भर्खरै :

सी चिनफिङ भ्रमणमा ओझेल पर्न नहुने विषय

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा राजनीतिक अस्थिरता अझै साम्य भएको छैन । हङकङमा अस्थिरता फैलाउन जिम्मेवार शक्तिहरू केही महिनादेखि हङकङ मामलालाई अन्तर्राष्ट्रिय रङ्ग दिन प्रयासरत छन् । चीन सरकारले हङकङमा प्रजातन्त्र र मानव अधिकार खोसेको भन्दै उनीहरू अन्तर्राष्ट्रिय समुदायले त्यहाँ हस्तक्षेप गरोस् भन्ने चाहन्छन् । हङकङको प्रदर्शनमा संरा अमेरिका, बेलायतलगायत पश्चिमा शक्तिको हात रहेको कुरा अब कसैको लागि गोप्य रहेन ।
पश्चिमा शक्तिहरू ‘प्रजातन्त्र’ र ‘मानव अधिकार’ को नाममा चीनलाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम गर्न खोजिरहेका छन् । पश्चिमा सञ्चारमाध्यम आज हङकङमा ‘मानव अधिकार उल्लङ्घन भएको’ भन्दै अन्तर्राष्ट्रिय समुदायबाट हस्तक्षेपको पूर्वअवस्था बनाइरहेका छन् । पश्चिमा देशका विभिन्न सरकारहरू हङकङ मामिलामा अन्तर्राष्ट्रिय समुदाय चीनको विरोधमा उभिओस् भन्ने चाहिरहेका छन् ।
भेनेजुयलाको निर्वाचित माडुरो सरकारविरूद्ध उभियोस् भनी संसारका विभिन्न देशमा संरा अमेरिकाले कूटनीतिक र राजनीतिक अभियान नै चलाएको थियो । नेपालको सत्तारूढ नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले माडुरो सरकारको पक्षमा वक्तव्य जारी गर्दा संरा अमेरिकी सरकारले कूटनीतिक दबाब बढाएको थियो ।
हङकङको मामिलामा नेपालका सत्तारूढ दल र प्रमुख प्रतिपक्षले कुनै खास प्रतिक्रिया जनाएका छैनन् । सरकारी सञ्चार माध्यमहरूले हङकङको मामिलामा पश्चिमा सञ्चार माध्यमका प्रचारबाजीलाई नै आधार मानेका छन् । नेपालका ठूला भनिएका मिडियाले पनि पश्चिमा सञ्चार माध्यमकै लहैलहैमा प्रचार गरिरहेका छन् । शनिबार चीनका राष्ट्रपति सी चिनफिङ नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । सीको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौताहरू हुनेछन् । दुई पक्षीय वार्तामा हङकङको विषय सायदै प्रवेश गर्ला । तथापि छिमेकी देश चीनसँग जोडिएको र नेपालसँग परोक्ष रूपमा जोडिएको हङकङको विषयमा नेपाल सरकार स्पष्ट हुन आवश्यक छ । हङकङ चीनको आन्तरिक मामिला हो । हङकङ समस्याको समाधान चीनको ‘एक देश–दुई व्यवस्थाको सिद्धान्त’ अनुसार गरिनुपर्छ । कुनै पनि विदेशी शक्तिले हङकङ मामलामा कुनै पनि खाले हस्तक्षेप गर्नु चीनको सार्वभौमिकतामाथि हस्तक्षेप हो । छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने पश्चिमा शक्तिको प्रयासको विपक्षमा नेपाल र नेपाली जनता उभिन आवश्यक छ । एसियामा शान्ति नेपालको पनि चासोको विषय हो । हङकङमा फैलिने अस्थिरता एसियामा अशान्तिको कुनै पनि बेला घातक कारण बन्न सक्छ । तसर्थ नेपालले हङकङमा जारी अस्थिरतालाई चीनको आन्तरिक मामिलाको रूपमा लिई वैदेशिक हस्तक्षेपको विरोध गर्नुपर्छ ।
हङकङको प्रदर्शन ‘मानव अधिकार’ र ‘प्रजातन्त्र’सँग कही–कतै जोडिएको छैन । बरू हङकङमा व्यापारको नाममा फस्टाइरहेको अपराधलाई रोकथाम गर्ने चीनको प्रयासविरूद्ध केही मानिस आज हिँसात्मक द्वन्द्वमा उत्रेका हुन् । यसले व्यापक हङकङबासीको हित गर्दैन । हङकङमा रहेका नेपाली मूलका जनताको लागि समेत आजको अस्थिरता हितकारी छैन ।
सी चिनफिङ नेपाल आउँदा नेपालले के–कति माग्ने र पाउने हिसाब–किताबबारे मात्र कुराकानी गर्नु वैचारिक सीमितता हो । आजको चीनले कस्ता समस्या समाधान गरिरहेका छन् र त्यसले समग्र संसारमा कस्तो प्रभाव पार्ला भनी चिन्तन गर्नु पनि चीनबाट सिक्नु हो । हङकङ मामलाबारे नेपाली सञ्चारमाध्यमले पश्चिमा सञ्चारमाध्यमको लहैलहैमा नलागी त्यहाँका जनताको वास्तविक अवस्था र चाहनाबारे चर्चा गर्नु सी चिनफिङको स्वागत नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *