भर्खरै :

ताथलीमा गाउँघर स्वास्थ्य क्लिनिक, स्थानीय बासिन्दा खुसी

भक्तपुर, ७ माघ । ताथलीको डाँडापाटीमा बागमती प्रदेशका सांसद सृजना सैंजूले बुधबार गाउँघर क्लिनिकको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । चाँगुनारायण नगरपालिका वडा नं. ९ को डाँडापाटीमा ताथली हेल्थ पोष्टले गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको हो ।
साविकको ताथली गाविसको वडा नं. ८ को डाँडापाटीमा सो क्लिनिक सञ्चालनमा आएसँगै स्थानीय जनता खुसी भएका छन् । यसअघि कुनै पनि प्रकारको स्वास्थ्य सेवा पाउनको लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंह धाउन बाध्य उनीहरुलाई घर आँगनमै स्थापना भएको क्लिनिकले सहज बनाएको स्थानीयले बताएका छन् ।
सो क्षेत्रबाट हाल रहेको स्वास्थ्य चौकीमा पुग्नका लागि कम्तीमा आधादेखि एक घन्टा समय चाहिन्थ्यो । सोही समस्यालाई मध्यनजर गरी ताथली स्वास्थ्य चौकीले उक्त स्थानमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको हो । क्लिनिकमा चौकीले महिनाको एक दिन सेवा दिने प्रबन्ध गरेको छ । सो प्रबन्धअनुसार महिनाको २० गतेका दिन क्लिनिक खुल्नेछ । क्लिनिकमा सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, पोषण सेवा, नवजात सेवा, खोप सेवा, सामान्य चिरफारलगायतका सेवा उपलब्ध हुने चौकीले जनाएको छ ।
उक्त क्लिनिक स्थापना गर्न साविकको जिल्ला जनस्वास्थ्य कार्यालयबाट रु. २ लाख ७ हजार र चाँगुनारायण नगरपालिकाबाट रु. १ लाख १७ हजार गरी कूल रु. ३ लाख २३ हजार रुपियाँ प्राप्त भएको स्वास्थ्य चौकीका प्रमुख हरिनारायणप्रसाद साहले जानकारी दिनुभयो ।
सो क्लिनिकको उद्घाटनको क्रममा सांसद सैंजूले शिक्षा र स्वास्थ्य विषय महत्वपूर्ण विषय भएकोले त्यसलाई सबैले प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
उहाँले देशको समृद्धि र जनताको सुखका लागि सरकारले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा पु¥याउनुपर्ने भए पनि सरकारको अकर्मण्यताको कारण उक्त प्रबन्ध हुन नसकेको बताउनुभयो ।
उहाँले स्थानीय तहहरूले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रमको सभापतित्व गर्दै चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले स्वास्थ्यसम्बन्धी चेतनाको आवश्यकता भएसँगै स्वास्थ्यबारेमा परामर्शका लागि पनि क्लिनिकले सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोर्णबहादुर श्रेष्ठले डाँडापाटीमा स्वास्थ्य क्लिनिक स्थापना भएपछि स्वास्थ्य सेवाको पहुँचमा वृद्धि हुने र स्वास्थ्यसम्बन्धी समस्या समाधान हुने बताउँदै क्लिनिकको स्तरीकरणका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै ताथली हेल्थपोष्ट व्यवस्थापन समितिका सदस्य उद्धव ढुङरगाना, देवी माविका प्रधानाध्यापक राजाराम छुकां, डाँडापाटी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुनारायण त्यात, महिला स्वास्थ्य स्वयमसेविका सरिता थापाले ताथलीको विकासका लागि सो क्लिनिकले सहयोग गर्ने चर्चा गर्नुभएको थियो ।
ताथली हेल्थ पोष्टका इन्चार्ज हरिनारायणप्रसाद साहले स्वास्थ्य चौकीबाट प्रदान भइरहेको सेवाको जानकारी दिँदै सीमित जनशक्ति भएर पनि स्वास्थ्य चौकीलाई नमुना बनाउन सफल भएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *