भर्खरै :

वैज्ञानिक चेतनाको कमीले महिला पछाडि

सुर्खेत, ८ माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मङगलबार आयोजित एक कार्यक्रममा वैज्ञानिक तथा राजनीतिक चेतना नभएको कारण यहाँका महिला पछाडि परेको वक्ताहरूले जोड दिए ।
कथित शिक्षितहरूमा समेत छाउपडी, बोक्सी, देउताजस्ता अन्धविश्वासले गर्दा समाज नै पछाडि परेको अन्तरक्रियामा व्यक्त भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले नर्स, शिक्षक, कानुन व्यवसायीसमेत छाउपडी तथा बोक्सीको पछाडि लागेपछि अशिक्षित नारीलाई गाली गर्नुको कुनै अर्थ नभएको धारणा राखे ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले अज्ञानताको अर्को नाम भगवान भएको धारणा राख्दै समाजमा वैज्ञानिक चिन्तन फैलाउने काम राजनीतिक पार्टीकै हो भन्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य शारदा पौडेलले छाउपडी आराम र सरसफाइको महत्वबोध गराउन गरिएकोमा महिलालाई अछुतरूपमा व्यवहार गर्नु गलत भएको बताउनुभयो । उहाँले आजकल स्यानिटरी प्याड, टालालगायतका सामग्रीको प्रयोग गर्न सकिन अवस्थामा पनि उही पुरानो मान्यता राख्नु उपयुक्त नभएको धारणा राख्नुभयो ।
अन्तरक्रियामा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले महिला सचेत भए परिवर्तन हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्काले नेपाल मजदुर किसान पार्टीका नेता तथा कार्यकर्तामा छाउपडीलगायतका छुवाछूतको भावना कम भएको बताउनु भयो । उहाँले राजनीतिक चेतनाको साथै वैज्ञानिक विचारको शिक्षा आवश्यक भएको विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ, सुर्खेतका सदस्य जानकी सुनार पुरुषकै कारणमात्र महिला पछाडि परेको विचारमा सहमत हुनुहुन्न । उहाँ राजनीतिकरूपमा सक्रिय श्रीमानकै कारण आफू अन्धविश्वासबाट मुक्त हुनसकेको धारणा राख्नुभयो ।
नेक्रामसङ्घ, वीरेन्द्रनगरका सदस्य विष्णु पाण्डे छाउगोठ भत्काउनु ठीक छ, तर जनचेतनाबिना नभई गर्नु ठीक नभएको तर्क गर्नुहुन्छ ।
महिला कार्यकर्ता विजुकला रानाले छाउगोठ एकतर्फीरूपमा भत्काइँदा महिला झन् तड्पिएको बताउनुभयो ।
महिला कार्यकर्ता कल्पना शाह पुरानो पुस्तालाई छुवाछुत र छुइ बार्ने विषयमा अझै बाध्य पार्न नसकिने धारणा राख्नुहुन्छ । महिला अगुवा कोशिला थापामगरको विचार पनि जबरजस्ती उपयुक्त नभएको बरु चेतनामूलक कार्यक्रम आवश्यक छ भन्ने छ ।
अधवैँसे महिला कार्यकर्ता अमृता पाण्डे देउतादेखिको डर हटाउन सजिलो नहुने तर्क गर्नुहुन्छ ।
कृषिमा स्नातक तह उत्तीर्ण सन्तोषी खड्का समस्याको समाधान खोज्दा व्यावहारिक हुनुपर्ने तर्क गर्नुहुन्छ ।
राजनीतिक कार्यकर्ता गणेश खड्काले विभिन्न गैरसरकारी संस्थाको कारण महिलासमेत भत्ताको पछि लागेको तर चेतनामा मतलब नराखेको दोषारोपण गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका अक्कलबहादुर रानाले महिलाको निम्ति महिला नै सङरगठित हुनुपर्ने धारणा राख्नुभयो ।
मजदुर कार्यकर्ता जगत लामिछानेले समाजमा व्याप्त अन्धविश्वासले आफू विलखबन्दमा परेको र परिवर्तन चाहेर पनि गर्न नसकेको विचार राख्नुभयो ।
मजदुर कार्यकर्ता रामप्रसादले बेरोजगारीकै कारण चेतनामा कमी भएको तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *