भर्खरै :

कोरोना भाइरस, चीन, विश्व अर्थतन्त्र र नेपाल

कृष्णभक्त दुवाल/शेरजंगबहादुर चन्द
चीनलगायत विश्वको अधिकांश मुलुकहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरू एकाएक बढ्दा त्यसको प्रभाव चीनमा मात्रै सीमित रहेन । बरु संसारभर नै त्यसको प्रभाव परेको छ । एक करोड ५० लाख जनसङ्ख्या भएको उहानमा ४० लाख जनसङ्ख्या नयाँ वर्षको अवसरमा बाहिरिएको थियो । हुपेई प्रान्तको उहानलाई इपीसेन्टर बनाएर गत वर्ष सन् २०१९ को मध्य डिसेम्बरतिर फैलिएको कोरोना भाइरसले संसारलाई नै त्रसित पारेको छ । एकातिर चीनले कोरोना भाइरसलाई काबुमा ल्याउन हरसम्भव प्रयास गरिरहेको छ भने अर्कोतर्फ आफ्नो आर्थिक वृद्धिदर कायम राख्न चिनियाँसरकार चिन्तित देखिन्छ । किनकि, विश्वलाई अब चीनले राष्ट्रिय सुरक्षाअन्तर्गत पर्ने मानव सुरक्षालाई पनि बढी ध्यान दिन थालेको थाहा छ । त्यसकारण, चीन कोरोना भाइरसको सङ्क्रमणजस्ता समस्यासँग लड्न सक्छ वा सक्दैन भन्ने प्रश्न नै होइन । बरु यस्ता समस्या चीनसँग कति दिन टिक्नसक्छ भन्ने प्रश्न हो । त्यो भन्दा पनि महत्वपूर्ण प्रश्न उसले आफ्नो अर्थतन्त्रलाई कसरी जोगाउँछ र आफ्नो आर्थिक वृद्धिदरलाई कसरी ६ प्रतिशतभन्दा कम हुन दिँदैन भन्ने हो । आज विश्वको चासो यही विषयमा केन्द्रित छ । विगत १८ वर्षदेखि ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्दै आएको चीनको लागि यो आफैमा ठूलो चुनौती र लडाइँ पनि हो ।

कृष्णभक्त दुवाल


सन् २००३ मा चीनले सार्स रोगको सामना गर्दा केही समयका लागि २ प्रतिशतभन्दा बढी उसको आर्थिक वृद्धिदरमा कमी आएको थियो । यद्यपि, त्यतिखेर सार्स २७ देशमा देखापरेको थियो । जुनबेला सार्सले चीनको अर्थतन्त्रमा प्रहार गरेको थियो, त्यतिबेला चीनले संसारको अर्थतन्त्रको ८ प्रतिशत भागमात्र ओगट्ने गरेको थियो । तर, आज स्थिति फरक छ । चीनले विश्व अर्थतन्त्रको १९ प्रतिशतभन्दा बढी भार ओगटेको छ । त्योभन्दा पनि चीन आज विश्व अर्थतन्त्रमा अमेरिकापछिको ठूलो अर्थतन्त्र भएको देश भइसकेको छ । आज चीनले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न नसक्दा आफूमात्र होइन, पुरै विश्वमा नै खलबल मच्चिन्छ । यो संसारभरिका अर्थशास्त्रीहरूले राम्ररी बुझेका छन् । उहानमा सङ्क्रमण भइरहेको बेला पेइचिङमा चिनियाँ अर्थशास्त्रीहरूलाई चिन्ता हुनु नौलो कुरा थिएन । आज उनीहरू कसरी चीनको आर्थिक वृद्धिदर कायम राख्न सकिन्छ भनी एकआपसमा वादविवाद तथा तर्कवितर्क गरिरहेका छन् ।
चिनियाँ अर्थतन्त्रमा कोरोना भाइरसको असर साङ्घाई स्टक एक्सचेन्ज ८.२५ प्रतिशतले तल झर्नु साथै सन्जेन कम्पोजिट इन्डेक्स ८.४ प्रतिशतले तल झर्नुबाट प्रस्ट हुन्छ । यो कोरोना भाइरसले चिनियाँ अर्थतन्त्रमा दिएको पहिलो झट्का हो । त्यस्तै चिनियाँ मुद्रा (युआन) अमेरिकी डलरको तुलनामा ७ प्रतिशतसम्म कमजोर हुनु कोरोनाको अर्को ठूलो झट्का हो । यो झट्का पनि चीनलाई अलि कम हुनसक्छ । तर, चीनलाई त्यतिबेला गम्भीर पा¥यो, जब पब्लिक बैङ्क अफ चाइना (पीओवीसी) ले सर्वसाधारणबाट १.२ ट्रिलियन चाइनिज मुद्रा जम्मा गर्ने कार्य केही समयका लागि लम्ब्यायो । बजार र बैङ्कमा पैसाको तरलतामा कमी भयो भनेर लिन लागिएको रकम केही समयपछि लिने भनी लम्ब्याउनुले देशको अर्थतन्त्रमा यति ठूलो असर प¥यो कि बैङ्कभरिको पैसा चलायमान भएन । पैसाको वित्तिय चक्र एकाएक उल्लेखनीयरूपमा प्रवाहहीन हुन थाल्यो । यसो हुनुको एउटा कारण चीनका कतिपय प्रान्तले २० औँ दिन कुनै कम्पनी, कार्यालय, कलकारखाना नखोल्ने निर्णय गर्नु पनि हो ।
सन् २०२० जनवरीमा अमेरिका र चीनबीच व्यापार सम्झौता भएको थियो । सो सम्झौतामा चीनले अमेरिकाबाट २०० बिलियन डलर बराबरको सामान किन्ने र दुई देशबीचको व्यापारिक तनाव कम गर्ने सहमति कार्यान्वयन गर्न अब गाह्रो भइसकेको केही विज्ञहरूले विश्लेषण गरेका छन् । दैनिक ८५ मिलियन आन्तरिक यात्रु (प्यासेन्जर) हिँड्ने ट्राफिक १८ मिलियनमा झरेको कुरा कसैसामू लुकेको छैन । यद्यपि, पछिल्लो स्थितिमा ८० प्रतिशतसम्म सुधार भइसकेको देखिन्छ । चीनभरि आठ सय एप्पल मोबाइलका स्टोरहरू बन्द भए । ग्लोबल टीभी उत्पादनमा ५० प्रतिशतले कमी, हुन्डाई कम्पनी पार्टपूर्जाको अभावले केही दिन बन्द हुनु, उहान प्रान्तमा रहेका १९ ठूला कम्पनीका एक लाखभन्दा बढी कामदार तीन हप्ता घर बस्नु, चार हजार दुई सय स्टारबक्स बन्ददेखि लेभाइज आदिका कारखानाहरू बन्द हुनुले चीनको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ ।
१८ वर्षभन्दा बढी समय लगातार चीनले आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कमी आउन दिएन । तर, अमेरिका तथा केही पश्चिमेली देशका अर्थशास्त्रीहरूले ५.६ प्रतिशतभन्दा कममा झर्छ भन्दै ठोकुवा गर्दै हिँडेका छन । चीनको लागि यो विश्लेषण आफैमा ठूलो चुनौती पनि हो । अक्सफोर्डका अर्थशास्त्रीहरूले पहिलो चौमासिकमा चीनको आर्थिक वृद्धिदर ४ प्रतिशतमात्र हुनेछ भनी विश्लेषण गरेका छन् । जसको लागि चीनले केही गर्नुपर्ने चुनौति देखापरेको छ ।
विश्व अर्थतन्त्रमा कोरोनाले पारेको असर
चीनका अधिकांश सहरका बाटामा अत्यावश्यक सामाग्री बोक्ने सवारीसाधबाहेक अरू नचल्नाले इन्धनको खपतमा १८ प्रतिशतको कमी आउनु तथा हवाई इन्धनको खपतमा २१ प्रतिशतको मागमा कमी आउनुले पेट्रोल निर्यातकर्ता राष्ट्रहरूको सङ्घ (ओपेक) र रुसले आफना खानीहरूमा कामदार घटाएर इन्धन उत्पादन घटाउने कि इन्धनको मूल्य कम गर्ने भनी बहस गर्दै छन् । विश्वको १९ प्रतिशतभन्दा बढी अर्थतन्त्र बोकेको चीनमा यदि आफ्नो आर्थिक वृद्धिदर १ प्रतिशत कम हुन्छ भने यसको असर संसारमा ०.२ प्रतिशतले पर्दछ । यदि चीनले २ ट्रिलियन अमेरिकी डलर बराबरको सामान कम उत्पादन गर्दछ यो भनेको हाम्रो छिमेकी देश भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ७० प्रतिशत बराबर हुन्छ । यो विषय संसारलाई थाहा नभएको होइन । तर, पनि विश्व अर्थतन्त्रमा कोरोना भाइरसले ठूलो असर गरेको छ भनी केही मुलुक पत्याउन तयार छैनन् ¤

शेरजंगबहादुर चन्द


पर्यटन क्षेत्रको मात्र अध्ययन गर्ने हो भने चिनियाँ पर्यटकको कमीले संसारभर ठूलो असर गर्दछ । कोरोना भाइरसले गर्दा ५५ प्रतिशत चिनियाँ पर्यटकले विदेश नजाने निधो गरी टिकट रद्द गरिसकेका छन् । यसको झट्का विश्व पर्यटन अर्थतन्त्रमा पर्ने देखिन्छ । पर्यटन व्यवसायले १८ प्रतिशत जीडीपी ओगटेको कम्बोडियामा चिनियाँ पर्यटकले मात्र ६ प्रतिशत जिडिपीमा योगदान गर्दछन् । कम्बोडियाको पर्यटन अहिले विगत ५ हप्तादेखि ठप्प छ । त्यस्तै ११ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायले जीडीपी धानेको थाइल्यान्ड र हङकङमा चीनका पर्यटकले मात्रै क्रमश ः ४ र ७ प्रतिशत जीडीपीमा सहयोग गर्दैआएको छ । मलेसिया, सिङ्गापुर, श्रीलङ्का, ताईवान, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र दक्षिण कोरियामा समेत चीनका पर्यटकले सम्पूर्ण जीडीपीको १ देखि २ प्रतिशतसम्म प्रभाव पार्ने देखिन्छ । यी दक्षिण पूर्वी एसियाका देशहरू पर्यटनका लागि प्रख्यात छन् । तिनीहरूको करिब ४ देखि ६ प्रतिशत जीडीपीले पर्यटनबाट नै अर्थतन्त्र धान्दै आएको छ । यसरी संसारभरि नै चिनियाँ पर्यटकले उल्लेखनीय योगदान गरेको देखिन्छ । त्यही कारणले करिब २ दर्जनभन्दा बढी देशमा चीनमा फैलिएको कोरोना भाइरसको ठूलो असर व्यहोर्ने छन् । थाइल्याण्डले मात्रै यस वर्ष १५० मिलियन डलर पर्यटनमा कमी हुन्छ भनी अनुमान गरिसकेको छ ।
त्यस्तै, जीभीए (ग्रस भ्यालु एडेड) हेर्दा चीनले भियतनामको ६ प्रतिशत व्यापार, ताईवानको १७ प्रतिशत, मलेसियाको १० प्रतिशत, दक्षिण कोरियाको १० प्रतिशत, थाइल्यान्ड र सिङ्गापुरको १० प्रतिशतभन्दा बढी, चिलीको ७ प्रतिशत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पेरु, साउदी अरेबिया आदि देशमा ५ प्रतिशतसम्म व्यापार हिस्सा साझेदार गरिरहेको छ । विश्वभरिका करिब १३० देशमा सानो ठूलो असर परेकै छ । तर, हाल दुई दर्जनभन्दा बढी देशमा व्यापारको ठूलो असर परेको देखिन्छ ।
कोरोना भाइरसको असरले कच्चा तेलमा केही समयका लागि १५ प्रतिशतसम्म माग कम भएको विश्व जगतले बुझेकै छ । यस्तो ¥हास सन् २००० पछिकै सबभन्दा ठूलो हो । यस्तै ३ हप्ता पहिले तामामा संसारभरिको मागको १३ प्रतिशतसम्म कमी आएको थियो । अहिले पनि ६ प्रतिशतसम्म तामाको मागमा कमी नै रहेको छ । यो अवस्था विश्व अर्थतन्त्रको लागि ठूलो चुनौती हो ।
नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको असर
२० वर्ष अगाडिसम्म एसियाको शक्ति भनेर चिनिने चीन अहिले विश्वकै शक्तिवान् राष्ट्र बनेको छ । यदि उसको अर्थतन्त्र बिग्रिए नेपालको अर्थतन्त्रमा असर नपर्ने कुरै भएन । करिब १६ प्रतिशत चिनियाँपर्यटकले ओगटेको नेपालको पर्यटन व्यवसाय कोरोना भाइरसको पहिलो शिकार बनेको छ । नेपालमा आउने १६ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक यो वर्ष २० प्रतिशत पुग्ने अनुमान गरिएको थियो । तर, भ्रमण वर्ष २०२० लाई कोरोना भाइरसले ठूलो झट्का दिने देखिएको छ । प्रत्यक्ष–अप्रत्यक्षरूपमा ७.५ प्रतिशत जीडीपी ओगटेको नेपालको पर्यटन क्षेत्रमा करिब पाँचौँ भाग चिनियाँ पर्यटकको भएकोले नेपालको जीडीपीमा ३ महिनाका लागि २ प्रतिशतसम्म घाटा हुनु स्वाभाविक भएको छ । जसले गर्दा प्रत्यक्षरूपमा १०० मिलियन डलरभन्दा बढी र अप्रत्यक्षरूपमा २२० मिलियन डलरभन्दा बढी हिस्सा ओगट्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले गर्दा ४० देखि ५० मिलियन डलर घाटा वा कमी व्यहोर्नुपर्ने देखिन्छ ।
कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई जीभीए (ग्रस भ्यालु एडेड) मा यो वर्ष ३ देखि ४ प्रतिशतसम्म असर गर्ने देखिन्छ । चीनमै व्यापार व्यवसाय बन्द रहेका बेला नेपालले आयात वा केही मात्रामा भए पनि निर्यात गर्नसक्ने कार्य भइरहेको छैन । यो कहिलेसम्म भइरहने हो, अनिश्चित छ । जसले गर्दा नेपालमा यसले ठूलो असर पार्ने देखिन्छ ।
अर्थतन्त्रको हिसाबले विश्वकै प्रमुख ६ देशभित्र पर्ने २ देश भारत र चीनबीच अवस्थित नेपालको अर्थतन्त्रमा उक्त देशको अर्थतन्त्रमा हुने प्रभावले असर नपार्ने कुरै भएन । तर, समयमै सम्बन्धित निकाय, संस्था र व्यक्तिले सरकारलाई उचित सुझाव नदिए नेपालको अर्थतन्त्रले अझै ठूलो झट्का सामना गर्नुपर्ने हुन्छ ।
(दुवाल उहानमा विद्यावारिधि गरिरहनुभएका इन्जिनियर र चन्द अर्थशास्त्री हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *