भर्खरै :

कोरोना, झूट र जातिवाद

 राजन
नेपालको सधैँ भलो चाहने छिमेकी मुलुक चीनमा फैलिरहेको कोरोना भाइरस चीनविरोधी कसै–कसैको निम्ति खुच्चिङजस्तै भएको छ । एकातिर चीन यो भाइरस अरू मुलुकमा पनि नफैलियोस् भनेर हर सम्भव प्रयास गरिरहेको छ भने अर्कोतिर यही भाइरसको कारणले चीनको प्रगति रोकियोस् र चीन बर्बाद होस् भनी चाहने (अ)मानवहरू पनि छन् । यस्तो अवस्थामा सके भौतिक सहयोग, नसके सहानुभूति वा नैतिक समर्थन गर्नुपर्नेमा उल्टै ‘ठीक्क प¥यो’ भन्ने भाव देखाउने थुप्रै रहेछन् । कोरोना भाइरसबारे निकृष्ट प्रकारका झूटको खेती गरिरहेबाट यो कुरा प्रस्ट हुन्छ ।
एकजना चिनियाँ केटीले चमेरो खाइरहेको फोटो धेरैजसो सामाजिक सञ्जालमा देखिन्छ । त्यसबारे लेखिएको थियो, ‘यही केटीले खाएको चमेरोबाट कोरोना भाइरस फैलिएको हो ।’ तर, उक्त फोटो सन् २०१६ मै छापिएको थियो । त्यतिबेला अहिलेको नोबल कोरोना भाइरसको कुनै अत्तोपत्तो थिएन । ब्रोइलर कुखुरामा कोरोना भाइरस भएको एउटा अर्को हल्ला चल्यो । तर, विश्व स्वास्थ्य सङ्गठनले अझैसम्म कोरोना भाइरस कुन जनावरबाट फैलिएको भनेर पुष्टि गर्न सकेको छैन ।
चमेरोकै अर्को एउटा भिडियो भाइरल भयो । उक्त भिडियोमा छत छोपिएको टाइलमूनि चमेराको बथान बसेको थियो । तिनै चमेरोलाई सर्पले खायो र ती सर्पको मासु मान्छेले खाँदा कोरोना भाइरस फैलियो भन्ने हल्ला भयो । तर, वास्तविकता अर्कै थियो । त्यो भिडियो चीनको नभई ९ वर्षअघि अमेरिकाको फ्लोरिडा राज्यमा खिचिएको थियो ।
कोराना भाइरसबाट मृत्यु हुनेलाई एकैपल्ट जलाउँदा चीनको आकाशमा सल्फर डाईअक्साइड बढी भई वातावरण झन् विनासकारी भएको दृश्य स्याटलाइटबाट देखिएको भन्ने अर्को हल्ला फैलाइयो । त्यस्तै एक चिनियाँ कम्पनीबाट चुहावट भएको तथ्याङ्क भनी ‘कोरोना भाइरसको संक्रमणबाट २४ हजारको मृत्यु भएको’ हल्ला पनि चलाइयो ।
हाम्रै अर्को छिमेकी मुलुक भारतमा खुबै चल्ने व्हाट्स्अप नामको सामाजिक सञ्जालमा सा¥है घटिया किसिमको झूट फैलाइएको थियो । जसमा ‘चीनमा २० हजार कोरोना भाइरसबाट सङ्क्रमित रोगीलाई मार्न अदालतबाट स्वीकृति पाइसकेको’ र ‘तिनीहरूलाई छिट्टै मार्ने भएको छ’ भन्ने झुट फैलाएको थियो । चिनियाँ दूतावासले यसको खण्डनसमेत गर्नुप¥यो ।
भारतको कलकत्ता विमानस्थलमा एक जनामा कोरोना भाइरस सङ्क्रमित भएको हल्ला चलेपछि ठूलै हलचल मचिएको थियो । तर, पछि त्यो हल्ला झूट भएको पुष्टि भयो । त्यतिञ्जेलसम्ममा निकै नोक्सान भइसकेको थियो भने धेरैले मानसिक तनाव ब्यहोर्नु प¥यो । भारतकै आन्ध्रप्रदेशमा एकजना बालकृष्ण नाएर नामको व्यक्तिलाई ज्वरो आएको थियो । सबैले कोरोना भाइरस सङ्क्रमित भनेपछि नाएरले आफ्नै कारणले अरू परिवारका सदस्यलाई सर्ने भनेर आफ्नै आमाको चिहानसँगैको रुखमा झुण्डिएर आत्महत्या गरे । पछि डाक्टरले उनमा सामान्य ज्वरोमात्र भएको पत्ता लगायो । भारतकै एकजना सिनेमा कलाकार विवेक अग्निहोत्रीले सामाजिक सञ्जालमा तस्वीर राख्दै भने, “झार खाएर पनि कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुन सकिन्छ ।” पछि यसलाई ठट्टाको रूपमा राखिएको कुरा आयो । यस्तो संवेदनशील विषयमा मज्जाक गर्ने मानिसको दिमागमा के थियो होला ?
कोरोना भाइरससँगै फोहरी राजनीति पनि मिसिएको छ । एउटा भिडिओ भाइरल भयो । जसमा एकजना व्यक्तिलाई सुरक्षाकर्मीले पक्रेर लगिँदै थियो । त्यही भिडियोलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडेर कपोलकल्पित कथा बनाइयो । सो भिडिओमा प्रचार गरिएअनुसार ‘ती व्यक्ति डाक्टर हुन्, उनले कोरोना भाइरसबारे पहिले नै सरकारलाई जानकारी गराएको तर सरकारले ‘गलत हल्ला फैलाएको’ भनी पक्राउ गरेको, चीनमा वाक् स्वतन्त्रता नहुँदा डाक्टरको कुरा व्यापक प्रचार हुन नसक्दा ठुलो क्षति भयो । यदि त्यही बेला सतर्कता अपनाएको भए अहिले यो अवस्था आउने थिएन रे ।’ यस्तो संवेदनशील समयमा पनि धमिलो पानीमा माछा मार्नेहरू देखियो ।
त्यस्ता प्रचारकहरूले उत्तर कोरियामा एकजना सङ्क्रमितलाई त्यहाँका सर्वोच्च नेताको आदेशमा मारिएको झूठो प्रचार गर्न पनि भ्याए । चीन र उत्तर कोरियाबारे एकतर्फीरूपमा यस्ता झूठो हल्ला फैलाउनुको मनसाय राजनीतिक प्रतिशोध नै हो । पश्चिमेली समाचारमाध्यमले राजनीतिकरूपमा फरक विचार भएका मुलुकको बारेमा झूटो हल्ला चलाउने गरेको यो पहिलो पटक भने होइन ।
समग्र मानव जातिमाथि नै आइपरेको यस्तो कठीन समयमा सबैले ऐक्यबद्धता जनाउनुपर्ने अवस्थामा विश्वभरि फैलिएका चिनियाँहरूप्रति जातिवादी भेदभाव देखाइरहेको समाचार आइरहेका छन् । पश्चिमेली उपनिवेशको समयमा ‘चिनियाँ र कुकुरलाई प्रवेश निषेध’ लेखिएको सूचना भवनबाहिर सूचना टाँसिन्थ्यो । चिनियाँहरूको अथक मेहनतले समयले कोल्टो फे¥यो । तर, चीनको यो परिवर्तनलाई रिस, पूर्वाग्रही मनस्थिति भएका केही पश्चिमेलीले सहन सकेनन् । चीनविरुद्ध अनेक निहुँ खोजिरहे । यही समयमा प्रकृतिले चीनमाथि ठूलै परीक्षा लिएको छ भने अर्कोतिर ती पश्चिमाहरूलाई रिस फेर्ने र आफ्नो सक्कली अनुहार देखाउने फेरि एउटा मौका पाएका छन् । अहिले इतिहास दोहोरिएजस्तै फेरि कोरोना भाइरसको निहुँमा चिनियाँलाई ‘प्रवेश निषेधको सूचना’ टाँसेर जातिवादको विरूप अनुहार देखिएको छ क्यानाडामा । यद्यपि क्यानाडामा रहेको चिनियाँ मूलका नागरिकलाई भेदभाव गरिएको समाचार बाहिर आएपछि क्यानाडाका प्रधानमन्त्रीले त्यहाँका नागरिकहरूलाई जातीय भेदभाव नगर्न चेतावनी दिएका छन् ।
अस्ट्रेलियामा पनि जातिवाद फैलिएको छ । कोरोना भाइरसको नाम नै ‘चिनियाँ भाइरस’ भनेर एक अष्टे«लियाली पत्रिकाको मुखपृष्ठमा छापिएको छ । अष्ट्रेलियामा चिनियाँप्रति हेलाको नजरले हेर्नेको कमी छैन । चिनियाँ सामानसमेत बहिष्कार गर्न उक्त पत्रिकाले आव्हान गरेको छ । यसरी नै फ्रान्समा पनि चिनियाँहरूलगायत एसियाली मूलका नागरिकमाथि हेय दृष्टिले हेर्ने गरिएको छिटपुट समाचार आएका छन् ।
सबै मानवतावादीले हेक्का राखौँ, भाइरसले हाम्रो अनुभूतिलाई वास्ता गर्दैन, भाइरसले हाम्रो छालाको रङ्ग मतलब गर्दैन, भाइरसले कुन जात भनेर हेर्दैन । बरू भाइरसले बिनाभेदभाव आक्रमण गर्छ, यो कुरा सबै जातिवादी धर्मान्धहरूले बुझ्नुपर्छ ।
बिनाप्रमाण कपोलकल्पित झूटो हल्ला चलाउन मिल्ने भएमा म पनि एउटा झूटो हल्ला चलाउँछु, ‘यो संसारबाट कुनै पनि खालको भाइरस सधैँको लागि निर्मूल पार्ने चिनियाँहरूले गरिरहेको अनुसन्धान सफलता नजिक पुगेको छ ।’ कामना गर्छु यो हल्ला सत्यमा परिवर्तन होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *