भर्खरै :

“शासकहरूले वीर सहिद र योद्धाको अपमान गरिरहेका छन्”

भक्तपुर, ८ फागुन । २०४६ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बिहीबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा एक कार्यक्रम सहिद स्मृति उद्यानमा सम्पन्न भयो ।
सहिदहरूको प्रतिमामा माल्यार्पणबाट सुरु भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवादको इसारामा नाचेर शासकहरूले वीर सहिद तथा योद्धाहरूको अपमान गरिरहेका छन् भन्नुभयो ।
नेपाली जनताले दुःख पाउनुको कारण पुँजीवादी व्यवस्था र दलाल शासकहरू भएको बताउँदै सांसद गोसाईले आजसम्मका सरकारहरूको राष्ट्रघात र जनघातविरुद्ध सङ्घर्ष गर्दै नयाँ शक्ति निर्माण र नयाँ आन्दोलन अगाडि बढाउन आवश्यक छ भन्नुभयो ।
जनताको आन्दोलनले राजनीतिक व्यवस्था र पात्र परिवर्तन भएको तर शासकहरूको प्रवृत्ति परिवर्तन नभएको बताउँदै उहाँले हिजो पञ्चहरूले जे गरे काङ्ग्रेसीहरूले त्यही गरेको र काङ्ग्रेसीहरूले जे गरे कम्युनिस्ट भनाउँदा एमाले र माओवादीहरूले पनि त्यही गरिरहेका छन् भन्नुभयो ।
वर्तमान सरकार कुनै कम्युनिस्ट सरकार होइन बरु भ्रष्ट र कमाउनिस्टहरूको सरकार भएको सरकारका मन्त्रीहरूको चर्तिकलाले पुष्टि भएको बताउँदै सांसद गोसाईले घूस र कमिसनको पछाडि ¥याल चुहाउँदै दौडनेहरू कहिल्यै कम्युनिस्ट हुननसक्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा महिला नेतृ कमलमैया सुवालले २०४६ सालको जनआन्दोलनको स्मरण सुनाउँदै ०४६ सालको जनआन्दोलनमा भक्तपुरका जनताको व्यापक सहभागिता हुनुमा पञ्चायती राज्यस्तरले रचेको भक्तपुर काण्ड र त्यसैको निहुँमा गरिरहेको जनदमनविरुद्धको आक्रोश पनि थियो भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका प्रतिनिधि नारायणबहादुर दुवालले पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष सामन्तवादविरोधी सङ्घर्ष भएको र आज पुँजीवादविरुद्ध जनताको सङ्घर्ष जारी रहेको बताउँदै सहिदहरूबाट नयाँ सङ्घर्षका लागि प्रेरणा लिई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट नेक्राकिसङ्घ भजिसका अध्यक्ष गोविन्द दुवालले पुँजीवादी व्यवस्थामा जुनसुकै नामका सरकार पनि पुँजीपति वर्गको सञ्चालक समितिमात्र हुने कुरा पुष्टि हुँदै गएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले जनआन्दोलन २०४६ को स्मरण सुनाउँदै भक्तपुरमा प्रहरी दमन गर्ने र गोली हान्ने योजना पञ्चायती शासकहरूले पहिल्यै गरेको खुलासा पछिल्ला दिनमा हुँदै आएको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले ०४६ सालको जाआन्दोलनको स्मरण सुनाउँदै ०४६ सालको जनआन्दोलनको सफलतामा फागुन ८ गतेको विशाल जुलुस र सहिदहरूको सहादतको ठूलो महँव छ भन्नुभयो । कार्यक्रममा जनआन्दोलन २०४६ का घाइते राजेन्द्र दुमरु र सहिद पुष्परत्न शाक्यकी पत्नी विजयलक्ष्मी शाक्यले राजनीतिक परिवर्तनपछि जनताको भावना र सहिदको सपनाअनुसार शासक पार्टीहरूले काम गर्न नसकेको बताउनुभयो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *