भर्खरै :

दुर्घटना न्यूनीकरण उपाय किन लागू हुँदैनन् ?

पहाडी देशको रूपमा चिनिएको देश सडक दुर्घटनाको देशको रूपमा पनि चिनिन थालेको छ । दिन बिराएर सडक दुर्घटनाका समाचार आइरहेका छन् । सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटना बिर्सन नपाउँदै अर्घाखाँचीको सन्धिखर्कमा १९ जना ठहरै हुने गरी अर्को सडक दुर्घटना भयो । शनिबार राति सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरस्थित पूर्वपश्चिम राजमार्गमा मालवाहक ट्रकसित ठोकिएर भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एकजनाको शव लिएर जाँदै गरेको एम्बुलेन्स मालबाहक ट्रकसित जुधेर दुर्घटनामा परेको बताइएको छ । त्यसबाहेक हरेक दिनजसो मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक वा दुई जनाको घटनास्थलमै मृत्यु भएका समाचार आइरहेका छन् । ती समाचारमाथि विचार गर्दा नेपालीहरूलाई सडक दुर्घटना र प्राकृतिक विपत्तिमा परी मृत्युवरण गर्नेबाहेक प्राकृतिक मृत्युको अधिकारै नभएको प्रतीत हुन्छ । जब लगातार सडक दुर्घटनाका समाचार आउँछन्, तब सडक दुर्घटना न्यूनीकरणका उपायबारे चर्चा परिचर्चा हुने तर पछि कुनै उपाय लागू नहुने र अवस्था जस्ताको तस्तै रहने हाम्रो देशको पुरानै रोग हो ।
दुर्घटना न्यूनीकरणको छलफल गर्दा सर्वप्रथम अगाडि आउने विषय सडक अनुशासन र गति सीमित गर्नुपर्ने कुरा उठ्छ । युवा उमेरका चालकहरूले अरु कुरा विचारै नगरी छिटो गन्तव्यमा पुग्ने हतारमा तीव्रगतिमा सवारी हाँकेको पाउँछौँ । भाडाका बस र ट्रकहरू चल्ने सडकमा त झन् एकले अर्कोलाई ओभरटेक गर्ने प्रतिस्पर्धा नै हुन्छ । राजमार्गहरूमा सवारी साधनको गति कति हुनुपर्छ भनी कतै कतै उल्लेख गरिएको पाउँछौँ तर तीव्रगतिमा सवारी हाँक्नेमाथि कारबाही भएको खासै पाउँदैनौँ । केही राजमार्गहरूमा मात्र टाइम कार्ड प्रयोग भएका छन् । ती पनि समय–समयमा वास्ता नगरिने गरिएको पाइएको छ । पूर्वपश्चिम राजमार्गलगायत अधिकांश राजमार्गमा दुई लेन छुट्याउने कलर लाइन नै छैन वा कतिपयमा भए पनि खुइलिएका छन्, समय–समयमा सुधार गरिएको देखिंदैन ।
अर्को विषय हो भारवहन क्षमताभन्दा बढी यात्रु र मालसामानको भार बोक्ने प्रवृत्ति । दुई चार सय वा दुईचार हजार रुपैयाँ बढी भाडा उठ्ने लोभमा सवारी धनी वा चालकले बढी भार बोक्दा पनि अफ्ठ्यारो स्थानमा पुगेपछि सवारी दुर्घटना भएका धेरै उदाहरण छन् । आफ्नो सवारीको क्षमता र अवस्थाबारे सबैभन्दा बढी विचार पु¥याउने जिम्मेवारी चालक र सवारी धनीको हो । लोभका कारण बढी भार र यात्रु बोक्न खोजेका वा बोकेका सवारी साधनलाई नियन्त्रण गर्ने जिम्मेवारी ट्राफिक प्रहरी र प्रशासनको पनि हो । यात्रु स्वयम् पनि सचेत हुनुपर्छ । यात्रा गर्न हतार नै भए पनि बढी भार बोकेका सवारी साधन सानो या ठूलो दुर्घटनामा पर्नसक्ने हुनाले बढी भार हुने गरी चढ्नुहुँदैन । सवारी दुर्घटनाको अर्को कारण सडकको दुरवस्था र अवैज्ञानिक संरचना पनि हुन् । सडकको मर्मतसम्भार समयमै गरिएमा र अवैज्ञानिक संरचना बदलेमा धेरै सम्भावित दुर्घटना टार्न सकिन्छ । दुर्घटनाको समयमा दुःखी हुने, समवेदना प्रकट गर्ने र केही रकम राहत बाँडेरमात्र राज्य र सरकारको दायित्व पूरा हुँदैन, सरकारले अविलम्ब र हर समय दुर्घटना न्यूनीकरणको उपाय लागू गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *