भर्खरै :

अब सफ्टवेयरको चरण

भैरव रिसाल
सुखका बेला धेरै मित्र पाइन्छन् तर दुःख, कष्ट, आपत–विपद्का बेला पाइने मित्र नै यथार्थमा सक्कली मित्र हो । मानव संवेदना यति संवेदनशील हुँदोरहेछ कतिपय वस्तु र सेवा दिइहाल्न पनि पर्दोरहेनछ । २०७२ असोजमा नेपालले समाजवादउन्मुख गणतन्त्रात्मक संविधान स्वीकारी जारी ग¥यो । यो संविधान नेपालको दोस्रो संविधानसभाले अत्यन्त ठूलो बहुमतले पारित गरेको हो । दुनियाँका संविधानसभाले यति ठूलो बहुमतले अत्यन्त कम राष्ट्रमा मात्र संविधान पारित गरेको पाइन्छ । त्यो संविधान आठ वर्षपछि बल्ल बल्ल स्वीकृत हुन लागेको पूर्वसन्ध्यामा एउटा अत्यन्त निकट परममित्र शक्तिले संविधान तत्कालै स्वीकार नगर्न, पारित नगर्न टेलिफोन र अन्य माध्यमबाट मात्र आग्रह गरेर पर्याप्त नहुने ठानी आफ्ना विदेश सचिवलाई नै पठाएर तत्काल संविधान पारित नगर्न कूटनीतिको परिधिभन्दा बाहिर गएर दबाब, तीव्र दबाब दियो । तर त्यतिबेलाका पार्टीहरू मूलतः दुई तृतीयांशभन्दा पनि बढी मत भएकाले त्यो अनुचित दबाब टेरेनन् र संविधान पारित गरेरै छोडे जसबाट लामो समयदेखिको सङ्कटकाल पनि अन्त भयो । यति ठूला ऐतिहासिक महत्वको विषयमा बादल लाग्ने त्यो दबाब टेरेन नेपालले । परिणाम अघोषित नाकाबन्दीको सजाय पायो ।
दुई मित्र फरक मित्रता
नेपालको अर्थतन्त्र र सम्पूर्ण निर्माण विकासका भगीरथ प्रयत्नहरू त्यो नाकाबन्दीबाट थला पर्ने भए । यसको अर्थ राजनीतिक र नेपालका सम्पूर्ण क्षेत्रमा खग्रास ग्रहण लागेको सङ्कटको घडीमा चीनले सघाउने भरपर्दो आश्वासन दियो । नेपाल–चीनबीच उत्तुङ्ग हिमसृङ्खलाहरूका कारण सहयोग आउन सहज हुन असहज भयो । पेट्रोलियम पदार्थजस्तो अति उज्ज्वलनशील वस्तु निर्वाधरूपमा आयात त्यति व्यावहारिक ठहरिएन । तर नेपाललाई पेट्रोलियमजस्ता अति आवश्यक वस्तु चीनले उपलब्ध गराउने छ भन्ने बोलीले पनि ठूलो भरोसा भयो । एउटा मित्रराष्ट्र अघोषित नाकाबन्दी गर्ने अर्को मित्रराष्ट्र आपतमा सघाउने आश्वासन दिने । कति फरक ! मित्रता र सहयोग–असहयोगका चित्रहरू ! पेट्रोलियम पदार्थ साङ्केतिकरूपमा मात्र प्राप्त हुनसक्यो व्यावहारिकरूपमा कठिन भयो । तर त्यो सङ्केत पनि नेपालका लागि सारै ठूलो भरोसा भयो । चीन हाम्रो त्यस्तो मित्रराष्ट्र हो जो दुःख पर्दा सघाउँछ । नाकाबन्दी त्यो पनि अघोषितरूपमा गर्ने मित्र राष्ट्रले परन्तुमा गएर लज्जाबोध ग¥यो । नेपालले नबोलिकनै यति ठूलो पाठ सिकायो त्यो मित्र राष्ट्रलाई । उनीहरू अहिले त्यो कुरा नकोट्याई देओस् भन्ने चाहन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अरू जति बैगुन भए पनि नाकाबन्दी फिर्ता नलिउञ्जेल त्यो मित्र देशको यात्रा नै गर्दिनँ भन्ने अडान लिए । त्यसपछि त्यो मित्र राष्ट्रले अघोषितरूपमै नाकाबन्दी फिर्ता ग¥यो । यो घटना धेरै पुरानो भएको छैन २०७२ को कुरो हो । त्यो नाकाबन्दीले नेपाल विकास निर्माण एवम् अग्रगमनमा एक दशक पूरै पछि प¥यो । आयोजनाहरू पनि त्यस्तै त्यस्तै पछि परे ।
मुसुक्क हाँसो उच्च उपहार
चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमण भएरै छोड्यो अन्ततोगत्वा । चीनका राष्ट्रपतिले नेपालको यात्रा नगरेको २३ वर्ष भइसकेको छ । यसपल्ट पनि झन्डै के हो के भइसकेको । तर, सम्पन्न भएरै छोड्यो । यो सी भ्रमण गराउन सफल भएकोमा प्रधानमन्त्री ओली, विदेशमन्त्री प्रदीप ज्ञवाली र सिङ्गो सरकारलाई बधाई । राष्ट्रपति सीको भ्रमण संसारकै आँखामा परेको थियो । चीन भनेपछि धेरैका आँखा ठूला हुने । अझ अमेरिकी साम्राज्यवादको त टाउको नै दुख्ने । सुरक्षाको प्रश्न त्यस्तै गम्भीर । नेपाली जनता साँच्चै विशिष्ट खालको चरित्रको छ । उता पेटभरि खान नपुग्ने मान्छे पनि सम्पन्नजस्तो देखिने किनकि ऊसँग मुस्कान छ, मन्द मुस्कान छ । नेपालीको यो विशेषता हो, सांस्कृतिक सम्पदा हो, उच्चतम सभ्यता हो । किन आउँछन् नेपालमा पर्यटक त्यति बृहद् सङ्ख्यामा । त्यही आम नेपालीको मुस्कान निःशुल्क उपहार हो । निःशुल्क मन्द मुस्कानले धेरै परदेशी मित्रहरूलाई नेपाल आउन हुटहुटी लगाउँछ । मैलो, फाटेको, टालेको लुगा लगाएको, जुत्ता नलगाएको निश्चल, निष्कपट अनुहार भएको एउटा नेपाली परपरबाट, गाउँबाट, देहातबाट आएको हुन्छ तर उसको मुख हँसिलो हुन्छ, मन्द मुस्कान नेपाली जनताको संसारलाई लठ्याउने, आकर्षण गर्ने अद्वितीय सम्पदा हो । आफू परम कष्टमा, असजिलो अवस्थामा भए पनि नयाँ मान्छे देख्नासाथ मुसुक्क मुस्कुराउँछ । सी चिनफिङलगायत चिनियाँहरूलाई यही उपहार दिएर आइतबार हार्दिक बिदा गरे ।
खोइ पाटो–बाटो अभियानको पक्षमा
हिसाब पनि कस्तो ! २४ घण्टाको एक दिन र रात बन्छ । तर राष्ट्रपति सी चिनफिङ अपराह्न पाँच बजिसकेपछि काठमाडाँै उत्रनुभयो आफ्नो भ्रमण टोलीसँगै र आइतबार साढे १३ बजेतिर स्वदेश प्रस्थान गर्नुभयो । मोटामोटी २०÷२१ घण्टा नेपाल बसे पनि गणितीय हिसाबले दुईदिने भ्रमण भनियो । शुक्रबार चीनबाट भारतको चेन्नइ पुग्नुभएका सी चिनफिङ शनिबारै नेपाल आउनुभएको हो । भारतको पनि दक्षिण पूर्वी राज्य चेन्नईमा पनि २४ घण्टा बस्नुभएन तर दुईदिने यात्रा भनियो । शुक्रबार चीन छोडेका सी आइतबार स्वदेश पनि पुगिसक्नुभयो । ६० घण्टाभित्र यो यात्रा प्राविधिक भाषामा ९६ घण्टा भयो । कसरी भारतमा दुई दिन भनियो भने नेपालमा पनि दुई दिन नै भनियो ? प्रविधि कति बलवान हुनेरहेछ । भारतको पुरानो नाम तामिलनाडु राज्य हालको चेन्नईको मामल्लापुरमको ऐतिहासिक ताजफिरसम्यान कोब रिसोर्टमा सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता भएको थियो । मोदीले यो वार्तापछि भारत र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ भने । दुवै मुलुकका सर्वोच्च नेताद्वयले मित्रता नयाँ युगमा प्रवेश गरेको छ भने पनि भारतले चीनका राष्ट्रपति सी चिनफिङको चिन्तन ‘एक पाटो एक बाटो’ अभियानप्रति मोदीको भारत तटस्थ छ । समर्थन गरेको छैन । भारत त्यो अग्रसरतामा सहभागी भए साँच्चै नेपालको कनेक्टिभीटी स्वतः विस्तार हुनेछ । परिणाममा चिनियाँ लगानी नेपाल प्रवेश गर्न अरू बाटो खुल्ने छ भन्ने लाग्छ । तर, भारतले सकारेको छैन अहिलेसम्म ।
महान मान्छे मसिनो अध्ययन
सी चिनफिङ नेपाल २० घण्टा करिबको राजकीय भ्रमणमा आउनुअघि कति धेरै अध्ययन गरेर आउनु भएको रहेछ भन्ने कुरा २४ असोजको कान्तिपुर दैनिकमा प्रकाशित ‘हिमालयपारिको मैत्री’ शीर्षक र ‘नयाँ उचाइमा पु¥याऔँ’ उपशीर्षकको लेखले सार्वजनिक गरेको छ । नेपाल र चीन सम्बन्धको व्याख्या गर्दै नेपालमा पहाड र नदीहरूले गर्दा विशिष्ट संस्कृति छ भन्दै हामी पहाडलाई अवरोधको रूपमा लिनेहरूलाई नयाँ दिशाबाट सोच्नुपर्ने बाटो देखाउनुभएको छ । पहाडलाई सीले ‘सानदार’ भन्ने विशेषणले विभूषित गर्नुभएको छ । हो त ! पहाड नभएको भए, सगरमाथा नभएको भए के नेपालको आजको शान रहन्थ्यो विश्वमा ? नदी त नदी भइहाले । सानो नेपालमा ६ हजार नदी र खोला छन् । एकछिन कल्पना गरौँ, ती नदी खोला नभएका भए नेपाल कस्तो अनुहारको हुन्थ्यो होला ? सो¥ह सय वर्षअघि चिनियाँ महान भिक्षु फा सियान र नेपाली भिक्षु बुद्ध भद्रले एकले अर्काको देश भ्रमण गरेको इतिहास खोतलेका छन् । यी दुई महान भिक्षुले संस्कृत भाषाबाट बौद्ध शास्त्रहरूले अनुवाद गरेका कुरा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचङ गम्पोसित बिहे भएको भिक्षु स्ववीथानचाडाले शाक्यमुनि जन्मस्थल लुम्बिनीको बहुमूल्य वर्णन गरेको, नेपालको अरनिकोले चीनमा श्वेत स्तुपलगायत उच्चस्तरको निर्माणकला प्रदर्शन गरेको युगौँयुगदेखिको मैत्री छ भन्नुभएको छ ।
नेताहरू सोच्नोस्
दक्षिण एसियामा चिनियाँहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल हो भन्दै सीले एउटा महत्वपूर्ण सूचना दिनुभएको छ । अब चिनियाँ पर्यटकहरूको ठूलो सङ्ख्या तान्ने काम त नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूको सीप र कौशल हो । काठमाडौँ–केरूङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनअनुसार यसको लम्बाइ ७२ किलोमिटर हुँदोरहेछ । त्यो ७२ किलोमिटर लम्बाइमध्ये ९७ प्रतिशत सुरूङमार्ग र पुलहरू हुने रे । काठमाडौँ– केरूङ रेलमार्गको खर्च तीन खर्ब रूपैयाँ पर्ने रे । अर्को योजना टोखा–छहरे सुरूङ ६ किलोमिटर लामो हुनेरहेछ । छहरेदेखि स्याफ्रुबँेसीसम्म सडक निर्माण त्यहीँ योजना हो । हाम्रा राजनीतिक नेताहरू मित्र राष्ट्रका पार्टी प्रमुख तथा सरकार प्रमुखहरूसँग भेट्दा नेपाली दूतावासका मान्छे राख्दैनन् न त राख्छन् काठमाडौँमा त्यस्ता भेट हुँदा परराष्ट्र मन्त्रालयका मान्छे नै ।
तसर्थ हाम्रा नेता अर्का राष्ट्रका प्रतिनिधिसँग के–के कुरा गर्छन् थाहा नै हुँदैन । यसले गर्दा हामी कमजोर हुन्छौँ, हाम्रो कूटनीति कमजोर हुन्छ । संसारका अरू कुनै पनि मुलुकमा यस्तो बेथिति हुँदैन । हाम्रो देशमा मन्त्री, सचिवहरू छिटोछिटो परिवर्तन हुनेगर्थे यो सरकार नबन्दासम्म । त्यसकारण पनि भद्रगोल हुने । कम्तीमा राष्ट्रपति सीले यो भ्रमणबाट एउटा कुरा त सिकौँ, अब उप्रान्त कुनै पनि औपचारिक तहको विदेशीलाई भेटी कुरा गर्दा एक्लै नभेटौँ, त्यसो हुँदा राष्ट्र सुसूचित हुनेगर्छ । यसबाट राष्ट्रको नोक्सान हुँदैन बरू कल्याण नै हुन्छ । यो नराम्रो काम होइन त ! नेताहरू सोच्नोस् ।
सातसय टन बन्दाकोपी
चीनका राष्ट्रपति सी चिनफिङको चिरप्रतिक्षित ऐतिहासिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । यो भ्रमण सफल गराइएकोमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सिङ्गो नेपाल सरकारप्रति बधाई र शुभकामना । तर अब सुरू हुन्छ सरकारको खास काम । यो हार्डवेयर काम सकियो अब प्रारम्भ हुन्छ सफ्टवेयर कामहरू जो त्यति सजिला हुँदैनन् । तसर्थ मानसिकता पनि सफ्टवेयर नै बनाउनेतर्फ तयार हुनुपर्छ । राष्ट्रपति सीले रेल आउँछ भनेकोले पक्कै आउँछ । यसमा नेपालीहरू ढुक्क भए हुन्छ । तर, कहिले आउँछ त्यो किटान गर्न भने सहज छैन । केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माण एवम् सुचारू सञ्चालन नहुँदासम्म अरू जति नै गरे पनि नेपाल भूजडित हुनसक्दैन, भूपरिवेष्ठित नै रहन्छ । यो कटु यथार्थ राष्ट्रपति सीले सूक्ष्मरूपमा नबुझ्नुभएको छैन । रेलमार्ग खुल्नु पूर्वपक्ष हो भने ती रेलका डब्बा यात्रुहरू र वस्तुहरूले भरिभराउ भएर चल्नु उत्तरपक्ष हो । यो वस्तुतथ्य सबैले नबुझे पनि नेताहरूले बुझेका हुन्छन् । एउटा सत्य कुरा के हो भने नेपाल समृद्ध हुन र नेपाली सुखी हुन नेपालीले नै पसिना बगाउनु जरूरी छ । केही दशकअघि चीनले दिनको सात सय तन बन्दाकोपीको माग गरेको थियो रे नेपालसँग । साथै ड्रागन फुट्स पनि मागेको थियो रे । तर, नेपाल तयार भएन । अब रेलमार्ग नै तयार भएपछि सात सय टन होइन सात हजार टन बन्दाकोपीको अपेक्षा हुनसक्छ नेपालसँग । नेपाल अब त्यस दिशातर्फ पनि सक्रिय हुनु जरूरी छ । के पठाउने रेलबाट यता ध्यान दिन समय छ ? सरकारसँग ।
लिम्पियाधुरा–लिपुलेक के भो ?
राष्ट्रपति सी चिनफिङ नेपाल आउनुअघि भारतको चेन्नईको ममल्लापुरम जानु भई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटी कुरा गर्नुभएको थियो । त्यहाँ सीले मोदीसँग नेपाल आउने कुरा पनि गर्नु भो रे । उहाँले मोदीलाई भन्नुभो रे नेपाल हामी दुई ठूला देशको छिमेकमा छ । नेपाल हाम्रो असली छिमेकी पनि हो । नेपालको समृद्धि र विकासमा हामी दुवैले सहयोग गर्नुपर्छ । त्यसोभन्दा मोदीले सीलाई के भने त्यो बाहिर आएन । तर सीको नेपाललाई सल्लाह छ, तपार्इँहरूले चाइना–इन्डिया प्लस नेपालको अवधारणाबाट फाइदा लिनोस् । सीको मूल्याङ्कन छ, चीन–भारतबीच भइरहेको अनौपचारिक कुराकानीले दुई देशलाई सकारात्मक परिणाम दिइरहेको छ यो राम्रो, अत्यन्त राम्रो हो । छिमेकी दुई मित्र राष्ट्रबीचको मित्रता हाम्रा लागि उत्तिकै महत्वपूर्ण हो । तर चीन त्यति विशाल भएर पनि हङकङ र फार्मोसाप्रति कति गम्भीर र संवेदनशील छ । त्यस्तै हाम्रो नेपाल सानो छ । त्यही सानो नेपालको पनि भूभाग लिम्पियाधुराभित्रको कालापानी क्षेत्र भारतले सशस्त्र व्यारेक राख्ने ठाउँ भएको छ भने लिपुलेकमा त चीनसमेत गाँसिएको छ । त्यसबारे त्यहाँ कुरा उठ्यो उठेन थाहा भएन । नेपाली पक्षले राष्ट्रपति सीसँगको मैत्रीपूर्ण वार्तामा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे कुरा उठाउनुपर्ने हो । उठ्यो उठेन थाहा भएन । समग्रमा सीप्रति हार्दिक कृतज्ञता नेपाल आएकोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *