भर्खरै :

कोभिड–१९ को सङ्क्रमण घट्दो

पेइचिङ, १८ फेब्रुअरी । चीनको हुपेई प्रान्तबाहिर नोबल कोरोना भाइरसको सङ्क्रमण चौध दिनदेखि लगातार घटिरहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले मङ्गलबार जनाएको छ ।
हुपेइ प्रान्तबाहिर कोरोना सङ्क्रमितको सङ्ख्या सोमबार जम्मा ७९ रहेको र गत फेब्रुअरी ३ यता यो सङ्ख्या लगातार घटिरहेको आयोगले जारी गरेको तथ्याङ्कले जनाएको छ ।
हुपेइ प्रान्तमा फेब्रुअरी ३ यता जम्मा ८९० जना सङ्क्रमित फेला परेको छ । यसैबीच कोरोना भाइरसको सङ्क्रमणबाट पूर्णरुपमा निको भएको व्यक्तिको रगतको प्लाज्मा सङ्क्रमितको उपचारको लागि काम लाग्ने भएको पुष्टि भएपछि रोगमुक्त व्यक्तिले प्लाज्मा दान गर्न थालेका छन् । कोभिड–१९ सुरुमा फैलिएको भनिएको ह्वानान समुद्री खाना बिक्री बजारका एकजना रोगमुक्त व्यक्तिले समेत नयाँ सङ्क्रमितको उपचारको लागि सोमबार प्लाज्मा दान गरेका छन् ।
मङ्गलबार उहानको लेई शेनशान अस्पतालमा भर्ना भएका ८३ वर्षीय एक सङ्क्रमित महिला पूर्णतः निको भएर घर फर्केका छन् । कोभिड–१९ को सङ्क्रमण सघन बनेपछि चीन सरकारले दस दिनभित्र बनाएको अस्पतालबाट पूर्णतः निको भएका उनी पहिलो बिरामी बनेका छन् । उनीसँगै अर्को एक जना बिरामी पनि रोगमुक्त भएका छन् ।
सद्भावको ओइरो
‘नडराऊ । संसारको प्रकाश आज तिमीमाथि छ । आऊ हातमा हात मिलाऔं । तिमीलाई उठाउन बलियो काँध बनाऔं । अहँ नडराऊ । रातको अँध्यारोमा तिमी कहिल्यै पनि एक्लो छैनौ । नरुनु । म मात्र होइन, तिमीलाई बल दिन सबै सबै एक साथ छन् ।’
मलेसियाको एउटा सङ्गीत समूहले कोभिड–१९ विरुद्ध लडिरहेको चीनको समर्थनमा तयार बनाएको ‘तिमी एक्लो छैनौं’ बोलको गीतका शब्द हुन्–यी । विशेषतः हामी चीनबाहिरका मानिसले केही गर्नुथियो । हामी चिनियाँ जनता भय र चिन्ताबाट मुक्त होस् भन्ने चाहन्छौं”, गीतका उत्पादक अन पेङ चुले भने ।
कोभिड–१९ विरुद्ध लडिरहेको चीनप्रति सद्भाव व्यक्त गर्न यसरी संसारका धेरै देशले ऐक्यबद्धताका गीतहरू बनाएका छन् ।
जापानको सत्तारुढ उदार प्रजातान्त्रिक पार्टीले आफ्ना सबै सांसदहरूको मार्च महिनाको तलबबाट कटाएर चीनको महामारीविरोधी अभियानलाई दिने निर्णय गरेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले चीनको यो लडाइँमा आफ्नो पूर्ण सहयोग हुने बताएको छ ।
प्रभावित क्षेत्रमा काम गरिरहेका चिनियाँ स्वास्थ्यकर्मीलाई सहयोग गर्न युएनडीपीले सुरुमा ५ लाख डलर बराबरको औषधि सामग्री सहयोग गरेको छ । ‘नदी गहिराइमा, पहाडको उचाइ । आकाशमा एउटा चन्द्रमा’ हुपेइ प्रान्तमा जापानको एउटा संस्थाले पठाएको सहयोग बाकसमा यस्तो कवितांश लेखिएको थियो । बाकसभित्र २० हजार मास्क सहयोगस्वरुप पठाइएको थियो । जापानका अरु पनि धेरै सहर र नगरले चीनलाई सहयोग पठाएको छ ।
पाकिस्तानले पनि ३ लाख वटा मेडिकल मास्क, ८ सय हजमत सुट, ६ हजार ८ सय वटा पञ्जा पठायो । दक्षिण कोरियाले पनि २० लाख मास्क, १० लाख मेडिकल मास्क, १ लाख हजमत सुट र १ लाख चस्मा पठायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *