कला : जीवन–दर्शन र यथार्थ – ५
- आश्विन ११, २०८२
भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिका, पुरातत्व विभाग, ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गको आयोजनामा भक्तपुरको राष्ट्रिय कला सङ्ग्राहलय (सिंहध्वाका दरवार) को पुनः निर्माणबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, सम्पदाविद्, स्ट्रक्चर इन्जिनियर, आर्किटेक्टलगायतका विज्ञहरूबीच भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले पुराना संरचनालाई जनताको चाहना र इच्छाअनुसार पुनःनिर्माण गरी पहिचानलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले युरोपेली मुलुकको उपनिवेश रहेको मुलुकहरूमा युरोपेली शैलीमा नै पुनःनिर्माण र संरक्षण गरिएको र पहिलेदेखि आफ्नै कला र संस्कृतिको विकास भएको मुलुकहरूमा आफ्नै शैलीमा पुनःनिर्माण गरेको बताउनुभयो ।
सम्पदाहरूको निर्माण गर्न ठेक्कापट्टा दिन नहुने र पुराना सम्पदा बिगारेर सङ्ग्रहालय बनाउन नहुने बताउँदै उहाँले भक्तपुर नगरपालिका र पुरातत्व विभागको समन्वयमा भक्तपुरको सम्पदाहरूको पुनःनिर्माण गरेमा ठूलो उपलब्धि हुनेछ भन्नुभयो ।
ऐतिहासिक मठमन्दिर र भवनहरूको पुनः निर्माण गर्न स्थानीय जनताको पनि सुझाव आवश्यक हुने विचार राख्दै उहाँले उत्तर कोरियामा चिहान, संसद भवन, गोली पुराना शैलीको भएको तथा चीनको तियानमेन स्क्वायर सङ्ग्रहालयको रुपमा रहेको र चीनको लुकाएको दरवारमा पुराना शैलीका सामानहरू जस्ताको तस्तै राखेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका जननिर्वाचित मेयर एवं सांसद प्रेम सुवालले युनेस्कोको सम्मेलन भएको भक्तपुर नगरपालिकामा पुनः निर्माणबारे छलफल गरी निष्कर्षमा पुग्नेछ भन्नुभयो ।
उहाँले भक्तपुरको ऐतिहासिक मल्लकालीन शैलीलाई ध्यान दिई सरकार, भनपा र जनता मिली पुनःनिर्माण कार्य गर्न लागेको बताउनुभयो ।
भक्तपुर नगरपािलकाका काका अधिकृत रोहितराज पोखरेलले निर्जीव सम्पदालाई सजीवजस्तै बनाउन जनताबाट सुझाव प्राप्त भएको बताउनुभयो । गुठी संस्थान भक्तपुरका प्रमुख लक्ष्मण ज्ञवालीले प्रमाणहरूको आधारमा मल्लकालीन अवस्थाको कलाकृतिबारे जानकारी लिई गुरु योजना बनाई पुनःनिर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पुरातत्व विभाग प्रमुख सरस्वती सिंहले जनताको चाहनाअनुसार काम गर्न युनेस्कोलाई बुझाउन सकिन्छ भन्नुभयो । पुरातत्व विभागका शाखा प्रमुख सुरेश श्रेष्ठले सङ्ग्रहालयलाई वास्तुकलाअन्तर्गत लानुपर्ने र पर्याप्त प्रमाणहरू जुटाई सम्पदालाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।
स्ट्रक्चर इन्जिनियर प्रा.डा. प्रेमनाथ मास्केले लालबैठक भवनको गारोको मोटाई र सामग्रीबारे ध्यान दिई पुनःनिर्माण गरिसकेपछि मात्र सङ्ग्रहालयको रुपमा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।
प्रा.डा.सिद्धिवीर कर्माचार्यले सङ्ग्रहालय भवन मल्लकालीन शैलीमा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग र प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले गौतम बुद्ध, सगरमाथा र अरनिकोले नेपालको चिनारी गराएजस्तै ऐतिहासिक सम्पदाले स्थानविशेषको महत्व दर्शाउने भएकोले ऐतिहासिक मौलिकता झल्काउने गरी पुनःनिर्माण गर्नुपर्छ भन्नुभयो ।
पुरातत्वविद् विष्णुराज कार्कीले राजनैतिक नेताहरूलाई सम्पदाहरूबारेमा जानकारी गराई सम्पदाहरूको पुनःनिर्माण र संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पुरातत्व विभाग स्मारक संरक्षण क्षेत्रका ई.मोहनकृष्ण श्रेष्ठ, भक्तपुर नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो भने कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका उपप्राचार्य आ.रजनी श्रेष्ठ जोशीले राष्ट्रिय कला सङ्ग्रहालयको पुनःनिर्माणबारे प्रस्तुतीकरण गर्नुभएको र कलेजका स्ट्रक्चर इन्जिनियर डा. सजना सुवालले कार्यक्रमको महत्वबारेमा बोल्नुभएको थियो ।
Leave a Reply