भर्खरै :

अन्तरनगर एथलेटिक्स प्रतियोगिता उद्घाटन

भक्तपुर, ८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बिहीबार एक विशेष समारोहबीच अन्तर नगर एथलेक्टिस प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा पार्टी अध्यक्ष बिजुक्छेँले खेलाडीहरूमा विदेशी आक्रमणविरूद्ध पनि लड्ने भावनाको विकास गर्नुपर्छ भन्नुभयो ।
स–साना र कमजोर स्वाधीन तथा सार्वभौम देशमा साम्राज्यवादी देशहरूले आक्रमण गरिरहेको चर्चा गर्दै उहाँले नेपाली जनता आत्मरक्षाको लागि मात्र होइन देशकै रक्षाको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको सुरक्षा नेपाली जनताले गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशको स्वतन्त्रता, सार्वभौमिकता र प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने वीर सहिद र योद्धाहरूबारे खेलाडीहरू पनि सुसूचित हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे युवा–विद्यार्थीलाई जानकारी नदिए देशले ठूलो समस्या भोग्नुपर्ने उल्लेख गर्दै उहाँले देश जोगाउनेतर्फ सबै सचेत हुनुपर्छ भन्नुभयो ।
सोही कार्यक्रममा उहाँले निर्णायक आशराम गोथेलाई सटपुटको बल हस्तान्तरण गरेर खेलकुदको उद्घाटन गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशमा अझै वास्तविक प्रजातन्त्र नभएको र कामदार जनताले परिवर्तनको अनुभूति नगरेको हुँदा सङ्घर्ष आवश्यक भएकोमा जोड दिनुभयो ।
नेपाल सरकार साम्राज्यवादी र विस्तारवादी देशसामु आत्मसमर्पण गर्दै अघि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले आर्थिक सहयोगको लोभमा परेर एमसीसीको सम्झौता गरे देशको अस्तित्वमा धक्का पुग्ने हुँदा देशभक्त युवा–विद्यार्थी र खेलाडी सङ्घर्ष गर्न तयार हुनुपर्ने बताउनुभयो ।
निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्न ज्यानको बाजी राख्ने सहिद र योद्धाहरूले गरेको योगदानको बोध गराउन आयोजित अन्तरनगर एथलेटिक्स प्रतियोगिताले टेवा पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अन्तर नगर प्रतियोगिताले शारीरिक, मानसिक र बौद्धिक विकासको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार हुने धारणा राख्नुभयो ।
पछिल्ला दिनमा पनि यस्तै प्रतियोगिताहरू आयोजना गरेर एक–आपसमा समन्वय र सहजीकरणमा सहयोग पुग्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं समारोहका सभापति सुनिल प्रजापतिले २०४६ को संयुक्त जनआन्दोलन सुरू भएको दोस्रो दिन सहादत प्राप्त वीर सहिदहरूको स्मरण र सम्मान गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिरहेको बताउनुभयो ।
शिक्षा र स्वास्थ्यमा झैँ खेलकुदमा पनि प्राथमिकता राखेर  कुनै न कुनै खेलमा दक्षता हासिल गराउने नपाको उद्देश्य रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतियोगिता राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका राम्रा खेलाडी छनोट गर्ने अवसर पनि हो । यसले असल, देशभक्त र अनुशासित नागरिक तयार गर्ने छ ।
उद्घाटन समारोहमा भनपा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभयो भने वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अन्तर नगर एथलेटिक्स प्रतियोगिताको उपादेयताबारे चर्चा गर्नुभयो ।
ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको सो समारोहमा आत्मरक्षा प्रदर्शनी पनि देखाइएको थियो । सोही कार्यक्रममा एथलेटिक्सका राष्ट्रिय खेलाडी कान्छीमाया कोजू र निर्णायकको तर्फबाट आसराम गोथेले शपथग्रहण गर्नुभएको थियो ।
यसअघि भक्तपुरको ऐतिहासिक तथा सम्पदास्थल दत्तात्रयबाट उद्घाटन ¥याली सुरू भएको थियो । ¥याली बजार परिक्रमापछि सहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियो ।
प्रतियोगितामा १६ नगरपालिकाले भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *