भर्खरै :

कोभिड–१९ को प्रतिरोध गर्न सार्क नेताहरू एक ठाउँमा

काठमाडौँ, २ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ले लामो समयदेखि गति लिन सकेको थिएन । २०७१ कार्तिकमा काठमाडौँमा सम्पन्न अठारौँ सार्क सम्मेलनको दुई वर्षपछि पाकिस्तानमा हुनुपर्ने उन्नाइसौँ सम्मेलन ‘भारतले सहभागी हुन नसक्ने’ जनाउ दिएपछि हुनसकेको थिएन । यसबीच दक्षिण एसियाली देशहरूबीच दुईपक्षीय भेटवार्ता र भ्रमण भए पनि सार्क शिखर सम्मेलन भने हुन सकेको थिएन । समय–समयमा सार्कको आवश्यकतामाथि चर्चा भए पनि विशेषतः भारतीय पक्षको अनिच्छाको कारण गति लिन सकेको थिएन । भारतले सार्कलाई सक्रिय बनाउनुभन्दा बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनलाई प्राथमिकता दिनुले सार्कको भविष्यमाथि पटक–पटक प्रश्न उठेको थियो ।
सन् २०१९ को डिसेम्बर अन्त्यबाट मध्यचीनको उहानबाट फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) ले संसारभर विश्वव्यापी महामारी (प्यान्डामिक) को रूप लिए पनि आज संसारको प्राथमिकता बदलिएको छ । चीनले आफ्नो भूमिमा कोभिड–१९ को सङ्क्रमण सफलतापूर्वक नियन्त्रण गरे पनि संसारका विभिन्न देशमा यसले असर पु¥याइरहेको छ । कोभिड–१९ को प्रभावबाट दक्षिण एसियाली देशहरू पनि मुक्त छैनन् । आइतबारसम्ममा भारतमा दुई जना मानिसको प्राणघातक भाइरसको कारण निधन भएको छ । दक्षिण एसियाली देशहरूमध्ये अफगानिस्तानमा दस जना, पाकिस्तानमा १९ जनाभन्दा बढी मानिसमा यो भाइरसको सङ्क्रमण भइसकेको छ । विकसित देशको अत्याधुनिक स्वास्थ्य प्रणालीलाई समेत चुनौती दिएको कोरोना भाइरसले कदाचित दक्षिण एसियाली देशमा सामुदायिक सङ्क्रमणको तहमा पुगे धेरै मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्छ । यस्तो परिस्थितिले दक्षिण एसियाली देशका राजनीतिक नेतृत्वबीच आपसी सहकार्य गर्न एकै ठाउँमा पु¥याएको छ ।
आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नेताहरूबीच कोभिड–१९ को सङ्क्रमणबारे ऐतिहासिक भिडियो सम्मेलन भयो । झन्डै दुई घण्टा चलेको भिडियो सम्मेलनमा सातै देशका सरकार प्रमुख वा राष्ट्रप्रमुखले कोभिड–१९ विरूद्ध लड्न आपसी सहकार्यमा जोड दिनुभएको थियो । सम्मेलनमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिएर नेपालमा अस्पतालहरूको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२० तथा तेस्रो मुलुकका गतिविधि र अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना स्थगन गरिएको बताउनुभयो । उहाँले अन्य मुलुकबाट अनअरात्ल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“कोभिडविरूद्धको अभियानका लागि नेपाल सचेत रहेको छ । रोकथामका लागि हामीले धेरै पहल गरिरहेका छौँ ।”
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुभएकोमा मोदीलगायत सार्कका नेताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरूद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच आपतकालीन कोष खडा गर्न प्रस्ताव गर्दै भारतका तर्फबाट सो कोषमा १० बिलियन अमेरिकी डलर राख्ने घोषणा गर्नुभएको छ ।
मोदीले सो कोष सञ्चालनको लागि आफ्नो मुलुकका विदेश मन्त्रालयका सचिवले थप समन्वय गर्ने जानकारी दिँदै सार्क प्रकोप व्यवस्थापन केन्द्रलाई सक्रिय पार्न पनि प्रस्ताव गर्नुभयो । उहाँले कोभिडविरूद्ध लड्न विज्ञ र चिकित्सकलाई तयारी अवस्थामा राख्न आग्रह गर्दै कोभिडको परीक्षणमा तदारूकता दिन र यसको रोकथाममा लाग्ने टोलीलाई छिटो तालिम दिई क्षमतावृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री मोदीले कोभिडको प्रभावबाट आर्थिक क्षेत्रमा पर्नसक्ने प्रभावबारे अध्ययन गर्न र आन्तरिक व्यापारलाई बढावा दिन पनि सुझाव दिनुभयो ।
भिडियो सम्मेलनमा श्रीलङ्काका राष्ट्रपति गोटाबय राजापाक्षे, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद, बङ्गलादेशका प्रधानमन्त्री खालिदा जिया र पाकिस्तानका स्वास्थ्यमन्त्री जाफर मिर्जाले भाग लिनुभएको थियो ।
सङ्कटको बेला दक्षिण एसियाली देशहरूबीच भएको सहकार्यलाई विश्वले सकारात्मक रूपमा लिएको छ । भिडियो सम्मेलनले संसारको अवस्था सामान्य भएपछि अवरूद्ध भएको सार्क सम्मेलन पनि हुने सङ्केत प्राप्त भएको छ । भारतकै कारण रोकिएको सार्क सम्मेलन उसैको पहलमा भएको यो भिडियो सम्मेलनको सफलतापश्चात् अब हुने सार्क सम्मेलनमा अवरोध नहुने अपेक्षा गरिएको छ ।
यद्यपि केही विश्लेषकहरूले भने कोभिड–१९ को महामारीविरूद्ध चीनले प्राप्त गरेको सफलता र महामारीको सन्दर्भमा दक्षिण एसियाका अन्य देशसँग चीनको हुनसक्ने सहकार्यलाई रोक्न पनि भारत सरकारले यो कदम चालेको विश्लेषण गरेका छन् । कोभिड–१९ रोकथाम र नियन्त्रणको सन्दर्भमा हाल चीनले संसारका सबै प्रभावित देशसँग सहकार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *