोलिक विस्तारबाट प्रशिक्षित छन् । तर, सबै चिलीका सैनिक अधिकारीहरू फासीवादी होइनन् । जनरल प्राट्स, पिकरिङ र सिपुल्भेडा इस्केडालगायतले सेनालाई संवैधानिक सरकारप्रति बफादार राख्ने र कानुनी दायरामा राख्न भरमग्दुर प्रयास गरेका थिए । तर, फासीवादी सैनिक अधिकारीहरूको बहुमतले उनीहरूलाई पाखा लगाए र परिणामतः फासीवादका लागि अघि बढ्ने मार्गप्रशस्त भयो ।
राष्ट्रपति भवनमा लडाइँ चल्दै गर्दा अर्धसैनिक बलका एकजना अधिकारी राष्ट्रपति एलेन्डेका अङ्गरक्षकहरूसँग मिलेर फासीवादीविरुद्ध लडेको खबर पनि प्राप्त गरेका छौँ । हामीले यी कुरा उल्लेख गर्न आवश्यक छ । चिलीको सेनाका अधिकारीहरूको वर्गीय आधार प्रतिक्रियावादी वर्ग हो । त्यहाँका सिपाहीँहरूले देखेका छन्, उनीहरूका हाकिमहरू मध्यम र उच्च वर्गबाट आएका छन् । विपन्न वर्गका युवाहरू कहिल्यै पनि उच्च पदमा पुग्न सक्दैनन् । धेरैजसो अधिकारीहरू फासीवादी र फासीवादी तरिकाबाटै दीक्षित भए तापनि हामीलाई विश्वास छ, त्यस्ता अधिकारीहरू पनि हुनेछन् जसले फासीवादी नेताहरूले चिलीको सेनालाई लज्जाजनक र आपराधिक भूमिका खेलाइरहेको वास्तविकता बुझ्नेछन् । त्यस्तो समय पनि आउनेछ जब त्यस्ता अधिकारीहरू फासीवादविरोधी जनताको सङ्घर्षमा एकगठ हुनेछन् !
फासीवादी विद्रोहले चिली सेनाको नियति बन्द गरिदियो । उनीहरूले आफूलाई पूर्णरूपमा उदाङ्ग्याए । उनीहरूको ‘अराजनीतिक’ उडान र ‘संस्थागत हित’ को बोलीको वास्तविकता प्रस्ट भयो । शासक वर्गका हितमा दख्खल नपुगेसम्म उनीहरू त्यो मान्यतामा अडिग रहे । तर, जसै शासक वर्गको हितमाथि चुनौती आइप¥यो, उनीहरू आफ्नो तथाकथित ‘अराजनीतिक’ र ‘संस्थागत’ हितको आवरण मिल्काएर जनविरोधी प्रतिक्रियावादी र शोषकहरूको खेमामा उभिए ।
चिलीका जनताबीचको गहिरो र अपूरणीय दूरीले आज चिलीका सेनाबाट मजदुर, किसान र जुझारु युवाहरूलाई विभाजित गरेको छ ! यो दूरी फासीवादी जत्थाले हत्या गरेका, नरसंहार गरेका मजदुर, किसान, विद्यार्थी र क्रान्तिकारीहरूको रगतको समुद्रले बनेको छ ।
साल्भाडोर एलेन्डे र त्यो दिन उनीसँग मारिएका मानिसहरूको रगतको समुद्रले बनाएको यो अपूरणीय दूरी फासीवादी सेना र चिलीका जनताबीचको हो !
निडर भएर हामीले यो कुरा भन्नैपर्छ ! किनभने जनताले फासीवादको सामना गर्नैपर्ने हुन्छ र उनीहरूले फासीवादसँग सामना गर्नेछन् !
सत्तासीन सेना विचार र व्यवहार दुवैले फासीवादी छन् ः मजदुरहरूको नरसंहार, विश्वविद्यालयहरूमा वमबारी, किताबहरूको आगजनी, यातना शिविर र जनताविरुद्ध आतङ्कवादसम्बन्धी डरलाग्दा कानुन । राजनीतिक दलहरूमाथिको प्रतिबन्ध, मजदुर सङ्गठनहरूको विघटन र सबै किसिमका अपराध र दुरूपयोग । जब उनीहरू (फासीवादी सेना) समुदाय, विश्वविद्यालय र क्रान्तिकारीहरूका घरमा खानतलासी गर्छन् उनीहरू निर्दयतापूर्वक भित्र पस्छन् र जे सक्छन् चोरेर लैजान्छन्, रक्तपिपासु र द्रव्यपिशाची डाँकाहरू जस्तो व्यवहार गर्छन् । …’ यी गतिविधिहरू ः मजदुरहरूको हत्या, पार्टीमाथि प्रतिबन्ध, पुस्तकहरूमा आगजनी, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, दूतावास र प्रतिरक्षाविहीन जहाजहरूमा हमला र यातना गृहहरूको स्थापना व्यवहारमा फासीवादका प्रस्ट दृष्टान्त हुन् ।
१९३० को दशकपछि ४० वर्ष बितिसके । संसार अहिले हिटलर र मुसोलिनीको युगमा छैन । अहिले दीर्घकालको विश्वव्यापी सचेतना छ । मानव जाति अघि बढिसक्यो र अझ प्रगतितर्फ अघि बढिरहेको छ, यो अग्रगतिले आपराधिक गतिविधिलाई दृढतापूर्वक अस्वीकार गर्दछ ।
फासीवादी विद्रोह गरेका मूर्ख, अबुझ, सिल्ली र चिलीका सैनिक अपराधीहरूमात्र संसार अहिले १९३० दशकमै छ भनी सोच्छन् ।
चिलीको भ्रमणमा जाँदा हामीले चिलियाली समाजको हृदयमा हुर्कदै गरेको क्रान्तिकारी आन्दोलनसँगै फासीवादी भावना उदाउँदै गरेको देखेका थियौँ । सन् १९७१ डिसेम्बर २ मा चिलीबाट फर्कने क्रममा हामीले भनेका थियौँ, “हामीले केही कुरा सिक्यौँ । हामीले इतिहासको अर्को नियमको प्रमाणीकरण प्रत्यक्ष देख्यौँ, हामीले व्यवहारमा फासीवाद देख्यौँ । हामी एउटा समकालीन सिद्धान्त प्रमाणित गर्न सफल भएका छौँ, निराश प्रतिक्रियावादीहरू, हतासिएका शोषकहरू आज सबभन्दा नृशंस र सबभन्दा पाशविक प्रकारको हिंसा र प्रतिक्रियामा उन्मुख छन् ।
तपाईँहरू त फासीवादी आन्दोलनको कोक्रो बनेका धेरै देशमा फासीवादको कथाबारे जानकार हुनुहुन्छ । आफ्नो वर्गीय दमन कायम राख्न सम्भ्रान्त, शोषक वर्गले आफै स्थापना गरेका कानुन, संविधान र व्यवस्थापिकाजस्ता संस्थाहरू कसरी आफ्ना स्वार्थ पूरा गर्न नसक्ने भएपछि उनीहरू स्वयम्ले ध्वस्त बनाए, तपाईँहरूलाई थाहा छ नै ।
आफू स्वयम्ले बनाएका संस्थाले आफूमाथि शोषण गर्न मद्दत गर्दा शोषक वर्गले के गर्छ ? ऐतिहासिकरूपमै शोषणका लागि आफू भर परेको संयन्त्रले काम गर्न छोड्दा उनीहरू कसरी प्रतिक्रियामा उत्रन्छन् ? उनीहरू सीधा अघि बढेर तिनलाई ध्वस्त बनाउँछन् । फासीवादजस्तो असंवैधानिक, गैरकानुनी, असंसदीय, दमनकारी वा अपराधी अरू हुनसक्दैन ।
फासीवादले हिंसा प्रयोग गरी सबै नष्ट गरिदिन्छ । त्यसले विश्वविद्यालयहरूमा हमला गर्छ, बन्द गर्छ र दमनमा उत्रन्छ । त्यसले बुद्धिजीवीहरूलाई हमला गर्छ, दमन र हत्या गर्छ । त्यसले राजनीतिक पार्टी र मजदुर सङ्गठनहरूलाई दबाउँछ । त्यसले सबै जनवर्गीय सङ्गठनहरू र सांस्कृतिक संस्थाहरूमा हमला गर्छ । फासीवादजस्तो हिंस्रक, प्रतिक्रियावादी र अवैधानिक अरू केही छैन ।
हामीले भनेकै कुराहरू दुर्भाग्यवश अहिले चिलीमा भइरहेका छन् । (संरा अमेरिकी) साम्राज्यवादले फासीवादी सत्ता कब्जामा आफ्नो संलग्नता र जिम्मेवारी अस्वीकार गर्दै छ । साम्राज्यवाद जनतामाथि दमनमा निर्देशित एउटा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक प्रणाली हो । ल्याटिन अमेरिकामा साम्राज्यवादले जनतालाई शक्ति लिनबाट रोक्न खोज्दै छ । चिलीमा पपुलर युनिटी पार्टीको विजयपूर्व नै यसको लागि षड्यन्त्रको तानाबाना बुनिंदै थियो । पपुलर युनिटी पार्टीलाई दबाउन पुँजीवादी पार्टीहरूलाई करोडौं डलर बाँडिंदै थियो । घूसखोरी, ठूलो धनराशीको प्रयोग, झूठ, आतङ्क र विश्वासघातमार्फत ती पूँजीवादी दलहरूले थुपै्र निर्वाचनहरू पनि जिते ।
साम्राज्यवादले चिलीका जनतालाई भ्रष्ट बनाउन खोज्यो । एकाधिकारवादले खानीका मजदुरहरूलाई भ्रष्ट बनाउन खोज्यो ः तामाको चर्को मूल्य र एकाधिकारवादले कुम्ल्याउने उच्च नाफाका कारण चिलीका अरू मजदुरहरूको तुलनामा खानी मजदुरहरूको ज्याला ज्यादै धेरै थियो ।
चिलीलाई आर्थिक क्षेत्रमा कहीँ कतैबाट ऋण लिन रोक लगाए पनि पेन्टागन (संरा अमेरिकी रक्षा मन्त्रालय) ले चिलीको सेनासँग सुमधुर सम्बन्ध कायम राखेको थियो । चिलीको सेनाका धेरैजसो अधिकारीहरू साम्राज्यवादी प्रतिष्ठानबाट दीक्षित थिए । चिली सरकारलाई सबै ऋण सहयोगमा रोक लगाइयो तर सत्ताकब्जाको केही साताअघि निक्सनले चिली सेनालाई १ करोड डलर ऋण स्वीकृत गरे ।
सरकार र सेनाबीच विभाजन गर्न साम्राज्यवादले निर्लज्ज खेल खेल्यो । सरकारमाथि निषेध ग¥यो, सेनालाई सहायता ग¥यो ।
साम्राज्यवादले ‘अमेरिकी राज्यहरूको सङ्गठन,’ ‘अन्तर–अमेरिकी रक्षा बोर्ड’ र ‘संयुक्त जलसैनिक अभ्यास सङ्गठन’ जस्ता सङ्गठनहरू स्थापना ग¥यो । साम्राज्यवादले यो गोलाद्र्धमा षड्यन्त्रहरू बुन्न र प्रतिक्रान्तिकारी गतिविधि गर्न यी संस्थाहरू स्थापना गरेको थियो  ।
पपुलर युनिटी सरकार चिलीको जलसेनालाई संरा अमेरिकी सेनासँग संयुक्त सैनिक अभ्यासमा सहभागी बन्नबाट रोक्न वा निषेध गर्न असफल भयो ।
सत्ता कब्जाको दिन सेप्टेम्बर ११ मा संरा अमेरिकी पानीजहाजहरू भाल्पारासोको ठीक बाहिरतिर तैनाथ थिए । चिली र संरा अमेरिकी सेना त्यो दिन युद्धका लागि तम्तयार थिए । दुवै सेना समुद्री बिहारमा निस्के र केही घण्टापछि सत्ताकब्जाको नेतृत्व गर्न फेरि भाल्पारासोमा फर्के ।
वास्तवमा सत्ताकब्जा धेरै दिनको तयारीपश्चात् भएको थियो । यी घटनाको इतिहास लेखिँदा (पूर्वराष्ट्रपति) फ्रिई र क्रिश्चियन डेमोक्रेटिक पार्टीभित्र उसको दक्षिणपन्थी गुटको जिम्मेवारीबारे कदापि उपेक्षा गर्न मिल्दैन । त्यस्तै प्रतिक्रियावादी सञ्चारमाध्यम, नेसनल पार्टी, न्यायपालिका र व्यवस्थापिकाले यो घटना पछाडि खेलेको भूमिकाको लेखाजोखा गरिनुपर्छ किनभने चिलीका जनताले उनीहरूको हिसाब किताब गर्नैपर्छ ।
हामी क्रान्तिकारीहरूले यी घटनाक्रमबाट आफ्नै निचोड निकाल्नुपर्छ । साम्राज्यवाद अगाडि बढ्दै छ र ल्याटिन अमेरिकामा रणनीतिक आक्रमण चलाउँदै छ ः पहिले बोलिभियामा सत्ताकब्जा, त्यसपछि उरुग्वे र अहिले चिलीमा सत्ताकब्जा ।
दश वर्षअघि पुँजीपति वर्ग र साम्राज्यवादले आफूलाई व्यवस्थापिका र पुँजीवादी संविधानका माध्यमबाट जोगाउँथे ।
उरुग्वे र चिलीलाई वैधानिकता र संवैधानिकताको उदाहरणको रूपमा लिइन्थ्यो । तर आज पुँजीपति वर्ग र साम्राज्यवाद स्वयम्ले उरुग्वे र चिलीमा संविधान र पुँजीवादी प्रजातन्त्रको धज्जी उडाएका छन् । आज ब्राजिलसहित यी देशहरूको एउटा प्रतिक्रियावादी समूह बनेको छ जो दक्षिण अमेरिकामा साम्राज्यवादको सेवा गर्न उद्यत्त छ ।
चिलीले हामीलाई एउटा पाठ सिकाएको छ । जनताले मात्र क्रान्ति गर्न असम्भव छ, हतियार पनि आवश्यक छ ! हतियारले मात्र क्रान्ति हुन असम्भव छ, जनता पनि आवश्यक छ !
हामीलाई लाग्छ, यसले हाम्रा जनतालाई यो गोलाद्र्धको समग्र परिस्थितिबारे राम्रो दृष्टिकोण दिनेछ ।
केही सञ्चारमाध्यमहरूले उत्साहपूर्वक चिलीको सैनिक विद्रोहको समर्थन गरे । उनीहरूले क्युवासँग कूटनीतिक सम्बन्ध गाँस्ने बढ्दोक्रम यो घटनापछि तोडिनेसमेत दाबी गरे ।
चिलीको सन्दर्भमा उसले हामीसँग सम्बन्ध तोडेकोमा हामी दुःखी छैनौँ, बरु चिलीका जनताले सामना गर्नु परेको प्रहार र उनीहरूले लामो समयसम्म झेल्नुपर्ने रक्तपातपूर्ण सङ्घर्षका कारण हामी दुःखी छौँ ….. जहाँसम्म चिलीका जनतासँगको हाम्रो सम्बन्धको कुरा छ, हामीलाई चिलीका जनता फासीवादविरुद्ध लड्ने कुरामा कति पनि शङ्का छैन । हामीले चिलीका जनतालाई बुझेका छौँ । हामी त्यहाँका मजदुर, किसान र विद्यार्थीहरूबीच पुगेका छौँ र हामीले चिलीका जनताको भावना बुझेका छौँ । उनीहरूको उत्साह, देशभक्ति र क्रान्तिकारी ऊर्जा र धारणा महसुस गरेका छौँ । हामीले मागालानिसदेखि उत्तरका खानीका मजदुर र किसानलाई भुलेका छैनौँ । त्यहाँका कोइलाखानी मजदुर, औद्योगिक मजदुर, चिलीका युवा, योद्धाहरू र क्रान्तिकारीहरूलाई भुलेका छैनौँ ।
हामीलाई पूर्ण विश्वास छ, उनीहरूलाई फासीवादसँग कसरी लड्नुपर्छ भन्ने विषयमा पूरा ज्ञान छ । हामीलाई पूर्ण विश्वास छ, सेप्टेम्बर ११ एउटा सङ्घर्षको आरम्भ हुनेछ जुन जनताको विजयमा पुगेर मात्र टुङ्गिने छ । यो तत्काल आइहाल्ने विजय हुनेछैन ।
चिलीको अवस्थामा कसैले जादुको अपेक्षा गर्नसक्दैन । जनतामाथि चर्को बज्रपात भएको छ, पार्टी र सङ्गठनहरूले पनि फासीवादी हमलाको चोट सञ्चो बनाउनुपर्नेछ । निःसन्देह चिलीका क्रान्तिकारीहरूले अथकरूपमा फासीवादविरुद्ध लड्न आफै सङ्गठित बन्नेछन् ।
क्रान्तिकारी सशस्त्र सङ्घर्षबाहेक अर्को कुनै विकल्प नभएको कुरा चिलीका क्रान्तिकारीहरूले सिकिसकेका छन् ।
उनीहरूले चुनावको शान्तिपूर्ण बाटो प्रयोग गरे । तर, साम्राज्यवादी र प्रतिक्रियावादीहरूले संविधान, कानुन, व्यवस्थापिका आदि सबैमाथि हमला गरेर खेलको नियम नै परिवर्तन गरिदिए । त्यो अवस्थाको आज कुनै समाधान छैन । उनीहरूले चिलीमाथि फासीवादी संस्थाहरूमार्फत बलजफ्ती शासनमात्र गरिरहेका छन् ।
फासीवादीहरू अहिले आर्थिक पुनःनिर्माणको कुरा गरिरहेका छन् । तर, त्यो ज्यादै हास्यास्पद कुराकानी हो । कर्णेल–जर्णेलका धनी श्रीमतीहरूबाट केही गर–गहना चन्दा मागेर चिलीको अर्थतन्त्र पुनःनिर्माण गर्ने कुरा गरिरहेका छन्– उनीहरू । के यो दन्त्यकथामा तपाईँ विश्वास गर्नुहुन्छ ? हामीलाई थाहा छ, फासीवादीहरू चिलीमा मजदुरहरूका श्रम र रगत मुछेर पुँजीवादी अर्थतन्त्र विकास गर्न चाहन्छन् । हामीलाई राम्ररी थाहा छ, उनीहरूले चिलीको अर्थतन्त्र महिलाहरूका श्रृङ्गारिक गहनाबाट होइन, चिलीका मजदुरहरूका रगत–पसिनाले पुनःनिर्माण गर्नेछन् । साम्राज्यवादले विश्व बैङ्क र अन्य संस्थामार्फत तत्काल ऋण दिने पक्का छ र त्यसपछि चिलीलाई दाँतले मज्जाले चपाउनेछ ।
राष्ट्रपति एलेन्डेले आफ्ना जनतालाई आफूले दिनसक्ने सर्वोच्च र अत्यन्त वीरतापूर्ण दृष्टान्त दिएका छन् । चिलीमा हालै भएका घटना, राष्ट्रपति एलेन्डेले प्रस्तुत गरेका उदाहरण र उनीसँगै लडेका योद्धाहरूका बलिदानले सबै इमानदार र विचारवान चिलियालीको रगत आत्मस्वाभिमानले उम्लने छ ।
फासीवादीहरू सेप्टेम्बर ११ देखि चिलीमा शान्ति छाएको बताउँछन् । तर, क्युवामा मार्च १० (फल्गेन्सिओ बाटिस्टा नेतृत्वको सत्ता कब्जा भएको दिन) जस्तै हो सेप्टेम्बर ११ । क्युवामा जुलाई २६ (सशस्त्र सङ्घर्ष सुरु भएको दिन) र जनवरी १ (क्रान्ति भएको दिन) जस्तै अब चिलीमा पनि त्यस्ता दिन आउनेछन् ।
यो खुलामञ्चमा पुगेर यति धेरै भव्य उपस्थिति देख्दा, चिली र क्युवाको राष्ट्रिय गान सुन्दा, राष्ट्रपति एलेन्डेको सम्झनामा दसौँ लाख जनताले मौन धारण गरेको देख्दा, चिलीका जनताप्रति गहिरो भावना, माया र सम्मान व्यक्त भएको यो क्षणमा हामी सोच्दैछौँ, कुनै दिन चिलीमा पनि यस्तै विशाल जमघट हुनेछ जहाँ शोषकहरूको उपस्थिति हुनेछैन । त्यो चिली जहाँ सेना र जनता एउटै हुनेछन् । त्यो चिली जो क्युवाजस्तै सशस्त्र हुनेछ । त्यो चिली जहाँका जनता हाम्रा जनताजस्तै सङ्गठित हुनेछन् । त्यतिबेलाको चिली हामी जतिकै सुव्यवस्थित हुनेछ र आजका क्युवाली जनताकै जस्तो राजनीतिक चेतनास्तरको विस्तार हुनेछ । त्यहाँ कोही जमिनदार, बिचौलिया, शोषक, फासीवादी वा पुँजीवादी सञ्चारमाध्यम हुनेछैन । जनताको हातमा नभएका कुनै रेडियो स्टेशन वा सञ्चारका अन्य माध्यम हुने छैनन् । पुँजीवादी व्यवस्थापिका नभएको चिली, रियो डि जेनेरिओ सन्धिबाट मुक्त चिली, कुनै संयुक्त सैनिक अभ्यास नगर्ने चिली । चिलीका जनता सफल हुनेमा हामी ढुक्क छौँ । क्रान्तिकारी भावना, नागरिक जिम्मेवारीबोध, उत्साह, मानवीय गुण, अझ त्यसभन्दा माथि हाम्रा न्यायपूर्ण विचार, भविष्यको विचार, जनमुक्तिका विचारका कारण क्युवाली जनता सफल भए जसरी नै चिलीका जनता पनि सफल हुनेछन् । विश्वभर प्रगतिशील शक्ति बढ्दै र विस्तारित भइरहेको अनि साम्राज्यवाद ओरालो झरिरहेकोले त्यो सफलता अवश्यम्भावी छ ।
हामीले यो गोलाद्र्धमा साम्राज्यवाद कसरी ओरालो लाग्यो, देखेका छौँ । हामीले त्यसलाई खेद्न थालेका हौँ । हामीले संसारको यो भागमा साम्राज्यवादको अन्त्य भएको पक्कै देख्नेछौँ ।
हाम्रा जनता चिलीका जनताको पक्षमा छन् र उनीहरूलाई सबै क्षेत्रमा हामीले दिन सक्ने सबै सहायता प्रदान गर्न हामी तयार छौँ । हामीले चिलीका जनतालाई केही हिस्सा चिनी दिइसकेका छौँ र चिलीको क्रान्तिलाई सहयोग गर्न आवश्यक परे हामी हाम्रो हृदय दिन पनि तयार छौँ । हामीले राष्ट्रपति एलेण्डेलाई विश्वास ग¥यौँ, उनीप्रति निष्ठा राख्यौँ । हाम्रा जनताले पनि त्यही गरे । हाम्रा जनतालाई आफ्नो अन्तिम साससम्म आफ्नो गौरव जोगाउने उनको इच्छाशक्ति, उत्साह र साहसप्रति शतप्रतिशत विश्वास थियो । राष्ट्रपति एलेन्डेले चिली र क्युवाका जनताको शिर झुक्न दिएनन् । चिलीका जनताले पनि राष्ट्रपति एलेन्डेको शिर झुक्न दिने छैनन् । उनलाई असफल पार्ने छैनन् । बरु मुक्ति सङ्घर्षलाई अझ अगाडि बढाउन बलियो एकताको लागि उनले गरेको आह्वानलाई आत्मसात गर्दै जानेछन् ।
क्युवाली जनताले पनि आफ्ना इमानदार मित्र, सङ्घर्षका सहयोद्धा साल्भाडोर एलेन्डेलाई असफल बनाउने छैनन् । चिलीका जनताले फासीवादलाई परास्त गर्नेछन् !
– (समाप्त)
अनुवादः पद्म वान्तवा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *