भर्खरै :

३९ औँ नेपालभाषा साहित्य तः मुँज्या सुरु वरिष्ठ चिकित्सक डा.मिश्र र कलाकार हाडा सम्मानित

भक्तपुर, २३ असोज । उनन्चालीसौँ नेपालभाषा साहित्य तःतुँज्याको समुद्घाटन इताछेँ टोलका स्थानीय ज्येष्ठ नागरिक एवम् वाद्यवादन गुरू गोपसीँ बोय्जूले बिहीबार बाँसुरी बाजाको धुनसँगै गर्नुभयो ।
संस्कृतिविद्, संविधानविद्, शिक्षाविद्, जलस्रोतविद्, पूर्वजर्नेल, साहित्यकार, पत्रकार, प्राध्यापक, बुद्धिजीवी, किसान, मजदुर, विद्यार्थी, युवा, महिला, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी तथा सर्वसाधारण जनताको उपस्थितिमा बिहीबारबाट सुरु भएको दुईदिने साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित चिकित्सक डा. अशोकानन्द मिश्र र वरिष्ठ हास्य कलाकार धु्रवरत्न हाडालाई कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।
साहित्य सम्मेलनमा सम्मानित वरिष्ठ चिकित्सक डा. अशोकानन्दन मिश्रको व्यक्तित्वबारे चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले डा.मिश्र जनताको सेवा गर्ने जनताको चिकित्सक भएको बताउनुभयो ।
उहाँले अध्ययनशील, तीक्ष्ण बुद्धि र सुसंस्कृत परिवारमा हुर्कनुभएका डा. मिश्र मानिसलाई खुशी बनाउन वा मानिस रिसाउला भनी झुठो बोल्ने स्वभाव मन नपराउने व्यक्तित्व भएको बताउनुभयो ।
भारतमा राजनीतिक निर्वासनका दिनहरू स्मरण गर्दै उहाँले प्रतिकूल परिस्थितिमा पनि डा.मिश्रले सधैं इमानदारीको पक्ष लिएको बताउनुभयो ।
जनताको सेवा गर्ने असल मानिसको सम्मान गरे अरू मानिसलाई पनि असल गुण अनुकरण गर्न प्रेरणा मिल्ने विचार राख्दै उहाँले गुणको बदला गुणले तिर्न सके मानिस अरुको सेवा गर्न उत्साहित हुने धारणा राख्नुभयो ।
“डा. मिश्र कुनै पनि रोगीको रोग आफूले हेरेपछि समस्या समाधान नहुञ्जेल लगातार लागिरहने स्वभावको हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
बिजुक्छेंले जुनसुकै ठाउँमा गए पनि जनताको सेवा गर्ने स्वभावका डा.मिश्र जनताको सेवा गरेर नथाक्ने चिकित्सक भएको बताउनुभयो ।
अर्का सम्मानित व्यक्ति ध्रुव हाडाबारे बोल्दै अध्यक्ष बिजुक्छेंले अभिनय र संवादमार्फत जनतालाई हँसाउने अभिनय कला नयाँ पुस्तालाई पनि सिकाउने जाँगर प्रशंसनीय भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुुर नगरपालिकाअन्तर्गत भइरहेका गतिविधिबारे प्रकाश पार्दै स्थानीय तहलाई बलियो बनाउन सके जनता र लोकतन्त्र बलियो हुने बताउनुभयो ।
भक्तपुुर क्यान्सर अस्पतालको व्यवस्थापन समितिका पदाधिकारीबाट भएको भ्रष्टाचारको विरोधमा भक्तपुर नगरपालिकाले आफ्नो दायित्व पूरा गरिरहेको चर्चा गर्दै उहाँले क्यान्सर अस्पतालमा भक्तपुर नपाको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भएपछि पुरानो समितिले गर्दै आएका अनियमितता उदाङ्गिएको बताउनुभयो ।
उहाँले नगरका सम्पदा र सार्वजनिक सम्पत्ति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेका गतिविधिबारे जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले देशको मुहार फेर्न इमानदार, चरित्रवान र निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने नेताहरूको खाँचो भएको औँल्याउनुभयो ।
राजनीतिको नाममा अकुत सम्पत्ति कमाएर सत्तामा गएका पार्टीका नेताहरू पथभ्रष्ट र चरित्र भ्रष्ट भइरहेकै कारण देशको स्थिति बिग्रिरहेको उहाँले बताउनुभयो ।
संस्कृतिविद् हरिराम जोशीले धर्म, संस्कृति, भाषा, साहित्य र इतिहास जगेर्ना गर्न आफ्नै मातृभाषाको प्रयोग गर्नुपर्नेमा जोड दिँदै देश अक्षुण राख्न शासन व्यवस्था सधैँ राम्रो हुनुपर्छ भन्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले कम्युनिस्ट भनिनेहरू शासक पार्टीहरू कम्युनिस्ट नभएको हुँदा देशले दुर्गति भोग्नुपरेको चर्चा गर्दै लिपुलेक र कालापानीको मुद्दा टुङ्ग्याउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाली जनताले जनताका राष्ट्रपति खोजेको तर नयाँ राजा पाएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “राजनीति सबैको आधार हो, राजनीतिलाई मूल रूपमा लिनुपर्छ ।”
कार्यक्रममा सम्मानित वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले भक्तपुर अस्पतालमा काम गर्दाको स्मरण र अनुभव व्यक्त गर्दै आफ्नो प्राथमिकता बिरामीको सेवा नै भएको बताउनुभयो ।
आफूलाई तःमुंँज्याले गरेको सम्मानले बिरामीको सेवा गर्न थप हौसला मिलेको छ भन्दै उहाँले सत्य रिपोर्ट दिँदा जागिरबाट हात धुनुपरेको घटना सुनाउनुभयो ।
अर्का सम्मानित वरिष्ठ हास्यकलाकार ध्रुवरत्न हाडाले सांस्कृतिक गतिविधिहरू बेलाबखत भइरहनुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई आफ्नो प्रतिभा हस्तान्तरण गर्न पाए कला क्षेत्र अझ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार मोहन दुवालले राजनीतिको नाउँमा कलङ्कित क्रियाकलाप गर्ने व्यक्तिहरूसित सधैँ सचेत र चनाखो हुनुपर्नेमा जोड दिँदै आफ्नो कविता वाचन गर्नुभयो ।
लेखक नरेन्द्र प्रसाइँले भक्तपुर राष्ट्रियता बोकेका कर्मठहरूको थलो भएको चर्चा गर्दै नेकपाले सिद्धान्त र राष्ट्रियताको ध्वाङ फुकेर झूटको खेती गरिरहेको बताउनुभयो ।
उहाँले आफू कम्युनिस्ट हुन नपाए पनि सच्चा कम्युनिस्टहरूको सिद्धान्त, विचारको प्रचार गरिरहने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा डा. सरोज धिताल, कवयित्री इन्दिरा प्रसाइँ, सुलोचना मानन्धर, वरिष्ठ साहित्यकार लक्ष्मण राजवंशी, पूर्व जर्नेल प्रेमसिंह बस्न्यात, वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
साहित्यकारहरू हरिहर तिमल्सिना, टेक राना, प्रेम के निडर, अभय श्रेष्ठलगायतका अग्रज तथा नयाँ साहित्यकारहरूले कविता तथा कथा वाचन गर्नुभएको सो सम्मेलनको सभापतित्व वरिष्ठ शिक्षक उद्धव सुजखूले गर्नुभएको थियो ।
सम्मेलनमा तःमुंज्या आयोजक समितिका अध्यक्ष श्यामसुन्दर मातांले स्वागत मन्तव्य, गायकद्वय रवि हाडा र लक्ष्मण पलिखेलले स्वागत गीत गाउनुभएको थियो ।
समारोहमा डा. मिश्र र कलाकार हाडालाई सम्मान गर्दा धिंताल गु्रपको मालश्री धुन बजाइएको थियो ।
ढिला रातिसम्म विभिन्न सांस्कृतिक समूह र विद्यालयका सांस्कृतिक कार्यक्रम देखाइएको थियो । सम्मेलन शुक्रबार पनि चालु रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *