भर्खरै :

जनतालाई केन्द्रबिन्दु बनाएर शासन गर्नुपर्छ

– अनु बोयजू
सरकारको नेतृत्व गर्नु या राज्य सञ्चालन गर्नु नै कुनै दलको बहादुरी होइन न त त्यो सच्चाइको परिचय हो । त्यसो त देशमा पालैपालो शासन गर्ने दलहरू धेरै भइसकेका छन् । सत्तामा बस्नेबित्तिकै कुनै दल सही हुने होइन । देशमा धेरै दलले शासन गरे तर यहाँ न विधिको शासन चल्यो न सुशासन नै कायम रह्यो । शासन सञ्चालन गर्दा नेका, मधेसीजस्ता दलले नगरे पनि कम्युनिस्ट पार्टीले बहुमत जनताको पक्षमा काम गर्नुपथ्र्यो । देश र जनतालाई केन्द्रविन्दु राखेर शासन गर्नुपथ्र्यो । तर यहाँ देश र जनता भुलेर पदको दुरुपयोग गरी अकुत सम्पति कमाइन्छ । यसमा वर्तमान नेकपाको सरकार पनि फसेको छ । यो कम्युनिस्ट पार्टीको लागि सुहाउँदैन ।
कम्युनिस्ट पार्टीको सरकारमा स्वच्छता र सुशासनमा जोड दिइन्छ । इमानदारीपूर्वक काम गरेर जनताको विश्वास जित्छ । भ्रष्टाचार अन्त्य गर्न कडा कारबाही हुन्छ, अनुशासनको पालना हुन्छ । पदको दुरुपयोग गरेर सम्पति कमाइँदैन, कसैले अकुत सम्पति जोड्छ भने तत्कालै कारबाही हुन्छ । सरकार र पार्टीमा सामेल नेता, मन्त्री, सांसदहरू भ्रष्टाचारबाट अलगिन्छन् । भ्रष्टाचारको विरोधमात्र होइन भ्रष्टाचारीहरूलाई जनताको अदालतमा उभ्याएर कारबाही गरिन्छ । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता बनाउने कुरा त उठायो । तर, त्यो व्यवहारमा लागू भइरहेको छैन । चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपालको दुईदिने राजकीय भ्रमणमा सत्तारुढ दलका नेताहरूसँगको भेटघाटमा उनले जनताको विश्वास जित्न स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने आफ्नो चीनको अनुभव पोखेको सञ्चारमाध्यममा आएको छ ।
नेताहरूको सादा जीवन उच्च विचार हुनुपर्छ । कुनै दलले दुई तीनचोटि सरकारको नेतृत्व गर्दैमा शासन सफल हुन्छ भन्ने होइन । जनताको निरन्तर सेवा गरे जनताको समर्थन पाइरहन्छ र नेतृत्व पनि पाइरहन्छ । नेताहरू इमानदार र चरित्रवान बन्नैपर्छ । नेताहरू इमानदार र चरित्रवान नभएसम्म, जनतालाई केन्द्रविन्दु राखेर राज्य सञ्चालन नगरेसम्म त्यस्तो सरकारलाई जनताको सरकार भन्न सुहाउँदैन । दलले पैसा, लोभलालच, डर धम्कीले पनि बहुमत पाउँछ । त्यस्तो मत सैद्धान्तिक र वैचारिक हुनेछैन । चीनले एकैपटक प्रगति गरेको होइन । चीनको प्रगतिमा चिनियाँ सरकार, पार्टी र जनताको त्यतिकै साथ र सहयोग छ । चिनियाँ पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागू गरेकै कारण चीन विश्वकै एक शक्तिशाली देश बन्न लागेको हो ।
नेपाल सरकार समाजवादको दिशामा अघि बढ्ने फुक्छ तर बढेको छैन । समाजवादउन्मुख राज्य बनाउन पनि सरकार अघि सरेको छैन । नेकपाका नेता र मन्त्रीहरूले समाजवादी देशका नेताहरूसामु समाजवादको कुरा गर्ने र पुँजीवादी, विस्तारवादी र साम्राज्यवादी देशहरूको अगाडि पुँजीवादी विचार ओकल्ने द्वैधचरित्र बोकेका छन् । कम्युनिस्ट पार्टी या कम्युनिस्टको सरकार सिद्धान्त र विचारलाई जोड दिएर अघि बढ्नुपर्छ र कार्यान्वयन गर्न अघि सर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *