जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
दैलेख, १३ मङ्सिर । पञ्चकोसी साहित्य समाज दैलेखको दोस्रो सम्मेलन कर्णालीका स्थानीय भाषा, साहित्य र संस्कृतिसम्बन्धी कविता प्रतियोगिता शनिबार सम्पन्न भयो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकाभित्रका माविस्तरीय कविता प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य जग्यबहादुर शाहीले कला र साहित्य पनि वर्गीय हुने चर्चा गर्नुभयो । उहाँले शासक पार्टीहरूका देशघाती कार्यले नेपाली जनताले दुःख पाइरहेको प्रस्ट पार्नुभयो । चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्बुकाँध बजारमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजभित्र लुकेर बसेका कला र साहित्यलाई प्रोत्साहन गर्न आवश्यक रहेको चर्चा गर्दै उहाँले समाजभित्रका कला, साहित्य र भाषाको जगेर्ना गर्नुपर्छ भन्नुभयो ।
अतिथि शाहीले कला, साहित्य र भाषा बचे संस्कार, समाज र देश बलियो हुने चर्चा गर्दै युवा पिँढीका सम्पूर्ण जनता यसतर्फ सजग रहनुपर्ने प्रस्ट पार्नुभयो ।
पञ्चकोसी साहित्य समाज दैलेखको उक्त कार्यक्रममा शुभकामना दिँदै शिक्षक जयप्रसाद तिमिल्सिनाले कला–साहित्य समाजको ऐना भएको चर्चा गर्दै समाजको आमूल परिवर्तनका लागि कला र साहित्यको क्षेत्रलाई अझ अगाडि बढाउनुपर्छ भन्नुभयो । चामुण्डा विन्द्रासैनी नगरपालिकाका सम्पूर्ण माध्यमिक विद्यालयका शिक्षकहरूको तर्फबाट उहाँले पञ्चकोसी साहित्य समाजको उक्त कार्यक्रमले निरन्तरता पाउनुपर्छ भन्नुभयो । प्रतियोगितामा भैरव मा.वि. बाँस्ठानाका यशोदा अधिकारी प्रथम, हिमालय मावि तीजडाँडाका छात्रा रीता धामीमगर द्वितीय, चामुण्डा मावि हाडाकोटका अनिता सुवेदी तृतीय र जनता मावि मष्टामाडुका छात्र भूपेश चौलागाईले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । कर्णाली जनचेतना माविका ललिता खनाल, ओमकोट माविका चन्द्रा बि.क., कालिका मावि नेत्रपानीका निशा शाही, जयदेव माविका छात्र टोपेन्द्र भण्डारी, बिन्द्रासैनी माविका छात्रा कल्पना रिजाल, जनता मावि लाइनचौरका पूर्णिमा शाह, जनता मावि बस्तकोटका मनिषा बि.क., आनन्द मावि सिमशेरका दीपिका ज्ञवाली र भैरव माविका छात्रा हिमानी रोकायाले पनि कविता प्रतियोगितामा भाग लिनुभएको थियो ।
पञ्चकोसी साहित्य समाज दैलेखको उक्त कविता प्रतियोगिता कार्यक्रममा धनकुमारी शाहीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन डिल्ली खनालले गर्नुभएको थियो । पञ्चकोसी साहित्य समाजका अध्यक्ष दीपक शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा दीपिन सिजापति, दिनेश पोख्रेल र रमा आचार्यले मूल्याङ्कन गर्नुभएको थियो ।
Leave a Reply