सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
मजदुर, किसान, ज्यामी, भरिया आदि शारीरिक काम गर्नेहरू मजदुर वर्गमा पर्छन् । शिक्षक, तल्लो कर्मचारी, स–साना पसले, प्राध्यापक, डाक्टर, नर्स, कानुन व्यवसायीजस्ता बौद्धिक श्रम गरी जिविका चलाउनेहरू बौद्धिक मजदुर वर्गमा पर्छन् । माथिका सबै कामदारहरूलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले शोषक वर्गले शोषण गरेको हुन्छ र ठगेको हुन्छ । कामदार वर्गको निम्ति यो पुँजीवादी समाज ‘यमराज’, ‘नर्क’ हो, गरिब जनतालाई यातना दिने कारागारमात्र हो ।
समाजवादी व्यवस्था स्थापना नभएसम्म शारीरिक र बौद्धिक श्रम गरी जिविका चलाउने वर्गले जीवनभर सुख, शान्ति पाउँदैन । दिनको दुई छाक, केटाकेटीको पढाइ, लेखाइ, बिरामी खर्च, घर व्यवहार, चाड – पर्व, दुर्घटना हुँदाको खर्च, डेरा बहाल वा सानो घर बनाउने चिन्ता वा समस्यालाई समाजवादले मात्रै हटाउन वा समाधान गर्न सक्छ । त्यो कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठ्छ ।
राजनीतिकरूपले सचेत भएपछि व्यापक जनता एक हुन्छन्, शारीरिक श्रम र बौद्धिक श्रम गर्नेहरू एक भई सङ्घर्षको मैदानमा उत्रन्छन् र पुँजीवादी व्यवस्थालाई चुँडालेर फाल्छन्, चङ्गाको धागोलाई काटेर फालेजस्तै । त्यसपछि ठूल्ठूला जग्गा धनी, जमिनदार र सामन्तहरूको खेत र खलियान, कल–कारखाना, उद्योगधन्दा, व्यापार, यातायातका साधन बस, कार, हवाइजहाज, सामान ओसार्ने ट्रिपर र ठूल्ठूला ट्रकहरू जनताको स्वामित्वमा आउनेछ । डोजर, बाकु र अन्य ठूल्ठूला निर्माण सामान र कम्पनीहरू जनताको स्वामित्वमा आउनेछ । निजी बैङ्कहरू राष्ट्रियकरण हुनेछ । निजी विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू एक – एक गरेर समाजको स्वामित्वमा भित्रनेछ र निजी औषधि कम्पनीहरू, अस्पताल र स्वास्थ्य सेवाका सबै क्षेत्र समाजकै स्वामित्वमा पुग्नेछ ।
पुँजीवादी समाजमा ती सबै उत्पादनका साधन र सेवाहरूबाट देशी र विदेशी कम्पनीहरूले जनताको शोषण गरेका हुन्छन् र करोडपति एवम् अर्बपति बन्छन् । ठूल्ठूला सबै विदेशी ठेकेदारहरू र आयोजनाहरू विदेशी पुँजीपति वर्गका हुन्छन् । तिनीहरूले नेपालीहरू मोहडामा राखेर देश र जनतालाई ठग्छन् । विदेशी पुँजीबाट नाफाको केही भाग खाएर बाँच्नेहरूलाई विदेशी पुँजीको एजेन्ट वा दलाल भन्ने गरिन्छ ।
समाजवादी समाजमा निम्न काम हुन्छन् –
क) माथि भनिएझैँ उत्पादनका सबै साधन र सेवा समाजको हुनेछ ।
ख) सबैले ‘योग्यताअनुसारको काम’ र ‘कामअनुसारको ज्याला’ पाउनेछन् । तर, जसले काम गर्दैन, उसले खान पनि पाउँदैन । बिरामी, ज्येष्ठ नागरिक, अशक्त वा अशक्षम, टुहुरा–टुहुरी आदिको निमित्त आवश्यक बन्दोबस्त समाज र सरकारले गर्नेछ ।
ग) सबै जनताका छोराछोरीलाई डाक्टर, इन्जिनियर, पाइलट र प्राध्यापक बन्न पैसा चाहिँदैन बरु व्यक्तित्व विकासमा समान अवसर पाउनेछन् ।
घ) योग्यताअनुसारको पढाइ र पढाइपछि रोजगारको बन्दोबस्त समाज र सरकारले गर्छ ।
ङ) प्रसुतिदेखि शिशुशाला, विद्यालय, कलेज र विश्वविद्यालय, रोजगार, आवास, ज्येष्ठ नागरिकहरूको निम्ति ‘आदर निकेतन’, अस्पतालदेखि आर्यघाट र चिहानसम्मको व्यवस्था समाजले गर्छ ।
समाजवाद शारीरिक र बौद्धिक कामदार वर्गको राज्य व्यवस्था हो । यो चरणबद्ध भई साम्यवादी समाजसम्म पुग्छ । साम्यवादी समाज एक उँचो सुसंस्कृत समाज हुनेछ । त्यस समाजको स्थिति तल दिइएअनुसार हुनेछ –
क) उत्पादनका सामान र सेवा सबै समाजको स्वामित्वमा गइसकेको हुँदा पुँजीपति वर्ग (शोषक वर्ग) रहनेछैन । शोषक वर्ग नरहेपछि शोषण पनि हुनेछैन । यसकारण त्यो समाज वर्गविहीन हुनेछ ।
ख) साम्यवादी समाज शोषणविहीन हुनेछ ।
ग) समाजवादमै सबैले पढ्ने अवसर पाउने हुँदा शारीरिक श्रम र बौद्धिक श्रमको भेद रहनेछैन ।
घ) गाउँ–गाउँमा समेत यातायात, सञ्चार, उद्योग, शिक्षा र अन्य सुविधा पुग्ने हुँदा गाउँ र सहरको भेद हुनेछैन ।
ङ) त्यस समाजमा मजदुर र किसानबीच पनि भेद हुनेछैन ।
च) विज्ञान र प्रविधिको विकासले उत्पादनका साधन सबै यान्त्रीकरण र स्वचालित भई मजदुर र किसानहरूको शारीरिक काममा सहयोग पुग्नेछ ।
छ) सारा जनता बुद्धिजीवी हुनेछन् वा समाजको बुद्धिजीवीकरण हुनेछ ।
ज) साम्यवादी समाज एक सुसंस्कृत र विकेकशील समाज बन्नेछ ।
झ) त्यो समाज प्राकृतिक प्रकोप र रोगहरूसँगै नयाँ – नयाँ अनुसन्धान, ब्रम्हाण्ड र समूह एवम् पृथ्वीको गहिराइको अध्ययनमा ध्यान दिँदै जानेछ
ञ) हरेकले योग्यताअनुसारको काम गर्नेछन् र आफूलाई चाहिने ‘आवश्यकताअनुसार’ वितरण व्यवस्था लागू हुनेछ ।
Leave a Reply