भर्खरै :

सक्वको म राजदास – ७

ई. राजदास श्रेष्ठ
महाकवि गिरिजाजस्ता एक शिक्षक, एक साहित्यकारलाई ज्यानमाराको आरोपमा समातेर जेल चलान गरी अमानवीय तरिकाले यातना दिइएको कुरा सुन्दा ममा पञ्चायत व्यवस्थाप्रति घृणा पैदा भयो  । देशमा बढ्दै गएको कम्युनिस्ट खेमाप्रति श्रद्धा जाग्दै गयो । नेपालभाषा आन्दोलनका सभा सम्मेलनहरूमा जाने इच्छा झन् झन् प्रबल हुँदै गयो । नेपालभाषा साहित्य समाजमा पनि वामपन्थी विचारधाराका साहित्य सर्जकहरूप्रति म मोहित हुँदै गएँ । जनकवि दुर्गालाल श्रेष्ठ यस्ता साहित्य सम्मेलनहरूमा धेरै ठाउँमा प्रस्तुत हुनुहुन्थ्यो । उहाँ विचारमा मात्र क्रान्तिकारी होइन उहाँको बोल्ने शैली र आवाज पनि कडा र सशक्त थियो । उहाँ आफ्ना विचार व्यक्त गर्दा चर्को स्वरमा गर्जनुहुन्थ्यो, आफ्ना क्रान्तिकारी कविता र गीतहरू सुनाउँदा । उहाँ एक लोकप्रिय कवि, गायक बनेर धेरै गीत लेख्नुहुन्थ्यो र सुनाउनुहुथ्यो जहिले जहाँ पनि । कसैले गीत, कविता माग्न गयो भने तत्काल लेखिदिनुहुन्थ्यो । उहाँ मायाप्रीतिका गीतहरू लेख्नुहुन्थ्यो, धेरै रमाइलो र सुनूँ–सुनूँ लाग्ने खालको । उहाँका मीठा मीठा हँसिला रमाइला गीतहरू गाउनुहुन्थ्यो, प्रायः लोकप्रिय भजन गायक भृगुराम श्रेष्ठ । ‘गोल्डेन भ्वाइस’ ले चिनिनु हुने मीठो स्वरका धनी प्रेमध्वजको आवाजमा पनि गुञ्जिन्थ्यो माया र प्रेमले भरिएका दुर्गालालका गीतहरू । बालबालिकाको लागि पनि लेख्नुहुन्थ्यो धेरै बालसुलभ गीतहरू कवि दुर्गालाल श्रेष्ठले । ‘चिनियाम्ह किसिचा’ बालगीतहरूले भरिएको उहाँको सानो पुस्तक अति लोकप्रिय भएको थियो त्यसबेला काठमाडौँमा ।
‘चिनियाम्ह किसिचा’ अति लोकप्रिय बालपुस्तकको पहिलो प्रकाशन ५५ वर्षअगाडि नेपाल संवत् १०८५ मा भएको थियो– म्हपूजाको दिन । दोस्रो संस्करण प्रकाशित भएको थियो त्यही साल ५००० प्रति सिपुन्हीको दिन । यति छिटो र यति धेरैप्रति प्रकाशन भएको नेपालभाषामा पुस्तक सायद ‘चिनियाम्ह किसिचा’ होलाजस्तो लाग्छ । जनकवि दुर्गालाल श्रेष्ठको ‘चिनियाम्ह किसिचा’ मा ५५ वटा बालसुलभ अति राम्रा–राम्रा साना–साना गीतहरू छन् । जसमध्ये अति मन छुनेमात्र होइन पढ्दा पढ्दै गहभरि आँसु भर्ने ‘मायाचा’ भन्ने गीत पनि समावेश छ । ‘मायाचा’ भन्ने एक सानी नानी हाम्रो साँखुको तिनां ख्यः मा बस्थिन् । आफ्ना दुवै आँखा नदेख्ने एक्लो बुबासँग र दिनभरि बुबालाई लट्ठी टेकाएर काठमाडौँ सहर आई घर–घर र चोक–चोकमा गई उनी
‘गरिबया मदु सुँ हे
जाकी निगः फ्वने बज्ये ङ्ग
छित अति धर्मलाई न्हा” भन्दै मार्मिक गीत गाउँदै भीख मागेर जीवन गुजार्थिन् र काठमाडौँबाट घर फर्किँदै गर्दा बाटामा आफ्नै उमेरका केटा–केटीहरू स्कूल जाँदै फर्कँदै गरेको देख्दा घरमा पुगेर बुबालाई खाना ख्वाइसकेपछि भन्थिन् ः
“यबा ! यबा ! जि नं अथे
आख ब्वने दुसा थथे
दुःख सिये माली मखुला”
एकातिर आँखा बिझाउने, मन दुख्ने यस्ता कारुणिक गीतहरू लेख्नुहुन्थ्यो भने अर्कोतिर कसरी मर्छ मेरो माओ …!!!” भनेर गर्जनुहुन्थ्यो, चीनका महान नेता माओ त्सेतु!को देहावसान भएको भोलिपल्ट ।
आजकल लेख्नुहुन्छ कवि दुर्गालाल ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ । विश्वव्यापी हुँदै छ यो सुन्दर गीत गायिका आनी छिरि! डोल्माको सुमधुर स्वरमा ।
नेपालभाषा आन्दोलनको सिलसिलामा नै हो मैले देखे सुनेको कवि दुर्गालाल श्रेष्ठलाई । एकदिन मैले उहाँलाई मेरो आफ्नै घर कोटेश्वरमा स्वागत गर्न सुअवसर पाएको थिएँ ४० वर्षअघि । त्यो दिन नव निर्वाचित ‘मंका खलः’ का सदस्यहरूको सम्मानमा पाटनको एक भव्य सभा हलमा स्वागत समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा मंका खलःका सचिव मल्ल के सुन्दरको साथमा कवि दुर्गालाल पनि हुनुहुन्थ्यो । मंका खलः का अध्यक्ष स्व. पद्मरत्न तुलाधार हुनुहुन्थ्यो या हुनुहुन्थेन याद भएन । उहाँले घरमा मलाई दर्जनौँ आफ्ना छोटा मीठा कविताहरू सुनाउनुभयो । उहाँ जत्ति माओ त्सेतु!बाट प्रभावित हुनुहुन्थ्यो उत्तिकै सोभियत सङ्घका प्रवर्तक महान क्रान्तिकारी नेता भ्लादिमीर लेनिनबाट पनि प्रभावित हुनुहुन्थ्यो । रुसका एक प्रख्यात कवि मायोकोभ्स्कीले लेनिनको मृत्युलगत्तै लेख्नुभएको ‘लेनिन’ नामक कविता नेपालभाषामा अनुवाद गर्ने इच्छा भएको कुरा सुनाउनुभयो । उहाँको यो काममा सघाइदिन मलाई भन्नुभयो । मैले उहाँको सदीक्षालाई सहर्ष स्वीकार गरेँ र भनेँ मायाकोभ्स्कीको उक्त कविता ‘लेनिन’ मैले पनि पढेको छु र धेरै मार्मिक र सशक्त छ । सोभियत सङ्घमा धेरै मनपराइएको थियो यो कविता । ‘लेनिन’ नामक मायाकोभ्स्कीको कविता ननिस्कुञ्जेल सोभियत सङ्घमा सरकारी संयन्त्र तथा ‘रुसी सर्वहारा लेखक सङ्घ’ ले मायाकोभ्स्कीको निकै खेदो खन्थे । मायाकोभ्स्की स्वयं सुरु सुरुमा महान् अक्टोबर क्रान्ति हुन अगाडि कम्युनिस्ट समर्थक थिए । रुसी गृहयुद्धको समयमा कम्युनिस्ट पार्टीको समर्थनमा कविताहरू लेख्थे, नाटकहरू लेख्थे, नाटकहरू मञ्चन गर्थे ठाउँ–ठाउँ र गाउँ–गाउँमा गएर । कविताहरू वाचन गर्थे, कम्युनिस्ट सत्ताको प्राप्तिको लागि वकालत गर्थे र लेनिनको प्रशंसा गर्दै हिँड्थे ।
तर, सन् १९१७ को महान् अक्टोबर क्रान्तिको सफलतापछि प्राप्त सोभियत सत्ताप्रति मायाकोभ्स्कीको धारणा स्पष्ट भएन कहिले पनि । धुलमुल विचार बोक्दै सोभियत सिस्टमको बारेमा आफूलाई चित्त नबुझेका कुराहरूलाई लिएर आलोचनात्मक र व्यङ्ग्यात्मक टीका टिप्पणी गर्दै कविताहरू लेख्न थाले । यही आलोचना र व्यङ्ग्यवाणको लागि उनी सोभियत सरकार र सोभियत सरकार समर्थक साहित्यकारहरूको आँखामा कसिङ्गर हुन पुगे । अन्तमा सोभियत रुसको एक महान कवि भ्लादिमीर मायाकोभ्स्कीले ३६ वर्षको उमेरमा सन् १९३० मा आत्महत्या गरी आफ्नो जीवन समाप्त पारे, आफैले आफ्नो छात्तीमा गोली हानी ।
मायाकोभ्स्कीको मृत्युपश्चात् सोभियत प्रधानमन्त्री (नेता) जोशेफ स्तालिनले मायाकोभ्स्कीको बारेमा बोल्दै भने, “सोभियत युगमा मायाकोभ्स्की सबभन्दा राम्रो र जेहेनदार कवि हुन् ।” सन् १९२३–२४ का वर्षहरूमा मायाकोभ्स्कीले लेनिनको मृत्युपश्चात् आफ्नो विश्व चर्चित काव्य लेख्नुभयो, ‘भ्लादिमीर इलिच लेनिन’ ।
‘जन्म मरण सत्य हो
कालको कुनै औषधि छैन
संसारमा लेनिनजस्तो
जीवित अरु कोही छैन ’ भन्ने भावनाबाट सुरु भएको उक्त काव्यिकरूपमा लेखिएको कविता सर्वप्रथम १९२४ को अक्टोबर महिनामा सोभियत पत्रपत्रिकामा छ्यासछ्यास्ती निस्कन थाल्यो र पछि १९२५ फेब्रअरी महिनामा लेनिनग्राडको सरकारी सञ्चारमाध्यमबाट छुट्टै प्रकाशन भयो । यस कविताले सोभियत सङ्घमा मात्र होइन विश्वभरि प्रख्याती कमायो ।
यही सोभियत रुसी कवि मायाकोभ्स्कीको ‘भ्लादिमीर इलिच लेनिन’ काव्य नेपालभाषामा अनुवाद गरी निकाल्ने इच्छा प्रकट गर्नुभएको थियो जनकवि दुर्गालाल श्रेष्ठले । तर के कति कारणले हो सो काम भएन र आजसम्म भएको छैन ।
रेडियो नेपालबाट साप्ताहिकरूपमा प्रसारित भइरहेको नेपालभाषाको १५ मिनेटको ‘जीवन दबु’ कार्यक्रम र नेपालभाषाबाट प्रसारण हुने दैनिक समाचार हटाइएपछि सुरु भएको भाषा आन्दोलन धेरै वर्ष टिक्न सकेन । नेपालभाषा साहित्यप्रेमीहरूकै बीचमा प्रजातान्त्रिक र प्रगतिशील शक्तिको दुई खेमामा विभाजित जनमानसले गर्दा नै हो कि बिस्तारै बिस्तारै आन्दोलन सेलाउँदै गयो । तर उक्त आन्दोलनबाट उब्जेको नेपालभाषा र साहित्यप्रतिको माया, मोह र नेपालभाषाप्रति आस्था राख्नेको सङ्ख्या ह्वात्तै बढेको देखियो नेपालको राजनीतिक तथा साहित्यिक जगतमा ।
सबभन्दा आक्रामकरूपमा प्रस्तुत हुनुभएको थियो । जनकवि दुर्गालाल श्रेष्ठ । उहाँले धेरै कविताहरू पठन पाठनमात्र गर्नुभएन निकै क्रान्तिकारी भावना बोकेका राजतन्त्र र स्वयं राजा महेन्द्रलाई नै अङ्कित गरी पञ्चायत शासनको विरोधमा पुस्तकहरू प्रकाशन गर्नुभयो । राजा महेन्द्रलाई प्रत्यक्ष प्रहार गरी लेखिएको एउटा पुस्तक सरकारले जफत गरेको थियो । नेपालभाषाका एक अर्को महान साहित्यकार एवं समाजसेवी हितकरवीर सिंह कंसाकारलाई कवि दुर्गालालको पुस्तक प्रकाशनलाई लिएर जेलचलान गरिएको थियो । दुर्गालालजी भूमिगत भएकोले समातिनुभएन ।
साहित्यकार र प्राध्यापक हितकरवीर सिंह कंसाकार हिरासतबाट मुक्त भएपछि उहाँकै रोहवरमा राजा र राजतन्त्रअन्तर्गतको पञ्चायती व्यवस्थाविरोधी पुस्तकबाट राजा महेन्द्रलाई लक्षित गरिएका शब्दहरूले भरिएको पाना हटाएरमात्र पुस्तक फिर्ता गरिएको थियो । फलतः जनताको नजरबाट पञ्चायती व्यवस्था र पञ्चायती राजकाज पतन भयो । २०३६ मा साँखुमा घटेको हत्याकाण्ड र भक्तपुरमा घटेको ‘ह्योजु काण्ड’ पञ्चायत सरकारले रचेको षड्यन्त्र थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *