भर्खरै :

ब्राजिलमा एउटा राजनीतिक षड्यन्त्रको पटाक्षेप

दक्षिण अमेरिका महादेशकै सबैभन्दा ठूलो तथा फूटबललगायत खेलकुदको संसारमा बलियो प्रतिस्पर्धी रहेको देश सधैँ चर्चामा रहँदै आएको छ । तर पछिल्लो केही वर्षदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्राजिल अर्को कारणले पनि छाइरहेको छ, त्यो घटना हो ब्राजिलका पूर्वराष्ट्रपति एवं त्यस देशका सर्वाधिक लोकप्रिय वरिष्ठ राजनीतिज्ञ लुइज इनासियो लुला दा सिल्भामाथि लगाइएको आर्थिक अपचलन र भ्रष्टाचारको मुद्दा । सार्वजनिक पदमा बसिसकेका कुनै राजनीतिज्ञमाथि भ्रष्टाचारको मुद्दा हुनै नसक्ने घटना नभए पनि कसैमाथि आरोप र अभियोग लगाउनुभन्दा अगाडि ठोस सबुदप्रमाण जुटाउनु जरुरी हुन्छ । विश्वभर नै लागू हुने अनुसन्धान प्रक्रियाको एक भागलाई ब्राजिलका केही न्यायाधिवक्ता र न्यायाधीशहरूले बिर्सने र बिर्साउने चेष्टा गरे । जुन अन्ततः गलत सावित भयो । लुलाले गर्नुभएको भ्रष्टाचारविरुद्ध कुनै ठोस प्रमाण अभियोग पक्षले पेश गर्न नसकेपछि सर्वोच्च अदालतको पूर्ण बेञ्चको बहुमतले लुलालाई ५८० दिनको कैदपछि रिहा गर्ने आदेश दियो । यो त लुलाको गिरफ्तारी, कैद र रिहाइको सङ्क्षिप्त तथ्य भयो ।
विश्वका विभिन्न पुँजीवादी देशमा जस्तै ठूलो स्रोतसाधन भएको र उदयीमान आर्थिक शक्तिको रूपमा रहेको देश ब्राजिलमा पनि भ्रष्टाचार थियो । लुला ब्राजिलको राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा अगाडि त्यहाँ नवउदारवादी सरकार थियो, समाजको हरेक क्षेत्रमा अराजकता थियो, गरिबी र अशिक्षा थियो, बहुमत जनताको माझमा रोग, भोक र शोक थियो । यस्तैमा सन् २००२ को अक्टोबर महिनामा भएको राष्ट्रपतीय निर्वाचनमा ब्राजिल मजदुर पार्टीका नेता लुइज इनासियो लुला दा सिल्भा अत्यधिक बहुमतले निर्वाचित भए । लुलाले राष्ट्रपतिको कार्यकाल सम्हालेदेखि नै ब्राजिलमा भ्रष्टाचार निवारण गर्न र सुशासन कायम गर्न आवश्यक कानुन तथा कानुनी संयन्त्र निर्माणका कामहरू भए । राज्यकोषको दुरुपयोग रोकेर गरिब जनताको शिक्षा, स्वास्थ्य र आर्थिक उन्नतिका लागि लगानी बढाइयो । लुलाको ८ वर्षे शासनकालमै ब्राजिल विश्वको दसमध्ये एक आर्थिक शक्ति राष्ट्रको रूपमा उदायो । लुलाका उत्तराधिकारी डिल्मा रुसेफको शासनकालमा पनि लुलाकै प्रगतिशील नीति लागू रह्यो । तर त्यहाँका सरकारविरोधी कुलीन र धनी वर्गले एकातिर त्यहाँका सरकारी कर्मचारीहरूलाई घुसखोर र भ्रष्ट बनाउने र अर्कोतिर त्यसको दोष वामपन्थी सरकारमाथि लगाउने पाखण्डी चाल चाले । उनीहरूले बढ्दो भ्रष्टाचारविरुद्धको अभियान भनेर त्यहाँका केही सरकारी वकिलहरू र न्यायधीशहरूलाई मिलाएर अपरेसन लाभाजाटो (अपरेसन कारवाश) अगाडि बढाए । भ्रष्टाचारविरुद्धको छानबिनलाई राष्ट्रपति डिल्मा रुसेफको सरकारले पनि खुलेरै सहयोग गरेको थियो । तर पछि त्यस अभियानलाई त्यहाँको वामपन्थी राजनीतिज्ञहरूविरुद्ध लक्षित गरियो । भ्रष्टाचारका अभियोग लागेका केही व्यापारीहरूले पोलेकै आधारमा विनाप्रमाण दक्षिणपन्थीहरूको बहुमत रहेको संसदले सन् २०१६ को मध्यमा राष्ट्रपति रुसेफमाथि महाभियोग लगायो ।
सन् २०१८ मा लुला पुनः राष्ट्रपति उम्मेदवार बन्ने चर्चा थियो । लुलाको उम्मेदवारी परेमा दक्षिपन्थीहरूले ठूलो षडयन्त्रमार्फत पुनः प्राप्त गरेको सत्ता गुम्ने हुन्थ्यो । त्यसैले त्यहाँका दक्षिपन्थी राजनीतिक नेताहरू, कानुन व्यवसायीहरू, कर छली गरिबसेका व्यापारीहरू र सञ्चारमाध्यमहरू मिलेर लुलाले पदमा रहँदा घूस लिएको, मुद्रा अपचलन गरेकोजस्ता आरोप र अभियोग लगाए । ठोस प्रमाणविनै लगाइएको अभियोगको क्रममा नै लुला भागेर विदेश जानसक्ने भएकोले अग्रीम पक्राउ र कैद सजायको माग गरे । अभियोगकर्ताको माग दाबीबमोजिम लुलालाई पक्राउ गरी कैदमा राखियो । लुलालाई २०१८ मा भएको निर्वाचनमा उम्मेदवारी दिनसमेत रोक लगाइयो । कैद गरेको दुई वर्ष पुग्न लाग्दा लुलाले गरेको अपराधको कुनै प्रमाण पेश गर्न अभियोगकर्ताहरू सफल भएनन् । नेता लुलालाई पक्राउ र अग्रीम कैदको सजाय सुनाउने न्यायाधीश सर्जियो मोरो अहिले दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोको सरकारमा न्यायमन्त्री बनेर बसेका छन् । अन्ततः अभियोग प्रमाणित नभएकोले अग्रिम कैदमा राख्न नमिल्ने फैसला सर्वोच्च अदालतको पूर्ण बेन्चको बहुमतले ग¥यो र लुलालाई रिहा ग¥यो । ब्राजिलका सर्वाधिक लोकप्रिय नेता लुलालाई निर्वाचन लड्न र पुनः राष्ट्रपति बन्न नदिन गरेको एउटा षड्यन्त्रको पटाक्षेप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *