भर्खरै :

बजार अनुगमन–ठूलालाई चैन, सानालाई ऐन

– एल. पोखरेल
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र यहाँको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारमा दसैँको पूर्वसन्ध्यामा अनुगमन सुरु भए पनि नियमित अनुगमन नहुँदा दसैँ तिहारजस्ता ठूला चाडपर्वमा उपभोक्ता गुणस्तरहीन उपभोग्य वस्तुको चर्को मूल्य तिर्न बाध्य छन् । नियमित बजारको अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्य असुलिरहेको उपभोक्ताको गुनासो छ ।
बजारको अनुगमन नियमित नहुँदा बजार मूल्यमा पनि एकरूपता छैन । गुणस्तरहीन उपभोग्य वस्तु, उपभोग्य अवधि सकिएका र अखाद्य वस्तुको बिक्री वितरण छ्याप्छ्याप्ती भइरहेका छन् । तर, बजार अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्नेतर्फ धनगढी उपमहानगरपालिका उदासीन बन्दै आएको छ ।
दसँैको पूर्वसन्ध्यामा अनुगमन सुरु गरेको धनगढी उपमहानगरपालिकाको टोलीले अनुगमनको क्रममा धनगढी बसपार्कमा चुक भनेर बिक्री गरिरहेको एसिड बरामद गरेको थियो । मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने मललगायत रसायनिक पदार्थ मिसाएर बनाइएको एसिड बिक्रीमा संलग्न होटेल मालिक फरार रहेको अनुगमन टोलीले बताउँदै आएको छ । त्यस्तै बजारमा बिक्रीको लागि राखिएको सडेको मासु पनि टोलीले बरामद गरेको थियो ।
धनगढीको वसन्त टोलका एक मासु व्यवसायी नाम उल्लेख नगर्ने सर्तमा भन्नुहुन्छ, “धनगढीमा अधिकांश मासु पसलमा सडेको मासु बिक्री हुन्छ र ग्राहकलाई झुक्याएर मासु बिक्री हुने गरेको छ ।”
अनुगमनको बेला पसलैपिच्छे अखाद्य वस्तु फेला पर्छ । यसले पनि बजारमा छ्याप्छ्याप्तीरूपमा अखाद्य वस्तु बिक्री भइरहेको छ भन्ने देखिन्छ । सोही पसलमा ब्रोइलर कुखुराको मासु किन्न आउनुभएका मैनादेवीका स्थानीय उपभोक्ता आफ्नो अनुभव सुनाउँदै यस्तो भन्नुहुन्छ, “मासु पसलेले बताएजस्तै चुक भनेर एसिड बिक्री गरिरहेका व्यापारी भागिरहेका छन् । धनगढी उपमहानगरपालिकाको अनुगमन टोलीले उक्त व्यापारीलाई प्रहरीको सहयोगमा पक्राउ गर्ने पहल गरेन न त उनीविरुद्ध मुद्दा चलाएको छ ।” यसले गर्दा चाडबाडको बेलामात्र गरिने बजार अनुगमन देखाउनका लागि भएको छ । न ठूला व्यापारिक फर्ममा अनुगमन टोली पुग्छ न पुगेका ठाउँमा गलत भेटिए कारबाही गरेको देखिन्छ । अनुगमन नियमित हँुदैन, भइहाले पनि गलत गर्ने व्यापारीलाई कारबाही हुँदैन, बरु जोगाइन्छ विभिन्न बहानामा ।
स्थानीय सरकार सञ्चालन कानुनमा स्थानीय तहलाई स्थानीय व्यवस्थापन, आफ्नो क्षेत्रभित्र वस्तु तथा सेवा बजार अनुगमन र उपभोक्ता सचेतना अभिवृद्धि गर्ने अधिकार दिइएको छ । तर, धनगढी उपमहानगरपालिकाका उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूलो व्यवसायीलाई छाडेर स–साना व्यवसायीलाई मात्र अनुगमन केन्द्रित गरेको उपभोक्ताको गुनासो बढ्दो छ ।
यसरी बजार अनुगमनजस्ता जनसरोकारवाला विषयमा ध्यान दिन
नसकेका जनप्रतिनिधिले एनजीओ, आईएनजीओको कार्यक्रममै दिन बिताउने र चुनावको बेला जनतासँग गरेको वाचा पूरा नगरी जनप्रतिनिधि झूटा साबित भएको महसुस सर्वसाधारण जनता गर्दै छन् । उपमहानगरपालिकाले बजार अनुगमनलाई परम्परागत शैलीमा खुद्रा पसलमा केन्द्रित हुँदा अनुगमन नियमित र प्रभावकारी हुन नसकेको उपभोक्ताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *