भर्खरै :

जिल्ला–जिल्लामा सातौँ महाधिवेशनको सन्देश कार्यक्रम

कालीकोट, २८ असोज । नेमकिपाको सातौँ महाधिवेशनको सन्देश जनताको घर आँगनमा पु¥याउन नेपाल मजदुर किसान पार्टी कालीकोटको आयोजनामा तीनदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विद्यार्थी, युवा तथा पार्टी कार्यकर्ताहरू सहभागी भएको उक्त प्रशिक्षण कार्यक्रम असोज २८, २९ र ३० गतेसम्म सञ्चालन हुनेछ । प्रशिक्षण कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले उद्घाटन गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य काफ्लेले कार्यकर्ताहरू पार्टीको राजनीतिक विचार, व्यवहार र समसामयिक राजनीतिक अवस्थाको बारेमा जानकार हुनुपर्ने बताउनुभयो । नेमकिपा समाजवादका लागि कटिबद्ध कम्युनिस्ट पार्टी भएको स्पष्ट पार्दै उहाँले नेमकिपाका नेता कार्यकर्ताहरूको पहिचान आदर्श, इमानदारीता र जनताको सेवामा केन्द्रित हुने भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपाको विचार र सिद्धान्तप्रति नेपाली जनताको झुकाव भएकोले गाउँ गाउँ र बस्ती बस्ती पुगेर जनतालाई सङ्गठित गर्ने बेला आएको बताउनुभयो । कर्णालीमा कम्युनिस्ट राजनीतिको बीउ रोप्ने पहिलो पार्टी नेमकिपा भएकोले जनतालाई सङ्गठित बनाउँदै सङ्गठन पुनः जागरण गर्नुपर्ने उहाँको भनाइ छ ।
पार्टीको १० औँ कालीकोट जिल्ला सम्मेलन तयारी समितिका संयोजक नवराज कोइरालाले नेमकिपाले कामदार जनताको हितमा सङ्घर्षरत भएको बताउनुभयो । ठूला पार्टीहरूको अराजनीतिक व्यवहारका कारण नेपाली जनताले कष्ट बेहोर्न बाध्य हुनुपरेकाले नेमकिपा जनतामाझ पुग्न आवश्यक रहेको उहाँको विचार छ ।
तीनदिने प्रशिक्षण कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदिप शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ, कालीकोट जिल्ला समितिका पदाधिकारी तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
पर्सा
पर्सा जिल्लाको मधुवनमा मङ्गलबार नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन सन्देश कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले तराईका कामदार जनता शैक्षिकरूपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले महाधिवेशनमा तराईका विभिन्न जिल्लाका साथीहरूले देखाउनुभएको सहभागिताले सबैलाई उत्साहित बनाएको र नेमकिपा मजदुर र किसानहरूको पार्टी रहेको उल्लेख गर्नुभयो । उहाँले गरिबहरू पनि जनपक्षीय राजनीतिमा लाग्नुपर्नेमा जोड दिँदै नेमकिपा सदैव तराईलाई जोगाउन सतर्क भएको र तराईका किसानहरूलाई सङ्गठित हुन आग्रह गर्नुभयो ।
अर्का सांसद सृजना सैँजूले नेमकिपाको सातौँ महाधिवेशनले मजदुरको पक्षमा आवाज उठाएको उल्लेख गर्दै जनताको घरमा सरकार नपुगेको बताउनुभयो । उहाँले देश र जनताको स्वार्थबाहेक अन्य स्वार्थ नभएको चर्चा गर्दै नेमकिपा समाजवादको निम्ति सङ्घर्षरत रहेको बताउनुभयो । उहाँले पुँजीवादी समाजमा महिलाहरू सबैभन्दा धेरै पीडित हुने कुरा उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले नेमकिपाको सातौँ महाधिवेशनले तराईका मजदुर–किसानबीच उत्साह थपेको चर्चा गर्नुभयो ।
कार्यक्रममा स्थानीय कार्यकर्ता हाकिम अन्सारी, ब्रह्मदेव चौधरीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *