भर्खरै :

मुद्दा एकातिर प्रत्यारोपण अर्कोतिर !

एउटा पद दुई जना प्रत्याशी । एक जना पार्टीका नेता अर्का प्रधानमन्त्री केपी शर्मा ओलीका परम विश्वासपात्र पदासीन अर्थमन्त्री डा. युवराज खतिवडा । उनलाई रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पनि दिइएको छ । नेपाल सरकारको प्रवक्तामा पनि खतिवडालाई नै तोकेका छन् प्रधानमन्त्रीले । कति विश्वास गर्दारहेछन् त डा. युवराजलाई । यता स्वयं प्रधानमन्त्रीसमेत अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले यसै हप्ता रिक्त हुने राष्ट्रियसभाको एक ठाउँमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गर्न सर्वसम्मत निर्णय गरेको छ । नेकपाभित्र अहिले ठूलो हुँडलो देखापरेको छ । त्यो हुँडलो मिलाउन मनोनीत दुई जना राष्ट्रियसभा सदस्यमध्ये को निस्कने हो टुङ्गो हुन बाँकी नै छ यो पङ्क्ति लेख्दासम्म । डा. युवराज खतिवडालाई २२ फागुनमा शपथग्रहण गर्ने भनिएको छ रे । अब त्यहीँ भेटौँला भनी निर्धक्कसँग सार्वजनिक गर्नुभयो गत १६ गते । राजनीतिक प्राणी भनेको भए त्यति फरक पर्दैनथ्यो त्यसमा पनि नेपालमा, त्यसमा पनि नेकपामा । तर, युवराज त खाँटी टेक्नोक्र्याट । उहाँको भनाइमा दम हुनुपर्छ । तर, शुक्रबार १६ फागुनको राजनीतिको हावाको बेग नियाल्दा डा. युवराजको पक्षमा बेग गएजस्तो लागेन । उहाँलाई गैरसांसद अर्थमन्त्री भने राख्ने नखोस्ने रे ¤ ६ महिनाभित्र राष्ट्रिय सभा सदस्यमा मनोनीत गरी अहिलेको खड्गो टार्ने रणनीति लिइँदै छ रे भन्ने सूचनाहरू आइरहेका छन् बाँकी नेतावृन्दबाट ।
नागरिक अगुवा चाहिने रहेछ
पद नै सर्वश्व हो, पद नभएको व्यक्तिले जति नै त्याग गरे पनि, जति नै योग्य भए पनि गणनामा नपर्ने समाज मनोविज्ञान विकास भइरहेको छ । यो पदवादी मनोविज्ञानले समाजलाई अहिले कुन खाल्डोमा खसाल्छ कसैले हेरेजस्तो लाग्दैन । समाजमा कुनै पनि पदमा नभएका तर समाजले कुरो सुन्ने नागरिक समाजका अभिभावक कोही त हुनुपर्ने । तर, आजको नेपाली समाजमा त्यस्ता अभिभावक छैनन् । केही मानिस छन्् जसलाई नागरिक समाजका रूपमा मानिन्छ । त्यस्ता व्यक्तित्व पनि प्रशस्त छैनन् । पद्मरत्न तुलाधार थिए एउटा समुदायको विश्वस्त थिए । उनी अस्ताएपछि त्यो ठाउँ पनि रित्तै छ । हिमालशमशेर राणाले अलिकति, केदारभक्त माथेमाले अलिकति, सुशीला कार्कीले अलिकति, डा. त्रिरत्न मानन्धरले अलिकति आशाका किरण देखाएको हो कि, हो कि जस्तो लाग्छ । त्यो पनि फेरि ओझेल पर्छ । देशको नेतृत्व राजनीतिले गर्छ, गर्नैपर्छ । तर हाम्रोजस्तो समाजमा राजनीतिले मात्र पुग्दोरहेनछ । समाजमा विविधखाले सोचाइ र चिन्तन भएका मान्छे हुन्छन् । उनीहरूको विश्वास बटुल्न समाजले पत्यार गरेका नागरिक अगुवाहरू पनि हुनैपर्नेरहेछ । नेपाल त्यसमा कमजोर छ । त्यसको परिपूर्ति आवश्यक छ ।
नेपाल केक बिर्ता होइन
केपी शर्मा ओली सरकार कसको लागि काम गर्छ ? कि काम गर्दैन गफमात्र गर्छ गफले, ठट्यौला कुराले, चिप्ला कुराले मात्र कुन मुलुक कहिले पो बनेको छ र ? छँदा खाँदाको सोभियत सङ्घ विघटन भयो, पतन भयो । त्यत्रा मान्छेले प्राण दिएर स्थापित गराएको नयाँ दर्शन, नयाँ व्यवस्था का. स्तालिनपछिको नेतृत्वले धान्न सकेन, थेग्न सकेन । अन्ततः पतन गराएरै छाडे । त्यत्रा पूर्वी युरोप र उत्तर पश्चिम एसियाबाट जनताको व्यवस्था उखेलिएरै छोड्यो । शत्रुको रणनीति र कार्यनीतिको भेउ पाउँदा र त्यसको प्रतिकार गर्न सक्षम नहुँदा काम गरी खाने जनताको हातमा आएको सत्ता प्रतिक्रियावादीहरूले नै खोसे । विश्वभरका काम गरी खाने जनतामा व्यापक निराशाले ढाक्यो । आज नेपाल हातमा आएको सङ्घर्षको प्रतिफल खान पाउने अवस्थामा हुनुपर्ने हो तर त्यो प्रतिफल १५ किलो केकमा खर्च गर्ने समूहको केक बिर्ता होला भन्ने कुलक्षण देखा पर्न लागेको छ । कुरा बिर्ता, सुना बिर्ता भनेझैँ यहाँ केक बिर्ता लेखिएको हो । ओली सरकार कम्युनिस्ट सरकार हुन छोडेर किन एउटा खास समूहको मात्र हुन खोजिरहेछ यो पतनको पूर्वसङ्केत हो । ठीक भएन है चालामाला ।
गणतन्त्रमा गोरेटो बाटो पनि नहुने ?
अहिलेको सरकार कसको सरकार हो ? नेपालको त्यत्रो ३७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरी एकतर्फीरूपमा नक्सा निकालेको पनि यतिका भइसक्यो भारतले । खोइ प्रतिरोध ? खोइ नेपालको आफ्नो नक्सा ? खोइ प्रधानमन्त्री ओलीले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेको ? जनता रूष्ट छन्, असन्तुष्ट छन्, अति भएपछि समालिन कठिन हुन्छ । त्यत्रो भूभाग अतिक्रमित छ, ब्यास गर्खा, टिङ्कर, नाभी, गुन्जी, कुटीतिरका नेपाली अत्यन्त सास्तीमा छन् । बल्ल बल्ल उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुला गए पहिलोपल्ट भारतले नक्सा प्रकाश गरेपछि । त्यो अतिक्रमित भूमिमा नेपाल सरकार अझै उपस्थित भएको छैन । स्थानीय मान्छे, महिला, केटाकेटी, कुन धैर्यले टिकेका छन् त्यहाँ । ती नेपाली कुन धैर्यले बाँच्ने, के भनेर बाँच्ने, परिवार कसरी पाल्ने, नानीहरूको शिक्षा–दीक्षाको के बन्दोबस्त गर्नेजस्ता साधारण गृहस्थका कुरा पनि बोझ भएका छन् । १५ किलोको केक देख्ने आँखाले यी कुरा नदेख्न सक्छ । तर उत्तर दार्चुलाका नेपाली त्यही भुङ्ग्रोमा छटपटिरहेका छन् । जनता लेक–बँेसी गर्ने सुरक्षित गोरेटो बाटोसम्म छैन । यता शासन व्यवस्था गणतन्त्र रे ¤ गणतन्त्रमा गोरेटो बाटो पनि नहुने ?
अन्यौलमै एमसीसी
एमसीसीमा यो नेकपाको सरकार किन ज्यान फालेर लागेको छ ? अहिले जुन रूपमा विधेयक तयार छ त्यही रूपमा पेश गर्न नहुने ठहरमा कार्यदल पुगेको छ । नेकपाको दोस्रो केन्द्रीय समितिले बनाएको कार्यदल । त्यो कार्यदलले दिएको प्रतिवेदनअनुरूप परिष्करण नभई विधेयक पेश हुनसक्दैन । कथं अहिले जुन रूपमा पेश भएको हो त्यही रूपमा पेश भयो भने पार्टीको अपमान हुन्छ र यो सरकार कम्युनिस्ट पार्टीको सरकार नभएर अमेरिकी हित हेर्ने सरकार हुन्छ रे । नेपाल सरकार अमेरिकाको हित हेर्ने ? के हो यस्को तात्पर्य ? यता अमेरिकी एमसीसी हेर्ने अधिकारीहरू अब यसमा संशोधन र सुधारको अवस्था छैन भन्छन् । किनकि त्यो अब कार्यान्वयनका चरणमा गइसक्यो । त्यसैले अब यसमा परिवर्तनको अवसर छैन भन्ने अडानमा छन् यसका बडाहाकिमहरू । तसर्थ यो एमसीसी अप्ठेरोमा फलेको फर्सीजस्तो भएको छ । यसको १३ अर्ब रूपैयाँ पनि भइसक्यो रे । यसरी आज राज्य चल्दै छ । चलौँ नचलौँको स्थितिमा यता प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपण गरी त्यसका लागि प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना हुने रे । मिर्गाैला प्रत्यारोपणपछि उहाँ तङ्गरिन कति समय लाग्छ भन्ने जिज्ञासा थियो । ५ दिनपछि काम सम्हाल्ने रे । त्यो वृद्ध शरीर साविक हुन कति समय लाग्छ भन्ने थियो । अरूको भए पाँच महिना लाग्ने रे । अब यी दिन राज्य सञ्चालन कसरी हुन्छ, कसले गर्छ भन्नेमा उपप्रधानमन्त्रीले नै काम सम्हाल्ने रे । यी सबै कुरा टुङ्गिएछ ओली अस्पताल भर्ना हुनुअघि । राम्रै भयो ।
सेना फिर्ता हुने ?
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने दिन पनि आए । सन् २००१ मा जुम्ल्याहा विशाल भवन ध्वस्त पारेपछि अमेरिका र नेटो सेना अफगानिस्तान पसेको थियो । अब १८ वर्षपछि ती सेना फर्कने भनी अमेरिका र तालिवानबीच कतारको दोहामा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अब १८ वर्ष लामो अफगान युद्ध अन्त्य हुने बाटो खुल्यो । अहिले अफगानिस्तानमा १४ हजार अमेरिकी र १७ हजार नेटो आबद्ध राष्ट्रहरूका गरी ३१ हजार सेना छन् । क्रमशः ती फिर्ता हुनेछन् । अमेरिकाले १३५ दिनमा आफ्ना सैनिक घटाएर ८३०० मा झार्नेछ । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने भनेका थिए । आउँदो निर्वाचनमा पनि लड्ने हुँदा अफगानिस्तानबाट सेना फर्काउने प्रतिबद्धता पूरा गर्न यो नयाँ कदम उठाएका हुन् । सन् २००९ देखि त्यहाँको युद्धमा एक लाख अफगान नागरिकहरू मारिए, ३५ सय नेटो र अमेरिकी सैनिकको मृत्यु भइसकेको छ । सन् १९ सम्म कति मरे त्यसको अभिलेख छैन अहिले । अमेरिकाको त्यो हमलामा तत्कालीन अलकायदालाई सहयोग गरेको भनेरै तालिवान नेतृत्वको सरकारलाई अमेरिकी सेनाले हटाएको थियो । पाकिस्तान, भारत, इन्डोनेसिया, उज्बेकिस्तान, ताजिकिस्तानका नेताहरूसमेतको उपस्थितिमा भएको शान्ति सम्झौताअनुसार तालिवानले आफ्नो प्रतिबद्धता पूरा गरे १४ महिनाभित्र अमेरिका र नेटो सेना फिर्ता हुनेछन् । यो घटनाले विश्व शान्तिलाई पनि सघाउनेछ । तर, अफगान राष्ट्रपतिले सो सम्झौताअनुसार लडाकू बन्दी छोड्न भने अस्वीकार गरेका छन् ।
चिकित्साकर्मी पनि ठाउँमा बस्नुपर्छ
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पक्का भएछ । उहाँ हिजो अस्पताल भर्ना हुनुभयो, भोलि प्रत्यारोपण रे । प्रम ओलीको मिर्गौला प्रत्यारोपणको पूर्ण सफलताको कामनासहित अबका १५ वर्ष देश सेवामा व्यस्त भई मस्तसँग काम गर्ने मनोकामना पूरा होस् भन्ने शुभेच्छा ¤ ओलीले आफ्नै मुलुकभित्रका अस्पतालमा मिर्गौला फेर्ने निर्णय गरेर आफ्नै देशको चिकित्सा सेवाको प्रतिष्ठा बढाउने काम गर्नुभयो भने चिकित्सकहरूको उच्च समान पनि गर्नुभएको छ । विशिष्ट व्यक्तिहरू कान चिलायो भने, पातलो सिङान आयो भने, दाँतमा साग अड्क्यो भने पनि विदेश जान्छन् । सरकारी खर्चमा भन्ने गुनासोको प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभयो । यस प्रकारको दृढ र बहादुरीपूर्ण निर्णयका निम्ति फेरि धन्यवाद ¤ पछि मुलुकका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुख र सदस्यहरू, उच्च पदाधिकारीहरूले पनि स्वदेशमै उपचार गराए भने हाम्रो राष्ट्रको चिकित्सा सेवा स्तरीय, विश्वस्त, मर्यादित र आकर्षक हुनेछ । हाम्रो मुलुकमा कुशल, दक्ष र उत्तम खालका चिकित्सक निकै छन् तर विशिष्ट पदमा पुगेकाहरू पत्याउँदैनन् । प्रधानमन्त्री ओलीको स्वदेशमै प्रत्यारोपण गर्ने निर्णयले नेपालको चिकित्सा सेवाको स्तरलाई उचाल्ने छ भन्ने लाग्छ । तर चिकित्साकर्मीहरू पनि ठाउँमा बस्नुपर्छ ।
छिट्टै काममा फर्कनोस् ।
मिर्गाैला कसले दिने हो भन्ने थियो अस्तिसम्म, अब त्यो पनि सार्वजनिक भयो । ओलीलाई मिर्गौलादाता झापा चारआलीकी ३२ वर्षीया महिला ओलीका भाञ्जी पर्छिन् रे । यो मिर्गौला फेर्ने काम सजिलो होइन । पहिले गाउँ घरका सोझा मान्छेलाई फकाइ, प्रलोभनमा पारी मिर्गौला लिने वा सस्तोमा किन्ने गरिन्थ्यो । आफ्ना नातेदारभित्र थोरैमात्र पर्थे । तर पनि नातेदारको परिभाषा बढाइयो कानुनमा नै । त्यसैले दाता खोज्न र पाउन अलि सरल भएको छ । ओलीको १३ वर्षअघि मिर्गौला फेर्दा ओलीकी भाइबुहारीको रहेछ । जे भए पनि अहिले सजिलै कानुनसम्मत दाता भेटिएछ । यो पनि राम्रो भयो । अब प्रधानमन्त्री ओली आफ्नो विलक्षण मनोबलअनुरूप तङ्रिए भने उत्तम हुनेछ । चिकित्सकहरूका अनुसार मिर्गौलादाता अस्पतालबाट सामान्यतः चौथो वा पाँचौँ दिनमा डिस्चार्ज गरिन्छ रे । मिर्गाैला लिने भने एक साता जतिमा निस्कन्छन् रे । सबै कुरा सामान्य हुँदा प्रधानमन्त्री ओलीलाई ५ दिन जति अस्पताल राख्ने तयारी गरिएको छ रे । ओलीको पूर्वतयारी राम्रो गरिएकोले यसरी पाँच दिन भनिएको होला । जे होस् उहाँको यो उपचार सामान्य रहोस्, सफल रहोस् छिट्टै काममा फर्कन सकोस् शुभेच्छा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *