आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
- पुष १३, २०८२
समयको गतिसँगै मानिसको उमेर ढल्किँदै जान्छ, तर नेवारी संस्कारमा ७७ वर्षको उमेरमा गरिने ‘भीम रथारोहण’ (जङ्को) बुढ्यौलीको उत्सव मात्र होइन† यो त मानव चोलाबाट मानवीय चक्र पूरा गरी देवत्वतर्फको महाप्रस्थान हो । ७७ वर्ष (भीम रथारोहण), ८८ वर्ष (चन्द्र रथारोहण) र ९९ वर्ष (देव रथारोहण) का यी खुड्किलाहरू पार गर्नु भनेको कालमाथि विजय प्राप्त गर्नु जस्तै हो । आजको वैज्ञानिक युगमा यसको सन्देश स्पष्ट छ – जसले युवावस्थादेखि नै ‘आहार शुद्धौ सत्त्व शुद्धिः’ को मर्म बुझेर जाँड–रक्सी र कुलतबाट टाढा रही संयमित जीवन बिताउँछ, उसले मात्र यो गौरवमय रथमा बस्ने सौभाग्य पाउँछ । यो उत्सवले नयाँ पुस्तालाई एउटै मन्त्र सिकाउँछ ः “स्वस्थ रहे मात्र देवतुल्य सम्मान पाइन्छ ।”
‘भीम’ को शाब्दिक अर्थ भयानक वा अत्यन्तै शक्तिशाली हुन्छ । पौराणिक सन्दर्भमा भीमसेनलाई अदम्य साहस र शक्तिको प्रतीक मानिन्छ । ७७ वर्षको उमेरमा गरिने जङ्कोलाई ‘भीम रथारोहण’ भन्नुको अर्थ यो हो कि— मानिसले आफ्नो जीवनका ७७ वर्षसम्मका अनेकन् रोग, व्याधि र सांसारिक कष्टहरूलाई भीमले जस्तै पराजित गरेर विजय प्राप्त गरेको छ । यो उमेरसम्म बाँच्नु नै आफैँमा एउटा ठुलो ‘भीमकाय’ सफलता हो भन्ने सन्देश यसले दिन्छ ।
यस सम्पूर्ण उत्सवको सबैभन्दा रहस्यमय र महŒवपूर्ण अध्याय जङ्कोको अघिल्लो दिन गरिने ‘बयरको श्राद्ध’ हो । सामान्यतया श्राद्ध मरेपछि गरिन्छ । तर, जङ्कोमा यो ‘जीवित श्राद्ध’ को रूपमा प्रकट हुन्छ । पौराणिक कालखण्डमा जब ऋषिमुनिहरूले सन्न्यास लिनुअघि आफ्ना सबै सांसारिक ऋणहरूबाट मुक्त हुन ‘आत्म–श्राद्ध’ गर्थे, यो परम्परा त्यसैको एउटा विकसित रूप हो । रामायणमा माता शबरीले भक्तिपूर्वक चखाएका बयरले भगवान् रामलाई तृप्त पारेझैँ, यहाँ ‘बयर’ लाई मोक्ष र भक्तिको प्रतीक मानिन्छ ।
यो श्राद्ध मृत पितृको उद्धारका लागि मात्र होइन, बरु जङ्को गर्ने व्यक्तिलाई ‘अशुद्ध मानव’ बाट ‘शुद्ध देवता’ बनाउनका लागि गरिने अन्तिम सफाइ हो । यस श्राद्धमा पिण्ड दान र पिताम्बर धोतीको आवश्यकता पर्दैन न त आफन्तले ‘पेकी’ (पिठो–चामल) नै ल्याउनुपर्छ । यहाँ एउटा अचम्मको धार्मिक नियम छ ः यो श्राद्ध सम्पन्न गरेपछि र सो सामग्री खोलामा नसेलाएसम्म आफन्तमा कसैको मृत्यु भए पनि ‘जुठो’ (अशौच) बार्नु पर्दैन । यसको अर्थ यो हो कि जङ्को गर्ने व्यक्ति अब सामान्य मानिस रहेन, ऊ ‘देव स्वरूप’ भइसक्यो र देवतालाई कसैको मृत्युको जुठो लाग्दैन । यो सामग्री खोलामा नसेलाएसम्म आफन्तको नियमित श्राद्ध गर्न समेत वर्जित हुन्छ, किनकि यो ‘देव–स्तर’ को कार्य हो । पितृ र स्वयं जीवित देवतालाई यसरी तृप्त पारेपछि मात्र घरमा शुभकार्य गर्न मिल्छ ।
जङ्कोको दिन बिहानै, कागसमेत नबासेको पवित्र प्रहरमा ज्वाइँले हनुमानघाटको जल ल्याएर बुबालाई अभिषेक गर्छन् । त्यसपछि नापित समुदायको विशिष्ट भूमिकासँगै कपाल खौरिने र नङ काटेर चोखो बनाउँदा ती अवशेषहरूलाई छोरीहरूले भुइँमा खस्न दिइँदैन । काँसको थालमा नयाँ पोशाकसहित ती अवशेषहरू थापिन्छ र पछि त्यसलाई पवित्र गङ्गामा सेलाउन पठाइन्छ । प्रयोग गरिएको सो काँसको थाल र नयाँ पोशाक छोरीहरूलाई उपहार दिइन्छ । यसले अभिभावकको शरीरको एउटा अंश पनि अब पूजनीय भइसक्यो भन्ने धार्मिक विश्वासलाई बलियो बनाउँछ ।
होम स्थलमा काँचो इँटाको यज्ञ बनाइन्छ, जहाँ धर्तीबाट उब्जिएका दाल, चामल, तिल, जौ, मह, घ्यू, मास, भटमास, केराउ, कस्तुरी तेल र फलफूलजस्ता पवित्र द्रव्यहरूले कोटिहोम गरिन्छ । यो होमले धर्तीको अन्न खाएर बाँचेको शरीरलाई धर्तीप्रति नै कृतज्ञ तुल्याउँछ । यसपछि बुबालाई सुनका गहना, नयाँ लुगा, कपासको खास्तो र टाउकोमा सेतो कपडाको पगरी बाँधेर श्रीपेच जस्तै सजाउँदा उहाँ साक्षात् देवता देखिनुहुन्छ ।
बुबा अब साधारण मानिस नभएकाले जेठो छोराले उहाँलाई बोकेर रथसम्म पु¥याउँछ । रथमा राखिएको घोडा अङ्कित फोटोले इन्द्रियहरूमाथिको विजय र शक्तिको अर्थ लगाउँछ । रथमा विराजमान भएपछि जेठो छोराले काठको पाथीमा उखु, योमरी, मुतुम्हारी र सियाबजी राखेर बुबालाई चढाउँदै सम्मान प्रकट गर्दछ । सेतो पतुको (डोरी) ले स्वर्गको मार्गको सङ्केत गर्छ, जसलाई छोरी, ज्वाइँ, नाति, पनाति र खनातिसम्मका चार–पाँच पुस्ताले गौरवका साथ तान्दछन् । अगाडि जेठी बुहारीले नयाँ कुचोले बाटो बढार्दै र जेठो छोराले दूबोको हाँगाले पवित्र जल छर्कदै, बाजागाजाका साथ नगरका प्रमुख स्थानहरूमा परिक्रमा गराइन्छ । यो दृश्यले पारिवारिक माया र सामाजिक सहिष्णुताको अनुपम नमुना प्रस्तुत गर्छ ।
परिक्रमा पछि पुरोहितले वैदिक विधिले पूजा गर्छन् । त्यसपछि पुनः जेठो छोराले बुबालाई बोकेर यज्ञ स्थलसम्म पु¥याउँछन् । यसले के सन्देश दिन्छ भने – देवत्व प्राप्त गर्नुभएको बुबाले अब पैदल हिँड्नु हुँदैन, उहाँ पूजनीय हुनुहुन्छ । छोरी ज्वाइँ दाजुभाइ, मामा तथा आफन्तहरूले दही, अण्डा र नयाँ कपडासहितको ‘सगुन’ दिएर सम्बन्धलाई नवीकरण गर्छन् ।
शास्त्रमा ‘दान’ भन्नाले निःस्वार्थ भावले अरूको हितका लागि दिइने वस्तु बुझिन्छ भने ‘दक्षिणा’ भन्नाले यज्ञ वा अनुष्ठान सम्पन्न गराएबापत पुरोहितलाई दिइने श्रद्धापूर्वकको पारिश्रमिक हो । दक्षिणा सधैँ दाताको गच्छे र श्रद्धामा निर्भर हुनुपर्छ । तर, आजभोलि जङ्को वा अन्य पवित्र शुभकार्यमा पनि पुरोहितहरूले ‘मु–दक्षिणा’ का नाममा पटक–पटक हजारौँ रूपैयाँको मोलतोल गर्दा यो संस्कार कता–कता ‘व्यापार’ जस्तो बनेको आभास हुन्छ । दक्षिणाको नाममा हुने यस्तो जबरजस्तीले उत्सवको आध्यात्मिक आनन्दमा खल्लोपन ल्याउँछ । तर, केही खल्लोपन ल्याए तापनि, यसको मूल मर्म ज्येष्ठ नागरिकलाई सम्मान गर्नु नै हो ।
अन्ततः, भव्य भोजसँगै समापन हुने यो भीम रथारोहण वैज्ञानिक रूपमा स्वास्थ्यको कदर गर्ने, पितृलाई तृप्त पार्ने र जीवित अभिभावकलाई ‘मानवबाट देवता’ बनाउने एउटा उत्कृष्ट सामाजिक कडी र जीवनको गौरवशाली अध्याय हो । यसले समाजमा ज्येष्ठ नागरिकको गरिमालाई उच्च राख्दै पितृमात्र होइन, देवताको समेत शुद्धीकरण र सम्मान गर्ने परम्परालाई जीवन्त राख्छ । भीम रथारोहणले वृद्धवृद्धालाई ‘बोझ’ होइन, ‘देवता’ को रूपमा सम्मान दिएर समाजमा उनीहरूको महŒव स्थापित गर्छ । यो राज्यले दिने ‘सामाजिक सुरक्षा’ भन्दा माथिको भावनात्मक सुरक्षा भन्दै समाजको असली शक्ति भनेको पुस्ताहरूबिचको एकता, अनुशासित जीवनशैली र जेठो पुस्ताप्रतिको अगाध सम्मान नै हो र प्रगतिशील हुनु भनेको जरा काट्नु होइन, बरु जरा बलियो बनाउँदै हाँगा फैलाउनु हो भन्ने सन्देश भीम रथारोहणले जीवन्त राखेको छ ।
(यो लेख सुवालको पिताको भीम रथारोहनमा पुरोहित ‘बजु’ सँग संवादको आधारमा तयार गरिएको हो ।)
Leave a Reply